शनिबार, वैशाख ८, २०८१

प्रकाशक र निजी विद्यालयको मिलेमतोमा स्वीकृति नपाएका पुस्तक बिक्रीवितरण

पाठ्यक्रम विकास केन्द्रले पुस्तक प्रकाशक र निजी विद्यालयको मिलेमतोमा जथाभाबी रुपमा पाठ्यपुस्तक बिक्रीवितरण भएको अनुगमनका क्रममा भेटिएको जनाएको छ। 
 |  सोमबार, असार १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार १४, २०७८

काठमाडौं- पाठ्यक्रम विकास केन्द्रले पुस्तक प्रकाशक र निजी विद्यालयको मिलेमतोमा जथाभाबी रुपमा पाठ्यपुस्तक बिक्रीवितरण भएको अनुगमनका क्रममा भेटिएको जनाएको छ। 

triton college

आइतबार केन्द्रले सूचना जारी गर्दै पाठ्यपुस्तक वितरण व्यवस्थापन अनुगमन केन्द्रीय समितिबाट अनुगमन गर्दा बजारमा पुरानो नक्सा भएका पाठ्यपुस्तक तथा पाठ्यसामग्रीहरू बिक्रीवितरण भइरहेको, सरकारी निकायबाट स्वीकृति नै नपाएको पुस्तक बिक्रीवितरण गरेको, नेपाली माध्यममा पढाउनुपर्ने पुस्तक पनि अंग्रेजीमा माध्यममा प्रकाशन गरिएको, पुस्तकको मूल्यमा कालो पोतिएको एवं मूल्य नै नराखेर पुस्तक बिक्री वितरण भएको पाइएको जनाएको हो।

केन्द्रले त्यसरी निर्देशनको अटेर गरी बिक्रीवितरण गर्ने प्रकाशक र वितरकहरूलाई कारबाहीको दायरामा ल्याउन स्पष्टीकरणका लागि पत्र काटिसकेको जनाएको छ।

विद्यालयमा प्रयोग हुने पाठयपुस्तक तथा पाठ्यसामग्रीका सम्बन्धमा पाठ्यपुस्तक वित्तरण व्यवस्थापन अनुगमन केन्द्रीय समितिको जेठ २८ गते बसेको बैठकले स्वीकृत पाठ्यपुस्तक तथा पाठ्यसामग्रीहरूमा अनिवार्य रूपमा नेपालको कालापानी, लिम्पियाधुरा, लिपुलेक समेटिएको नेपालको नयाँ नक्सा प्रयोग भएको हुनुपर्ने, गत वर्षहरूमा नै छपाइ भएका पाठ्यपुस्तक तथा पाठयसामग्रीहरूमा नेपालको नयाँ नक्सा समावेश गरी पुनः छपाइ गर्नुपर्ने निणर्य गरेको थियो। 

केन्द्रले सबै प्रकाशक र वितरकहरूलाई पाठ्यक्रम विकास केन्द्रको असार १ गतेको निर्देशनबमोजिम तत्काल नयाँ नक्शाको प्रयोग हुने गरी पाठयपुस्तक तथा पाठ्यसामग्रीहरू बिक्रीवितरण गराउन पुनः निर्देशन दिएको थियो तर निर्देशनको अटेर गर्दै प्रकाशन गृह र विद्यालयले मनोमानी गरेको पाइएको हो। 

corrent noodles
Metro Mart

केन्द्रले अब हुने अनुगमनको क्रममा उक्त निर्देशनको अवज्ञा गरी बिक्रीवितरण गरेको पाइएमा त्यस्ता पुस्तक, प्रकाशकहरूको नाम सार्वजनिक गरी कारबाहीको प्रकिया अगाडि बढाइने जनाएको छ।

केन्द्रको अनुगमनको क्रममा कतिपय विद्यालयहरूले कक्षा २, कक्षा ३ र कक्षा ६ मा स्वीकृत नयाँ पाठ्यक्रमअनुसारका पाठ्यपुस्तक तथा पाठ्यसामग्रीको सट्टा पुरानो पाठयक्रम अनुसारकै पाठ्यपुस्तक तथा पाठ्यसामग्री प्रयोग गर्ने गरी विद्यार्थीहरूलाई पाठ्यपुस्तक तथा पाठ्यसामग्री खरिदको निम्ति सूची उपलब्ध गराएको, तोकिएको विषयका अलावा सन्दर्भ सामग्री भनी अनावश्यक संख्यामा पाठ्यपुस्तक तथा पाठ्यसामग्रीहरू खरिद गर्न अभिभावकहरूलाई बाध्य पारिएको भेटिएको जनाएको छ। केन्द्रले त्यस्ता विद्यालयका प्रधानाध्यापकहरूलाई स्पष्टीकरण माग गरिसकेको सूचनामार्फत् जनाएको छ।

केन्द्रले सरकारको स्वीकृत पाठ्यक्रमभन्दा बाहिरका तथा पुरानो पाठ्यक्रमअनुसारका पाठयपुस्तक तथा पाठ्यसामग्रीहरू प्रयोग नगर्न/नगराउन सम्बन्धित सबैका लागि निर्देशन दिएको छ।

निर्देशनको अवज्ञा गरी यथावत् प्रयोग भएको पाइएमा सम्बन्धित विद्यालय र प्रकाशकहरूलाई कारबाही गरिने केन्द्रले जनाएको हो। पाठ्यपुस्तक तथा पाठ्यसामग्रीहरूमा मूल्य उल्लेख नभएको, पुरानो मूल्यसूचीमा कालो पोती स्टिकर टाँस गरी नयाँ मूल्य तोकेको, नेपाल सरकारले निर्धारण गरेको भन्दा अधिक मूल्य उल्लेख गरेको समेत अनुगमनका क्रममा भेटिएको केन्द्रले जनाएको छ।

यस्तै विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ बमोजिम स्वीकृत पाठ्यक्रमअनुसार सामाजिक अध्ययन, मानव मूल्य, शिक्षा लगायत नेपाली कला संस्कृति र मौलिक पहिचानमूलक विषयको पठनपाठनका लागि माध्यम भाषा नेपाली हुनुपर्ने व्यवस्थाअनुसार यस वर्ष कक्षा १,२, ३, ६, ११ र १२ मा उक्त विषयहरू नेपाली माध्यमबाट पठनपाठन गर्न विद्यालयलाई केन्द्रले निर्देशन दिएको छ।

केन्द्रले अभिभावक र विद्यार्थीलाई पनि चनाखो भएर पाठयक्रम विकास केन्द्रद्वारा स्वीकृत पाठ्यपुस्तक तथा पाठयसामग्रीहरू खरिद तथा उपयोग गर्न सूचित गरेको छ।

प्रकाशित: Jun 28, 2021| 03:59 सोमबार, असार १४, २०७८
प्रतिक्रिया दिनुहोस्