सिन्धुपाल्चोकको मेलम्ची बजार बाढीका कारण खण्डहरमा परिणत भएको छ। स्थानीयका अनुसार अब त्यस्तै बजार निर्माण गर्न सय वर्षमा पनि सम्भव छैन। २०० वर्ष पुरानो बस्ती सखाप हुने गरी भएको क्षति, राहत, पुनर्निर्माण र पुनः स्थापनाका लागि भइरहेका प्रयासबारे मेलम्ची नगरपालिकाका प्रमुख डम्बरबहादुर अर्यालसँग नेपाल समयका लागि धिरज बस्नेतले गरेको कुराकानी:
तटीय क्षेत्रको बजारलाई बाढीबाट जोगाउने कुनै पूर्वतयारी नभएर हो वा प्रयास गर्दागर्दै पनि यति धेरै क्षति भएको हो?
हामीसँग पूर्वतयारी नभएको होइन। तर, हामीले पछिल्लो सय वर्षमा आएको बाढी, पुर्याएको क्षति, नदीले परिवर्तन गरिरहने धार आदिका बारेमा प्राविधिक अध्ययन गरेका थियौं। सोही आधारमा अध्ययन गरेर घर र बस्ती निर्माणको मापदण्ड तय गरेका थियौं। व्यवस्थित बसोबासका लागि घर बनाउन स्वीकृति दिएका थियौं। सोही मापदण्डका आधारमा नगरपालिका आफैंले पनि बसपार्क, ग्रिनसिटी पार्क, फोहोर व्यवस्थापन केन्द्र, सामुदायिक तरकारी खेती जस्ता विभिन्न परियोजना सञ्चालन गरेको थियो। तर, हामीले जुन अध्ययनका आधारमा मापदण्ड बनाएका थियौं, त्यो अहिले विफल भयो। यसको अर्थ के हो भने यस्तो बाढी आउँछ भनेर कल्पनै गरेका थिएनौं।
अध्ययन नै कच्चा भयो भन्न खोज्नुभएको हो?
हामीले नदी बहावको सय वर्षको अवस्था हेरेर अध्ययन गरेपछि काम अघि बढाएका थियौं। तर यसलाई कसरी कच्चा भन्ने? प्राविधिकहरूले अध्ययन गरेर बुझाएको प्रतिवेदनलाई त विश्वास गर्नैपर्यो।
नदीबाट २०० मिटरभन्दा नजिक बस्ती बस्न दिनु भनेको आफैंमा ठूलो जोखिम थियो नि होइन?
जुन बस्ती डुबानमा परेको छ, त्यहाँका कयौं घर मापदण्डविपरीत बनेका छन्। कतिपयको नक्सा पास भएका छैनन्। केही नक्सा पासको प्रक्रियामा छन्। नक्सा पास नहुँदै खुरूखुरू घर बनाउने पनि धेरै छन्। घर बनाउनै नदिने परिस्थिति पनि थिएन। किनकि भूकम्पले घरबारविहीन भएकालाई पुनः स्थापना आवश्यक थियो। घर नबनाऊँ भनेर कसरी रोक्नु?
मंगलबार राति आएको बाढीले मेलम्ची नगरपालिकाको कति क्षति भएको छ?
क्षतिको कुरा गर्नुपर्दा यसको मसिनो गरी अध्ययन गर्नुपर्छ। भर्खर हामीले अध्ययन थालेका छौं। ढेड सयभन्दा धेरै घर माटोमा पुरिएका छन्। सयौं टहरा बगाएको छ। दस हजार रोपनीभन्दा धेरै जमिन बगरमा परिणत भएको छ। नगरपालिकाले बनाएका संरचना ध्वस्त भएका छन्। त्यसैले अहिले ठ्याक्कै भन्न सकिने अवस्था छैन।
कति घर पूर्ण रूपमा ध्वस्त भए? कति परिवार प्रभावित भए? कतिको आफ्नो घर थियो? कति डेरामा बसेका थिए? उनीहरूको घरभित्र के के सामान थियो? के के नोक्सान भयो? यी सबै कुराको खोजी गर्ने गरी हामीले तथ्यांक संकलन सुरू गरेका छौं। दोस्रो चरणमा कसको कति जमिन बग्यो? त्यसको विवरण संकलन गर्नेछौं।
जमिन कति जति कटान भयो? केही अनुमान गर्नुभएको छ?
मेलम्ची नगरपालिकामा मात्रै १० हजार रोपनीभन्दा धेरै बगर भएको छ। एकै ठाउँमा एक हजार रोपनी जमिन कटान भएको छ। कयौं कृषि फार्म पनि बगेका छन्।
अहिले जति पनि घर डुबेका छन् यी पुनः प्रयोग गर्न मिल्ने अवस्था छ त?
अधिकांश संरचना प्रयोग योग्य छैनन्। प्रयोग योग्य भए पनि पुनर्विचार गर्नुपर्छ। विज्ञको रायअनुसार हामीले जुन मापदण्ड बनाएका थियौं त्यो अब फेल भएको छ। त्यसैले अब मापदण्ड नै परिवर्तन गर्नुपर्छ। हामी यसबारे पनि छलफल अघि बढाउँदै छौं।
मेलम्ची बजारको बस्ती नै अब क्लियर गर्ने भन्न खोज्नुभएको हो?
होइन अब फेरि हामी नयाँ मापदण्ड बनाउँछौं। र, त्यस आधारमा अघि बढ्छौं। बजार नै विस्थापित गरिहाल्न नपर्ला।
पीडितलाई पुनःस्थापित गर्न के गर्दै हुनुहुन्छ?
सबैभन्दा पहिला विस्थापितलाई कसरी सुरक्षित राख्ने भन्ने कुरामा हाम्रो ध्यान केन्द्रित छ। सुरक्षित बनाएपछि गाँसबासको व्यस्था मिलाउनतर्फ लाग्छौं। त्यसपछि क्रमशः पुनर्वासका लागि प्रक्रिया अघि बढाउने छौं।
स्थानीयले नदी किनारामै बनाएका घर बगेका छन्। त्यस्तो ठाउँमा घर बनाउने स्वीकृति दिने त्यसपछाडिको दोष नगरपालिकाको चाहिँ हो कि होइन?
जिम्मेवारी हामीले लिनुपर्छ। तर, जतिपनि घर डुबेका छन् त्यसमध्ये अधिकांश घरको नक्सानै पास भएको छैन। मनपरि ढंगबाट स्थानीयले बनाएका छन।
डुबेका घरहरू अवैध थिए?
अवैध भन्ने शब्द नै त प्रयोग नगरौं। जनताले बनाएको घर हो। ती त हामी निर्वाचित हुनुभन्दा पहिल्यै बनेका घर हुन्। विपत् आउँदा कहिलेकाहीं यस्तो हुन्छ। अब हामीले चेत्यौं। अब एउटा सिस्टम बनाउँछौ र त्यो सिस्टमअनुसार पुनःस्थापना गर्छौं।