शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • बिरामीसँग पीपीईदेखि खाना खर्चसमेत असुल्दै नोबेल अस्पताल

बिरामीसँग पीपीईदेखि खाना खर्चसमेत असुल्दै नोबेल अस्पताल

कोरोना उपचारका लागि सरकारसँग सम्झौता गरेका अस्पतालले पीपीईदेखि कोरोनाका बिरामीको खानाको खर्चसमेत बिरामीसँगै असुल्ने गरेको पाइएको छ।
 |  सोमबार, जेठ ३, २०७८

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

सोमबार, जेठ ३, २०७८

विराटनगर- महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा कार्यरत नमिता निरौलालाई गत चैत ३० गते कोरोना संक्रमण पुष्टि भयो। प्रदेश सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा भर्ना भइन्। अस्पतालमा एक्स–रे मेसिन बिग्रिएको थियो।

triton college

कोशीमा असहज भएपछि उनी वैशाख १४ गते नोबेल शिक्षण अस्पताल भर्ना भइन्। संक्रमणमुक्त भएपछि गत शुक्रबार घर फर्कनुअघि अस्पतालले उनलाई ८७ हजारको बिल थमायो। अस्पतालले २ हजार ५०० रुपैयाँका दरले १९ सेट पीपीई किन्न लगाइएको उनले बताइन्।

खाना, अस्पतालको चार्ज, पीपीई र औषधिसहितको सबै गरेर ८७ हजार रुपैयाँको चेक थमाइदिएर अस्पतालबाट बिदा भएको उनले सुनाइन्। उनले भनिन्, ‘उपचारका क्रममा अस्पतालले मोबाइल पनि खोसेर राखिदियो।’ नोबेलले सरकारसँग सम्झौता गरेकाले निःशुल्क उपचार हुनेमा उनी ढुक्क थिइन्। नभए सामान्य खर्च होला भन्ने अनुमान गरेको निरौलाले बताइन्।

उनलाई थमाइएको बिलअनुसार पीपीईलगायतका लागि ६० हजार ७१५ रुपैयाँ खर्च भएको देखिन्छ। खरिद गर्न लगाइएको ग्लोब्स, सेनिटाइजर, फेस सिल्ड, मास्कलगायतका सामाग्रीको मूल्य पनि त्यहीँभित्र समेटिएको निरौलाले बताइन्। 

नोबेल अस्पतालनजिकको जस्मिन फार्मेसीबाट उनले औषधिलगायतका स्वास्थ्य सामाग्री खरिद गरेकी थिइन्। जस्मिन फार्मेसीका सञ्चालक योगेन्द्र मण्डलले चिकित्सकको सिफारिस र बिरामीको माग अनुसार खानादेखि लिएर पीपीई, औषधिलगायतका सामाग्री आफैले पुर्‍याइदिएको बताए।

corrent noodles
Metro Mart

कोरोना संक्रमण भएर वैशाख १४ गतेदेखि १३ दिनसम्म उपचारका लागि नोबेलमा बसेका सिरहाका मदन मोचीले पनि अस्पतालले ५ सेट पीपीई किनाएको बताए। कोरोना पुष्टि भएपछि नोबेलमा उपचारका लागि भर्ना भएका निरौला र मोची मात्रै नभएर नोबेलमा उपचार गराएर फर्किएकाहरु निजी अस्पतालले चर्को शुल्क लिने गरेको बताउँछन्। 

वैशाख १२ गतेबाटै शुल्क लिएर संक्रमितको उपचार थालेको नोबेलले संघीय सरकारसँग सम्झौता गरेर १६ गतेबाट निःशुल्क उपचार थालेको हो। कोरोनाको भयावह अवस्थामा औषधिबाहेक अरु केहीमा पैसा नलाग्ने प्रचार बाहिर गरिरहेको नोबेलले भित्रभित्रै पैसा कमाउन गलत ढंगले काम गरिरहेको नमिता निरौलाका दाजु टंक निरौलाको आरोप छ। 

उपचारका लागि आफ्नी सासुलाई अस्पताल भर्ना गरेका युरेश अधिकारीलाई पनि दैनिक २ सेट पीपीई किन्न अस्पताल प्रशासनले भनेको थियो। ‘दैनिक २ सेट पीपीई किन्नुपर्छ भनिएको थियो। उपचारमा खटिने स्वास्थ्यकर्मीलाई एक सेट चाँहि अनिवार्य दिनुपर्छ भनियो,’ आफूले सरकारसँगको सम्झौताको कुरा झिकेपछि अस्पताल चुप लागेको उनले बताए। धेरै संक्रमितले दैनिक ५ हजार रुपैयाँभन्दा बढी खर्च गरेर पीपीई किन्नु परिरहेको उनले बताए। 

नोबेल अस्पतालका निर्देशक डा. राजेश नेपालले संक्रमितलाई पीपीई किन्न लगाइएको स्वीकार गरे। सरकारले दिएको रकमले उपचार गर्न नपुग्ने भएकाले पीपीई किन्न लगाउनै पर्ने बाध्यता भएको उनको भनाइ छ। गत वैशाख १२ गतेदेखि सोमबार बिहानसम्ममा उपचारका लागि नोबेलमा भर्ना भएका ५२८ संक्रमितमध्ये ६५ जनाको मृत्यु भइसकेको छ। तीन सयको हाराहारीमा डिस्चार्ज भएको अस्पतालका प्रवन्धक नारायणप्रसाद दाहालले बताए।

मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालले पनि सरकारसँग सम्झौता गरेर कोरोना संक्रमितको उपचार गरिरहेको छ। विराटका कोभिड अस्पताल इन्चार्ज सुनिल देवले सम्झौताअनुसार संक्रमितलाई पीपीई किन्न लगाउन नमिल्ने बताए।  

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरद पोखरेलले उपचारका नाममा सरकारले तोकेकोभन्दा बाहिर गएर शुल्क लिन नपाइने बताए। उनले गुनासो प्रशासनमा आएकाले संक्रमितलाई पीपीई किन्न लगाइएको पाइए अस्पताललाई कारबाही हुने बताए।
 

प्रकाशित: May 17, 2021| 13:36 सोमबार, जेठ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।