शुक्रबार, वैशाख १४, २०८१

बाजी १५ वर्षे बन्दी जीवनको !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
एक शरद ऋतुको छिप्पिएको रात। बुढो महाजन १५ वर्षअघि आजकै जस्तो शरद ऋतुमा आफूले दिएको भोज-भतेरको कुरा सम्झेर आफ्नो अध्ययन कक्षमा घरि यता घरि उता विचरण गर्दै थियो। त्यसमा एक-से-एक चलाख मानिसहरू थिए। उस्तै दामी भलाकुसारी भएको थियो। तिनले मृत्युदण्डको बारेमा पनि खुब गलफत्ति गरेका थिए। अतिथिमध्ये अधिकांशले मृत्युदण्डलाई रुचाएनन्। उनीहरूको विचारमा प्रचलित दण्डविधान गए गुज्रेको छ, क्रिस्चियन राज्यलाई नसुहाउने र अनैतिक पनि। कसै-कसैले के पनि मत जाहेर गरे भने मृत्युदण्डलाई आजीवन कारावासले सर्वत्र विस्थापित गर्नु राम्रो हुन्छ।

‘म तिमीसँग सहमत छैन,’ मेजवानले भन्यो, ‘हुन त, मैले मृत्युदण्ड या आजीवन कारावास कुनै पनि भोग्नुपरेको छैन तैपनि मलाई ती दुईमध्ये कुनचाहीं रोज्छस् भनेर सोधियो भने मेरो रोजाइ मृत्युदण्ड नै हुनेछ। किनभने, त्यो आजीवन कारावासभन्दा बढ्ता नैतिक र मानवीय हुन्छ। फाँसीले मानिसलाई तत्कालै मार्छ जबकि आजीवन कारावासले मन्द मृत्यु दिन्छ।’

‘लु भन त, कुनचाहीं राम्रो जल्लाद हो, एकैचोटी झ्याप्प मार्ने कि वर्षौं वर्ष लगाएर चिमोटी-चिमोटी मार्ने?’

‘ती दुवै उत्तिकै अनैतिक हुन्,’ एक जना अतिथिले त मुखै फोर्यो, ‘किनभने, ती दुवैको उद्देश्य एउटै हो, कसैको जीवन हरण गर्ने। राज्य भनेको ईश्वर होइन, जुन कुरो कथम् आफूले चाहँदा फिर्ता गर्न सक्दैन, त्यो हरण गर्ने उसलाई अधिकार हुँदैन।’

त्यस कचहरीमा एउटा अधिवक्ता पनि थियो, गधापच्चिसी नढल्केको नव जवान। जब उसको यसबारे मत मागियो, ऊ त भन्छ, ‘मृत्युदण्ड र आजीवन कारावास दुइटै उत्तिकै अधम हुन्। फेरि पनि दुईमध्ये कुनै एक रोज्न भनिन्छ भने मचाहीं निश्चय नै आजीवन कारावास रोज्थें। मरिहाल्नुभन्दा जसोतसो अलिक दिन जिउनु कता हो कता राम्रो !’

विमर्श घम्साघम्सी रह्यो। उसबेला महाजन युवा नै थियो र अलिक घवरायो पनि। एक्कासी उत्तेजनामा आएर टेबलमा मुड्की बजार्दै युवा अधिवक्तामाथि खनिँदै भन्यो, ‘यो सब बकवास हो। लु मैले २० लाख बाजी राखें, पाँच वर्षसम्म बन्दी कोठामा बस्नेछ तिम्रो हिम्मत?’

 उत्तेजनामा आएर टेबलमा मुड्की बजार्दै युवा अधिवक्तामाथि खनिँदै भन्यो, ‘यो सब बकवास हो। लु मैले २० लाख बाजी राखें, पाँच वर्षसम्म बन्दी कोठामा बस्नेछ तिम्रो हिम्मत?’


‘तिमीले ख्यालख्याल भनेको कि साँच्चै? साँच्चै भनेका हौ भने पाँच होइन, म १५ वर्ष बस्न तयार छु।

‘१५ वर्ष? लु भो, बाजी !’ महाजनले धमाश दियो, ‘महाशय, मैले २० लाख बाजी लगाको छु नि !’

‘मन्जुर। बाजीमा तिमीले २० लाख थाप्यौ, मैले मेरो स्वतन्त्रता,’ अधिवक्ताले जवाफ दियो।

यसरी यस आवेशमा भएको हास्यास्पद बाजीको जन्म भयो। उत्तिखेर त महाजन पुङ्माने र फजुलखर्ची थियो। ऊसँग गन्ने नै हो भने करोडौंको जायजेथा थियो। बिहान खाना खाने बेलामा उसले अधिवक्तालाई मजाकमा भन्यो, ‘भाइ, तिमी होशमा आऊ ! समय बितेपछि त हुने नोक्सानी हो। २० लाख भनेको मेरो निम्ति माखाजत्ति पनि होइन। तिमीले ३/४ वर्ष त आफ्ना जीवनका सर्वोत्तम वर्ष गुमाउनु पर्नेछ। म ३/४ वर्ष भन्दैछु किनभने तिमी त्यतिबेरसम्म त बाहिर आउने कुनै गुञ्जाइस नै रहँदैन। हे असन्तोषी मनुष्य, यो पनि न भुल कि जबर्जस्ती बन्दीभन्दा स्वेच्छिक बन्दी हुनु कता हो कता गाह्रो हुन्छ। चाहेको बेला निस्कने अधिकार छँदैछ भन्ने सोचेका छौ भने त्यो पनि गलत हो किनभने त्यसले बन्दी कक्षभित्रको तिम्रो सम्पूर्ण जीवन विषाक्त बनाइदिन्छ। तिम्रो बुद्धि देखेर मलाई टीठ लागेर आउँछ।’

अब भने महाजन एउटा कुनाबाट अर्को कुना ओहोरदोहोर गर्दै यो सबै स्मरण गरेर आफैंलाई सोध्न पुग्यो, ‘किन मैले यो बाजी थापें? यसबाट के लछारपाटो लाग्छ र? विचरा अधिवक्ताले आफ्नो जीवनको १५ वर्ष गुमाउँछ, म २० लाख आफल्छु। यसले जनतालाई मृत्युदण्ड आजीवन कारावासभन्दा राम्रो या खराब भनेर कसरी आश्वस्त पार्ला र? हत्तेरिका, सब बकवास, सब वाहियात। मेरो कुरो त हुनेखाने मानिसको सनकको कुरा भो। त्यो मुले अधिवक्ताको कुरो त काटीकुटी द्रव्यपिसाचको कुरा भो।’

त्यस साँझको भोजपछि के के भयो, त्यो पनि उसले सम्झ्यो। त्यतिखेर के निर्णय गरिएको थियो भने अधिवक्ताले महाजनको बगैंचामा रहेको मतानमा कठोर निगरानीमा बन्दी जीवन बिताउनुपर्नेछ। तोकिएको अवधिभित्र उसले मतानको संघार नाघेर कुनै पनि जीवित मानिसलाई हेर्न नपाउने, कुनै मानवीय आवाज सुन्न नपाउने, कुनै पनि चिठ्ठीपत्र प्राप्त गर्न तथा खबर कागज पढ्न बन्देज लगाउने निर्णय गरिएको थियो। उसलाई संगीतका वाद्यवादन भने उपलब्ध गराउन सकिने, पुस्तक पढ्न, चिठ्ठी पत्र लेख्न, मदिरापान गर्न र चुरोट खान भने छुट दिइएको थियो।

सम्झौताअनुसार ऊ न बोलेर-लेखेर बाहिरी संसारसँग सञ्चार गर्न पाउँथ्यो। त्यसका निम्ति भनेर एउटा सानो छुट्टै आँखीझ्यालको बन्दोबस्त गरिएको थियो। ऊ त्यो झ्यालमार्फत आफूलाई चाहेको कुनै पनि चीज, कुनै पनि पुस्तक, कस्तै संगीत, रोज्जा मदिरा जति चाहेको हो, एउटा नोट पठाएर प्राप्त गर्न सक्थ्यो। बन्दी जीवनलाई सख्त रूपमा कालकोठरीजस्तो बनाउन मसिना-मसिना कुरा पनि सम्झौतामा समेटिएका थिए।

सम्झौताअनुसार अधिवक्ताले १४ नोभेम्बर १८७० को मध्यरातिदेखि १४ नोभेम्बर १८८५ को मध्यरातिसम्म गरेर पूरै १५ वर्ष बन्दी जीवन बिताउनुपर्ने प्रावधान थियो। तोकिएको समयभन्दा दुई मिनटअघि मात्रै पनि भाग्नेजस्तो शर्त उल्लंघन भएमा महाजन बन्दीलाई २० लाख दिन बाध्य हुने छैन।

बन्दी जीवनको पहिलो वर्ष उसले पठाएका स-साना नोटहरूबाट के कुरा प्रष्ट हुन्थ्यो भने अधिवक्ता एकलासपन र विरक्तिबाट हुनुसम्म आक्रान्त भयो। ऊ बसेको कक्षबाट रातदिन पियानोको आवाज आउँथ्यो। उसले मदिरा र चुरोट परित्याग गरेको थियो। ‘मदिराले,’ उसले लेखेको थियो, ‘तृष्णा जगाउँछ र तृष्णा कैदीको सबैभन्दा ठूलो शत्रु हो। यसका साथै एक्लै उम्दा मदिरापान गर्नुजस्तो दिक्दारलाग्दो कुरा अरू केही हुँदैन।’ चुरोटले त उसको कोठाको वायु नै प्रदुषित गर्छ। पहिलो वर्ष त अधिवक्ताले हल्का पुस्तक मगाको देखिन्छ, अलिक जटिल प्रेम कहानी भएका उपन्यास, अपराध र स्वैरकल्पनाका कथाहरू, हास्य नाटकहरू आदि आदि।

दोस्रो वर्ष पियानो सुनिन छोड्यो। अब भने अधिवक्ता शास्त्रीय ग्रन्थ मात्रै झिकाउन थाल्यो। पाँचौं वर्षमा पुनः संगीत गुञ्जिन थाल्यो। मदिराको पनि माग हुन थाल्यो। उसलई निगरानी राख्नेका मतअनुसार त्यो वर्ष उसले खानमा, पिउनमा र ओछ्यानमा सुतेरै बितायो। ऊ अक्सर बर्बराउँथ्यो र आफैंप्रति क्रुद्ध हुन्थ्यो। एउटा पनि किताब पढेन। कुनै कुनै रात लेख्न तम्सिन्थ्यो। धेरैबेर लेख्यो र फेरि त्यसलाई एकाबिहानै च्यातचुत पार्थ्यो। कत्तिचोटी त ऊ रोएको पनि सुनिएको हो।

बन्दी छैटौं वर्षको उत्तरार्धमा भाषा, दर्शन शास्त्र र इतिहासको व्यग्रतापूर्वक अध्ययन गर्न थाल्यो। उ, तिनको अध्ययनमा यति टुप्पी कसेर लाग्यो कि उसले मागे जति किताब आपूर्ति गर्नमै महाजनलाई हम्मे हम्मे पर्यो। चार वर्षको अवधिमा उसको अनुरोधमा झन्डै चार सय थान किताब किनिए होलान्। बन्दीमा यस्तो धुन सवार भएका बेला महाजनले एउटा पत्र प्राप्त गर्यो, ‘मेरो प्रिय जेलर, म यी हरफहरू ६ वटा भाषामा लेख्दैछु। यसलाई भाषासम्बन्धी विशेषज्ञहरूलाई जाँच्न देऊ। तिनले पढेर एउटा मात्रै पनि गल्ति भेट्टाएनछन् भने बगैंचामा आएर एउटा गोली पड्काइदिनु ताकि म ढुक्क हुन सकौं कि मेरो सारा प्रयास खेर गएनछ। विभिन्न युग र विभिन्न देशका महान प्रतिभाशाली व्यक्तिहरू अलग-अलग भाषामै बोल्छन् तर ती सबैको हृदयमा प्रज्वलित ज्वाला भने एउटै हुन्छ। कास, अहिले मैले भोगेको स्वर्गिक सुखानुभूति तिमी अनुभव गर्दा हौ त तिम्रा खुट्टा भुर्इंमा हुने थिएनन्।’

बन्दीको माग पूरा गरियो। महाजनको आदेशमा बगैंचामा दुइटा गोली पड्काइए। अलिक पछि, दशौं वर्षपछि, अधिवक्ता हलचल नगरी टेबल अघिल्तिर बसेर ‘न्यु टेस्टामेन्ट’ मात्रै पढ्न थाल्यो। उता, महाजन भने चकित पर्न थाल्यो। आफूले भने वर्षदिनमा त्यति मोटो त के अलिक पातलो एउटै किताब, त्यो पनि अलिक बुझिने खालको छिचोल्न पनि गाह्रो छ, यो मान्छेले भने ६ सय वटा बढेमाका ग्रन्थ खातखुत्तै निलेको छ। ‘न्यु टेस्टामेस्ट’ पढिसकेपछि उसले धर्मको इतिहास पढेको छ अनि धर्मशास्त्र पढेको छ।

बन्दी जीवनका बाँकी अन्तिम दुई वर्षमा बन्दीले असंख्य किताब पढ्यो, रंगीविरंगी। अहिले प्रकृति विज्ञान त भरे बाइरोन या सेक्सपियर पढ्थ्यो। उसले पठाएका नोटबाट थाहा हुन्थ्यो, उसले एकैचोटी रसायन शास्त्रका किताब, चिकित्सा विज्ञानका पाठ्यपुस्तक, उपन्यास र दर्शनशास्त्र या धर्मशास्त्रका ठेली मगाएको हुन्थ्यो। ऊ यसरी पढ्थ्यो मानौं समुद्रमा जहाज भताभुंग भएको छ र जीवन बचाउन कहिले जहाजको यो यो टुक्रा त कहिले ऊ टुक्रा समात्न ऊ ओहोरदोहोर गर्दै पौडी खेल्दै छ।

२. महाजनले यो सबै पुनःस्मरण गर्दै सोच्यो, ’भोलि रातको १२ बजे ऊ छुट्छ। सम्झौताअनुसार मैले २० लाख तिर्नुपर्ने हुन्छ। त्यत्रो रकम तिर्दा त मेरो हुनुहार हुन्छ। मेरो त बर्बादै हुन्छ ...।’

१५ वर्षअघि ऊसँग के को कमी थियो र? धनदौलत छ्यालब्याल थियो। तर, अहिले ऊसँग कुनचाहीं बढी छ, ऋण कि धन? यसबारे सोच्दा पनि उसलाई भाउन्न छुट्थ्यो। सट्टे बजारमा जुवा खेलेर, जोखिमपूर्ण सट्टेबाजी र बुढेसकालमा पनि छोड्न नसकेको लापरवाहीले गर्दा उसको व्यवसाय चौपट बन्दै थियो। यसरी एक हक्की, आत्मविश्वासी, स्वाभिमानी व्यवसायी एक सामान्य व्यवसायीमा गिर्न पुगेको थियो।

‘तिमीले दिने भनेको २० लाख मैले माफी गरिदिएँ। हो, उसबेला मैले त्यसलाई स्वर्गै ठानेको थिएँ। अहिले मलाई त्यो परालको त्यान्द्रोबराबर पनि लाग्दैन।’ 


हालत यस्तो थियो, बजारमा अलिकति मात्रै पनि तलवितल हुँदा उसका खुट्टा थरथरि काम्थे। ऊ टाउकामा हात राख्दै मुर्मुरिन्थ्यो, ‘कस्तो अलच्छिन बाजी राखिएछ ! त्यो पाजीलाई किन काल नआएको नि! भर्खर ४० वर्ष पुग्दैछ। त्यसले मेरो फुटेको कौडी पनि बाँकी नराख्ने भो। अनि भने घरजम गर्ने भो, ठाँटसित जीवन गुजार्ने भो, सट्टे बजारमा जुवा खेल्ने भो। म मोरो भने विक्षिप्त भिखारीजस्तो देखिने भएँ। त्यति मात्रै कहाँ हो र! त्यसले मलाई घरिघरि ठुंग्ने भो- तिमीले मेरो जीवनमा भरिदिएको खुशियालीप्रति म बहुत-बहुत आभारी छु। मैले तिम्रो निम्ति केही गर्नुछ भने बिनासंकोच मलाई भने हुन्छ।’ वाफ रे वाफ, यो त अति भो। यस्तो दिवालियापन र कलंकबाट बच्ने एउटै उपाय भनेको त्यो मानिस परमधाम जानै पर्छ।’

बल्ल बिहान सबेरैको तीन बजेको छ। महाजन घडीको टिकटिक सुनिरहेको छ। घरमा सबै मस्त निद्रामा छन्। झ्यालबाहिर हिउँले कठ्यांग्रिएका रुखका मर्केका आवाज भने प्रष्टै सुनिन्छ। आवाज न आओस् भन्ने यत्न गर्दै उसले आफ्नो कन्तुरबाट ढोकाको चाबी सुटुक्क निकाल्यो। यो ढोका विगत १५ वर्षदेखि बन्दको बन्द थियो। उसले आफ्नो ओभरकोट लगायो र घरबाहिर निस्क्यो। बगैंचा पूरै अँध्यारो थियो र चिसो पनि। सिमसिम पानी पर्दै थियो। बगैंचामा ठण्डा, मुटु नै छेड्ने हावा मडारिइरहेको थियो। त्यसैले वरिपरिका रुखलाई भने कुनै विश्राम थिएन। आँखा फाडी-फाडी हेरे पनि महाजन न भुईं देखिरहेको थियो, न सेता प्रस्तारका मूर्ति, न बगैंचामा रहेको मतान र न त वरिपरिका रुख नै। 

मतानको समिपमा पुगेर उसले पालेलाई दुईचोटी बोलायो। तर, कुनै प्रतिक्रिया आएन। भएको चाहीं खराब मौसमका कारणले गर्दा पाले अन्यत्र कतै ओत लाग्न गएको थियो र उतै कतै भान्सा कोठामा या ग्रिनहाउसमा भुसुक्क निदाएको थियो। ‘यदि मैले आफ्नो मतलव फत्ते गर्ने साहस बटुलें भने,’ बुढो महाजन सोच्न थाल्यो, ‘आशंकाको घेरामा त हरहिसाबले पाले नै पर्ने हो।’

अँध्यारोमा छामछाम छुमछुम गर्दै ऊ सिंडी ओर्ल्यो र ढोकामा पुग्यो अनि त्यहाँबाट मतानको मुख्य कक्षमा प्रवेश गर्यो। त्यसपछि साँघुरो निकास भएर ठेल्लिँदै अघि बढ्यो, सलाइको काँटी पार्यो। चरोमुसो केही थिएन। कसैको खाट त थियो तर बिछ्यौना थिएन। पर कुनामा फलामे स्टोभ थियो। बन्दीको कोठामा जाने ढोकाको शिलबन्दी तोडिएको थियो। सलाई के निभेको थियो, घवराहटमा थरथर काम्दै विचरा महाजनले सानो झ्यालबाट भित्र चिहायो।

बन्दीको कोठामा एउटा मोमबत्ति मधुरो प्रकाशमा बलिरहेको थियो। बन्दी स्वयम् भने टेबलको बगलमा बसेको थियो। उसको पिठ्यूँ, टाउकाको कपाल र हात मात्रै देखिन्थे। टेबलभरि खुलेका किताब यत्रतत्र छरिएका देखिन्थे। टेबलको बगलमा गलैंचामाथि दुइटा कुर्सी राखिएका थिए।

पाँच मिनटजति बित्यो होला बन्दी त टसमस नै गरेन। १५ वर्षको बन्दी जीवनले उसलाई बिनाहलचल बस्न सिकाएको थियो। महाजनले झ्यालमा औंलाले खटखटायो तर बन्दीले कुनै परवाह नै गरेन। तब भने उसले सुस्तरी बहुतै सावधानीपूर्वक ढोकामा लगाएको शिलबन्दी तोडेर साँचोमा चाबी घुसायो। खियाले खाएको भएर चाबी कर्याककुरुक गर्यो र ढोकाको चरमराहट आयो। महाजनलाई त लागेको थियो, पक्कै अताल्लिएको आवाज आउने भो, पदचापको आवाज सुनिने भो। परन्तु, तीन मिनट बित्यो, भित्र त पूर्ववत मुर्दाशान्ति छ।

उसले भित्र छिरेर हेर्ने निश्चय गर्यो। टेबलको अघिल्तिर मान्छे त बसेको छ तर आम मानवीय प्राणीजस्तो थिएन। हाडछाला टाँसिएको कंकालजस्तो थियो, महिलाको जस्तो लामो तर गुजुल्टिएको कपाल र असरल्ल दाह्री थियो। अल्प रक्तले कान्तिविहीन पीत अनुहार। खोपा परेका गाला। लमतन्न किक्रिक्क परेको ढाड। सिक्राजस्ता हातमा जिंग्रिंग परेको कपाल भएको टाउको अडेस लगाएको। हेर्दैमा अत्यास लाग्ने। उसको कपाल तीलचामल भइसकेको थियो। उसको अनुहारमा परेको चाउरी देखेर यो मानिस भरखर ४० वर्ष पुगेको भनेर कसैले पनि विश्वास गर्न सक्दैनथ्यो। टेबलमा घोप्टो परेर अड्याएको शिरको ठीक अघिल्तिर एउटा कागजको पन्नामा केही लेखेको र त्यसलाई एउटा लिखुरे हातले अठ्याएर राखेको थियो।

‘विचरा शैतान,’ महाजनले सोच्यो, ‘मस्त निन्द्रामा छ। शायद सपनामा करोडौं रुपैयाँ खेलाएको देख्दै होला। मैले त फगत यस अर्धमृत मनुष्यलाई उठाएर ओछ्यानमा सुताएर सिरानेले एकछिन मात्रै यसको मुख थुनें भने यसको इहलीला समाप्त हुन्छ। जतिसुकै सिद्धहस्त जाँचकीलाई पनि यो कर्तव्य ज्यान हो भन्ने पत्तै हुँदैन। तर, पहिले यसले लेख्नचाहीं के लेखेको रहेछ त्यो चाहीं पढौं न!’

महाजनले टेबलबाट कागजको पन्ना उठाएर पढ्न थाल्यो-

‘भोलि मध्यराति म मेरो स्वतन्त्रता हासिल गर्दैछु र मानिसहरूबीच घुलमिल हुने अधिकार सुरक्षित गर्दैछु। मैले यो कक्ष छाडेर घाम देख्नुअघि मैले तिमीलाई केही कुरा भन्नु जरुरी ठानेको छु। म पूर्ण होशहवासका साथ ईश्वरलाई साक्षी राखेर घोषणा गर्छु कि म स्वतन्त्रता, जीवन, स्वास्थ्य र तिम्रा किताबले भन्ने गरेको लौकिक अनुकम्पालाई तुच्छ ठान्छु। १५ वर्षसम्म त मैले लौकिक जीवनको बारेमा घोर अध्ययन गरेको छु। यो साँचो हो कि मैले न पृथ्वी देखें न त मानिस नै। तर, मैले तिम्रा किताबबाट मदिराको चास्नी चाखेको छु, गीत गाएको छु, जंगलमा हरिण र बँदेलको शिकार खेलेको छु, महिलाहरूसँग प्रणय गरेको छु अनि तिम्रा कविका अदभूत प्रतिभाको जादुमा सिर्जित अलौकिक परीजस्ता सुन्दर युवतीहरू रातरात म कहाँ आएर मेरो कानमा खुसुक्क रोमाञ्चक कथा सुनाएका छन् र म मदहोश भएको छु। तिम्रा किताबमा टेकेर म एल्ब्रुजको शिखर र ब्लांक पहाड चढेको छु। त्यहाँबाट एकाबिहानै घामको पहिलो पहिलो झुल्को देखेको छु। त्यसरी नै साँझपख, आकाश, समुद्र र पहाडी टाकुराहरू बैजनी पीत रंगमा लपक्क पोतिएर सिंगारिएको देखेको छु।’

‘मैले मेरो शिरमाथिको गगनमा बिजुली चम्किँदा कसरी बादल फाट्छ भन्ने देखेको छु। मैले हराभरा जंगल, लहलह बालीले ढाकेका खेतबारी, कलकल बग्ने नदी, मन्द लहरमा खेलिरहेका तालतलैया र व्यस्त शहर देखेको छु। मैले साइरन कराएको सुनेको छु र मुरली बजेको पनि सुनेको छु। मैले मकहाँ ईश्वरको सन्देश सुनाउन उड्दैउड्दै आएका दैत्यका सुन्दरतम पखेटा छोएको छु। ... तिम्रा किताब पढेर म अनन्त रसातल पुगेको छु, तमाशा देखाएको छु, शहरहरू गल्र्यामगुर्लुम भत्काएको छु, नवीन धर्मदेशना गरेको छु, सारा मुलुक दिग्विजय गरेको छु ...।’

‘तिम्रा किताबले मलाई ज्ञान दिएका छन्। शताब्दियौं लगाएर सिर्जित अथक मानवीय विचार यो सानो मेरो खोपडीमा सञ्चित गरेको छु। तिमीहरू कोहीभन्दा म बढ्ता चलाख छु, त्यसको मलाई भलिभाँती ज्ञान छ।’

‘म तिम्रा किताबको निन्दा गर्छु, सारा लौकिक अनुकम्पा र ज्ञानको निन्दा गर्छु। सारा चराचर शून्य, क्षणभंगुर, काल्पनिक र मृगतृष्णाजस्तै मायावी छ। तिमी स्वाभिमान, बुद्धिमानी र आकर्षक भएर पनि दुलाको मुसो लोप भएजस्तै एक दिन तिमीलाई मृत्युले यस धर्तिको काखबाट विछोड गराउने छ। तिम्रा सन्तति, तिम्रो इतिहास र तिम्रा विभूतिहरूको अमरता सबका सब भस्मिभूत हुनेछन्।’

‘तिमी पागल हौ र तिमीले गलत बाटो रोज्यौ। तिमीले सत्यको साटो मिथ्या र सुन्दरताको साटो कुरूपता छान्यौ। अकस्मात् स्याउ या सुन्तलाको बोटमा फल होइन, भ्यागुता र छेपारा फल्न थाले भने, गुलाफले सुगन्ध उत्सर्जन गर्न छाडेर हसिनपसिन घोडाले सास फेरेकोजस्तो गर्यो भने तिमी तीनचित पर्दैनौ? त्यसरी नै म तिमीलाई देखेर तीनचित परेको छु। तिमीले स्वर्गको साटो मृत्यु रोज्यौ। तिमीले किन यसो गर्यौ होला, त्यो मलाई बुझ्नु पनि छैन।’

‘तिमी जे चिजलाई सबथोक हो भनेर जिएका छौ, म त्यसलाई घृणा गर्छु। म यो व्यवहारतः गरेर पनि देखाउनेवाला छु। तिमीले दिने भनेको २० लाख मैले माफी गरिदिएँ। हो, उसबेला मैले त्यसलाई स्वर्गै ठानेको थिएँ। अहिले मलाई त्यो परालको त्यान्द्रोबराबर पनि लाग्दैन। त्यो २० लाख प्राप्त गर्ने अधिकारबाट वञ्चित हुन म स्वयं शर्तबन्दीको निर्धारित समयको पाँच मिनटअघि नै यहाँबाट बाहिर निस्केर सम्झौताको शर्त उल्लंघन गर्नेवाला छु।’

कागज पढिसकेपछि महाजनले त्यसलाई टेबलमाथि राखिदियो र त्यस अजीव मानिसको निधारमा चुम्यो। अनि भने रुनु रोयो। ऊ मतानबाहिर निस्कियो। उसलाई आफैंप्रति यति साह्रो घृणा यसभन्दा अघि भएकै थिएन। यति पश्चाताप त सट्टे बजारमा त्यत्रो घाटा हुँदा पनि भएको थिएन। घर आएर उ डंग्रंग ओछ्यानमा पल्टियो। तर, जलेको दिल र पोखिएका आँशुले उसलाई लामो समयसम्म निन्द्रा लाग्नै दिएनन्।

भोलिपल्ट बिहान विचरा पाले हस्याङ र फस्याङ गर्दै महाजन कहाँ आयो। पालेले मतानमा रहेको बन्दी झ्यालबाट उक्लेर बगैंचातिर लागेको खुद आफूले देखेको बेलिविस्तार लगायो, ‘त्यसपछि गेटसम्म गएको त देखें अनि भने अलप भयो।’ महाजन तत्कालै आफ्नो नोकरसहित मतानमा गयो र बन्दी साँच्चिकै भागेको यकिन गर्यो। अनावश्यक झमेला उठाउनु नपरोस् भनेर उसले अब २० लाखको दाबी नगर्ने भनेर बन्दीले गरेको बकपत्र टेबलबाट उठायो र घरमा आएर आफ्नो कन्तुरमा चाबी लगाएर जतन गर्यो।

(विश्व प्रसिद्ध साहित्यकार चेखोवको कथा ‘बाजी’को पूर्वराजदूत तथा नेकपा नेता टंक कार्कीले गरेको अनुवाद)
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।