शुक्रबार, कात्तिक १४, २०७७

Happy Dashain
स्वास्थ्य/जीवनशैली समाचार

योगासन, प्राणायाम र ध्यानका लागि ३० मिनेट

1592711290122312-qcldnggfva-1561100973.jpg

काठमाडाैं- मार्च २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउन थालिएको छ वर्ष भएको छ। कोरोना महामारीका कारण योग दिवसका सभासमारोह नभए तापनि विभिन्न संघसंस्थाले बेविनार, सेविनार गरेर योगलाई मूलप्रवाहमा ल्याउने काम गरिरहेका छन्।

नेपाल सरकारले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको संयोजकत्वमा मूल समारोह गठन गरेर प्रधानमन्त्रीको उपस्थितिमा भर्चुअल मिटिङमार्फत ‘राष्ट्रिय योग अभ्यासक्रम’ सार्वजनिक गर्दै छ। यस वर्षको योग दिवसको नारा ‘घरमा योग परिवारसँग योग’ भन्ने छ।

शरीरको प्रतिरक्षा शक्ति बढाउन योग प्रभावकारी भएको कुरा कोरोना महामारीले अझ व्यापक बनाएको सम्बद्ध विज्ञ बताउँछन्।

‘योगलाई शरीर व्यायामको सीमित बुझाइको घेरामा राख्ने गरिएको छ,’ योग प्रशिक्षक तथा विज्ञ शान्त खरेल भन्छन्, ‘योग भनेको यो प्रकृतिलाई बुझ्ने बृहत् आयाम हो। न यो कुनै धर्मसँग मात्र सम्बन्धित छ न कुनै कर्मकाण्डको अनुष्ठान हो।’

योगका सिद्धान्त संस्कृत भाषामा छ। यसका आदिम व्याख्याता ऋषिमुनि हुन्। ‘त्यसैले योगलाई हिन्दूधर्म विशेषको अनुष्ठानका रुपमा मात्र बुझ्दा योगप्रति पूर्वाग्रह तथा सीमितता भएको हो,’ खरेल भन्छन्, ‘वास्तवमा योग आफूलाई चिन्ने एउटा टुल हो। विधि हो। यसले व्यक्तिको व्यक्तिगत चेतनालाई बुझेर, चिनेर प्रकृतिमा भएको महाचेतनामा पुग्ने आधार दिन्छ। यो रुपमा बुझाउन नसकिँदा योग सीमित भएको हो।’

विदशीले बुझे, नेपालीले बुझेका छैनन्

भारतलगायत विभिन्न मुलुकमा योगको व्यापक विस्तार हुँदै गएको छ। योग प्रशिक्षक विजय सुवेदीका अनुसार भारतमा योगको पढाइ स्वास्थ्य विज्ञानका रुपमा व्यापक हुँदै गएको छ। ‘योगमा एमडी गर्ने तथा जीवनवृत्तिका रुपमा अपनाउनेको संख्या बढिरहेको छ,’ उनी भन्छन्।

‘विदेशमा ब्रिदिङ एक्सरसाइज, अल्टरनेटिभ ब्रिदिङ, माइन्डफुलनेसका नयाँनयाँ नाममा योगका प्राणायाम, विपश्यनालगायतका विधिको अभ्यास भइरहेको छ,’ सुवेदी भन्छन्, ‘ती योगका कुरा हुन् भन्ने हामीले बुझाउन सकेका छैनौं।’

योग शुद्ध अभ्यासजनित अनुभव हो। यसले व्यक्तिलाई पूर्ण सतर्क बनाउँदै प्रकृति जीवन पद्धति जिउने आधार दिन्छ। सुवेदी भन्छन्, ‘विदेशीले योगको गुह्य बुझेर नयाँनयाँ ढंगले यसलाई प्रवर्धन गरिरहेका छन् तर हामीलाई भने यसको ज्ञान छैन।’

योग सयौं वर्षमा परिस्कृत हुँदै आएको अभ्यासजनित अनुभव हो। जसले योग गर्छ, उसले अनुभव गर्छ। सुवेदी भन्छन्, ‘त्यो अनुभव फलदायी नै हुन्छ। यसले शरीर, मन र विवेकलाई धारिलो बनाउँछ। आफ्नै शक्तिलाई चिन्ने, आफैंलाई चिन्ने विधि यो योग। अबको युग भनेको नै योगको युग हो। त्यसैले यसलाई प्रवर्धन गर्न ढिलाइ गर्नु भनेको हामी पछि पर्नु हो।’

३० मिनेटको व्यायाम, प्राणायाम र ध्यान

बढ्दो तनाव तथा प्रतिस्पर्धी जीवन पद्धतिले मान्छेको सोचलाई बिगारिरहेको सन्दर्भमा मान्छेलाई ठिक मार्ग ल्याउन योग एउटा अचुक उपाय भएको विज्ञ बताउँछन्।

‘मान्छेले अन्य विषयमा सबै समय बर्बाद गरिरहेको छ तर आफ्नै लागि भनेचाहिँ ऊसँग समय छैन। अहिलेको बढ्दो विकृति र बेथितिको जड नै यही हो,’ सुवेदी भन्छन्, ‘त्यसलाई सही मार्गमा ल्याउन पनि योग गर्नुको विकल्प छैन।

‘प्रसिद्ध लेखक तथा इतिहासका प्रोफेसर योभल नोहा हरारीले दिनहुँ ३० मिनेट विपश्यना ध्यान गर्छन्,’ सुवेदी भन्छन्, ‘उनले भनेपछि मान्छेले पत्याउन थाले। जबकि विपश्यनालगायतको ध्यान विधि त हामीसँग सयौं वर्षदेखि छ नि।’

दिनमा कम्तीमा तीस मिनेट योग ध्यान गर्नुपर्ने धारणा खरेलको छ। ‘हामीले दस मिनेट व्यायाम, दस मिनेट प्राणायाम र दस मिनेट ध्यान गरेर तीस मिनेट योग गर्ने जीवन पद्धति अँगाल्न सक्यौं भने शरीर र विचार जहिल्यै निरोगी हुन्छ,’ उनी भन्छन्, ‘त्यति मात्र गर्दा पनि स्वास्थ्यमा हुने अर्बाैं खर्च जोगिन्छ।’

त्रिविमा एकवर्षे पोस्ट ग्र्याजुएट

योगलाई प्रसार गर्ने क्रममा त्रिभुवन विश्वविद्यालयअन्तर्गतको संस्कृत केन्द्रीय विभागले गत वर्षदेखि योगको अध्ययन सुरु गरेको छ। एकवर्षे पोस्ट ग्र्याजुएट पढ्न स्नातक तह उत्तीर्ण गरेका ५८ जना भर्ना भएका थिए। ६/६ महिने दुई सेमेस्टर पढ्न ५५ हजार लाग्ने र कक्षा साँझ ४ बजेदेखि तीनदेखि सञ्चालन भइरहेको छ।

विभागका अध्यक्ष नारायणप्रसाद गौतमले योग अध्ययनमा युवा पुस्ताको रुचि भएको बताए। ‘सुरुमा एउटा मात्र सेक्सन बनाएर ३० जना जतिलाई पढाउने योजना थियोे। तर विद्यार्थीको चापले गर्दा दुई सेक्सन पढाएका हौं,’ गौतम भन्छन्, ‘काठमाडौंमा योग प्रशिक्षकका रुपमा कार्यरत धेरै युवा जमात तथा अन्यले योगको प्राज्ञिक अध्ययनमा रुचि देखाए।’

उनका अनुसार विभागबाट स्नातक गरेपछि योग प्रशिक्षकका रुपमा काम गर्न सक्ने भएकाले यसमा धेरैको रुचि देखिएको हो।

मान्यता प्राप्त विश्वविद्यालयबाट कुनै पनि विषयमा स्नातक अध्ययन जोकोहीले पनि अध्ययन गर्न पाउने योग अध्ययनको माध्यम भाषा नेपाली तथा अंग्रेजी हुनेछ।

यो कोर्स अध्ययनपछि विद्यार्थीले आफ्नो स्वास्थ्यको ख्याल आफैं गर्न सक्ने, स्कुल–कलेजमा योग शिक्षकका रूपमा वा परामर्शदाताका रूपमा काम गर्न सक्ने, योग सेन्टर खोलेर सेवा दिन सक्ने, सहायक योग थेरापिस्टका रूपमा कार्य गर्न सक्नेछन् ।

‘मानव जातिलाई योगले फाइदा पुग्ने कुरा विभिन्न अध्ययन अनुसन्धानले पुष्टि गरिसकेको अवस्थामा यसको आधिकारिक पठनपाठन हुनु सराहनीय छ,’ योग प्रशिक्षक खरेल भन्छन्, ‘देशविदेशमा योगको माग बढ्दै गएको सन्दर्भमा यो कोर्स गरेपछि योग शिक्षकको भूमिका निर्वाह गर्न सक्नेछन्।’

योगको अभ्यास स्कुल एवं कलेजमा अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीलाई उपयोगी छ भन्ने प्रमाणित भइसकेकाले विद्यालयमा अध्यापनरत शिक्षकलाई योगसम्बन्धी प्रशिक्षण दिँदा अध्यापन कार्य अझै प्रभावकारी हुने उनी बताउँछन्।

‘धेरै युवा रोजगारीका लागि विदेश गइरहेका छन्। तिनीहरुलाई योग प्रशिक्षण दिएर पठाउन सकियो भने आफ्नो स्वास्थ्यको राम्रो हेरचाह गर्न सक्छन् भने जीवन जोखिममा पर्ने सम्भावना पनि कम हुन्छ। यसका लागि अल्पकालीन कक्षाको व्यवस्था गर्नुपर्ने देखिएको छ,’ खरेल भन्छन्।

संस्कृत विश्वविद्यालयमा प्राकृतिक चिकित्सा तथा योग प्रशिक्षण

नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतको वाल्मीकि विद्यापीठमा योग प्रशिक्षण हुने गरेको छ। वाल्मीकिमा योगसम्बन्धी विशेष अध्यापन नभई ‘प्राकृतिक चिकित्सा तथा योग’ शीर्षकमा हुने चार महिने, छ महिने प्रशिक्षणमै योगलाई समावेश गरिएको विद्यापीठका प्राध्यापक मुरलीधर दाहालले बताए।

‘प्राज्ञिक अध्ययनभन्दा पनि संस्कृत विश्वविद्यालयले तय गरेको प्रशिक्षण पाठ्यक्रममा आधारित भएर प्राकृतिक उपचार पद्धति तथा योगको प्रयोगात्मक विधि सिकाउने गरेका छौं,’ दाहालले भने ।

इन्जिनियरिङ कलेजमा डेढ दशकदेखि योग

काठमाडौंको कालीमाटीमा रहेकाे काठमाडौं इन्जिनियरिङ कलेजमा हरेक दिन एक पिरियड योग पढाइ हुँदै आएको छ। यो क्रम विगत १३ वर्षदेखि निरन्तर रुपमा चलिरहेको कलेजका अध्यक्ष एवम् प्रिन्सिपल प्रा. हिरेन्द्रमान प्रधानले बताए।

कलेजका भाइस प्रिन्सिपल आर्किटेक्ट शैलिता मानन्धर जोशीले लकडाउनका बेला पनि हरेक दिन शिक्षक एवम् कर्मचारीका लागि योगाभ्यास गराइरहेको जानकारी दिइन्। उनका अनुसार योग दिवसका दिन कलेजले भर्चुअलकै माध्यमबाट विभिन्न कार्यक्रम गरिरहेकाे छ।

के हो त योग ?

योग सूत्रले भनेको छ, ‘योगश्चः चित्तवृत्ति निरोधः’ अर्थात् चित्तमा भएका वृत्तिलाई शुद्धि गर्ने काम नै योग हो। यसर्थ मन तथा शरीरमा जमेर बसेका अनावश्यक विषयलाई हटाएर मन तथा शरीरलाई कञ्चन पार्ने कार्यलाई योग भनिन्छ। योगको शाब्दिक अर्थ हो, जोड। आत्माको परमात्मासँगको मिलन गराउने ज्ञान वा विधा नै योग हो।

योगले मानिसलाई शारीरिक र मानसिक रुपमा स्वस्थ रहन मद्दत गर्दछ। योगका विभिन्न प्रकार छन्।

हाल प्रचलित अष्टांग योगका आठ अंग यम, नियम, आसन, प्राणायम, प्रत्याहार, धारणा, ध्यान र समाधि हुन्। पहिलो चार अंग यम, नियम, आसन, प्राणायाम अष्टांग योगका बहिरी पक्ष हुन्। जुन शरीरका बाह्य पक्षका साधनाका लागि हुन्। प्रत्याहार, धारणा, ध्यान र समाधि भने भित्री पक्ष हुनु, जुन आत्मचिन्तनद्वारा साधना गर्न प्रयुक्त हुन्छन्।

सनातन कालदेखि नै चलिआएको योगलाई सूत्रबद्ध गर्ने काम इसापूर्व ४०० तिरका पतञ्जली ऋषिले गरेका हुन्।

 

प्रतिक्रिया दिनुहोस्