 
                                                                                 
                                                                
                                                                                        
                                                        बुटवल- सांसद पद गुमाएका लुम्बिनी प्रदेश सरकारका चार मन्त्रीले पुनर्वहालीको माग गर्दै सर्वोच्चमा रिट निवदेन दर्ता गराएका छन्।
पदमुक्त हुनुअघि जनता समाजवादी पार्टीबाट प्रदेशसभा सदस्य रहेका सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेले सर्वोच्चमा रिट दर्ता गराएका हुन्।
गत वैशाख १९ गते नै उनीहरुले सर्वोच्चमा पद पुनर्वहालीको माग गर्दै निवेदन दिएका थिए। तर कोरोना र बन्दीप्रत्यक्षीकरण बाहेकका रिट दर्ता नहुने सर्वोच्चको निर्णयका कारण पेश मात्रै भएको थियो। तर, आइतबार भने सर्वोच्चले ४ सांसदको रिट निवेदन दर्ता गराएको छ।
सर्वोच्च अदालतको पूर्ण इजलासले वैशाख ३१ गते संवैधानिक विषयवस्तु जोडिएका र नागरिकको हक अधिकारसँग जोडिएका अन्य खालका निवेदन लिने निर्णय गरेसँगै रिट दर्ता भएको हो। लुम्बिनी प्रदेशका मुख्यमन्त्रीविरुद्ध गत वैशाख ६ गते अविश्वास प्रस्ताव दर्ता गरेलगत्तै ४ जना मन्त्री भएका थिए।
मन्त्री भएका ४ जनालाई जसपाका उपेन्द्र यादव पक्षको कार्यकारिणी बैठकको बहुमतले निर्णय गरेर पदमुक्त गरेको थियो। यो निर्णयसँगै जसपामा विवाद थप चुलिएको थियो।
अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले पदमुक्त गर्ने निर्णय नगरेको दाबी गर्दै आएका थिए। ठाकुर पक्षको समर्थन भएकाले आफूहरुको पदमुक्त नभएको दाबीसहित ४ जना पुनर्वहालीको माग गर्दै सर्वोच्च अदालत पुुगेका हुन्। उक्त रिटमा सोमबार सुनुवाइ हुनेछ।