शुक्रबार, वैशाख १४, २०८१

कांग्रेस ओरालोमा हान्‍निँदै कि उकालो चढ्दै ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
एउटा जमाना त्यो थियो, नेपाली कांग्रेस देशको केन्द्रीय भावमा हुने गथ्र्यो, अन्तर्राष्ट्रिय चासोको विषय बन्थ्यो । जमानाले कोल्टे फेरेको छ, कांग्रेस केन्द्रीय भावबाट विस्थापित भएको छ । अर्को जमाना यो.. त्यो ठाउँमा कम्युनिस्ट आएका छन् । कम्युनिस्ट आए कि ल्याइए यस विषयमाथि बृहत् अध्ययन र अनुसन्धानको आवश्यकता छ । 

त्यसैले यस आलेखमा म कम्युनिस्ट किन आए र कसरी स्थापित हुँदै कांग्रेसलाई केन्द्रीय भावबाट विस्थापित गर्ने गरी फैलिए भन्ने विषयमा विमर्श गर्न गइरहेको छैन । यसमा कांग्रेसको वर्तमान दुरवस्थाको चित्रण गरेर दुखिरहेका कांग्रेसजनलाई अरू दुखाउने काम पनि त्यति गर्ने छैन । बरु कांग्रेसमा वर्तमान परिदृश्यमा के कस्ता प्रवृत्ति सक्रिय छन् र यसका सामु सुध्रिने के कस्ता विकल्प छन् भन्ने विषयमा केन्द्रित हुनेछु ।

संसदमा एक तिहाइभन्दा कम संख्यामा सीमित र सातै प्रदेशमा आफ्नो दर्दनाक उपस्थितिका कारण कांग्रेसले अचेल के गर्ने के नगर्ने भन्ने सोझो मेलो पाइरहेको छैन । संसदमा बोल्ने मुख्यतः दुई जना छन्, गगन थापा र मिनेन्द्र रिजाल । संसदीय प्रस्तुतिमा यिनै दुईले कांग्रेसको इज्जत बचाइदिएका छन् । यहाँ संसदीय दलका नेता शेरबहादुर देउवाको प्रस्तुति र शैलीबारे टीका-टिप्पणी गरिरहनु आवश्यक नै छैन, राजनीतिमा सामान्य रुचि राख्ने मानिससमेत यस यथार्थसँग राम्ररी परिचित छन् ।

निश्चय नै अहिले आएर सडक र सामान्य मानिसको पहुँचबाट पर भएको कांग्रेस जनतासँग जोडिनुपर्छ भन्ने ठाउँमा चाहीं पुगेको छ । त्यसैले समाजमा उठेका विभिन्न तात्कालिक मुद्दामा आफू देखा पर्नुपर्छ अनि बल्ल उपस्थिति देखिन्छ र शिथिल हुँदै गएको श्वास-प्रश्वासको गतिलाई नियमितता प्रदान गर्ने अवसर प्राप्त हुन्छ भन्ने लागेर हुनुपर्छ, अचेल अलिकति मौका पायो कि चारतारे सडकमा देखा पर्न थालेको छ । लामो समयदेखि जनताका मुद्दाबाट पृथक सत्ताको आवत-जावतमा व्यस्त रहेका कारण जनस्तरमा कसरी फर्किने, यसको मेसो नपाइरहेका अवस्थामा कांग्रेसले गरिरहेको हालको व्यायामलाई स्वाभाविक रूपमा लिनुपर्छ ।

अवश्य नै एउटा राजनीतिक दलले स्थानीय, प्रादेशिक, राष्ट्रिय र वैश्विक मामिलामा आफ्नो दृष्टिकोण राख्नु अपेक्षित हुन्छ । त्यसैले चाहे त्यो चिकित्सा शिक्षालाई लिएर डाक्टर गोविन्द केसीको अनशनको सम्बन्धमा होस् अथवा अरू सार्वजनिक सरोकारका विषयमा दृष्टिकोण राख्नु, संसदमा प्रस्तुत र सडकमा प्रदर्शन गर्नु कदाचित अनुचित थिएन र होइन ।

केसीको अनशनका बेला यदि कांग्रेस मौन बसेको हुन्थ्यो भने सरकारले आफूसित रहेको संसदीय दुई तिहाइको बल प्रयोग गर्दै मागहरूको अवहेलना गर्न सक्थ्यो फलस्वरूप त्यसबाट अनर्थ हुन सक्थ्यो । त्यसको लक्षण नदेखिएको होइन । 
 
कांग्रेस नेताहरू तिनमा पनि अग्रपंक्तिका सुन्न अत्यन्त कम, रंग न ढंग बोल्न बढी तम्सिन्छन् । यो प्रवृत्ति शेरबहादुर देउवामा सीमित छैन, चन्द्र भण्डारीदेखि प्रदीप पौडेलले पनि यसैलाई अनुकरण गरिरहेका छन् ।

कांग्रेसद्वारा गरिएको संसद् अवरोध र सडक प्रदर्शनलाई शासनको सिंहासनमा बसेको नेकपाले आलोचना गर्नु अस्वाभाविक होइन । किनभने, सरकार प्रबल बहुमतमा हुँदाहुँदै यदि सडकका खाल्डा पुर्नसम्म असक्षम छ भने उसले दोष दिने त प्रतिपक्षलाई नै हो । यस्तै, केन्द्रीय संसद् र सातै प्रदेशसभामा कांग्रेस आज जुन र जस्तो दयनीय अवस्थामा छ, त्यहाँ आफ्नो पनि उपस्थिति छ है भन्ने देखाउनका लागि भेटेजति सबै विषयमा उसले देखिन खोज्नु त्यतिकै स्वाभाविक हो । 

लोकतन्त्रको यस युगमा आफूलाई लोकतन्त्रको मियो भन्ने दल जब कम्युनिस्टहरूलाई सत्तामा पुर्‍याएर र बुझाएर पाखा पर्न पुग्छ, यस्तोमा उसको कस्तो मनस्थिति हुन्छ, यस परिदृश्यमा कांग्रेसको अवस्था स्वतः अनुमान गर्न सकिन्छ । 

के गरोस् कांग्रेस किनभने तत्कालै सत्तामा फर्किने कुनै मार्ग छैन र सत्ताको आकांक्षा राख्नबाहेक अरू कुनै सीप र ज्ञान पनि छैन । साथै, विरासतमा प्राप्त स्वातन्त्र्य र लोकहितकारी विचार-सम्पदालाई अरू उन्नत बनाउने अध्ययन, शोध-अनुसन्धानप्रति अभिरुचि छैन ।

फलस्वरूप कता जाने यसबारे कुनै दृष्टि र दिशाबोध छैन भने गर्नलाई बाँकी प्रतिक्रियात्मक विरोध मात्रै रहन जान्छ । यसो भनिरहँदा कदाचित यो नठानियोस् कि जनसरोकारका विषयमा कांग्रेसले आफ्नो मुख बन्द गरेर बस्नुपथ्र्यो । बस्नु हुँदैन तर साथसाथै पार्टीको आन्तरिक दुर्दशाका चल्ते बाहिरका प्रदर्शनले मात्र आफ्नो दशामा सुधार आउँदैन भन्ने पनि बुझ्नुपथ्र्यो, बुझ्नुपर्ने हुन्छ । 

कुनै पनि मुद्दाले त्यसलाई पछ्याउने तत्परता अर्थात् फलोअप खोज्छ, निष्कर्षमा पुर्‍याउने प्रतिबद्धता र निष्ठा माग्छ । कांग्रेसको वर्तमान नेतृत्वपंक्तिमा मुद्दा विशेषलाई कसरी हेर्नुपर्छ र त्यसलाई तार्किक निष्कर्षमा पुर्‍याउन के गर्नुपर्छ भन्ने मन्थनको मनस्थिति नै छैन ।

यदि त्यस्तो मनस्थिति हुन्थ्यो भने देश गणतन्त्र र संघीय संरचनामा गइसकेको अवस्थामा पार्टीमा अझै केन्द्रीकृत शासनकालीन धङधङी रहने थिएन । संघीय संरचनाअनुसार पार्टी संगठनको पुनर्गठन अझै भएको छैन, संविधान आए साथसाथै भइसकेको हुनुपथ्र्यो । निर्दलीय पञ्चायतका बेला बहुदलका लागि आफ्नो तरुणकाल होमेका व्यक्तिहरू आज कांग्रेसको अग्रपंक्तिमा छन् ।

बहुदलकालमा उनीहरू तत्कालीन पार्टी नेतृत्वले नेतृत्व हस्तान्तरण नगरेकामा कुण्ठित थिए । तथापि, हमेशा नै कुनै न कुनै उच्च ओहोदा ओगटेकै थिए । त्यतिबेला उनीहरूले पार्टी पद्धति र पंक्तिको क्षमता विकास नगरेर जे गरे आजको दुरवस्था त्यसैको नतिजा हो । किनभने, २००७ सालको पुस्ता क्रमशः विश्राम र बिदा भएपछि वर्तमान नेतृत्व स्वतः पहिलोपंक्तिमा स्थापित हुन पुगेको हो । 
 
गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाबीच प्रशस्तै मत र मनभेद थिए तर तीनै जनामा सरलता थियो । आफ्नो स्वत्वको अहंकार थियो तर प्राप्त प्रतिष्ठाप्रति दम्भ थिएन । आज शीर्षस्थानमा बसेका नेताहरूमा आफ्ना अग्रजका ती गुणहरू शून्यप्रायः छन् ।

निश्चय नै कांग्रेसको सात सालको पुस्ता सीपसम्पन्न थिएन र नहुनु स्वाभाविक हो । अहंकार त्यो पुस्तामा पनि थियो तर अहंकार सँगसँगै आवश्यक नम्रता थियो । उनीहरूको अहंकार सह्य हुन्थ्यो किनभने उच्च समर्पणका साथ उनीहरू संघर्षमा होमिएका थिए, जीवन संघर्षमै बिताए । आफ्नो जीवनको उत्तरार्धमा पुग्दा बल्ल परिवर्तन आउन सम्भव भयो, त्यसमा आफ्नो उत्सर्गप्रति गर्व गर्ने उनीहरूलाई अधिकार थियो । 

त्यति हुँदाहुँदै पनि उनीहरू मान्थे, आन्दोलन र संघर्षको पुनर्वाचनबाट मात्र राज्य सञ्चालन सम्भव छैन । परिवर्तित परिवेशमा विषयगत विज्ञता, विशेषज्ञताका माध्यमबाट मात्र उपलब्धिहरूको रक्षा सम्भव छ भन्ने विषय सम्झाइरहनु पर्दैनथ्यो । गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाबीच प्रशस्तै मत र मनभेद थिए तर तीनै जनामा सरलता थियो । आफ्नो स्वत्वको अहंकार थियो तर प्राप्त प्रतिष्ठाप्रति दम्भ थिएन । आज शीर्षस्थानमा बसेका नेताहरूमा आफ्ना अग्रजका ती गुणहरू शून्यप्रायः छन् । 

भट्टराई र कोइराला पदमा नरहँदा जति सरल थिए, पदमा हुँदा पनि उनीहरूको सरलताको पारो कम हुँदैनथ्यो । भट्टराईमा ज्ञानसम्पन्न तर बाल चपलता र कोइरालामा सक्रियता हमेशा थियो । सबैभन्दा आनन्द मान्नुपर्ने प्रसंग भनौं, उनीहरूका कान खुला थिए । अहिलेका कांग्रेस नेताहरू तिनमा पनि अग्रपंक्तिका सुन्न अत्यन्त कम, रंग न ढंग बोल्न बढी तम्सिन्छन् । यो प्रवृत्ति शेरबहादुर देउवामा सीमित छैन, चन्द्र भण्डारीदेखि प्रदीप पौडेलले पनि यसैलाई अनुकरण गरिरहेका छन् । 

वास्तवमा जब मानिसमा आफू मात्रै जान्ने-सुन्ने भएको भ्रम उत्पन्न हुन्छ, सुध्रिने सम्भावना आफ्सेआफ न्यून भएर जान्छ । यस किसिमको प्रवृत्तिले प्रतिदिन भइरहेका परिवर्तन र ती परिवर्तनसँगै उपस्थित चुनौतीसँग जुध्ने शक्तिलाई कमजोर बनाइदिन्छ । कांग्रेस निर्बल हुँदै जानुमा यो कम प्रभावी कारण होइन । त्यसैले भनिरहनु नपर्ला जबसम्म मान्छे सुध्रिँदैनन्, सुन्ने कलाको विकास हुँदैन, कुनै संस्था आफ्सेआफ बन्दैन । कांग्रेसको अग्रपंक्ति यस प्रवृत्तिले नराम्ररी ग्रस्त हुन पुगेको छ । 

समय-समयमा विविध विषय आइरहन्छन् । आउनु स्वाभाविक हो । तिनमा प्रतिपक्षको दृष्टिकोण हुनुपर्छ र आवश्यक पर्दा जनपरिचालन पनि गर्नुपर्छ तर मुख्य वैचारिक स्थापनासँग नबाझिने गरी । अब प्रश्न गरौं, परिवर्तित सन्दर्भमा के हो त कांग्रेसको वैचारिक स्थापना ? विश्वेश्वरप्रसाद कोइरालाका नामको पुनर्वाचन गर्नु नै वैचारिक स्थापना हो भन्ने हो भने यहाँ कुरै नगरे हुन्छ किनभने देश बीपीले भनेभन्दा धेरै फरक, अनौठो भइसकेको छ । 



२०४६ सालको जनआन्दोलन र त्यसउपरान्त ०६२/६३ का उपलब्धिस्वरूप देशको सर्वोच्च पदमा नागरिकबाट चुनिएका नागरिक नै पुगेका छन् यद्यपि तिनको आचरण नागरिक सुहाउँदो छैन । राज्य सात प्रदेशको संघमा परिणत भएको छ । तर सातमध्ये ६ प्रदेशमा कम्युनिस्टहरूको वर्चस्व छ ।

देशमा लोकतन्त्र छ तर शासकीय आचरण हुकुमी नै छ । राज्यसत्ता निजी सम्पत्तिको थुप्रोमाथि बसेका, व्यक्तिगत र पारिवारिक सोखको आपूर्तिमा तल्लीन तर आफूलाई कम्युनिस्ट भनेर गर्व गर्नेका हातमा छ । यस्तोमा कांग्रेस नेताहरूको आर्थिक आचरण के कस्तो छ, आफैंतिर फर्केर हेर्नुपर्छ कि पर्दैन ? कम्युनिस्टहरूभन्दा कुन अर्थमा फरक छ कांग्रेस ? भिन्नता बीपीका सूत्रहरूको पुनर्वाचनमा होइन, व्यवहारमा परिलक्षित हुनुपर्छ, देखिनुपर्छ । देखिन्छ त ?

यस्तै, विचारको कुरा छ । देशको राजनीतिक परिवेशका साथसाथै पुस्ता परिवर्तित भइसकेको छ । साथसाथै प्रविधिमा पनि ठूलो पुस्तान्तरण भइसकेको छ । यस्तोमा के कांग्रेस सन् सत्तरीकै दशकको विचार व्याख्याको जगमा उभिएर जीवन्त रहन सक्छ ? वैचारिक स्थापना अद्यावधिक गर्नु पर्दैन ? नगर्दा पनि हुन्छ तर नगर्दा दशा सुध्रिनु त परै दुर्दशा अरू लम्बिँदै जानेछ । कांग्रेसजनले त्यसैले सर्वप्रथम आफैंलाई प्रश्न गरुन्,.... कांग्रेस अचेल के गर्दैछ, ओरालोमा हान्निँदै कि उकालो चढ्दैछ ?
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।