शुक्रबार, वैशाख १४, २०८१

बाढीपहिरो : मंगलबार देशमा कहाँ के भयो? 

मनाङमा बाढीका कारण विस्थापित ३ सय भन्दा बढीलाई सुरक्षित ठाउँमा प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए। मनाङको नासोँ गाउँपालिका–१, ताल गाउँका ५० घर र मनाङ सदरमुकाम चामेका पाँच घर डुबानमा परेका छन्। बाढीले चामेकै तीन घर बगाएको छ भने १६ घर उच्च जोखिममा रहेका छन्।
 |  मंगलबार, असार १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १, २०७८

काठमाडौं- केही दिनअघि सुरु भएको मनसुनी वर्षाका कारण मंगलबार देशभरका विभिन्न ठाउँमा बाढी पहिरोले क्षति पुर्‍याएको छ। बाढीबाट सबैभन्दा बढी मनाङ प्रभावित बनेको छ। 

triton college

मनाङमा बाढीका कारण विस्थापित ३ सय भन्दा बढीलाई सुरक्षित ठाउँमा प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए। मनाङको नासोँ गाउँपालिका–१, ताल गाउँका ५० घर र मनाङ सदरमुकाम चामेका पाँच घर डुबानमा परेका छन्। बाढीले चामेकै तीन घर बगाएको छ भने १६ घर उच्च जोखिममा रहेका छन्।

तिमाङ खोलाको बेलिब्रिज र मनाङको नयाँ बजारमा रहेको घट्टेखोलाको काठेपुल पनि बाढीले बगाएको छ।  जिल्ला हुलाक कार्यालय र तिमाङ खोलामै रहेको ३२ किलोवाटको स्याल्क्यु खोला लघु जलविद्युत् गृह पनि बगाएको छ।

बाढीका कारण विभिन्न जिल्लाका बस्ती कटानमा परेका छन् भने कयौं स्थान डुबानमा परेका छन्। यस्तै कतिपय विद्युत् आयोजना अवरुद्ध भएको छ। विभिन्न जिल्लाका प्रशासनले उच्च सतर्कतता अपनाउन अपिल गरेका छन्।

गण्डक ब्यारेजका सबै ढोका खुला
अविरल वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढ्न थालेपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ। नारायणी नदीको देवघाट जल मापन केन्द्रमा नदीले चेतावनीको सतह पार गरेपछि यस क्षेत्रमा हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै गण्डक ब्यारेजका सबै ३६ वटा ढोका खोलिएको नवलपरासी पूर्व नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले जानकारी दिइन्।

corrent noodles
Metro Mart

नवलपुरको गिरुवारी, अरुणखोला, विनयी, केरुङ्गे, लोकाहा, बौलाह, झरही, जय श्री लगायतका खोलाहरुमा बढ्दो पानीको सतहका कारण जोखिम रहेको छ। सो आसपासमा जमिन कटान सहित बाढी र डुवानको खतरा रहने हुँदा त्यसतर्फ सजग रहन प्रशासनले अनुरोध गरेको हो।

बेसीसहर-चामे सडक अवरुद्ध
बाढीसहित पहिरो जाँदा बेसीसहर-चामे सडक अवरुद्ध गरेको छ। मनाङ जोड्ने बेसीसहर चामे सडकअन्तर्गत जिल्लाको बेसीसहर नगरपालिका-६ स्थित खरखरे भीरमा सडक बाढी पहिराले बगाएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीका अनुसार मर्स्र्याङ्दी नदीमा आएको बाढीले सडक कटान गरेको छ सडकमाथि भीरबाट ठूलाठूला ढुङ्गासहितको पहिराले सडक भासिन पुग्दा सडक अवरुद्ध भइरहेको छ। यहाँ करिब ३० मिटर सडक नै भासिएको छ। 

दोर्दी खोलाको बाढी सुपरदोर्दी ‘ख’ आयोजनामा पस्यो 
लमजुङको दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन ५४ मेगावाट जलविद्युत् आयोजनामा दोर्दी खोलामा आएको बाढी पसेको छ। केही दिनबाट निरन्तर परेको पानीले मंगलबार बिहान दोर्दी खोलामा बाढी आउँदा यस आयोजनाको बाँधस्थल भरिएर आयोजनाको सुरुङ, पार्किङ स्थललगायतका स्थानमा बाढी पसेको हो। 

आयोजनाको मुख्य सिरुङमा बाढी पस्न थालेसँगै सुरुङभित्र काम गर्दै गरेका ५०/६० जना कामदारको सकुशल उद्धार गर्न सफल भएको आयोजनाले जनाएको छ। आयोजनाका साइट इन्चार्ज रमेश सिग्देलका अनुसार आयोजनाको विभिन्न भागमा दोर्दी खोलामा आएको बाढी छिरेको छ। आयोजनामा रहेको एउटा ट्याक्टर, पम मेसिनलगायतका सामग्री सो बाढीले बगाएको छ। 

तम्घास-रिडी र रिडी-रुद्रवेणी सडक अवरुद्ध
लगातार वर्षाका कारण पहिरो खसेपछि गुल्मीको तम्घास–रिडी र रिडी–रुद्रवेणी सडक अवरुद्ध भएको छ। तम्घास–रिडी सडक खण्डअन्तर्गत रेसुङ्गा नगरपालिका—१३ को भगाँरी खोलामा गएराति पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो। त्यसैगरी गुल्मीकै रिडी–रुद्रबेणी सडक खण्डअन्तर्गत रुरुक्षेत्र गाउँपालिका-२ साँघुरेमा आज बिहान सडक माथिबाट चट्टानसहितको ठूलो पहिरो खसेपछि सडक पनि अवरुद्ध भएको छ। 

अवरुद्ध सडक खुलाउनका लागि स्थानीय नगरपालिका र गाउँपालिकाले पहल गरे पनि पानी परिरहेका कारण पहिरो पन्छाउन समस्या परेको रेसुङ्गा नगरपालिका-१३ का वडाध्यक्ष खुमबहादुर खत्रीले जानकारी दिए। सडक अवरुद्ध बनेपछि एम्बुलेन्स, निर्माण सामग्री, दूध र खाद्यान्न ओसारपसार गर्ने यातायातका साधनहरु बीच बाटोमै रोकिएका छन्। 

लगातार वर्षाका कारण जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय गुल्मीले खोला किनारा र पहिरोग्रस्त क्षेत्रका बासिन्दालाई सर्तक रहन र सुरक्षित स्थानमा वसोवास गर्न आग्रह गरेको छ।

पर्वतको सेतीवेणी बजार डुबानमा
लगातार परेको अविरल वर्षाका कारण विश्वकै ठूलो शालिग्राम शिला र त्यस क्षेत्रका बजार डुबानमा परेको छ। पर्वत, स्याङजा र गुल्मीको सिमानामा पर्ने पर्वतको विहादी गाउँपालिका–६ सेतीवेणीमा रहेको स्याङ्जातर्फको बजार डुबानमा परेको हो। 

कालीगण्डकीमा पानीको सतह २८ वर्ष यताकै उच्च विन्दुमा पुगेपछि शिला र बजार पूर्णरूपमा डुबानमा परेको स्थानीय तिलक पराजुलीले जानकारी दिए। उनका अनुसार बिहान चार बजेदेखि बजार क्षेत्र डुबानमा पर्न थालेपछि १० घर विस्थापित बनेका छन्। दस घरपरिवार र उनीहरूको पसलमा रहेका सामान र मानिसलाई सुरक्षित स्थानमा सारिएको उनले बताए। 

भीमदत्त राजमार्ग अवरुद्ध
वर्षाका कारण डोटीको जोरायल गाउँपालिका–१ गैरामा पहिरो आउँदा अत्तरिया स्याउले जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ। सडकमाथिबाट आएको पहिराका कारण राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। पहिरोले राजमार्ग अवरुद्ध भएपछि अहिले तराइँबाट पहाडका लागि अत्यावश्यक सामग्री लिएर आइरहेका दर्जनौं सवारी साधनबीच बाटोमै रोकिएको प्रहरी चौकी गैराले जनाएको छ।

मुस्ताङमा १५ घर उच्च जोखिममा
मुस्ताङमा बाढीका कारण १५ घर उच्च जोखिममा परेका छन्। वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको लुप्रा खोलामा बाढी आएको हो। लेदोसहितको बाढीले खोला किनारका १५ घर जोखिममा परेका हुन्। लुप्रा गाउँका सबै घर जोखिममा परेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ। खोलामा बाढी आएको जानकारीपछि जिल्लाका सुरक्षा निकायबाट उक्त क्षेत्रको अनुगमन गरिएको छ। प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलले हिमताल फुटेकोबारे जानकारी नभए पनि हिमपहिरोको सम्भावना भएको बताइन्। 

साँफे–मार्तडी राजमार्ग अवरुद्ध
अविरल वर्षाका कारण जिल्ला सदरमुकाम जोड्ने साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ। राजमार्गका विभिन्न ठाउँहरुमा पहिरो आएपछि यातायात अवरुद्ध बनेको हो। 

राजमार्गको बार्जुगाडदेखि मार्तडीका विभिन्न ठाउँमा पहिरो आएपछि अवरुद्ध बनेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए। उनका अनुसार बार्जुगाडको खोलादेखि मार्तडीसम्म पहिरो आउने क्रम नरोकिएकाले राजमार्ग अवरुद्ध भएको छ। राजमार्गको अम्कोटमा बढी पहिरो बग्न थालेपछि अन्य क्षेत्रभन्दा जोखिम रहेको छ। 

बार्जुगाड, बल्दे, अम्कोट, पानीनाउलालगायतका पाँच ठाउँमा पहिरो बग्न नरोकिएकाले राजमार्ग खोल्न तत्काल सम्भव देखिएको छैन। माथिबाट पहिरो खस्ने क्रम जारी रहेकाले तत्काल राजमार्ग खुलाउन कठिनाइ भएको प्रजिअ अधिकारीको भनाइ छ। 

५ घर विस्थापित, सडक अवरुद्ध
वर्षासँगै आएको पहिरोका कारण बागलुङको काठेखोला गाउँपालिकामा पाँच घर विस्थापित भएका छन्। काठेखोला गाउँपालिका–७ जिरेदीमा घरमाथि र घरमुनिबाट पहिरो गएपछि ती परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

सदरमुकाम बागलुङ बजार हुँदै रेश जोड्ने सडकको जिरेदी भन्ने स्थानमा सडक भासिँदा घरमाथि पहिरो आएको हो। जिरेदीका चित्रबहादुर कार्कीको घरमाथीबाट पहिरो आएको वडाअध्यक्ष प्रेम जिसीले बताए। सोही ठाउँकै बलबहादुर जिसी र कृष्ण जिसीलगायतका घर पहिरोको उच्च जोखिममा छन्। सबै परिवारका सदस्यलाई अन्यत्रै सार्न थालिएको छ। पहिरोका कारण बागलुङ सदरमुकाम र स्थानीय तहबीचको सडक सञ्जाल टुटेको छ। 

कर्णाली राजमार्ग अवरुद्ध
लगातार तीन दिनदेखिको अविरल वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ।  सुर्खेत–जुम्ला सडकका  ठाउँठाउँमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो। 

दैलेखको किटु, कालिकोटको गगनेखोला, हुल्म, सुनार खोला, पिली सेराबाड़ा, खल्लागाड र भिग्ममा पहिरो खसेको जनाइएको छ। पहिरो पन्छाए  पनि वर्षा नरोकिएकोले पुनः अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिए। राजमार्ग अवरुद्ध हुँदा कालिकोट, जुम्ला र मुगुका लागि दैनिक उपभोग्य सामान र निर्माण सामग्री बोकेर आएका गाडी बाटोमा रोकिएका छन्। 

नदीतटका बासिन्दालाई सतर्क रहन आग्रह
स्थानीय प्रशासनले नारायणी, राप्तीलगायतका नदी किनारामा रहने बासिन्दालाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ। जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गर्दै सतर्कता अपनाउन अनुरोध गरेको हो।

कार्यालयका प्रशासकीय अधिकृत खेमराज पौडेलद्वारा जारी सूचनामा मौसमको समय शुरु हुन लागेकाले जिल्लाका धेरै स्थानमा बाढी, पहिरो, नदी कटानको सम्भावना रहेकाले आमनागरिकलाई सतर्कता अपनाउन अनुरोध गरिएको छ।
सूचनामा बाढी आएको समयमा नदीमा माछा मार्ने, पौडी खेल्ने र दाउरा सङ्कलनको काम नगर्नरनगराउन अनुरोध गरिएको छ।

नारायणगढ-मुग्लिन सडकखण्डमा ठाउँठाउँमै खसे ढुंगा
नारायणगढ–मुग्लिन सडकखण्डको ठाउँठाउँमा ढुङ्गा र लेदो खसेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडकका विभिन्न ठाउँमा ढुङ्गा र लेदो  खसेको हो।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार सडकखण्डको सात दोबाटो र घुमाउनेमा ठूलो ढुङ्गा खसेर सडक एकतर्फी सञ्चालनमा आएको छ। कालिखोला, जलवीरे, सत्र किलोलगायतका ठाउँमा ढुङ्गा र लेदो खसेको उनले जानकारी दिए। 

जयपृथ्वी राजमार्ग अवरुद्ध
पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ। बैतडीको खोडपेदेखि बझाङको चैनपुर जोड्ने उक्त राजमार्गको पुर्चौडी नगरपालिका–६ स्थित ढोल्यामोडमा सडक माथिबाट पहिरो खस्दा अवरुद्ध बनेको हो। 
 
राजमार्ग अवरुद्ध हुँदा एम्बुलेन्स, मालवाहक सवारी साधन, अत्यावश्यक कामका लागि हिँडेका यात्रुहरु बिचबाटोमै रोकिएका छन्। बझाङबाट  धनगढी, महेन्द्रनगर, काठमाडौँ, डडेल्धुरा, बैतडी र बझाङ भित्रिने सवारी साधन र यात्रुहरु पहिरोका कारण रोकिएका हुन् ।

अवरुद्ध रहेको उक्त राजमार्ग खुलाउने प्रयास भइरहेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। 

बूढीगङ्गा नदीको कटानका कारण दर्जन बस्ती जोखिममा
बाजुराको बूढीगङ्गा नदीमा आएको बाढीका कारण सयौँ बिघा खेतीयोग्य जमीन बगरमा परिणत हुँदै गएको छ। गत वर्ष साउन २५ गते बूढीगङ्गामा आएको बाढीले खेतीयोग्य जमिन बगाउनुका साथै बगरमा परिणत गरेको थियो। यस वर्ष पनि वर्षात्को समयमा नदीले निरन्तर कटान गर्दै जाँदा बाजुरा र अछामका दर्जनौँ बस्ती र खेतीयोग्य जमीन नदीले कटान गरेको छ।

बडिमालिका नगरपालिका–२ को भौनेरा, ८ को रापक र सोही नगरपालिका–६ को बीरेखोलाको सयौँ मुरी फल्ने खेतीयोग्य जमीन कटान शुरु गरेको त्यहाँका स्थानीयवासीले बताएका छन्। त्यस्तै बूढीगङ्गा गाउँपालिका–१ अमकोटमा १०७ परिवारको खेतीयोग्य जमीन बूढीगङ्गा नदीले कटान गरेको छ। आफ्नो १९ मुरी धान फल्ने खेत बगाएको र घर पनि पूर्णरूपमा बगाएकाले बासका लागि निकै समस्या भएको घागरका अम्मर महतले बताए। 

नदीको छेउमै रहेका ताप्रीसेरा, राप्का, घागर, बार्जुगाडा, मौरलगायतका गाउँ तथा बजार उच्च जोखिममा परेका छन्। 

मध्यपहाडी लोकमार्ग र बेनी मालढुङ्गा सडक अवरुद्ध
लगातारको वर्षाका कारण पहिरो खस्दा मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत–बागलुङ खण्ड अवरुद्ध छ। पर्वतको कुश्मा नगरपालिका–१ सहस्रधारामा पहिरो खस्दा रातिदेखि नै सडक अवरुद्ध भएको हो। निरन्तर पहिरो झरिरहेकाले तत्काल खुलाउन समस्या रहेको ट्राफिक प्रहरी कार्यालय पर्वतले जनाएको  

यसैगरी छिमेकी जिल्ला म्याग्दी र मुस्ताङ जोड्ने बेनी–मालढुङ्गा सडकसमेत अवरुद्ध भएको छ। जलजला गाउँपालिका–८ नाङ्लीवाङको फर्से, वडा नं ७ को केराबारी र वडा नं ३ को लामाखेतमा पहिरो जाँदा सडक अवरुद्ध भएको ट्राफिक प्रहरी प्रमुख कृष्ण थापाले जानकारी दिए। यसैगरी दक्षिण पर्वतको हुवास–वालिङ सडक र सदरमुकाम जोड्ने दक्षिण क्षेत्रका अधिकांश सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। यस क्षेत्रमा शनिबारदेखि जारी वर्षा रोकिएको छैन।

प्रकाशित: Jun 15, 2021| 14:06 मंगलबार, असार १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।