शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • जनप्रतिनिधि हुन् त यस्ता : जो अस्पतालको वार्डदेखि शव व्यवस्थापनसम्म खटिन्छन्

जनप्रतिनिधि हुन् त यस्ता : जो अस्पतालको वार्डदेखि शव व्यवस्थापनसम्म खटिन्छन्

स्थानीय तहमा यस्ता पनि जनप्रतिनिधि छन्, जाे काेराेना महामारीका बेला जोखिम मोलेर जनताको सेवामा निःस्वार्थ खटिएका छन्।
 |  आइतबार, जेठ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ९, २०७८

स्थानीय तहमा यस्ता पनि जनप्रतिनिधि छन्, जाे काेराेना महामारीका बेला जोखिम मोलेर जनताको सेवामा निःस्वार्थ खटिएका छन्।

triton college

बुटवल - वैशाखको दोस्रो सातासम्म आइपुग्दा बाँकेको नेपालगन्ज कोरोनाको दोस्रो लहरबाट थला परिसकेको थियो। 

कोरोना संक्रमितले अस्पताल भरिए। अस्पतालको गेटमै बिरामी छट्पटिए। 

कोही अक्सिजन नपाएर आत्तिरहेका थिए भने कोही एम्बुुलेन्स नपाएर। त्यहीँ छट्पटिएका जनतालाई सेवा दिन अग्रमोर्चामा खटिइन् नेपालगन्ज उपमहानगर उपप्रमुख उमा थापामगर। भेरी अस्पतालमा छट्पटाउँदै गरेका बिरामीको कारूणिक दृश्यले उनलाई निकै पीडा दियो। 

स्थानीय सरकारको जनप्रतिनिधि भएकाले स्वाभाविक रूपमा उनीसँग सहयोगको आशा गर्ने नै भए। अस्पतालमा बिरामीले खचाखच भरिन थालेपछि चिकित्सकहरू अत्तालिन थाले। 

corrent noodles
Metro Mart

त्यहीबेला उपप्रमुख थापा भने प्रायः भेरी अस्पतालकै वरिपरि सक्रिय रहिन्। ‘पहिलो कुरा त म जनप्रतिनिधि हुँ, त्यसैले मेरो दायित्व थियो,’ उनले भनिन्, ‘दोस्रो कुरा अहिलेको महामारीमा तुरून्तै उद्धार र तुरून्तै उपचार गर्नुपर्ने थियो, त्यसैले म रातदिन खटेँ।’ 

नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगर संक्रमित बिरामीलाई हौसला दिँदै। 

उपप्रमुख थापा कोरोना संक्रमित उपचारत वार्डमा पुगेर बिरामीको हौसला बढाउने काम गर्छिन्। ‘उपप्रमुख ज्यू, वार्डमै आएर बिरामीलाई ऊर्जा दिनुुहुन्छ,’ भेरी अस्पतालका सूचना अधिकारी डा. संकेतकुमार रिसालले भने, ‘यस्तो महामारीमा यसरी जनप्रतिनिधि आउँदा हौसला थपिन्छ।’ 

डा. रिसालका अनुसार नेपालगन्ज उपमहानगरपालिका र भेरी अस्पतालको सहकार्यमा प्रत्येक वार्डमा स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छ। 

त्यसो त नेपालगन्जमा कोरोना महामारीको सकस अझै पनि उस्तै छ। तर, वैशाख अन्तिमसम्म भने निकै सास्ती भयो। त्यही बीचमा उपप्रमुखकै सक्रियता भेरी अस्पतालसँग समन्वय गरेर उपचार सेवालाई सहजीकरणको काम भएको छ।

‘यस्तो महामारीमा स्थानीय तहका जनप्रतिनिधि जनताको सेवाका लागि खट्ने हो,’ उपप्रमुख थापा भन्छिन्, ‘केन्द्र र प्रदेश सरकारले पैसा पठाउने, स्वास्थ्यकर्मीले उपचार गर्छन्, हामी काममा खटिन्छौं।’ 

‘अहिले मेरो कर्तव्य पनि हो, अर्को मानवीय हिसाबले पनि म जनताको सेवा खटिनैपर्छ, जनताको मतको सम्मानका लागि जे जति सकेको छुु त्यति गरेको छु।’ 

यसअघि २०७२ सालको भूकम्पमा पनि उपप्रमुख थापा विपद्मा नागरिकको सेवामा खटिएकी थिइन्। ‘हेल्पिङ हेन्ड फोरम नेपालगन्ज’ अभियानको संयोजक भएर विपद्मा खटेकी थिइन्। 

‘त्यही विपद्मा काम गरेको अनुभव र सरकारको जिम्मेवारीमा रहेकाले आफ्नो कर्तव्य निर्वाह गरेको हुँ,’ उनले भनिन्। 

उपप्रमुख थापा अस्पतालमा बिरामीलाई बेडको व्यवस्थापनदेखि आइसोलेसन निर्माण र होमआइसोलेसनमै पुगेर बिरामीको सेवामा खटिइन्। 

नेपालगन्जको महामारी निकै कहालीलाग्दो भएको स्मरण गर्दै अझै तेस्रो भेरियन्टको सामना गर्ने गरी स्वास्थ्य पूर्वाधार नबनाए ठूलो संकट आउने उनको भनाइ छ। 

‘दोस्रो लहर सुरू हुँदै गर्दा पनि प्रदेश र संघीय सरकारलाई आवश्यक तयारीका लागि अनुरोध गरिएको थियो, तर त्यतिखेर सुनुवाइ भएन,’ उनले भनिन्, ‘तेस्रो भेरियन्ट पनि आउने सूचना आएकाले अब सबै सजग हुन जरूरी छ।’ 

उनका अनुसार नेपालगन्ज उपमहानगरले निःशुल्क एम्बुलेन्स सेवा, ५० बेडको अक्सिजनसहितको आइसोलेसन निर्माण तथा होम आइसोलेसन व्यवस्थापन, शव व्यवस्थापनका लागि सहजीकरण, हेल्थ डेस्क, २३ वटै वडामा स्वास्थ्यकर्मी उपलब्ध गराइएको छ। 

प्रायः बिहान ६ देखि राति १२ बजेसम्म व्यस्त उपप्रमुख थापा भन्छिन्, ‘अहिले मेरो कर्तव्य पनि हो, अर्को मानवीय हिसाबले पनि म जनताको सेवा खटिनैपर्छ, जनताको मतको सम्मानका लागि जे जति सकेको छु त्यति गरेको छु।’ 

२० रूपैयाँमा खाना 

भेरी अस्पताल परिसरमा बिरामी कुरूवाले अहिले एक छाक खाना २० रूपैयाँमा खान पाउँछन्। अन्जनी माता रसोईले बिहान र साँझको खाना २० रूपैयाँमा खुवाउँदै आएको छ। 

जेठ ४ गते अघिसम्म बिहानको खाना मात्रै २० र साँझको ८० रूपैयाँमा खुवाउने गरिएको थियो। तर, यसमा उपप्रमुख थापाले थप अग्रसरता लिएर अन्जनी माता रसोइसँगको छलफलपछि आगामी जेठ मसान्तसम्मका लागि साँझ र बिहानको खाना २० रूपैयाँमा खुवाउने व्यवस्था गरिएको हो। 

उपप्रमुख थापाका अनुसार सामाजिक सेवामा खटिएको अन्जनी मातालाई उपमहानगरले संस्थागत सहयोगसमेत गर्दै आएको छ। 

संक्रमितको शव व्यवस्थापनदेखि घरदैलौसम्म

कोरोना महामारीमा यस्तै जनताको सेवामा खट्ने अर्का जनप्रतिनिधि हुन् रूपन्देही ओमसतिया गाउँपालिकाका अध्यक्ष हीरा केवट। उनी स्थानीय सरकारका तर्फबाट गर्नुपर्ने दायित्वमा त प्रतिबद्ध नै छन्, त्यो भन्दा बढी जनताको सेवामा समर्पित भएका छन्। 

माओवादीको भूमिगत राजनीति गरेका उनी कोरोनाले त्यो युद्धमा मर्न मार्न तयार रहनेहरू पनि भाग्दै हिँडेको देखेर अचम्ममा परेको बताए।

‘युद्धको मैदानमा मर्न तयार रहनेहरू कोरोनासँग डराइरहे, आँखै अगाडि कोही छट्पटिरहेको छ, तर उसको उद्धारमा खटिँदैन,’ उनले भने, ‘यस्तो विषम परिस्थिति मैलै कल्पना पनि गरेको थिइनँ, त्यसैले म अग्रमोर्चामा खटिएँ।’ 

ओमसतिया गाउँपालिकाका अध्यक्ष हीरा केवट।

जेठ ३ गते ओमसतिया–२, कर्मडाँडाका ५१ वर्षीय एक पुरुषको कोभिडको कारण मृत्यु भयो। तीन भाइ, श्रीमती र छोरासमेत कोभिड संक्रमित थिए। शव उठाउन सक्ने कोही भएन। 

उपचारका लागि भरतपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएकाले उनको शव परिवारले नै व्यवस्थापन गर्नुपर्ने थियो। कोभिड बिरामीको मृत्यु भएकाले गुरूङको शव घरबाट निकाल्न स्थानीय डराए। 

बल्लतल्ल परिवारले शव त निकाले तर, घाटसम्म लैजाने चालक पाइएन। त्यसपछि केही उपाय नलागेपछि अध्यक्ष केवट आफैंले ट्रयाक्टर चलाएर घाटसम्म शव पुर्‍याए। केवट भन्छन्, ‘जनताको सेवा गर्ने समय नै यही बेला हो।’ 

केवट अक्सिजन उद्योगसम्म पुगेर अक्सिजन व्यवस्थापन गर्ने काममा समेत खटे। अक्सिजन नपाएपछि आफ्नो माछा पोखरीको अक्सिजन निकालेर समेत बिरामीलाई दिएर बचाएको उनी सुनाउँछन्।

केवटले आफैंले गाडी चलाएर कयौं बिरामीलाई भैरहवा र बुुटवलसम्म पुर्‍याएका छन्। कोरोना महामारी अवधिभरका लागि आफूले चढ्दै आएको गाडी एम्बुलेन्सका रूपमा प्रयोग गरेका छन्। ‘राति आत्तिँदै बिरामीको फोन आउँछ अनी चालक सुतिरहेका बेला आफैं अस्पताल पुर्‍याउँछु,’ उनले भने। 

अध्यक्ष केवट करिब १५ दिन निकै सकसपूर्ण रहेको बताउँछन्। गाउँपालिकाले १० बेडको अक्सिजनसहितको आइसोलेसन बनाएको छ। तर, त्यहाँ जटिल बिरामी राख्न नसक्दा कयौंले ज्यान गुमाएको बताउँछन्। 

अक्सिजन उद्योगसम्म पुगेर अक्सिजन व्यवस्थापन गर्ने काममा समेत उनी खटे। अक्सिजन नपाएपछि आफ्नो माछा पोखरीको अक्सिजन निकालेर समेत बिरामीलाई दिएर बचाएको उनी सुनाउँछन। त्यसो त केवटले आफैंले लगाएको तरकारीसमेत कोरोना संक्रमितको घरघरमा पुुगेर दिएका छन्। 

गाउँपालिकाले प्रत्येक संक्रमित बिरामीलाई एक क्यारेट अन्डा र पाँच प्रकारका शक्तिवर्द्धक औषधिसमेत दिने गरेको जनाएको छ। 

आपत् पर्दा जहाँ पनि पुग्ने जनप्रतिनिधि

यो महामारीमा जोखिम मोलेर जनताको सेवामा खट्ने जनप्रतिनिधि हुन् कपिलवस्तु विजयनगर गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापा। 

भारतीय सीमासँग जोडिएको तथा आर्थिक, सामाजिक हिसाबले पछाडि रहेको यो गाउँपालिकाको स्वास्थ्य अवस्था निकै नाजुक थियो। तै पनि दोस्रो लहरमा जनप्रतिनिधिको सक्रियताले क्षति कम भएको त्यहाँका स्थानीय बताउँछन्। 

गाउँपालिका अध्यक्ष थापाले जनताको उपचारलाई उच्च प्राथमिकतामा राख्दै उपचार तथा उद्धारमा केन्द्रित भएको बताए। 

‘हामीसँग भएका प्रत्येक वडाका आधारभूत स्वास्थ्य एकाइलाई परिचालन गर्‍यौं, शिक्षकलाई सचेतना अभिवृद्धिमा लगायौं,’ उनले भने, ‘विभिन्न सामाजिक संघसंस्था तथा सबै दलहरूको सहकार्यमा लापरबाहीलाई रोक्न सफल भयौं।’

विजयनगरले गाउँपालिकाको गाडीलाई एम्बुलेन्सका रूपमा प्रयोग गरेकै कारण धेरैले समयमा उपचार पाएका छन्। बिरामीलाई अक्सिजनको व्यवस्थापन तथा घरघरमा पुुगेर २४ सै घन्टा सेवामा खटिएको उनले बताए। 

प्रकाशित: May 23, 2021| 05:36 आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।