समाचार

दबंग लेडी नजबुल खान : सुबह साम! जनताको काम 

1624581609.202981302_3978713338912675_7568125951463462216_n.jpg

काठमाडाैं- नजबुल खान (३९), मुस्लिम समुदायको यो नाम भन्नेबित्तिकै धेरैलाई लाग्न सक्छ, बुर्काभित्रकी एक महिला। तर नजबुल तमाम मुस्लिम महिलाभन्दा फरक छिन्। रातो टिसर्ट, नीलो जिन्सको पाइन्ट, सेतो स्पोटर्स जुत्ता र कालो चस्मा उनको पहिरन हो। यामहाको स१प ९४४२ नम्बरको इन्टाइसर रातो बाइकको ट्यांकी जहिल्यै भरिएको हुन्छ। पीठमा कालो झोला छुट्दैन। त्यसैले कतिपयले उनलाई ‘दबंग लेडी’ र ‘विद्रोही छोरी’ उपनाम दिएका छन्।

नजबुल आसनमा महिला, भाषणमा महिला, शासनमा महिला नारासहित ‘राष्ट्रिय बेटी सम्मेलन’ सम्पन्न गर्ने अभियन्ता हुन्। सरल, सरस र आममान्छेले बुझ्ने भाषामा छोटाछोटा नारा लेख्नु उनको विशेषता हो। उदयपुरबाट सुरु भएको बेटी सम्मेलन मधेसी महिला सशक्तीकरणका लागि स्वास्थ्य र शिक्षामा महिलाको पहुँचमाथि केन्द्रित छ। र, यस्तै नाराका कारण उनी अभियन्तका रुपमा परिचित छिन्। 

नजबुल कोरोना महामारी बेला पनि लुकेर बस्न सकिनन्। कोरोना सर्ने डरले तमाम मान्छे घरबाहिर ननिस्किरहेका बेला उनी सडकमा देखिइन्। र ‘लिडर महिला, निडर महिला’ नारा दिएर सक्रिय भइन्। उनको सक्रियता देखेर कतिपयले ईर्ष्या गरे। तर सहयोगी मन लिएर हिँडेकी खानको अभियानलाई कसैको ईर्ष्याले के फरक पार्थ्याे र?

उनी कोरोनासँग जुधिरहेका संक्रमित बिरामीलाई सहयोग जुटाउन दैनिक जसो ‘फ्रन्ट लाइन’मा कुदिरहेकी हुन्छिन्। विषम परिस्थितिका कारण समस्यामा परेकालाई राहत जुटाएर वितरण गर्छिन्, उद्धार गर्छिन् र सम्बन्धित स्थानीय निकायको ध्यानाकर्षण गराउँछिन्।

कुनै पनि ‘स्टाटस’ को अन्तिम लाइन ‘जय आभाशा’ लेखेर आफ्नो विचार सामाजिक सञ्जालमा पोस्ट्याउँछिन् नजबुल। ‘सुबह साम ! जनताको काम !’  घरबाट हिँड्दा उनी परिवारलाई यही नारा सुनाएर निस्कन्छिन्। कसैले कता हिँडेको भनेर सोधेमा जबाफ दिन्छिन्– ‘सुबह साम! जनताको काम!’ 

कोरोना न्यूनीकरण गर्न सरकारले लगाएको बन्दाबन्दीमा कोही बाइक चलाएर आइरहेको देख्दा ड्युटी गरिरहेका प्रहरीले रोक्नु स्वाभाविकै हो। खानलाई प्रहरीले रोकिहाल्यो भने बाइक किनारा लगाएर हेलमेट खोलिदिए पुग्छ। अभियानमा हिँडेकी खानलाई कुनै समस्या परे खबर पाऊँ है भन्छन् प्रहरी पनि। 

‘उदयपुरको सान, नजबुल खान’, भन्ने उपनाम उदयपुरका स्थानीयबाट पाएकी खान यतिखेर महामारीबाट जुधिरहेका संक्रमित बिरामीका लागि ‘बाँचौं र बचाऊँ’ अभियानमा संलग्न छिन्। निषेध आदेशका बेला व्याकुल परिवार र समुदायका लागि नजबुल ‘फरिस्ता’ भइदिएकी छिन्। उनी कोरोनासँग जुधिरहेका संक्रमित बिरामीलाई सहयोग जुटाउन दैनिक जसो ‘फ्रन्ट लाइन’मा कुदिरहेकी हुन्छिन्। विषम परिस्थितिका कारण समस्यामा परेकालाई राहत जुटाएर वितरण गर्छिन्, उद्धार गर्छिन् र सम्बन्धित स्थानीय निकायको ध्यानाकर्षण गराउँछिन्। सामाजिक कामका लागि सधैं गाउँगाउँ पुग्ने खानले भनिन्, ‘अहिले नगरे कहिले गर्ने, हामीले नगरे कसले गर्ने?’

कोरोना संक्रमितको नजिक गएर सक्दो हौसला र सहयोग गर्न उनले धेरैपटक आफ्नै बाइकको रेनकोटलाई पीपीई बनाएकी छन्। रेनकोट पीपीई, मास्क र पन्जा, सेनिटाइजर लगाएर बिरामीलाई अस्पताल पुर्‍याउन सहयोग गर्छिन् उनी। आपत्कालमा उनले प्रहरीको भ्यानलाई रोकेर सहयोग मागेकी छन्। अटो रिक्सालाई समेत एम्बुलेन्स बनाइन्। कुनै सवारीसाधन नपाएका बेला आफ्नै बाइकमा पनि बिरामी बोकेकी छन् उनले।

घरबाट हिँडेपछि उनको गन्तव्य जिल्लाको सुन्दरपुर, सिवाई, ज्यामिरे, जोगीदह, मोथ्याही, भुल्के, सुकौरा, देउरी जलजले, मोतीगाडा, गाईघाट, बोक्से लगायत ठाउँ हुन्छन्। जहाँका स्थानीयले नजबुलको आगमन देखेर राहतको सास फेर्छन्। उनी भन्छिन्, ‘सरकारले मानवता बिर्सियो। हामीले बिर्सिएका छैनौं। सहयोग गर्छौं।’

पछिल्लो निषेध आदेशमा मात्रै उनको अभियानले ४ सय ५० घर परिवारलाई कपडा वितरण गरेको छ। तीन सय ३५ घरपरिवारलाई खाद्य सामाग्री बाँडेको छ। स्यानिटाइजर, मास्क, साबुन, पीपीई, फेस सिल्ड, स्यानिटरी प्याडजस्ता स्वास्थ्य सामग्री ३ सय ८८ जनालाई वितरण गरेको छ। 

‘सहन नपरोस् हिंसा र दर्व्यवहार, स्वास्थ्य शिक्षालाई बनाऊँ चेलीबेटी सशक्तीकरणको हतियार’ यो नाराका साथ महिलाका पक्षमा वकालत गर्दै आएकी नजबुलकाे ‘महिलाले पनि धेरै थोक गर्न सक्छन्’ भन्ने उच्च मनोबल छ। उनले भनिन्, ‘पितृसत्तात्मक समाजले अवसर दिन कन्जुस्याइँ नगर्ने हो भने महिला पनि सक्षम छन्।’

अभियानका क्रममा उनी दुईपटक सिकिस्त भइन्। ज्वरो आउने, खोकी लाग्ने समस्या देखिएपछि खानले तत्कालै पीसीआर परीक्षण गरिन्। धन्न रिपोर्ट नेगेटिभ आयो। दुई सातामा ठिक भएपछि उसैगरी फिल्डमा देखिन थालेकी खानले भनिन्, ‘जीवन बाँच्नु छ, जीवन बचाउनु छ।’ 

‘सहन नपरोस् हिंसा र दर्व्यवहार, स्वास्थ्य शिक्षालाई बनाऊँ चेलीबेटी सशक्तीकरणको हतियार’ यो नाराका साथ महिलाका पक्षमा वकालत गर्दै आएकी नजबुलकाे ‘महिलाले पनि धेरै थोक गर्न सक्छन्’ भन्ने उच्च मनोबल छ। उनले भनिन्, ‘पितृसत्तात्मक समाजले अवसर दिन कन्जुस्याइँ नगर्ने हो भने महिला पनि सक्षम छन्।’

अहिले उनी राष्ट्रिय बेटी सम्मलेन जस्तो ‘बिग अभियान’ मार्फत स्थानीय सरकारदेखि केन्द्र सरकारसम्म निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउन माग गरिरहेकी छन्। आफूभित्रको सीप कला ऊर्जा र जोशजाँगर सबै सामाजिक कामका हेतु खर्चिने दृढता लिएकी खान हरेक प्रहर समतामूलक समाज निर्माणका लाागि आह्वान गर्छिन्। उनी गरिब, दलित र मुुस्लिम समुदायका महिलाको आर्थिक सामाजिक, राजनीतिक पहुँच बढाउन निरन्तर लाग्ने बताउँछिन्। भन्छिन्, ‘समाजको पिँधमा रहेका महिलाको सक्रियता बढाउन पनि अभियान निरन्तर गरिन्छ।’ 

६२/६३ को जनआन्दोलानको भीडमा हानेको अश्रुग्यास उनको घाँटीमा पर्‍यो। आन्दोलनमै बहोस हुन पुगेकी खान पन्ध्र दिनपछि होसमा आउँदा बोली हराएको थियो। उनले लामो समय आवाज फर्काउन उपचार गरिन्। मुस्किलले आवाज फर्कियो तर स्पष्ट भएन। अहिले उनी दबेको स्वरमा आवाजविहीनका आवाज बोल्न मासमा पुग्छिन्। उनी भन्छिन्, ‘अहिले कोरोना कहर छ, जीवनमा धेरै काम गर्ने रहर छ।’

उनी आफ्ना कुरा यस्तै पदावलीबाट व्यक्त गर्छिन्। अभियानलाई सहयोग गर्न हात जोडिहाल्छिन्। गरिबीका कारण बालखैमा स्कुल भर्ना हुन नपाएकी खानले गाउँमा सञ्चालित प्रौढ शिक्षामार्फत अक्षर चिन्न पाएकी हुन्। नेपाल टेलिभिजनमा टेम्पो चलाउने महिलाबारे रिपोर्ट देखेपछि मजदुरीभन्दा ट्याम्पु चालक हुन ठिक लाग्यो। काठमाडौं आइन्। संयोगले ट्रेड युनियनका तत्कालीन केन्द्रीय अध्यक्ष लक्ष्मण बस्नेतसँग भेट भयो। उनैको सहयोगमा उनले बत्तीसपुतलीस्थित महिला ड्राइभिङ सेन्टरमा टेम्पो चलाउन सिकिन्।  बिस्तारै उनी मुस्लिम समुदायकी पहिलो महिला ट्याम्पु चालक बन्न पुगिन्। 

उनको अगुवाइमा गाउँगाउँ महिला समूह गठन भएको छ। एकता मुस्लिम महिला समूह, रोजा मुस्लिम महिला समूह, संघर्षशील मुस्लिम महिला समूह, आकाश महिला समूह जस्ता समूह गठन गरेर बचत गराउन पनि उनले प्रेरित गर्दै आएकी छन्। 

तिनै समूहमार्फत महिला हिंसा, बालहिंसा, यौन दुराचार लगायत अनेक विकृतिविरुद्ध उनले गाउँगाउँमा अभियान चलाइन्। ‘बाँचौ र बचाऔं’ अभियानका लागि काठमाडौंस्थित यूएईको दूतावास र बीबीसी नामक संस्थाको समन्वयमा रहत संकलन गरी वितरण गरेको उनी बताउँछिन्। 

अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) को महिला समिति उपाध्यक्षसमेत रहेकी खानले ‘जहिले पनि नेपालका लागि, जहाँ पनि नेपालीका लागि’ नारासहित  दिएको सहयोगप्रति नतमस्तक हुन्छिन्। उनी भन्छिन्, ‘उच्च मनोबलका साथ काम गरे सहयोगी हात जुटिहाल्छन्।’

प्रतिक्रिया दिनुहोस्
थप समाचार
लेखकबाट थप
ताजा अपडेट