विशेष विचार

मेरो देश संकटमा छ, कोभिड भ्याक्सिन दिनुस्

1624348820.210419_prabalgurung_thumb.jpg
फेसन डिजाइनर प्रबल गुरुङ

अचेल हरबिहान टेबलमा आमासँगै बसेर चियानास्ता गर्दै आएको छु। पाँच वर्ष पहिले आमा न्युयोर्क आउनुभएको हो। आमासँगै भएकैले होला, मलाई न्युयोर्क पनि घरजस्तै लाग्छ, आमाले घरभन्दा पनि अझै बढी बनाइदिनुभएको छ मेरा लागि। बिहानको नास्ता आमाले नै तयार पार्नुहुन्छ। नास्तासँगै हुन्छ, नेपाली चिया- चियापत्ति, दूध, अलैँची (सुकमेल), तेजपत्ता र ल्वाङ राखेर परम्परागत रूपमा बनाइएको।

नेपाली शिल्पकारले हातैले कुँदेर बनाएका तामाका कपमा राखी टेबलमा बसेर चियाको चुस्कीसँगै हामी जीवनका कुरा गर्छौं, समसामयिक घटनाक्रमका विषयमा गफिन्छौँ,  प्रसंगअनुसार हँसिमजाक पनि गर्छौं। दिनभर उत्साहजनक बनाउने मेरा लागि यो सूत्रजस्तै भएका यी गतिविधि विगत केही वर्षदेखि चलिरहेका थिए। 

दुर्भाग्यवश, विगत केही महिनादेखि हाम्रो बिहानी सत्रको नास्ताको समय मलीन हुन थालेको छ। विगत केही महिनादेखि एसियाली समुदायमाथि गरिएको आपराधिक र घृणाजनक अभिव्यक्तिका क्रियाकलापले देश (अमेरिका)लाई थिलथिलो बनाएको छ। आंशिक रूपमा यो कोरोना भाइरससँग पनि सम्बन्धित छ। कोरोना भाइरसलाई 'चिनियाँ भाइरस' भनी जातीयता र राष्ट्रियतासँग जोडेर हेर्नाले पनि एसियाली मूलका नागरिकमाथि विभेद थपिएको थियो। एसियाली मूललाई घृणाजनक विभेद गर्दा उनीहरूले भयभीत र सीमान्तकृत भएको महसुस गरेनन् (यद्यपि सिकारी (विभेद निम्त्याउने पक्षले) हरूले त्यस्तो होस् भन्ने चाहेका थिए), बरु, यसले धेरै एसियाली मूलका अमेरिकीहरूलाई अझ एकताबद्ध हुन बल पुर्‍यायो, जुन विगतको भन्दा प्रभावशाली बनिदियो। अन्ततः एसियाली मूलका समुदाय लामो समयदेखि अमेरिकामा निरन्तर 'अदृश्य' रहँदै आएकोमा 'केही देखिन सक्ने' गरी प्रस्तुत हुन सफल भए। 

अमेरिकाभर नै एसियाली मूलका समुदाय मिडियादेखि पप कल्चर र दैनिक जीवनशैलीका विषयमा पनि 'देखिने गरी प्रस्तुत' हुन थाले। यसमा ऐक्यबद्धता जनाउने क्रम पनि बढ्न थाल्यो। यो एउटा पाटो थियो। यति बेला पृथ्वीको अर्को भागमा पर्ने पूर्वी एसियामा बस्ने हाम्रा घरपरिवारका सदस्य भने बेग्लै खालका थुप्रै युद्धमा होमिएका छन्। उनीहरू 'देखिन' का लागि मात्र लडाइँ गरिरहेका छैनन्, जीवित रहनका लागि युद्धमैदानमा होमिएका छन्। 

मेरो देश नेपाल यति बेला कहिल्यै नभोगेको जनस्वास्थ्य समस्यासँग जुधिरहेको छ। भारत र चीनका बीचमा गुँडुल्किएको नेपालमा फैलिएको कोरोना महामारीको विषय दक्षिणी छिमेकी राष्ट्रका कारण ओझेलमा परेको छ। यसको (नेपालको) पीडा ठूला अन्तर्राष्ट्रिय मिडियाले कभर गरेनन्, त्यसैले त्यहाँको पीडाको विषय धेरैको दृष्टिमा परेन। बाँकी विश्वले समतामूलक सहयोग प्रदान गर्न सकोस् भन्नका लागि पनि मिडिया कभरेज हुनु र धेरै मानिसको दृष्टिमा पर्नु आवश्यक थियो। 

यति व्यग्र रूपमा नेपालमा अक्सिजन अभाव भएपछि सरकारले सगरमाथा आरोहण गर्ने पर्वतारोहीसँग पनि अक्सिजन सिलिन्डर माग गरेको थियो। धेरैजसो पर्वतारोही गोरा र पश्चिमा हुने गरेका छन्। उनीहरूकै कारण अक्सिजन अभावका कारण सामान्य नेपाली नागरिकले ज्यान गुमाउनुपरेको विषयले केही हदसम्म विश्वको ध्यान खिच्न सकेको हो। 

गत मे महिनामा नेपालमा कोरोना भाइरसको संक्रमणदर प्रति १ लाख जनसंख्यामा ३२ थियो। त्यसबेलाको उक्त संक्रमण दर विश्वभरकै सबैभन्दा बढी थियो। महामारीको यति ठूलो दबाब थेग्न सक्ने गरी नेपालमा स्वास्थ्य सेवा प्रवाह गर्ने पूर्वाधार छैनन्। देशभर आईसीयू बेड अभाव थियो। गम्भीर अवस्थामा पुगेका बिरामीले पनि स्वास्थ्य संस्थामा बेड पाएनन्। उनीहरूलाई अस्पतालले फर्काइदियो। अक्सिजन आपूर्तिमा कोटा प्रणाली लागू गरियो। एक आईसीयू बेडका लागि १० जनाले पालो कुर्नुपर्ने अवस्था रहेको अनुमान लगाइयो। यति व्यग्र रूपमा नेपालमा अक्सिजन अभाव भएपछि सरकारले सगरमाथा आरोहण गर्ने पर्वतारोहीसँग पनि अक्सिजन सिलिन्डर माग गरेको थियो। धेरैजसो पर्वतारोही गोरा र पश्चिमा हुने गरेका छन्। उनीहरूकै कारण अक्सिजन अभावका कारण सामान्य नेपाली नागरिकले ज्यान गुमाउनुपरेको विषयले केही हदसम्म विश्वको ध्यान खिच्न सकेको हो। 

अक्सिजन अभावले नागरिकले ज्यान गुमाउनैपर्ने अवस्था आउनु हुन्थेन। कयौँ संरचनागत बाधा भए पनि नेपालले खोप कार्यक्रममा भने उदाहरणीय रेकर्ड बनाएको छ। सन् १९९० मा ४३ प्रतिशतमा रहेको खोपको पहुँच सन् २०१२ मा ९० प्रतिशत पुगेको छ। २२ वर्षमा नै नेपाल खोपमा नागरिकको पहुँच दोब्बर नागरिकसम्म पुर्‍याउन सफल भएको छ। यसका साथै नेपालमा ५५ हजारभन्दा बढी तालिमप्राप्त महिला स्वास्थ्य स्वयंसेविका छन्। उनीहरू समुदायमा नै बसोबास गर्ने र समुदायका सांस्कृतिक संवेदनशीलताका रणनीतिका कारण पनि नेपालको खोप कार्यक्रममा नागरिकको पहुँच विस्तार हुनुका साथै देशका दुरदराजका क्षेत्रमा स्वास्थ्य सेवा प्रवाहमा सहज भएको हो। नेपालमा भ्याक्सिनको महत्त्वबारे नागरिकमा ज्ञान उच्च छ। कोभिड खोप कार्यक्रमलाई तीव्रता दिनका लागि भ्याक्सिन भण्डारण गर्न देशको कोल्ड चेन क्षमता र पूर्वाधार राम्रो बनिसकेको छ। हामीकहाँ नभएको भने भ्याक्सिन मात्रै हो। 

खोप लगाउने दर हालकै कायम रहिरहे १० प्रतिशत नागरिकलाई खोप लगाउन ४८१ दिन लाग्ने अनुमान विज्ञहरूले गरेका छन्।

३ करोड जनसंख्या भएको नेपालले हालसम्म ३० लाख डोज कोभिड भ्याक्सिन लगाइसकेको छ। दुर्भाग्यकै कुरा भन्नुपर्छ, यीमध्ये धेरै मानिसले पहिलो डोज मात्र लगाएका छन्। दोस्रो डोज पाउनै सकेका छैनन्। भ्याक्सिनको दोस्रो डोज पनि नलगाए मात्रा पूर्ण हुँदैन। २ प्रतिशत मानिसले मात्र पूर्ण मात्रामा खोप पाएका छन्। खोप लगाउने दर हालकै कायम रहिरहे १० प्रतिशत नागरिकलाई खोप लगाउन ४८१ दिन लाग्ने अनुमान विज्ञहरूले गरेका छन्। हर्ड इम्युनिटी (सामूहिक प्रतिरोध प्रणाली) का लागि ६० देखि ८० प्रतिशत नागरिकलाई खोप लगाउनुपर्ने विज्ञहरूले बताउँदै आएका छन्। तसर्थ हालकै दरमा खोप लगाइयो भने हर्ड इम्युनिटी प्राप्त गर्न वर्षौं लाग्छ। 

कोरोनाविरुद्धको चिनियाँ खोप भेरोसेल लगाइएसकेपछि काठमाडौंको एक मन्दिरको आडमा आराम गर्दै नागरिक। तस्बिर : प्रकाश माथेमा/एएफपी/गेट्टी इमेज (जुन ८ २०२१)

मे १२ मा अमेरिकी संसद्‍को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले कोभिड नियन्त्रणमा भइरहेका अन्तर्राष्ट्रिय प्रयासबारे छलफल गरेको थियो। छलफलमा कनेक्टिकटबाट निर्वाचित डेमोक्रेटिक पार्टीका सांसद क्रिस मर्फीले 'भारतले भोगिरहेको समस्या (त्यसबेला भारतमा कोभिडको संक्रमण र मृत्यु उच्च भएको अन्तर्राष्ट्रिय मिडियाले कभरेज गरेका थिए) नेपालले भोग्नु नपरोस् भनेर सुनिश्चित गर्ने गरी हामीले के गर्न सक्छौँ?' भनी प्रश्न गरेका थिए। छलफलमा सहभागी अमेरिकी सहयोग नियोग (यूएसएड) का कोभिड कार्यदलका कार्यकारी निर्देशक जेरमी कोनिन्ड्याकले अमेरिकाले नेपाललाई मेडिकल सामग्री र परीक्षण उपकरणका लागि २ करोड अमेरिकी डलर सहयोग गरिसकेको बताएका थिए। त्यसबेलासम्ममा अमेरिकाले नेपाललाई पहिलो चरणको स्वास्थ्य सामग्री पठाइसकेको पनि थियो। उसले तीन चरणमा स्वास्थ्य सामग्री पठाउने भनेको थियो। स्वास्थ्य सामग्री आपूर्ति अत्यावश्यक थियो, सहयोगप्रति कृतज्ञता पनि। स्वास्थ्य सामग्रीले कोभिड संक्रमण दर कम गर्न वा संक्रमण भइसकेका नागरिकको उपचारमा सहयोग पुग्ने हो, तर यसलाई पूर्ण रूपमा नियन्त्रण गर्न सक्दैन। तसर्थ कोभिड संक्रमण भइसकेपछि उपचार गर्ने मात्र सोच्नुभन्दा संक्रमण नै हुन नदिनु बढी प्रभावकारी हुन्छ। यसका लागि चाहिने भनेको भ्याक्सिन नै हो। 

हर्ड इम्युनिटी (सामूहिक प्रतिरोध प्रणाली)का लागि ६० देखि ८० प्रतिशत नागरिकलाई खोप लगाउनुपर्ने विज्ञहरूले बताउँदै आएका छन्। तसर्थ हालकै दरमा खोप लगाइयो भने हर्ड इम्युनिटी प्राप्त गर्न वर्षौं लाग्छ। 

खोपको समतामूलक वितरणका लागि बनाइएको विश्वव्यापी कार्यक्रम कोभ्याक्सबाट नेपालले ३ लाख ४८ हजार डोज भ्याक्सिन प्राप्त गरेको छ। यो कार्यक्रमका लागि अहिले सबैभन्दा ठूलो दाता अमेरिका छ। जुन ३ मा अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले अमेरिकामा बचेको ८ करोड डोज भ्याक्सिन विभिन्न देशमा वितरण गर्न चाहेको घोषणा गरेको थियो। ह्वाइट हाउस (अमेरिकी राष्ट्रपतिको कार्यालय) ले जुन अन्त्यसम्ममा वितरण गरिसक्ने योजना रहेको समेत सार्वजनिक गरेको थियो। जुन १० मा बाइडेन प्रशासनले ५० करोड डोज फाइजर भ्याक्सिन सहुलियतपूर्ण दरमा किनेर विश्वका कम आम्दानी भएका मुलुकमा सन् २०२२ को जुनसम्मा वितरण गर्ने थप योजना सार्वजनिक गर्‍यो। उसले २० करोड डोज सन् २०२१ को अन्त्यसम्ममा उपलब्ध गराउने योजना बनाएको बताएको छ। हालै सम्पन्न विश्वका ठूला अर्थतन्त्र भएका ७ देशको समूह 'जी-७'को बैठकमा अरू देशले पनि अमेरिकाको अनुशरण गरे। जी-७ देशले कम आय भएका देशमा दिने भ्याक्सिनको प्रतिबद्धता ‍बढाएर ८७ करोड डोज पुर्‍याएका छन्। 

धनी राष्ट्रले कोभिड खोपका लागि प्रतिबद्धता बढाउँदै जानु वास्तवमा नै शुभ समाचार हो। यसले नेपालका सयौँ अभियन्ता र भ्याक्सिनमा समतामूलक पहुँच हुनुपर्ने भन्दै अथक वकालती गर्दै आएका विश्वभरका वकालतकर्तालाई ठूलो राहत पुर्‍याएको पनि छ। तैपनि, धनी राष्ट्रले विश्वभर भ्याक्सिन पुर्‍याउन लगानी सुनिश्चित गर्नुपर्ने र यसको समतामूलक पहुँचका लागि हामीले अझै पनि दबाब बढाउनु जरुरी छ, ताकि यो काममा उनीहरूको सहयोग गति धिमा नहोस् र नरोकियोस् पनि। 

कोभिड संक्रमण भइसकेपछि उपचार गर्ने मात्र सोच्नुभन्दा संक्रमण नै हुन नदिनु बढी प्रभावकारी हुन्छ। यसका लागि चाहिने भनेको भ्याक्सिन नै हो। 

हालसम्मको तथ्यांकअनुसार विश्वभर लगाइएको कोभिड भ्याक्सिनमध्ये ७५ प्रतिशत धनी १० राष्ट्रमा मात्र लगाइएको छ। भ्याक्सिन वितरण र पहुँचमा भएको यस्तो असमानताले पूरै विश्वलाई जोखिममा पुर्‍याएको छ। विश्व नै जोखिममा पर्दा धेरै भ्याक्सिन लगाएका धनी राष्ट्रमा चाहिँ जोखिम नहुने भन्ने कुरा हुँदैन। हामीलाई थाहा छ, भ्याक्सिन नलगाएका र शारीरिक प्रतिरक्षा प्रणाली कमजोर भएका मानिसमा कोभिड भाइरस धेरै छिटो संक्रमण हुन्छ र म्युटेसन हुँदै विभिन्न घातक भेरियन्ट बन्न सक्छ। कोभिड नियन्त्रण गर्न हामीले भाइरसभन्दा धेरै, धेरै नै छिटो तीव्र गतिमा दौडनुपर्ने भएको छ। यताउति गर्ने, मौन बस्ने र राष्ट्रवादी दृष्टिकोणका कुरा गरेर बस्ने (भ्याक्सिनलाई सीमित गर्ने) समय हामीसँग छैन। 

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ), विश्व बैंक (डब्लूबी), अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व व्यापार संगठन (डब्लूटीओ)का नेताहरूले कोरोना महामारी अन्त्य गरी विश्वलाई संक्रमणमुक्त बनाउन तत्काल भ्याक्सिन उपलब्ध गराउन र कम्तीमा ५० अर्ब अमेरिकी डलरको थप वित्तीय सहायता जुटाउन धनी राष्ट्रहरूलाई आग्रह गर्दै जुन महिनाको सुरुतिर संयुक्त वक्तव्य जारी गरे। विश्वको कुल जनसंख्याको कम्तीमा ४० प्रतिशत मानिसलाई भ्याक्सिन लगाउन दबाब सिर्जना गर्न पनि वक्तव्यमा आग्रह गरिएको थियो। 

यूएसएडले नेपालको कोभिड संकटलाई पहिलो प्राथमिकतामा राखेको बताए पनि उसको थप सहयोग हामीलाई चाहिएको छ। यो कुरा तपाईंहाम्रा (नेपालका) जनप्रतिनिधिमार्फत अमेरिकाको दक्षिण एसिया उपसमितिका सिनेटरसम्म पुग्नु बढी प्रभावकारी हुन्छ। चुनावका बेला गरेका बाचा पूरा गर्न, भ्याक्सिन छिटो उपलब्ध गराउन र अझ बढी जनउत्तरदायी काम गर्न हामीले जनप्रतिनिधिलाई दबाब सिर्जना गर्न जरुरी छ। नेपालीहरू कोरोना महामारीलाई पराजित गर्न आतुर छन् भन्ने कुरा नेपालमा रहेका मेरा आफन्त र साथीभाइको कुराकानीबाट मैले बुझेको छु। उनीहरूलाई भ्याक्सिन, परीक्षण किट, अक्सिजन सिलिन्डरलगायतका अत्यावश्यक सामग्री मात्र चाहिएको छ। 

नेपालमा भ्याक्सिनको महत्त्वबारे नागरिकमा ज्ञान उच्च छ। कोभिड खोप कार्यक्रमलाई तीव्रता दिनका लागि भ्याक्सिन भण्डारण गर्न देशको कोल्ड चेन क्षमता र पूर्वाधार राम्रो बनिसकेको छ। हामीकहाँ नभएको भने भ्याक्सिन मात्रै हो। 

नेपालमा रहेकी दैनिक कुराकानी हुने मेरी दिदी, परिवारका सदस्यहरू र साथीभाइले मलाई बारम्बार देशमा 'विध्वंस' को अवस्था आएको कुरा बताइरहन्छन्। त्यहाँको स्थिति छिटोछिटो थप कमजोर भइरहेको छ। साथमै रहेको परिवारको सदस्य आँखा झिम्क्याउन नपाउँदै हामीबाट गुमेको छ। धेरै नेपालीका लागि यति ठूलो संख्यामा भइरहेको मृत्युका कारण आफ्नै टाउको मात्रै पनि थाम्न गाह्रो भइरहेको छ। सन् २०१५ आएको विनाशकारी भूकम्पमा पनि नेपालले ठूलो क्षति व्यहोरेको थियो। एक दशक पनि नपुग्दै यति ठूला विनाशकारी प्रकोप सामना गर्नुपर्ला भन्ने कोही पनि नेपालीले कल्पनासम्म गरेका थिएनन्। 

न्युयोर्कको नयाँ घरमा आमाकै साथमा बस्न पाउनाले व्यक्तिगत रूपमा त म धेरै भाग्यमानी हुँ। तर नेपालसँगै हाम्रा सबै पहिचानको जरा गहिरो गरी गाडिएका छन्। त्यो ठाउँ, त्यो संस्कृति, ती मानिस, जसले मलाई आजको अवस्थामा ल्याइपुर्‍याएका छन्। तर त्यही देशको यो अवस्था देख्दा र महामारीसँगको युद्धमा मेरा परिवारका धेरै सदस्यले ज्यान गुमाउँदा मेरो मुटु जीवनकै सबैभन्दा बढी गह्रौँ भएको छ। कोरोनासँग लड्न र बाँच्नकै लागि नेपालका नागरिकले ठूलो संकट सामना गरिहरेका छन् भने हामीले सहयोग गर्नैपर्छ, उनीहरूको 'दृश्यता' (भिजिबिलिटी) का लागि संघर्ष गर्नैपर्छ, ता कि नेपाली र एसियाली आवाज फेरि 'अदृश्य' नबनोस्। 

नेपाली मूलका प्रबल गुरुङ पेसाले फेसन डिजाइनर हुन्। उनी नेपालस्थित गोल्डहाउस शिक्षा फाउन्डेसन र अमेरिकी फेसन डिइजाइनरहरूको संस्था काउन्सिल अफ फेजन डिझाइनर अफ अमेरिकाका बोर्ड सदस्य पनि हुन्। 

(टाइम म्याग्जिनमा प्रकाशित यो सामग्री तीर्थराज निरौलाले भावानुवाद गरेका हुन्।)

प्रतिक्रिया दिनुहोस्
थप समाचार
लेखकबाट थप
ताजा अपडेट