शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • निर्मला हत्याकाण्डमा नयाँ खुलासा: 'एसपी विष्टले गोली ठोक्ने धम्की दिए'

निर्मला हत्याकाण्डमा नयाँ खुलासा: 'एसपी विष्टले गोली ठोक्ने धम्की दिए'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- गत १० साउनमा बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका उल्टाखामकी निर्मला पन्तका बाबुआमा यज्ञबहादुर र दुर्गादेवी यतिबेला राजधानी काठमाडौंमा छन्। सरकारसँग छोरीका हत्याराहरू पत्ता लगाई हदैसम्मको कानूनी कारवाही र न्याय माग्न उनीहरू करिब सात सय १४ किलोमिटर टाढा आइपुगेका हुन्।

२८ भदौमा राजधानीमा आयोजित एक कार्यक्रममा दुवैले न्याय दिन नसक्ने भए आफूहरूलाई पनि गोली ठोकेर हत्या गरिदिन माग गरे। निर्मला मात्र होइन, सरकारका उच्च अधिकारीहरूले आफ्नी छोरीलाई पनि त्यस्तो भएको भए के हुन्थ्यो भनेर सोची हत्यारालाई कारवाहीको दायरामा ल्याउन उनीहरूले माग गरे। 

‘घरमा दुइटी छोरी छोडेर आएका छौं, न्याय नपाए घर कसरी फर्किने?’ आमा दुर्गादेवीले भनिन्, ‘यदि न्याय दिन नसक्ने भए दिन सक्दैनौं बरु मारिदिन्छौं भनिदिनोस्।’

प्रस्तुत छ, नेपाल समयले निर्मलाका बाबु यज्ञबहादुर पन्त र आमा दुर्गादेवीसँग राजधानीमा गरेको कुराकानीको अंश:

सरकारको सुस्तता र प्रहरीको बद्मासी हेर्दा न्याय मिल्ला भन्ने हामीलाई लागेको छैन। किनकि, गृह मन्त्रालयले छानविन समितिलाई १५ दिनको म्याद दिएर पठाएको भनेको छ। समितिका सदस्य वीरेन्द्र केसीले न्याय मिल्छ भन्नुभएको थियो। उहाँले नै एक्कासी राजिनामा दिँदा मलाई अचम्म लाग्यो। भलै उहाँले राजीनामा फिर्ता लिनु भयो तर केहि चलखेल भयो कि जस्तो मनमा कता कता चिसो पसेको छ । न्याय नपाउने शंका बढेको छ।
 

तीजको बेलामा छोरीलाई सम्झँदा भक्कानो छुट्छ। उनको निर्दोष र निश्छल अनुहार झल्झली आँखामा आउँछ । उनले जस्तो अरू छोरीहरूले ठूला भनाउँदा दानवहरूको हातमा पर्नु नपरोस्।


निर्मला बेपत्ता भएदेखि हत्यासम्मका शृंखला

जुन दिनदेखि मेरी छोरी हराइन् त्यही दिनदेखि प्रहरीले हामीलाई सहयोग गर्नुको साटो रुखो व्यवहार देखाउँदै आयो। हामीले साउन १० गते राति १२ बजेसम्म पटक–पटक प्रहरीसँग गुहार माग्यौं। राति १२ बजे भीमदत्त नगरपालिका-१८ को अस्थायी प्रहरी बिटमा म, श्रीमती, छिमेकीहरू गरी ६ जना गयौं। सबै जना सुतेका थिए । ड्युटीमा रहेका एक जनालाई उजुरी दिँदा सबै जना बर्दी लगाएर घटनास्थलमा जान लागेका बेला सई सा’बले जिल्लामा जानकारी दिनुपर्‍यो भने। फोन गर्नुअघि नै खोजीका लागि जान तयार भएका प्रहरीहरूलाई जाने अनुमति दिइएन। 

रातको कुरा छ, बिहान जाउँला भन्दा हामीलाई शंका लाग्यो। उहाँहरू शायद हामीले भनेको स्थान रोशनी बमको घरभित्र नगएर गेटमा मात्र बसिदिनु भएको भए पनि जीवितै उद्धार हुने थियो कि भन्ने लाग्छ। सास निमोठिएर पानीमा फाल्दा त्यहीं छोरीको ज्यान गएजस्तो लाग्छ हामीलाई।

साउन ११ गते बिहान साढे आठ बजे छोरी चढेको साइकल भेटियो भन्ने खबर आयो। त्यसपछि रोशनीकी दिदी बबिताले उसो भए लास पनि त्यतै होला भनेर फ्याट्टै भनिन्। त्यतिखेरसम्म हामीले हाम्री छोरी कतै बेचिएकी भन्ने मात्रै शंका गरेका थियौं। तर, लास नै त्यतै होला भनेपछि मनमा चिसो पस्यो। निर्मलाको लास त्यतै होला भनेर पहिलो पटक उच्चारण गर्ने बबिता नै हुन्। नभन्दै बबिताले भनेजस्तै गरी लास साइकल भेटिएको स्थान नजिकैको उखुबारीमा भेटियो।

उसकी साथी रोशनीको घरमा किताब र अब्बा लिन भनेर गएकी मेरी छोरी त्यही घरमा पो छन् कि भनेर साँझ ६ बजेतिर जाँदा रोशनीकी दिदी बबिताले गेटबाट भित्रसमेत पस्न दिइनन् । पछि फेरि छिमेकीका साथमा उनको घरमा सोध्न जाँदा फेरि पनि उसैगरि झर्किएर गेट बाहिरबाटै फर्किन बाध्य पारिन्। उनको यो व्यवहारले कतै उनीहरू पनि यो घटनामा संलग्न त छैनन् भन्ने हामीलाई लागेको छ। 



शव भेटिएपछिको प्रहरीको व्यवहार झनै रुखो र शंकास्पद

शव भेटिएको एक घण्टा पछि बल्ल प्रहरी आइपुग्यो। तर, प्रहरीले घटनास्थल शिल गरेन। बरु, जसलाई पनि प्रवेश गर्न छुट दियो। यति मात्रै होइन, निर्मलाको शव रहेको स्थननमा भेटिएको उनको रगतले लतपतिएको सुरुवाल पटक-पटक धोइएको थियो। उनको योनीबाट बगेको रगत पखाल्ने काम भएको थियो, जसको भिडियोसमेत सार्वजनिक भएको छ।

भिडियोमा सबै दृष्य हेर्न सकिन्छ। प्रहरीले यस्तो गर्न मिल्छ? यसरी प्रहरीले नै प्रमाण नष्ट गर्न खोज्नुको कारण के हो? यसको जवाफ अहिलेसम्म हामीले पाउन सकेका छैनौं। त्यसैले हामीलाई प्रहरीमाथि नै शंका लागेको छ। र, हामीले कञ्चनपुरका तत्कालीन एसपी, डीएसपी र उनका छोरामाथि नै अनुसन्धान होस् भनेका हौं।

शुरूको पोस्टमार्टमको रिर्पोटमा निर्मलाको मृत्यु कति बेला भयो भन्ने पनि लेखिएको थियो। तर, यकिन गरेर भनिएन। नयाँ डीएसपीले बिहान साढे २ देखि ३ बजेको बेला मृत्यु भएको जानकारी दिए। तर, मलाई त्यो पत्यार लागेन।

किनकि, बिहान ११ बजे मुचुल्का उठाउने क्रममा निर्मलाको गुप्तांगबाट रगत बगिरहेको थियो। त्यो प्रत्यक्षदर्शीले पनि देखेका छन्। प्रहरीहरूले रगत सबै पानीले पुछेका थिए, रहेका प्रमाण नष्ट गरेका छन्। सुरुवाल पनि पानीमा धेरैचोटी पखाले। उनका नङहरू सबै पखालेका छन्। जसबाट दोषीका प्रमाणहरू देखिन सक्थे, सबै नष्ट गरिए।

घटनास्थललाई शिल पनि गरिएको थिएन। जो कोहीलाई पनि आउन जान दिएका थिए। फेरि, मुचुल्का पनि एकदमै चाँडै उठेको थियो। त्यति चाँडो मुचुल्का उठेको कसैले पनि नदेखेको स्थानीय बासिन्दाले बताएका थिए।

यी सबै घटनापछि लास उठाउने कुरा भयो। ट्रयाक्टरमा हालियो। मेयर सा’ब नआएसम्म हामी लास लान दिन्नौं भन्यौं। मुद्दा फाँटको इन्स्पेक्टर एकेन्द्र खड्काले मेयर, सीडीओ सबै म नै हुँ भने। हामीले मेयर, एसपी, सीडीओमध्ये एक जना त आउनुपर्‍यो भन्दा ‘तपाईंको लास तपाईं नै राख्नु’ भन्दै छाडेर गए।

केहीछिनपछि छिमेकी रवीन्द्र तिवारी वडा इन्चार्ज जगदीश भट्टको घर पुग्नुभयो, जुन घटनास्थलबाट एक सय मिटर टाढा पर्छ। त्यतिन्जेलसम्ममा प्रमाण सबै मेटाइसकेका थिए।

छिमेकी रवीन्द्र तिवारीले त्यस्तो नगर्नु भनेर बिन्ती गर्नुभयो। त्यसपछि रविन्द्रका पत्रकार भाइ अम्बादत्त तिवारी आइपुग्दा लासलाई ट्रयाक्टरमा राखिसकिएको थियो। प्रहरीहरू कोही थिएनन्, लासलाई ट्रयाक्टरमा राख्दा। 

तत्कालीन सीडीओलाई फोन गरेर प्रहरीको व्यवहारबारे बतायौं। उनले तत्काल पठाइदिन्छु भनेको प्रहरी एक घण्टापछि मात्र आयो। त्यसपछि लासको पोस्टमार्टम गर्न सीधै महाकाली अञ्चल अस्पताल लगियो।

प्रधानमन्त्रीले समेत हामीले लास मेयरको घरमा राखेर आन्दोलन गर्दै अनुसन्धान गर्न दिइएन भनेर आरोप लगाउनुभयो । तर, त्यस्तो हामीले गरेका थिएनौं । लास सीधै महाकाली अञ्चल अस्पताल लगिएको थियो।

१५ दिनसम्म हामीले केही गर्छौं भनेका थिएनौं। हामीलाई त केवल न्याय चाहिएको थियो। तर, हाम्रो शालिनतालाई कमजोरी ठानियो। अनेकन आरोप हामीमाथि नै लगाउने काम भयो।

रोशनी र बबिता दिदी-बहिनीमाथि परिवारको शंका

हाम्री छोरी अन्तिम पटक गएको ठाउँ रोशनी बमकै घर हो। जहाँबाट निस्किएर उनी कहाँ गइन् भन्ने विषयमा रोशनीको भनाइ नै स्थिर छैन। उसको घरबाट निस्किएर मेरी छोरी कता गइन् ? यता कि उता त्यो पनि उनलाई थाहा छैन भन्छिन्। कहिले निर्मलाले एक जनाले मात्र अम्बा टिपेको भने। दोस्रो दिन फेरि तीनै जनाले टिपेर खाएर बाँकी घरमा लैजानका लागि पनि राखेकी थिइन् भने। उनको बयान नै दुई प्रकारको छ।

प्रहरीले पनि निश्चिन्त भएर ठूला मान्छेलाई जस्तो नास्ता दिई रोशनीसँग आरामले बयान लिएको छ। त्यही भएर हामीलाई शंका छ। उनको भनाइ प्रष्ट छैन। मुख्य दोषी प्रहरी नै हो, उनीहरूको लापरवाही नै हो।

रोशनी बम निर्दोष हुन् भने दोषी को हो त ? छानविन हुनुपर्‍यो। कसैले नमारेको भए त मेरो छोरी जिउँदो हुनुपर्ने। दोषी जो होस्, रोशनी बम वा अरू कोही हाम्रा सामु ल्याउनुपर्‍यो।

शुरूदेखि नै निर्दोषलाई दोषी ठहर्‍याइएको छ। हामी यहाँ काठमाडौं काम नभएर आएको होइन। छोरीहरूलाई घरै छाडेर बिल्लीबाठ बनाएर आएका छौं। हामी  गरिब र निमुखा हौं। पानीपुरी र चटपटे बेचेर छोरीलाई हुर्कायौं। तर, आज हाम्रो आड भरोसा छोरीको हत्या हुँदा न्यायका लागि यसरी रोइकराइ गर्नुपरेको छ।

एसपी बिष्टको निरन्तर धम्की

मलाई एसपी डिल्लीराज बिष्टले नाकमै औंलो ठड्याएर ‘म यहाँको स्थानीय बासिन्दा हुँ। भोलि ५ बजेसम्म लास उठेन भने कति मान्छे मर्नुपर्छ त्यो मलाई मात्रै थाहा छ भनेर थर्काए। ‘गोली हान्नु परे, कफ्र्यु लगाउनु परे पनि डराउँदिनँ’ भनेर धम्क्याए। राति १२ बजे फोन गरेर प्रशासनमा सहमति गराउन लगाए।

मेरी श्रीमती र छोरीहरूलाई घर पुर्‍याइदिन्छु भनेर प्रशासनमा पुर्‍याए। कति दिन म दाइको घरमा लुकेर बसें। न्यायका लागि आवाज उठाउँदा उल्टो दोषी जसरी लुकीलुकी बस्नुपरेको छ। निकै धम्क्याएका छन्। एसपी बिष्टको धम्की र न्याय दिनमा ढिलो गर्नुको कारण के हो भन्ने प्रश्न मनमा उठिरहेको छ। कञ्चनपुरमा बसेर न्याय पाउने छाँट नदेखेपछि बाध्य भएर काठमाडौं आएका हौं।

छोरी सम्झिँदै आमा दुर्गादेवी

तीज गयो, अरू चाडबाड आउँदैछन्। चाडबाडमा कति धेरै रमाउँथी मेरी छोरी। अहिले सम्झिँदा भक्कानो फुट्छ। छोरीको निर्दोष र निश्छल अनुहार झल्झली आँखामा आउँछ। निःशब्द छु, बोल्न पनि गाह्रो हुन्छ। हरेक दिन हरेक क्षण उसलाई सम्झेर आँशु झार्दा झार्दा मेरा आँखा नै रित्तिइसके।

मेरी छोरी गुण, बानी र व्यवहारमा निकै असल थिइन्। छोरीको सुनौलो भविष्यको कल्पना गर्दै लालनपालन गरेका थियौं। तर, यस्तो दर्दनाक अवस्थाबाट गुज्रनुपर्‍यो। विद्यालयका शिक्षक–शिक्षिकाले पनि मेरी छोरी पढ्नमा तेजिली छन् भन्नुहुन्थ्यो। तर, यस्तो बज्रपातमा गुज्रिरहनुपरेको छ। मेरोजस्तो अवस्था कसैलाई नपरोस्। उनले जस्तो अरू कुनैपनि छोरीहरूले ठूला भनाउँदा दानवहरूको हातमा परेर आफ्नो अस्मिता र प्राण गुमाउनु नपरोस्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।