बुधबार, वैशाख २६, २०८१

नारायणकाजी भन्छन्- 'नेतृत्वले नै गलत गर्‍यो'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर गत ३ जेठमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भयो । एकीकरण भएको तीन महिनाभित्र पार्टीका सबै संरचनामा एकता गरिसक्ने लक्ष्य थियो । तर, नेकपाले यस अवधिमा प्रदेशको नेतृत्व मात्र चयन गर्न सकेको छ । लामो समय लगाएर प्रदेशका इन्चार्ज, सह–इन्चार्ज, अध्यक्ष र सचिव तोकिए पनि त्यो विवादरहित बन्न सकेन ।

पार्टीले उक्त निर्णय एकीकरण प्रक्रियाको दमदार कदम भएको दाबी गरिरहँदा नेकपाका नेताहरू नै पार्टीले गरेको निर्णयप्रति सन्तुष्ट छैनन् । नेपाल समयसँग कुरा गर्दै नेकपाको प्रवक्तासमेत रहेका नेता नारायणकाजी श्रेष्ठले पनि पार्टीमा विधि र प्रणाली मिचिएको गुनासो गरे ।

आफू चीन भ्रमणबाट फर्किएकै दिन ५ असोजमा नेकपाको सचिवालय बैठकले प्रदेशका इन्चार्ज, सह–इन्चार्ज र अध्यक्ष तोक्दा नेतृत्वले गल्ती गरेको टिप्पणी श्रेष्ठको छ । प्रदेशको नेतृत्व चयन स्थायी कमिटीबाट गर्ने निर्णय भए पनि सचिवालयबाट निर्णय गरिनु गलत रहेको उनको भनाइ छ ।

'पार्टी एकीकरणअन्तर्गत सांगठनिक एकीकरणको काम स्थायी कमिटीबाटै गर्ने भन्ने थियो । स्थायी कमिटीमा हुने छलफलका लागि प्रस्ताव तयार पार्ने काम सचिवालयको हो । तर, सचिवालयले नै निर्णय गर्‍यो,' उनले भने, 'सचिवालयले प्रस्ताव गर्ने ठाउँमा निर्णय गरेर कार्यान्वयनमा लैजाने प्रयास गरियो । यो विधि र प्रक्रियाविपरित छ । पार्टीभित्रै पहिले गरेको निर्णय कार्यान्वयनको हिसाबले पनि ठीक भएन । शुरुको बैठकमा स्थायी कमिटीले गर्ने भनेको निर्णय सचिवालयबाटै भयो । यसो गर्नु राम्रो होइन ।'

सचिवालय बैठकको निर्णयबारे आफूलाई धेरै जानकारी नभएको उनले बताए । 'चीन भ्रमणबाट म बेलुका आउँदा बिहान नै सचिवालय बैठकले निर्णय गरिसकेको रहेछ,' उनले भने, 'बैठकमा सहभागी दुई अध्यक्षमा प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका जानुभयो । अर्का अध्यक्ष प्रचण्ड चितवन जानुभएपछि उहाँसँग पनि मेरो छलफल भएको छैन ।'

यस्तै गरी विधि र प्रक्रियाअनुसार नेतृत्व अगाडि बढेन भने पार्टी नै चल्दैन भन्ने शुभचिन्तकहरू पनि आफूले पाएको श्रेष्ठले बताए । नेकपा ५३ प्रतिशत जनमतप्राप्त पार्टी भएको बताउँदै उनले यसलाई व्यवस्थित बनाउन गुट, उपगुट र गिरोहबाट सम्भव नभएको बताए । उनले भने, 'पार्टीको संस्थागत विकास गरेर अघि बढ्नुपर्छ । जसलाई जे मन लाग्छ त्यहीअनुसार जिम्मेवारी दियो भने असन्तुष्टि बढ्नुका साथै ठूलो अराजकता निम्त्याउँछ ।' यसलाई व्यवस्थित बनाउन नियमावली बनाएको बताउँदै श्रेष्ठले सोहीअनुसार पार्टीले निर्णय गर्नुपर्ने औंल्याए ।
 
'पार्टी एकीकरणअन्तर्गत सांगठनिक एकीकरणको काम स्थायी कमिटीबाटै गर्ने भन्ने थियो । स्थायी कमिटीमा हुने छलफलका लागि प्रस्ताव तयार पार्ने काम सचिवालयको हो । तर, सचिवालयले नै निर्णय गर्‍यो । यो विधि र प्रक्रियाविपरित छ ।'

अब भारतले हेप्दैन

नेता श्रेष्ठले नेपालको परराष्ट्र नीति एकदमै स्पष्ट रहेको बताए । सरकारले समनिकटताका आधारमा छिमेकी मुलुकसँग समान सम्बन्ध राख्ने रणनीति लिएको बताउँदै उनले दक्षिण छिमेकी भारतबाट बेला–बेलामा समस्या आउने गरे पनि अब त्यस्तो नहुने दाबी गरे ।

'हामी दक्षिणी छिमेकी मुलुकबाट केही पीडित नै छौं । भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्नुका साथै नेपालीका अधिकारहरूलाई सम्मान नगर्ने स्थिति देखा परेको हुनाले कहिलेकाहीं समस्या पर्ने गरेको छ,' उनले भने, 'तर, अब यो समस्या समाधान भयो ।'

प्रबुद्ध समूहले छिमेकी देशसँगको सम्बन्धका विषयमा प्रतिवेदन तयार पार्दै गरेको जानकारी दिँदै उनले त्यही प्रतिवेदनका आधारमा नेपालले छिमेकी राष्ट्रसँगको सम्बन्ध मजबुद बनाउने बताए । चीनसँगको सम्बन्ध हिजो पनि राम्रो र आज पनि थप सुदृढ भएको उनले दाबी गरे ।

विदेशी लगानीका लागि कराउनु पर्दैन

नेपालमा विदेशी लगानी भित्र्याउन पनि धेरै हत्ते गर्नु नपर्ने नेता श्रेष्ठको भनाइ छ । विदेशी लगानीकर्ता नाफा कमाउन मात्र आउने तर्क गर्दै यस्तो अवस्थामा नेपाललाई फाइदा पुग्ने लगानी ल्याउन मात्र लाग्नुपर्ने उनको भनाइ छ ।

'विदेशी लगानीका लागि आऊ आऊ भनेर हामी कराउँदा कोही आउने पनि होइन । अनुकुल वातावरण बनायौं भने धेरै हत्ते पनि गर्नुपर्दैन,' उनले भने, 'कोही पनि विदेशी लगानीकर्ता नेपाल र नेपालीका लागि आउने होइनन् । उनीहरू नाफा कमाउन मात्रै आउने हुन् । नेपालमा लगानी गर्न भएका अप्ठ्यारालाई सहज बनाइदिने हो भने नेपाल आउन चाहने कति हो कति छन् । उनीहरू उफ्रिएर आउनेछन् ।'

तर, नेपालको विकासका लागि विदेशी लगानी घातक हुने उनको भनाइ छ । 'हामीलाई भएको भ्रम हाम्रा लागि आउने भन्ने छ, त्यो होइन । हामी अनुकुलको लगानी ल्याउने मात्र हो । विदेशी लगानी ल्याएर विकास गर्छौं भन्नु गलत सोच हो,' श्रेष्ठले भने ।

नेपालमा लगानी गर्ने विदेशीले राजनीतिक स्थिरता खोजेको उनको भनाइ थियो । वर्तमान सरकार स्थायी प्रकृतिको भएकाले अब वातावरण सकारात्मक भएको औंल्याए । सरकारले गरेको निर्णय कर्मचारीतन्त्रले नमान्ने कारणले पनि केही समस्या आएको र त्यो समाधानका लागिपरेको उनले दाबी गरे ।
 
'पार्टीको संस्थागत विकास गरेर अघि बढ्नुपर्छ । जसलाई जे मन लाग्छ त्यहीअनुसार जिम्मेवारी दियो भने असन्तुष्टि बढ्नुका साथै ठूलो अराजकता निम्त्याउँछ ।'

कामको समीक्षा गरेर सरकार अघि बढ्छ

सरकारका कमी कमजोरीको समीक्षा गरेर नेता श्रेष्ठले अगाडि बढ्ने उनले बताए । 'सरकार गठन भएको सात महिना भयो । पाँच वर्ष यही सरकार रहन्छ,' उनले भने, 'आधा समय बित्दा सबै नेपालीले आफ्नै लागि सरकार गठन गरेको महशुस गर्नेछन् ।'

सरकारले गरेका कामका कतिपय नतिजा अहिले नै आउन नसक्ने भएकाले पनि सरकारले गरेका काम नदेखिएको उनको दाबी छ । 'सबैभन्दा पहिला हामीले नेपालको राष्ट्रिय सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितलाई ध्यानमा राखेर परराष्ट्र नीति अवलम्बन गर्ने कुरा व्यवहारमै उतार्ने गरी काम थालिएको छ । यो ठूलो ऐतिहासिक उपलब्धी हो ।'

त्यस्तो परराष्ट्र नीतिबाट नेपालको आन्तरिक मामिलामा हुने हस्तक्षेप अन्त्य हुने उनको दाबी छ । नेपालले कसैको नाकाबन्दी नबेहोर्नुपर्ने स्थिति सिर्जना हुने उनको भनाइ छ । 'राष्ट्रिय हितलाई केन्द्रमा राखेर सबैसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने हो । यसलाई नेपालको ठूलो प्रगतिका रूपमा लिन सकिन्छ,' उनले भने ।

संवैधानिक व्यवस्थाअनुसार निर्माण गर्नुपर्ने कानूनहरू तयार भई कार्यान्वयनमा गएपछि सरकारको काम देखिँदै जाने उनले बताए । 'सरकारले संघीयतालाई कार्यान्वयनमा लग्यो । सरकारको सम्पूर्ण ध्यान प्रशासनिक पुनर्संरचनामा छ । यो काम आन्तरिक भएकाले जनताले देख्ने कुरा भएन,' उनले भने, 'त्यससँगै जनतालाई राहत दिने र महत्वका योजना निर्माणका काम थालेका छौं ।'

नेकपाको सरकार बनेपछि देश सुशासनको गतिमा अगाडि बढ्ने र भ्रष्टाचार अन्त्य हुने आश्वासन चुनावमा बाँडिएको उनले स्मरण गरे । 'देश विकासको गतिमा अघि बढ्छ भनेर जुन कुरा जनतासँग राखेका थियौं, हामीले भनेजस्तो गरी काम अघि बढेको छैन । यसलाई खुलेरै हामीले बताउनुपर्छ,' श्रेष्ठले भने ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।