शनिबार, वैशाख १५, २०८१

शरीर र मन बलियो बनाउन योग

योगले शारीरिक र मानसिक अवस्था सुदृढ बनाउनुका साथै तनावबाट छुटकारा दिलाउँछ।
 |  शनिबार, भदौ ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ६, २०७७

योगले शारीरिक र मानसिक अवस्था सुदृढ बनाउनुका साथै तनावबाट छुटकारा दिलाउँछ।

triton college

पुट्ट निस्केको भुँडी। झन्डै ८५ किलोग्राम तौल। एकएक महिनामा रुघा र टन्सिल हुन्थ्यो। औषधि खाइरहनुपर्ने। रोगले गाँज्ला भन्ने चिन्ता। व्यावहारिक जीवनका व्यस्तताबीच ललितपुर प्याङगाउँका श्यामसुन्दर महर्जनको आँखा एक दिन योगमा पर्यो। त्यसपछि क्रमशः उनी यसमा आकर्षित भए। युट्युबमा सर्च गरे। जान्नेबुझ्नेसँग सल्लाह लिए अनि बिस्तारै योगासनमा सक्रिय भए।

पेसाले शिक्षक गोदावरी योग नगर समितिका उपाध्यक्ष महर्जन अहिले शारीरिक रूपमा हट्टाकट्टा छन्।  रुघा लाग्न छाडेको छ। योग गर्न थालेपछि टन्सिल हरायो। औषधि खानै पर्दैन। तौल ६४ केजीमा झरेको छ। दैनिकी नियमित बनेको छ।

उमेरले चार दशक नाघेका महर्जन भन्छन्, ‘दिनभर फ्रेस अनुभव हुन्छ। तनाव हुन्न। जवानी नै फर्किएको जस्तो लाग्छ अचेल।’
उनी दैनिक करिब २ घण्टा योगमा बिताउँछन्।

सबैभन्दा बढी उनलाई स्वास्थ्य सजगता बढाएको छ। मापसे गर्न छाडेका छन्। मासु पनि खान मन लाग्न छाडेको बताउँछन् उनी। योगले मांसमदिरा निषेध गरेको छ र?

corrent noodles
Metro Mart

उनी भन्छन्, ‘त्यस्तो होइन, योगमा लागेपछि खानपानमा सजग बनिँदो रहेछ। यस्तो कसरी भयो? कहिले त जादुजस्तै लाग्छ आफैंलाई।’ योग गर्न थालेपछि शारीरिक र मानसिक अवस्था सुदृढ बनाउनुका साथै तनावबाट मुक्ति मिलेको उनको अनुभव छ।

००

चैतदेखि सुरु भएको लकडाउन साउनमा एक महिना केही खुकुलो भए पनि मानिस फेरि घरमा थुनिएका छन्। जिमखाना बन्द छन्। दैनिकी बदलिएको छ। सधैं व्यस्त हुने पनि फुर्सदिला बनेका छन्। खानपान बढेको छ। स्वास्थ्यप्रति सजग हुने कमै छन्। तनाव बढेको छ। त्यसैले पछिल्ला दिनमा योगमा आकर्षण बढेको बताउँछन् काठमाडौं इन्जिनियरिङ कलेज, कालिमाटीका एसोसिएट प्रोफेसर शान्त खरेल।

तनाव किन हुन्छ?

गुलियो खानेकुरा धेरै खाँदा, चियाकफीको मात्रा बढी हुँदा, सुर्तीचुरोट र मापसे गर्दा तनाव बढ्छ। निश्चित दिनचर्या नहुँदा शारीरिक रुपमा मात्र होइन, मानसिक रुपमा पनि थकित हुन्छ मानिस।

सुत्ने र उठ्ने समय नमिल्दा र अनलाइनमा बढी बस्दा समयमा निद्रा पर्दैन। नकारात्मक सोचाइ बढ्छ। व्यापार व्यवसाय बन्द हुँदा र जागिर नहुँदा आर्थिक तनाव थपिनु स्वाभाविकै हो। जुन अहिले धेरैले व्यहोरिरहेका छन्।

प्रियजन र आफन्तसँग भेटघाट नहुँदा मानिस झन् छटपटिएको छ। लामो समयसम्म बिनाकाम घरमा बसिरहँदा पनि चिडचिडाहट बढ्छ। अत्यधिक खाना र जंक फुडले दिने तनाव छँदै छ।

तनावका लक्षण

तनाव बढेपछि एकाग्र हुनु सकिँदैन। स्मरणशक्ति कमजोर हुन्छ। दुविधा उत्पन्न हुन्छ। निद्रा लाग्दैन। रुन मन लाग्छ। आक्रामक र रिसालु भाव उत्पन्न हुन्छ। निष्क्रियता बढ्छ। मानिस अज्ञात डरले आत्तिन्छ। आत्मा विश्वास कमजोर हुन्छ। एक्लोपन अनुभव हुन्छ। मधुमेहको समस्या देखा पर्छ। जोर्नी दुख्छ। कपाल झर्छ। पेट गडबडी हुन्छ। सास फेर्न समस्या हुन्छ। मुटुको चाल बढ्छ। यी सबै कारणले रोग प्रतिरोधात्मक क्षमता घट्छ।

समाधान कसरी?

शरीर स्वस्थ र मन खुसी बनाउने। यसका लागि व्यायाम, जगिङ, नृत्य, एरोबिक्स आदिका साथै यौगिक व्यायाम उपयुक्त हुन्छ। व्यायामले शरीरका सबै प्रणाली सक्रिय बनाउँछ।

योग गर्दा एन्डोर्फिन नामक हर्मोन बढ्छ। अनि हाम्रो ‘मुड’ खुसी हुन्छ। पाचन प्रणाली बलियो हुन थाल्छ। शरीरको दुखाइ कम हुन्छ। स्वस्थ आहार सेवन गर्नुपर्छ। दिनचर्या व्यवस्थित बनाउनुपर्छ। योगका अंगहरुको प्रयोग निरन्तर गरिहनुपर्छ।

तनाव हुँदा हाम्रो शरीरमा कोर्टिसोल हर्मोन निस्कन्छ। त्यो हर्मोन ठिक बनाउन डोपामाइन र सेरोटोनिन उत्पादन गर्नुपर्ने हुन्छ। त्यसका लागि खुसी हुनुपर्छ। खुसी अनुभव गराउने सजिलो माध्यम हो, शारीरिक अभ्यास। यस्तो अभ्यास योगबाट गर्न सकिन्छ।

योग के हो?

योग भनेको व्यवस्थित तरिकाले शरीर र मनलाई स्वस्थ राख्ने अभ्यास हो। यसले मन शुद्ध र शरीर स्वस्थ बनाउँछ। योग जीवन पद्धति हो। यो नियमित गर्नुपर्छ। त्यसैले योग साधना हो।

महिर्षि पतञ्जलिले योगलाई सूत्रबद्ध आठ भागमा विभाजन गरेका छन्। त्यसैले यसलाई अष्टांग योग भनिएको हो। अष्टांग भनेका यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारण, ध्यान, समाधि हुन्।

यमले समाजलाई व्यवस्थित गर्छ। यसका अहिंसा, सत्य, अस्तेय, ब्रह्मचर्य, अपरिग्रह गरी पाँच अंग छन्। यिनले मानिसलाई पूर्ण मानिस बनाउँछन्।

नियमले व्यक्तिलाई व्यवस्थित बनाउँछ। यसका शौच, सन्तोष, तप, स्वाध्याय, ईश्वर प्रणिधान गरी पाँच अंग छन्। शौचले शरीर शुद्ध बनाउँछ।

सन्तोषले आत्मसन्तुष्टि बलियो पार्छ। तपले पनि शरीर शुद्ध बनाउँछ। स्वाध्यायले ज्ञान बढाउँछ भने ईश्वर प्रणिधानले अहंकार (इगाे) नष्ट हुन्छ।

आसनले शरीरलाई बलियो र स्थिर बनाउँछ भने रोग नष्ट गर्छ।

प्राणायामले शरीर हल्का र मन स्थिर बनाउँछ।

धारणा, ध्यान र समाधिलाई एकै रुपमा लिइन्छ।

प्रत्याहारको काम इन्द्रियहरुलाई नियन्त्रण गरी अन्तरमुखी बनाउनु हो। ध्यानको अवस्थामा पुग्नका लागि वातावरण बनाउनु धारणा हो।

अहिले धेरैले धारणालाई नै ध्यान भन्ने गरेको पाइन्छ। तर के कुरामा स्पष्ट हुनुपर्छ भने ध्यान आफैं हुने कुरा हो, गरिँदैन। धारणा मात्र गरिन्छ।
जे धारणा गरिएको छ, त्यसमा मनलाई लामो समयसम्म टिकाइराख्नु ध्यान हो।

जेमा ध्यान गरिएको छ, आफू त्यही नै हुनु समाधि हो। समाधिमा पुगेपछि व्यक्तिलाई म ध्यान गरिरहेको छु भन्ने भान नै हुँदैन।

हठयोग

पतञ्जलिले योगलाई सूत्रबद्ध गरे। राजयोगलाई महत्त्व दिए। त्यसलाई पूर्णता दिने काम हठयोगबाट भयो। हठयोगमा आसनको नामसहित चर्चा भएको छ। त्यसैले पतञ्जलिको योगलाई व्यावहारिक रुप दिने काम हठयोगमा भएकाे मानिन्छ।

यो गुरु गोरखनाथको पद्धति हो। यसलाई ११ औं शताब्दीतिर नाथ परम्पराबाट प्रवर्द्धित भएको मानिन्छ। अहिले संसारभर हठयोग प्रचलनमा छ। हठयोग जबरजस्ती गर्ने भनिएको होइन। हठयाेग परम्पराका चर्चित याेगीहरूमा स्वामी स्वात्माराम, ऋषि घेरण्ड आदि छन्।

'ह' ले सूर्य स्वरलाई 'ठ' ले चन्द्र स्वरलाई संकेत गर्छ। यो दुई मिलाएर शक्तिलाई सुषुम्ना नाडीतर्फ लानु हठयोग हो।

यसमा सातवटा अंगको व्याख्या गरिएको छ– षट्कर्म, आसन, मुद्रा, प्रत्याहार, प्राणायाम, ध्यान र समाधि।

षट्कर्मले शरीर शुद्धि गराउँछ। आसनले शरीर बलियो पार्छ। मुद्राले शरीर स्थिर हुन्छ भने प्रत्याहारले सहनशील र धैर्यवान् बनाउन सहयोग गर्छ। प्राणायामले शरीर हल्का पार्छ। ध्यानले व्यक्ति आफूले आफैंलाई चिन्छ। समाधिले मन वासनाबाट हटाएर मुक्तिमार्गतर्फ लैजान्छ।

योग आरम्भ नेपालबाटै

धेरैले योगको सुरु नै नेपालबाट भएको दाबी गर्छन्। प्रोफेसर खरेल भन्छन्, ‘शिवको भूमि र पतञ्जलिको भूमि यही भएकाले पनि त्यो दाबी सत्य निकट हुन सक्छ। यद्यपि यसबारे प्रामाणिक तथ्य भने प्राप्त भएको छैन।’

सांख्यदर्शनका प्रणेता कपिलमुनिको भूमि पनि नेपाल नै हो भनिन्छ। गौतम बुद्धको भूमि यहीं हो। केही विद्वानले नेपाल अधिकांश ऋषिमहर्षिको साधनास्थलका रुपमा रहेको चर्चा गरेका छन्। वाल्मीकिको आश्रय यहीं छ।

योगका सूत्रकार पतञ्जलि गौतम बुद्धभन्दा अगाडिका मानिन्छन्। हठयोगका व्याख्याता गुरु गोरखनाथ एघारौं शताब्दीका हुन्।

सुरुमा योगको साधना जोगीहरुले मात्र गर्न सक्छन् भन्ने भ्रम भयो। सर्वसाधारणले यसलाई अपनाएनन्। अनि मानिस आयुर्वेदतर्फ आकर्षित हुन थाल्यो।

योगको अभ्यास शरीर शुद्धिका लागि न्यून हुँदै गयो। गुरु गोरखनाथले हठयोगको व्याख्या गरेपछि मात्र योग सर्वसाधारणमा आउन थालेको इतिहास रहेको खरेल बताउँछन्।

नेपालमा योगको त्यति लामो इतिहास भेटिँदैन। हुन त योग साधनाको कुरा हो। यो व्यक्ति एक्लैले पनि अभ्यास गर्न सक्छ। साधनाका कुरा बाहिर ल्याउनु हुँदैन भनेर पनि योगलाई प्रचारमा नल्याइएको हो कि? याे खाेजीकाे विषय नै छ।

सर्वसाधारणले भने प्राकृतिक चिकित्सा अभ्यासका क्रममा योगकाे पनि अभ्यास गरेकाे पाइन्छ।

प्राकृतिक चिकित्सा उपचार प्रणाली हो। अर्थात् पञ्चमहाभूतको प्रयोग गरेर गरिने उपचार पद्धति। पञ्चमहाभूत भनेका पृथ्वी, जल, तेज, वायु आकाश। कतिपयलाई योग र प्राकृतिक चिकित्सा उस्तै लाग्न सक्छ। तर यसमा केही भिन्नता छ। प्राकृतिक चिकित्सा आवश्यक पर्दा मात्र प्रयोग गरिन्छ।

पछिल्लो समयमा नेपालमा काशीनाथ उपाध्याय गौतम, सूर्यबहादुर कार्की, हरिप्रसाद पोखरेलले प्राकृतिक चिकित्साका रुपमा योगको अभ्यास गराउँदै आएका छन्। योगमा भने स्वामी रामदेवले नै धेरै मानिसलाई प्रभाव पारेको एसोसिएट प्रोफेसर खरेल बताउँछन्।

संस्थागत रुपमा नेपाल संस्कृत विश्वविद्यालयले लामो समयदेखि योग प्रशिक्षण गराउँदै आएको छ। त्रिभुवन विश्वविद्यालयमा योगको पढाइ हुन थालेको छ। केही निजी शिक्षण संस्थाले योगलाई विशेष महत्त्व दिएका छन्। सरकारले विद्यालयस्तरमा पनि योगको पठनपाठन गर्ने प्रक्रिया थालेको छ।

विदेशी आकर्षित

योगमा दक्षता हासिल गरेका व्यक्ति योग सिकाएर आर्थिक रुपमा सबल बनेका छन्। हजारौं विदेशीले नेपालमा आएर योग सिक्ने गरेका छन्।

यहाँ सिकेर गएका उनीहरुले योगशिक्षकको जिम्मेवारी सम्हालेका धेरै उदाहरण रहेको खरेल बताउँछन्। तर नेपालभित्रै शुल्क तिरेर योग सिक्ने असाध्यै थोरै रहेको योग प्रशिक्षक नवीन योगीको अनुभव छ। त्यसैले उनी पनि स्वदेशीभन्दा विदेशीलाई नै योग सिकाउन सक्रिय छन्।

लकडाउनमा योग

घरभित्रै बसेर गर्न मिल्ने व्यायाम भएकाले योगप्रति मानिसको चासो बढेको छ। अनलाइनमा सिक्ने र सिकाउने पनि छन्। गोदावरी नगर योग समितिका उपाध्यक्ष महर्जनले अनलाइनबाटै योग शिविर सञ्चालन भइरहेको जानकारी दिए।

त्यस्तै प्रोफेसर खरेल कतिपय शिक्षक–विद्यार्थी मात्र होइन उच्च पदस्थ व्यक्ति पनि योगतर्फ आकर्षित भएको बताउँछन्।

उनले भने, ‘अनलाइनमा सिकाउँदा सिकारुमा उत्साह बढेको छ। नयाँनयाँ मानिस सम्पर्कमा आएका छन्। धेरैलाई योग गर्नुपर्ने रहेछ भन्ने बोध भएको पाएँ। योगको व्यायाम र षट्कर्मका कुरा सोध्ने बढेका छन्।’

देशका विभिन्न भागका क्वारेन्टिनमा बसेका मानिसहरुले पनि योग गरेर आफ्नो दैनिकी व्यवस्थित गर्न थालेका छन्।

सम्बन्धित समाचार

योगासन, प्राणायाम र ध्यानका लागि ३० मिनेट

प्रकाशित: Aug 22, 2020| 10:06 शनिबार, भदौ ६, २०७७
प्रतिक्रिया दिनुहोस्