 
                                                                                काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले साना तथा घरेलु व्यवसायहरुको योगदान समग्र अर्थतन्त्रमा उच्च धेरै महत्वपूर्ण रहेको बताएका छन्। नेपाल घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीहरुसँग सोमबार भएको भर्चुअल कार्यक्रममा उनले यस्तो बताएका हुन्।
‘संसारभर संख्यात्मक हिसाबले करिब ९९ प्रतिशत व्यवसाय साना तथा घरेलु देख्छौँ। अर्थतन्त्रमा साना तथा घरेलु उद्योगको योगदान अर्थपूर्ण रहन्छ,’ उनले भने।
सोही विषयलाई दृष्टिगत गरी नेपाल राष्ट्र बैंकले नीतिगत कार्यमा पनि साना तथा घरेलु उद्योगलाई प्राथमिकता दिंदै आएको उनको दाबी छ। ‘गत सालको मौद्रिक नीतिमार्फत् हामीले वास्तवमा ऐतिहासिक परिवर्तन नै ल्याउन खोजेका छौं। नीतिगत हिसाबले धेरै हदसम्म उपलब्धि हासिल भएको छ,’ उनको भनाइ छ।
यस्तै बैंकका प्रत्येक शाखाले १० वटा सहुलियतपूर्ण कर्जा प्रवाह गर्नुपर्ने, कुल कर्जाको १५ प्रतिशत कर्जा एक करोड रुपैयाँभन्दा कम कर्जा लिन चाहनेहरूका लागि दिनुपर्ने व्यवस्था गरिएको उनको भनाइ छ। यस्तै, पुनर्कर्जामध्ये पनि ७० प्रतिशत पुनर्कर्जा १५ लाखभन्दा कम कर्जा लिन चाहनेलाई दिने व्यवस्था गरिएको उनको भनाइ छ।
गत वर्ष १५ लाखभन्दा कम रकमको पुनर्कर्जा करिब ४२ हजारले पाएकाले महत्वपूर्ण उपलब्धि भएको गभर्नर अधिकारीको भनाइ छ। हालसम्ममा बैंक तथा वित्तिय संस्थाहरुले करिव ४१ खर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको उनको भनाइ थियो।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष श्याम गिरीले उद्योगीहरूले लिएको कर्जामा निषेधाज्ञा अवधिको ब्याज मिनाहा गर्नुपर्नेमा जोड दिए। पुनर्कर्जा कार्यविधि पुनर्लेखन गर्नुपर्ने र त्यसमा घरेलु तथा साना उद्योग व्यवसायी महासंघलाई पनि सहभागी गराइनुपर्ने माग उनको थियो।
गिरीले केही बैंकका शाखाहरुले साना उद्योगीहरुलाई निरुत्साहित गर्ने गरेको गुनासो राखेका थिए। 'कार्यविधिमा कृषि उपज र प्रशोधनसम्बन्धी उद्योग भनिएको छ। तर धान, चामल र च्युराजन्य उद्योगका लागि पुनर्कर्जाको लागि जाँदा तपाईंहरुको त कार्यविधिमा लेखेकै छैन भनेर बैंकले फर्काइदिन्छ,’ उनले भने 'यस्तो कार्यविधिका कारण साना व्यवसायी मर्कामा परेका छन्।'
महिला उद्यमीको हकमा सहुलियत कर्जा नै पाइएन भन्ने धेरै गुनासो रहेको भन्दै अध्यक्ष गिरीले बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकको निर्देशन नमानेको गुनासो गरेका थिए।