बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कोभिड कोष खडा गर्दै माओवादी, सबै सदस्यले योगदान गर्नुपर्ने [प्रस्तावको पूर्णपाठ]

कोभिड कोष खडा गर्दै माओवादी, सबै सदस्यले योगदान गर्नुपर्ने [प्रस्तावको पूर्णपाठ]

'पार्टीको नेतृत्वमा कोभिड कोष खडा गरिनेछ। यसमा पार्टीको तर्फबाट संघ, प्रदेश र स्थानीय तहमा निर्वाचितहरुले पाउने पारिश्रमिक एवं मासिक भत्ता र बिभिन्न राजनैतिक नियुक्ति लिएकाहरुले आफूले प्राप्त गरेको आम्दानी बुझाउनु पर्नेछ,' प्रस्तावको छैटौँ बुँदामा उल्लेख छ, 'कोषमा पार्टीका सबै सदस्यहरुले न्यूनतम योगदान दिनुपर्नेछ।'
 |  सोमबार, जेठ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १०, २०७८

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले कोरोना भाइरस नियन्त्रणमा सहयोग गर्न कोभिड कोष खडा गर्ने भएको छ। कोरोना नियन्त्रणका लागि पार्टीको स्थायी समितिले पारित गरेको नीति कार्यक्रम र संरचनासम्बन्धी प्रस्तावमा पार्टी नेतृत्वमा कोष खडा गर्ने विषय उल्लेख छ। 

triton college

'पार्टीको नेतृत्वमा कोभिड कोष खडा गरिनेछ। यसमा पार्टीको तर्फबाट संघ, प्रदेश र स्थानीय तहमा निर्वाचितहरुले पाउने पारिश्रमिक एवं मासिक भत्ता र बिभिन्न राजनैतिक नियुक्ति लिएकाहरुले आफूले प्राप्त गरेको आम्दानी बुझाउनु पर्नेछ,' प्रस्तावको छैटौँ बुँदामा उल्लेख छ, 'कोषमा पार्टीका सबै सदस्यहरुले न्यूनतम योगदान दिनुपर्नेछ।'

कोषमा सहयोग गर्न देशभित्र र बाहिरका सबै जनवर्गीय संगठनहरुलाई आह्वान गर्ने समेत प्रस्तावमा उल्लेख छ। कोषमा पार्टी बाहिरका व्यक्ति र संघसंगठनले पनि योगदान गर्न सक्नेछन्। 

कोष र कोषमा जम्मा गर्ने रकमका विषयमा थप निर्णय पार्टीको केन्द्रीय कोभिड स्वास्थ्य एकाइले लिने समेत प्रस्तावमा उल्लेख छ। 

यस्तै उपचारमा सहजीकरणका लागि पार्टीले जनचेतना अभिवद्धि कार्यक्रम समेत सञ्चालन गर्ने बताइएको छ। महामारीमा जनताको सेवा गर्दा मृत्यु स्वास्थ्यकर्मीलाई 'सहिद' घोषणा गराउने पहल गर्नेसमेत प्रस्तावमा उल्लेख छ। 

corrent noodles
Metro Mart

कोभिड नियन्त्रणका विभिन्न विषयमा छलफल गर्न सर्वदलीय र सर्वपक्षीय संयन्त्रको स्थापना गर्नुपर्ने समेत माओवादीको ठहर छ। उसले प्रधानमन्त्रीकै नेतृत्वमा त्यस्तो संयन्त्र बनाउन समेत जोड दिएको छ। 

माओवादीले विगतदेखि नै सर्वदलीय संयन्त्र बनाउन माग गर्दै आएको थियो। कोरोनाको पहिलो लहरका बेला पनि अध्यक्ष प्रचण्डले पटकपटक सर्वदलीय संयन्त्र निर्माण गर्नुपर्ने आवाज उठाएका थिए। तर प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रममा नै त्यस्तो संयन्त्र आवश्यक नरहेको बताएका थिए। 

यस्तो छ प्रस्तावको पूर्णपाठ
कोरोना नियन्त्रणको लागि नेकपा (माओवादी केन्द्र)को स्थायी समितिले पारित गरेको नीति, कार्यक्रम र संरचना सम्बन्धी प्रस्ताव (२०७८ जेठ ५-६)

ब्रिटिश भेरियन्ट तथा भारत बाट फैलिएको नयाँ भेरियन्टको कारण नेपालमा कोरोना संक्रमण उच्च तहमा पुगेको सर्व बिदितै छ। कोभिड १९ को दोस्रो लहरको तिव्रता र भयावहतालाई दृष्टिगत गर्दा सरकारले जनताको स्वास्थ्य सम्बन्धी मौलिक हक रक्षा गर्ने तथा संक्रमण रोक्ने तयारी तत्परता र प्रभावकारीतामा पूर्णत असफल सावित भएको छ। अझ तेश्रो लहर पनि आउन सक्ने सम्भावना प्रति बिज्ञहरुले सचेत गराई रहेको पृष्ठभूमिमा सम्भाबित विपतीलाई सामना गर्न सक्ने प्रणाली निर्माणको तयारी पनि आजैको विषय बन्न पुगेको छ। जनताको जीवन रक्षाको अत्यन्तै संवेदनशील यो मुद्दामा सरकारको चरम लापरवाही प्रति खेद प्रकट गर्दै हाम्रो पार्टी नेकपा माओवादी केन्द्रको स्थायी समितिको २०७८ जेठ ५ र ६ गते बसेको बैठकले यस बारेमा गम्भीर छलफल गरी निम्नानुसार कोरोना नियन्त्रणको लागि नीति,योजना,कार्यक्रम र संरचना बनाई अघि बढने निर्णय गरेको छ।

१. हाम्रो पार्टीले कोभिड १९ को पहिलो लहरको सन्दर्भमा यो विश्वब्यापी महाविपतिसंग लड्न केन्द्र, प्रदेश र स्थानीय तहसम्म सर्वदलीय, सर्वपक्षीय सयन्त्र निर्माण गर्ने अपील गरेको थियो। कोभिड १९ को दोस्रो लहर भयावह हुन पुगेको छ। संक्रमणदर बढ्दो छ। मृत्युदर पनि बढिरहेको छ। शुरुमा शहरी क्षेत्रमा ब्याप्त महामारी ग्रामिण क्षेत्रमा विस्तारित हुन पुगेको छ। तेश्रो लहरले सबै भन्दा बढी बालबालिका संक्रमित हुने पूर्व अनुमान भईरहेको छ। अतः यसलाई नियन्त्रण गर्न चौतर्फी पहल र विशेष अभियानको आवश्यकता छ। परिस्थितिले पुनः सर्वदलीय र सर्वपक्षीय सहभागिताको संयन्त्रको स्थापना अपरिहार्य हुन गएको छ। त्यसको लागि सरकार, राजनैतिक दलहरु, नागरिक समाज, वैज्ञानिक समुदाय र विज्ञहरु, विभिन्न जनसंगठन र सामाजिक संघसंस्था, पत्रकार, वुद्धिजिवी लगायत सम्वन्धित सबै पक्षसंग संवाद र छलफल गरी साझा सहमतिका लागि पहलकदमी लिइनेछ। वर्तमानमा क्रियाशील कोभिड १९ संकट व्यबस्थानपन केन्द्र (सिसिएमसी) ले आफ्नो दायित्व पुरा गर्न विफल भएकाले यसको विघटन गरी प्रधानमन्त्रीकै नेतृत्वमा सर्वदलीय, सर्वपक्षीय सयन्त्र बनाउन जोड दिइनेछ।

२. वर्तमानको महाविपत्तिसँग जुध्न पार्टीको नेतृत्वमा केन्द्र, प्रदेश र स्थानिय तहसम्म कोभिड स्वास्थ्य इकाई गठन गरिनेछ। कोभिड नियन्त्रण गर्नका लागि जनतालाई सूचित गर्न र जनस्वास्थ्यका मापदण्ड लागू गर्न यो एकाइले उत्प्रेरित गर्नेछ। यसले एक अर्का बीच संयोजन गर्नुका साथै सूचनाहरुलाई अद्यावधिक गर्न जोड दिनेछ। सबै तहका ईकाईहरुले विभिन्न जनसंगठनबाट जनशक्ति लिएर आवश्यकता अनुसार स्वयंसेवक टीम गठन गर्नेछन। केन्द्रमा पार्टी अध्यक्ष क. प्रचण्डको नेतृत्वमा समिति गठन हुनेछ।

३. सबै तहका एकाइहरुले स्वास्थ्यकर्मीहरु सँग मिलेर स्वयंमसेवकहरुलाई आन्तरिक रुपमा दक्ष बनाउनु पर्नेछ। स्वयंमसेवक टिमलाई पिपिई, अक्सीमिटर, थर्मामिटर, आवश्यक औषधी, मास्क, सेनिटाईजर उपलब्ध गराउनुका साथै कोभिड सम्वन्धि तालिम दिनुपर्नेछ। सवै स्तरका एकाईहरुले संक्रमितहरुको अवस्था बुझेर आवश्यकता अनुसार उद्घार, परीक्षण, कन्ट्रयाक्ट ट्रेसिङ्ग, क्वारेन्टाईन ,आइसोलेसन, होल्डिङ सेन्टर निर्माण साथै उपचारमा सहजीकरणका अतिरित्त जनचेतना अभिवृद्घि कार्यक्रम संचालन गर्नेछन्।

४. कोरोना भाइरस विरुद्घको यो संघर्षमा अन्तत खोप दिएर मात्र संक्रमणमाथि विजय प्राप्त गर्न सकिने यथार्थलाई आत्मासात गर्दै जनताको खोप प्राप्तिको अधिकार र आवश्यकतालाई परिपूर्ति गर्न पार्टीले पनि आफ्नो सम्वन्धहरुलाई परिचालन गरी कुटनैतिक पहल लिनेछ। यस सन्दर्भमा सरकारको ढिलासुस्ती र कमिशनको खेल लगायतको जनताको जीवनमाथि भईरहेको खेलवाडको निन्दा गर्दै समयमै खोपको व्यबस्थापन गर्न दबाव दिईनेछ। साथै आफ्नो नेतृत्वमा गठन भएका प्रदेश र स्थानिय तहको सरकारलाई पनि खोपको कार्यान्वयन गर्न गराउन निर्देशन दिइनेछ।

५. पार्टीको नेतृत्वमा गठित स्वास्थ्य एकाईहरुले संक्रमितहरुको लक्षणको आधारमा स्थिति निर्धारण गरी शीध्र उपचार तथा अक्सिजनको ब्यबस्थापन गर्न जोड दिनेछन। आज विकट ग्रामिण ईलाकाहरुमा संक्रमण बढिरहेको हुँदा त्यस क्षेत्रका जनताको उपचार तथा जनचेतना अभिवृद्धि गर्न विशेष पहल गरिनेछ। यस सन्दर्भमा सम्भावना हेरी टेलिमेडिसनको पद्दति अवलम्बन गरिनेछ। ग्रामीण क्षेत्रका जनताको उपचार गर्न सरकारसँग हवाई एम्बुलेन्सको व्यवस्था गर्न जोड दिईनेछ। परिस्थिति हेरेर संक्रमितहरु लाई स्वास्थ्य संंस्थामा प्रेषण गर्नका साथै भएका संस्थाहरुको संस्थागत क्षमता बढाउन पनि भुमिका खेल्नेछ।

६. पार्टीको नेतृत्वमा कोभिड कोष खडा गरिनेछ। यसमा पार्टीको तर्फबाट संघ, प्रदेश र स्थानीय तहमा निर्वाचितहरुले पाउने पारिश्रमिक एवं मासिक भत्ता र बिभिन्न राजनैतिक नियुक्ति लिएकाहरुले आफूले प्राप्त गरेको आम्दानी बुझाउनु पर्नेछ। यो कोषमा पार्टीका सवै सदस्यहरुले न्यूनतम योगदान दिनुपर्नेछ। कोषमा सहयोगका लागि देशभित्र र बाहिर रहेका सवै जनवर्गीय संगठनहरुलाई आव्हान गरिनेछ। पार्टी बाहिरका सहृदयी र मनकारी महानुभाव र विभिन्न संघसंगठनलाई पनि अनुरोध गरिनेछ। यस सम्वन्धमा ठोस निर्णय केन्द्रीय कोभिड स्वास्थ्य एकाइले लिनेछ।

७. संक्रमितहरुको जीवन रक्षा गर्न आफ्नो जीवनलाई पनि मृत्युको हत्केलामा राखेर कोभिडको महाविपत्तिमा आफ्नो दायित्व निर्वाह गर्ने सबै चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई सत प्रतिशत भत्ता सुविधा दिनु पर्नेछ। यस अघि दिने निर्णय गरेपनि अहिलेसम्म कार्यान्वयन नभएको सन्दर्भमा त्यसलाई यथाशीध्र कार्यान्वयन गर्न माग गर्दछ। यस अवधिमा जनशक्तिको चौतर्फी अभाव भएकाले त्यसलाई छिटो पूर्ति गर्नुपर्नेछ। यसअघि अस्थायी वा करारमा रहेका स्वास्थ्यकर्मीहरुलाई स्थायी दिलाउन पहल गरिनेछ। निजी क्षेत्रमा कार्यरत सबै स्वास्थ्यकर्मीहरुको काम र सुविधाको सुनिश्चित गरिनुपर्दछ। यो महाविपत्तिमा जनताको सेवा गर्दा मृत्युवरण गर्ने स्वास्थ्यकर्मीहरुलाई ‘शहिद’ घोषणा गराउने पहल गरिनेछ।

८. सरकारी र सामुदायिक अस्पतालहरुको वरिपरि सातै प्रदेशमा हाम्रो पार्टीले सातवटा अक्सिजन प्लान्ट स्थापना गरी अक्सिजन आपूर्ति सहज गर्न प्रयास गर्नेछ। यसका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय सहयोग जुटाउन नेतृत्वतहबाट विशेष पहल गरिनेछ। यसका साथै पिपिई देश भित्रै उत्पादनको सम्भावनाहरुको खोजी गरिनेछ।

९. सबैस्तरका स्वास्थ्य एकाइहरु र स्वयंमसेवकहरुलाई सरकारी र निजी सबै क्षेत्रका अस्पतालको बेड संख्याको स्थिति, उपचार प्रक्रियाको अध्ययन, अनुगमन गरी तथ्याङ्क संकलन गर्नका साथै सहजीकरण गर्न जोड दिइनेछ। हरेक तहमा वास्तविक स्थिति बुझ्न सक्ने सूचना संयन्त्रको निर्माण र व्यवस्थापन गरिनेछ। स्वास्थ्य क्षेत्रका सवै पक्षलाई पारदर्शी र जवाफदेही बनाउन सुदृढ प्रणाली निर्माण आजको आवश्यकता हो।

१०. नेपालका सीमानाकाहरुलाई कडाइपूर्वक व्यवस्थित गर्न पर्दछ। सीमावर्ती क्षेत्रमा कोरोना नियन्त्रण गर्न विशेष पहल गरिनु पर्दछ। त्यहाँ जनशक्तिको आपूर्ति कमी हुन नदिन र न्यूनतम भौतिक पूर्वाधार हेल्थ डेस्क, होल्डिङ सेन्टर, क्वारेन्टाइनका लागि बिशेष आग्रह गरिनेछ। स्थलगत मार्ग अतिरित्त हवाईजहाजबाट आउने यात्रीहरुलाई पनि कडाईपूर्वक जाँच गरिनु पर्दछ। नेपाललाई ट्रान्जिट प्वाईन्ट बनाउने सबै प्रकृया बन्द गर्न माग गर्दछ।

११. यसपटक बजेट कोरोना केन्द्रीत हुनुपर्नेछ। स्थानीय तथा प्रदेश सरकारलाई तात्कालीन व्यबस्थापन र दीर्घकालीन संरचना बनाउन केन्द्रीत गरिनुपर्दछ। स्थानीय तथा प्रादेशिक सरकारलाई आवश्यक सामाग्रीहरु खोप, अक्सिजन, औषधी, पीपीई, मास्क, सेनिटाईजर आदिको साथै आइसीयू र भेण्टीलेटर सुविधा सहितको कोभिड र ननकोभिड अस्पतालहरु निर्माण गर्न बजेट विनियोजन गरिनुपर्नेछ। अहिले विपतको विशिष्टतालाई ध्यान दिएर अनावश्यक राजनैतिक नियूक्ति रोक्ने, अनुत्पादक क्षेत्रको फजुल खर्च कटाएर अक्सिजन प्लान्ट स्थापना गर्न, खोपको प्रवन्ध गर्न, अत्यावश्यक तथा आधारभूत सेवा एवं औषधिहरुको आपूर्तिमा लगाउन जोड दिईनेछ।

१२. कोभिडको यत्रो विपत्तिको अवस्थामा पनि कालोबजारी गर्ने र सामानको दुरुपयोग गर्नेहरु माथि कडा कारवाही गरिनुपर्दछ। स्वास्थ्य सामग्रीहरुको पारदर्शी वितरण हुनुपर्छ। सत्तामा रहेकाहरुबाट शक्तिको दुरुपयोग गरी श्रोतसाधनको पार्टीकरण गर्ने कार्य बन्द गरिनुपर्छ।

१३. आर्युवेद, प्राकृतिक चिकित्सा लगायत विभिन्न पद्दति अन्र्तगत जनताको प्रतिरोधात्मक क्षमता बढाउन र जीवनशैली बदल्न सकारात्मक योगदान दिने औषधि तथा जडिवुटीको खोज अनुसन्धान गरी वितरण गरिनुपर्दछ।

१४. कोभिड १९ महामारीसंगै रोजगारी गुमाएका र भोकमरीको चपेटामा छटपटाएका नागरिकहरुलाई स्थानीय तह मार्फत् खाद्यान्न र सुरक्षाको विषेश व्यवस्था गर्नुपर्दछ। त्यसको जिम्मा संघीय सरकारले लिनुपर्दछ।

१५. हामीले जबसम्म दरिलो एवं भरपर्दो जनस्वास्थ्य प्रणाली विकास गर्न सक्दैनौं तबसम्म हामी यस्ता महामारीबाट प्रताडित भइरहनेछौं। यसर्थ संघीयताको मर्म अनुसार प्रदेश तथा स्थानीय तहमा दरिलो स्वास्थ्य प्रणाली विकासमा ध्यान जानेछ। स्वास्थ्य लगायत अन्य क्षेत्रसंग समवन्य र सहजीकरणमा पनि जोड दिँदै दीर्घकालीन योजनाहरु निर्माणमा ध्यान दिईनेछ। जबसम्म स्थानीय तहको क्षमतावृद्घि  हुँदैन र अन्य क्षेत्रमा ठीक ढंगले समन्वय गर्न सकिदैन यस्ता विपत्तिमा क्षती न्यूनीकरण गर्न सकिँदैन।

अन्त्यमा,
यो महामारीको समयमा पार्टीले जनताको जीवनरक्षालाई केन्द्रमा राखेर जनसेवामा समर्पित हुनपर्दछ। पार्टी पंक्तिलाई जनस्वास्थ्यको मापदण्डहरु बुझाउने, पालना गर्ने, स्वयंसेवक बनाएर संक्रमित एवम् अन्य जनतालाई सेवा गर्ने, आ–आफ्नो तहमा प्रभावकारी संयत्र बनाएर परिस्थितिमाथि हस्तक्षेप गर्ने कार्य गर्नुपर्दछ। हामीले विपतमा पनि काम गरेर एउटा भरोसायोग्य पार्टी रहेको जनतालाई व्यवहारिक अनुभूत गराउन सक्नुपर्दछ।

मितिः २०७८/०२/१०                                              
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष

प्रकाशित: May 24, 2021| 11:06 सोमबार, जेठ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।