विशेष

महेन्द्रले रूस भ्रमण गरेपछि नेपालमा कम्युनिस्ट गतिविधि बढ्यो [हिमालयशमशेर जबराको संस्मरण]

1626712736.IMG_20210719_140516.jpg
हिमालयशमशेर जबरा। तस्बिर : दिनेश श्रेष्ठ

२००७ सालमा राणाहरूले राजा त्रिभुवनलाई सत्ताच्युत गरे। राजगद्दी खाली हुने अवस्था आयो। अनि कसलाई राजा बनाउने भन्ने विषयमा छलफल गर्न भारदारी सभा डाकिएको थियो। सबै भारदारले अधिराजकुमार ज्ञानेन्द्रलाई राजा बनाउने कागजमा सही गरे तर हामीले गरेनौं। किनकि म देवशमशेरको नाति थिएँ। सोही कारण मैले जन्मँदै कर्नेल उपाधि पाएको हुँ। म पनि देशको प्रधानमन्त्री बन्ने रोलक्रममै थिएँ। यद्यपि म प्रजातन्त्रका पक्षमा लागेको थिएँ। प्रजातन्त्र र राजाका पक्षमा रहेको जानकारी तत्कालीन युवराज महेन्द्रलाई राम्रोसँग थियो। 

महेन्द्र नातामा मेरा फुपाजु हुनुहुन्थ्यो। इन्द्रराज्यलक्ष्मी शाह तथा रत्नराज्य लक्ष्मी शाह मेरा फुपू हुनुहुन्थ्यो। त्यसैले महेन्द्र र मेरो चिनजान हुने नै भयो। २००७ सालदेखि २०१३ सालसम्मको अवधिमा सामाजिक समारोहहरुमा महेन्द्रसँग भेटघाट भइरहन्थ्यो। 

काँधमा ठूलो जिम्मेवारी आएपछि मैले नअत्तालीकन आफ्नो भूमिका निर्वाह गरें। तर पछि राजाका आसेपासेका कारण महेन्द्र र मबीचको दूरी बढ्न थाल्यो। सोही निहुँमा मलाई उहाँले गभर्नर पदबाट हटाउनुभयो। 

तत्कालीन राजा महेन्द्रले नै नेपालभर नेपाली रुपैयाँ लागू गर्नुपर्ने मुख्य जिम्मेवारी दिएर मलाई नेपाल राष्ट्र बैंकको गभर्नरको जिम्मेवारी दिनुभएको थियो। काँधमा ठूलो जिम्मेवारी आएपछि मैले नअत्तालीकन आफ्नो भूमिका निर्वाह गरें। तर पछि राजाका आसेपासेका कारण महेन्द्र र मबीचको दूरी बढ्न थाल्यो। सोही निहुँमा मलाई उहाँले गभर्नर पदबाट हटाउनुभयो। 

फाटो ल्याउने मुख्य कारण भनेको हामी दुईबीच रहेको सोच नै हो। म  प्रजातन्त्रमा गहिरो आस्था राख्थें। यति गहिरो आस्था राख्थें कि मुलुकमा प्रजातन्त्र ल्याउन आफ्नै परिवारको सरकारको विरोध (राणा शासनविरुद्ध २००७ सालमा भएको क्रान्ति) मा लागेको थिएँ। यो कुरा राजा महेन्द्रलाई राम्रोसँग जानकारी थियो। मैले राजतन्त्रको समर्थन गरेकोमा गभर्नर पदमा नियुक्त गर्नुभएको थियो भने लिबरल डेमोक्रेसीमा विश्वास राख्ने भएकोले पछि मलाई गभर्नरबाट हटाइदिनुभयो। 

राजा महेन्द्रबाट २०१७ सालमा प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालालाई हटाएर राजा महेन्द्रले पञ्चायती शासन व्यवस्था लागू भयो। त्यतिबेला नेपालमा एउटा अभियान चलेको थियो ‘अराष्ट्रिय तत्त्वलाई हटाउने।’ राजाले मलाई अराष्ट्रिय तत्त्व ठानेको होइन, उहाँका आसेपासेले भने मलाई त्यस्तै आरोप लगाएका थिए। 

मेरा विरुद्ध ती आसेपासेले राजा महेन्द्रलाई नकारात्मक कुरा लगाइदिएका थिए। उनीहरु मलाई अराष्ट्रिय तत्त्व घोषणा गर्न चाहन्थे। त्यसैले ममाथि निगरानी भइरहेको थियो। मैले मेरो पुस्तक ‘सम्झना र चिन्तन’ मा पनि मलाई अराष्ट्रिय तत्त्व घोषणा गर्नका लागि भएका तीनवटा घटनाको वर्णन गरेको छु। 

पहिलो घटना– मेरा एक नातेदारले मेरो टाइपराइटर मबाट मगाएका थिए। उनीहरुले मेरो टाइपराइटरबाट अरु कसैका नाममा चिठी लेखेर पठाएछन् भरतशमशेरका नाममा। तत्कालीन समयमा भरतशमशेर नेपाली कांग्रेस निकट भएकाले उनी राजा महेन्द्रको विरोधी थिए। 

दोस्रो घटना– एक दिन म पुतलीसडकमा हिँडिरहेको थिएँ। एक अपरिचित व्यक्तिले आएर भरतशमशेरलाई चिन्नुहुन्छ भनेर सोधेका थिए। त्यो ममाथि गरिएको निगरानी भन्ने बुझिहालें। अनि मैले चिन्दिनँ भनिदिएँ। मेरो घरअगाडि सधैं एक जना सीआईडी बसिरहेका हुन्थे– को आउने जाने गरेको छ भनेर निगरानी राख्न। मलाई राजा महेन्द्रका आसेपासेले राजा विरोधीको सूचीमा राखेका थिए। 

तेस्रो घटना– गभर्नर पद गएपछि केही समय म खाली बसें। अनि मैले संयुक्त राष्ट्रसंघमा जागिरका लागि निवेदन दिएँ। मलाई राष्ट्रसंघले काम गर्न बोलायो। सोही बेला दरबारबाट राजा महेन्द्रले दर्शनभेट गर्न चाहेको खबर आयो। मैले दर्शन भेटका लागि ६ महिनासम्म पर्खिएँ। तर भेट भएन। 

म अफगानिस्तानमा संयुक्त राष्ट्रसंघको कार्यवाहक प्रमुख थिएँ। एक पटक राजा महेन्द्र पनि अफगानिस्तान भ्रमणमा जानुभएको थियो। राजा महेन्द्र गएकै साँझ अफगानिस्तानका तत्कालीन राजाले दिएको डिनरमा मलाई पनि बोलाइएको थियो। त्यहाँ राजा महेन्द्रसँग भेट भयो। अफगानिस्तानका राजाले मेरो प्रशंसा गरेका थिए। तर भोलिपल्टै राजा महेन्द्रले दिएको डिनर पार्टीमा मलाई निम्ता गरिएको थिएन। यसमा उहाँको गल्ती छैन भन्ने मलाई लाग्छ। यो उहाँका आसेपासेको मान्छेको काम हो। मबाट जल्नेहरुको काम थियो त्यो। मैले नाम कमाएको थिएँ। ‘यो त नाम कमाएको मान्छे भएकाले फेरि राजासँग नजिक भइदिने पो हो कि’ भन्ने डर ती आसेपासेलाई भएकाले उनीहरुलाई मेरा विरुद्ध राजालाई भड्काएका थिए। 

राजा महेन्द्रको भनाइ थियो, ‘दलतन्त्र भनेको प्रजातन्त्र होइन र प्रजातन्त्र भनेको दलतन्त्र होइन।’ त्यसैले उहाँसँग मेरो विचार मिलेन। अहिले हेर्दा केही हदसम्म राजा महेन्द्र ठिक हो भन्ने लाग्छ। किनकि ‘प्रजातन्त्र भनेको दलतन्त्र मात्र हो भन्ने जस्तो भइरहेको छ।’ राजा महेन्द्र राष्ट्रवादी राजा हुनुहुन्थ्यो। नेपालको भारतसँगको सम्बन्ध बहुतै जटिल छ। भारतले नेपाललाई माया पनि गर्छ, मद्दत पनि गर्छ अनि ज्यादै हस्तक्षेप पनि गर्छ। 

राजा महेन्द्रलाई यी कुराको राम्रो जानकारी थियो। त्यसैले उहाँ बढी सजग हुनुहुन्थ्यो। भौगोलिक कारणले नेपाल भारतसँग भर पर्नुपर्ने अवस्था छ। त्यसैले नेपालीको एक ठाउँको सामान अर्को ठाउँमा पुर्‍याउन उहाँले पूर्वपश्चिम राजमार्ग निर्माण गर्नुभयो। अनि भारतको विकल्पमा चीनसँगको सम्बन्ध बनाउन अरनिको राजमार्ग बनाउनुभयो। दुवै देशलाई समदुरीमा राख्न सफल हुनुभयो। पूर्वपश्चिम राजमार्ग खोल्दा भारत रिसाउँछ भन्ने सोचाइ पनि थियो। तर राजा महेन्द्रले ठूलो हिम्मतका साथ सो राजमार्ग खुलाउनुभयो। राजमार्ग निर्माणमा रुसको ठूलो आर्थिक सहयोग छ। 

राजा महेन्द्र दुरदर्शी राजा हुनुहुन्थ्यो। मन्त्रिपरिषद्लाई देशका लागि ६ महिनालाई पुग्ने पेट्रोल, तीन महिनालाई पुग्ने चिनी, ६ महिनालाई पुग्ने खाद्य सामग्री मौज्दात राख्न निर्देशन दिनुभएको थियो। यो भारतले कुनै पनि बेला नाकाबन्दी गर्न सक्छ भन्ने दूरदर्शी सोचाइ हो। नाकाबन्दीका समयमा नेपाली भोकले नमरुन् र ६ महिनाको समयमा त कुनै पनि बाली पाकेर खाने बेला हुन सक्छ भन्ने महेन्द्रको बुझाइ थियो। उहाँ नेपाल हरेक कुरामा आत्मनिर्भर हुनुपर्छ भन्ने उद्देश्यका साथ काम गर्नुहुन्थ्यो। 

बुद्धिजीवीहरू उहाँको पक्षमा थिए। कांग्रेसका कार्यकर्ता रहेका थोरै बुद्धिजीवीले मात्र उहाँको विरोध गर्थे। कांग्रेसका कार्यकर्ता ऋषीकेश शाहलाई राजा महेन्द्रले संयुक्त राज्य अमेरिकामा राजदूत बनाएर पठाउनुभएको थियो। राजा महेन्द्रले धेरैजसो बुद्धिजीवीलाई पद दिएर आफ्नो पक्षमा पार्नुभएको थियो।

भारत र चीन दुवै छिमेकीले राजा महेन्द्रलाई भ्रमणको निमन्त्रणा गर्न आलटाल गरेका थिए। तत्कालीन समयमा रुस र अमेरिका विश्वका सबैभन्दा शक्तिशाली मुलुक थिए। अमेरिकाले राजा महेन्द्रलाई भ्रमणको निम्ता गर्ने सुरसारमा रहेकै बेला रूसबाट निम्तो आइहाल्यो। 

राजा महेन्द्रको पहिलो विदेश भ्रमण रूसमा भएको थियो। धेरैले भारतमा पहिलो विदेश भ्रमण हुन्छ भन्ने सोचेका थिए। कतिपयले चीन पनि हुन सक्छ भन्ने अड्कल काटेका थिए। भारत र चीन दुवै छिमेकीले राजा महेन्द्रलाई भ्रमणको निमन्त्रणा गर्न आलटाल गरेका थिए। तत्कालीन समयमा रुस र अमेरिका विश्वका सबैभन्दा शक्तिशाली मुलुक थिए। अमेरिकाले राजा महेन्द्रलाई भ्रमणको निम्ता गर्ने सुरसारमा रहेकै बेला रूसबाट निम्तो आइहाल्यो। 

राजा महेन्द्रको त्यही भ्रमणपछि नेपालमा कम्युनिस्ट पार्टीहरुको संगठन विस्तार हुन थालेको हो भन्ने मलाई लाग्छ। राजा महेन्द्रले नेपालीहरु रूसमा पढ्न जाने व्यवस्था मिलाएर आउनुभएको थियो। रूसले हजारौं नेपालीलाई छात्रवृत्ति दियो। सबै इन्जिनियर र डाक्टर पढ्न गए। रुसबाट फर्केर आएपछि सबै कम्युनिस्ट भए। त्यसपछि नेपालमा कम्युनिस्ट आन्दोलन बढेको हो।

[नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर जबरासँग कुराकानीमा आधारित]

सम्बन्धित सामग्री

तराईमा मुद्रा पुर्‍याउन भारतीय दूतावासको अनुमति चाहिन्थ्यो 

हिमालयन बैंक स्थापनादेखि बिग मर्जरसम्मको नालीबेली

प्रतिक्रिया दिनुहोस्
थप समाचार
लेखकबाट थप
ताजा अपडेट