बुधबार, वैशाख २६, २०८१

निजी अस्पतालमा उपचार र अक्सिजन छैन, के छ सरकारी तयारी?

निजीमा अक्सिजन अभाव हुन थालेपछि सरकारी अस्पतालमा बिरामीको चाप बढेको छ। सरकारी अस्पतालका चिकित्सक पनि मारमा परेका छन्। सरकारी अधिकारी भने यस्तो अवस्थाको चाँडै अन्त्य हुने बताउँछन्।
 |  बुधबार, वैशाख २९, २०७८

यज्ञराज जोशी

यज्ञराज जोशी

बुधबार, वैशाख २९, २०७८

काठमाडौं– नेपालमा गम्भीर प्रकृतिका कारोना संक्रमितको संख्या बढेसँगै अक्सिजन अभाव हुन थालेको छ। अक्सिजन अभाव भएको भन्दै निजी अस्पतालले संक्रमितको उपचार गर्न छाडेको छ। निजीमा अक्सिजन अभाव हुन थालेपछि सरकारी अस्पतालमा बिरामीको चाप बढेको छ। सरकारी अस्पतालका चिकित्सक पनि मारमा परेका छन्। सरकारी अधिकारी भने यस्तो अवस्थाको चाँडै अन्त्य हुने बताउँछन्।

triton college

अक्सिजन अभावकै कारण दैनिक मृत्युदर पनि बढ्दो छ। निजी अस्पतालहरूले त अक्सिजन अभाव भएको भन्दै संक्रमितको उपचारबाट हात झिक्न थालेका छन्। कतिपय अस्पतालले भर्ना भएका बिरामीलाई पनि उपचार प्रक्रिया नै पूरा नगरी डिस्चार्ज गर्न थालेका छन्। अस्पतालमा भर्ना भएका गम्भीर प्रकृतिका बिरामीले पनि अक्सिजन पाउन सक्ने अवस्था नरहेको चिकित्सक बताउँछन्। 
मंगलबार र बुधबार मात्रै दर्जन बढी अस्पतालले अक्सिजन अभावमा सेवा रोकेका छन्। 

काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल बाहिरै बिरामीलाई अक्सिजन दिइँदै। तस्बिर : ज्योति अधिकारी

भक्तपुरको नेपाल कोरियामैत्री अस्पतालले मंगलबार साँझदेखि नै अक्सिजन सकिएकाले भर्ना भएका बिरामीलाई नै बचाउन गाह्रो भइरहेको जनाएको छ। अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतम आफूहरूलाई अक्सिजनको व्यवस्था गर्न कठिन भएको बताउँछिन्।

नेपाल मेडिकल कलेज शिक्षण अस्पतालले अक्सिजन अभाव भएको भन्दै अर्को सूचना जारी नभएसम्मका लागि बिरामी भर्ना प्रक्रिया बन्द गरेको जनाएको छ। भैरहवास्थित युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पतालले पनि आज अपराह्न ४ बजेसम्म मात्रै अक्सिजन उपचार दिन सक्ने भन्दै उपचाररत बिरामीलाई आफ्नो व्यवस्था आफैँ गर्न भनेको छ।

भक्तपुरकै मध्यपुर थिमिस्थित मध्यपुर अस्पतालले पनि अक्सिजन सकिएको भन्दै बिरामीको उपचार गर्न नसकिने जनाइसकेको छ। मेडिसिटी, ओम, दीर्घायु गुरु, नेपाल मेडिसिटीगायत थुप्रै निजी अस्पतालले कोरोना संक्रमितको उपचारबाट हात झिकेका छन्।  निजी मात्र होइन सरकारी अस्पतालको अवस्था पनि उस्तै छ। बुटवलको धागो कारखानास्थित कोरोना बिशेष अस्पतालले पनि अक्सिजन अभावमा समस्या खेपिरहेको छ। 

corrent noodles
Metro Mart

लुम्बिनी प्रादेशिक अस्पतालको अवस्था पनि उस्तै छ। बिरामीको उपचारमा खटिनुपर्ने चिकित्सक नै अक्सिजन खोज्दै भौंतारिरहेका छन्। अस्पतालका कोरोना फोकल पर्सन डा. नन्दु पाठक एक सातायता अस्पतालले जीवनकै कठिन पल बिताइरहेको बताएका छन्।
यी त केही उदाहरण मात्रै हुन्। देशभरको अवस्था यस्तै कहालीलाग्दो छ। 

टेकु अस्पतालका प्रमुख डा. सागर राजभण्डारी अन्य अस्पतालमा अक्सिजन अभाव हुँदा त्यसको चाप टेकुमा परेको बताउँछन्। ‘हामीले लिक्विड प्लान्ट हालेका छौं। भेन्टिलेटर चलाउन १५ देखि २०, ४०, ६० लिटरसम्म लिक्विड चाहिन्छ। धेरै मेसिन चलाउँदा लिक्विडले काम गरिरहेको छ’, उनी भन्छन्। 

टेकु अस्पतालका प्रमुख डा. सागर राजभण्डारी

उनी ट्यांकी भर्नुपर्ने पनि बताउँछन्। बिरामीको संख्या धेरै भएकाले अक्सिजन पनि धेरै दिनुपर्ने आवस्था आएको उनको भनाइ छ। अस्पतालमा दुई सातामै फुल ट्यांकी खपत हुन्छ। ‘भारतले अक्सिजन लिक्विड बन्द गरेकोमा अहिले छोडेको छ। केही दिनमाे ल्याउने कुरा छ। त्यसपछि हामी भर्नेछौं’, उनले भने, ‘अनि सहज हुने विश्वास लिएको छु।’ त्यो नआएको समयमा सिलिन्डर चलाउनुपर्ने उनले बताए। उनले दैनिक २५० सिलिन्डर परिवर्तन गरिरहनुपरेको बताए। लिक्विड प्लान्ट भए त्यस्तो झन्झट पर्दैन। बिरामीको बेडसम्म त्यहींबाट अक्सिजन पुग्छ। 

डा. राजभण्डारीले अहिले अस्पतालको आँगनमा कुर्सीमै राखेर १४ जनाको उपचार भइरहेको बताए। ‘अस्पताल भरिएको छ। करिडोर र इमरजेन्सीमा पनि टन्नै बिरामी छन्। ती बिरामीलाई हामीले ४० सिलिन्डरबाट अक्सिजन दिइरहेका छौं। उनीहरूका लागि २४ घन्टामा १५० देखि २०० सिलिन्डर खपत भइरहेको छ’, उनी भन्छन्। बेड र ठाउँ अभावमा नयाँ बिरामीलाई भर्ना नै गर्न सक्ने अवस्था नरहेको उनी बताउँछन्। भोलि गम्भीर प्रकृतिका बिरामी बढ्दै गए थेग्नै नसक्ने अवस्था आउने भन्दै उनी चिन्ता व्यक्त गर्छन्।

यस्तो छ सरकारी तयारी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरु अक्सिजनको समस्या दुई तीन दिनमै समाधान हुने दाबी गर्छन्। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम व्यवसायीले थुप्रै अक्सिजन सिलिन्डर लुकाएको बताउँछन्। 

‘हामीले देशभर लुकाइएका सिलिन्डर खोजिरहेका छौं। अहिले पनि लुकिछिपी उद्योग र हाइड्रोपावरतिर अक्सिजन सिलिन्डर गइरहेका छन्’, उनी भन्छन्। काठमाडौंमा दैनिक हजार लिटर मात्रै भर्ने क्षमता रहेको उनको भनाइ छ।

‘पोखरामा दिनमा थप एक हजार सिलिन्डर भर्ने क्षमता छ। एक नम्बर प्रदेशमा पनि नौ सय सिलिन्डर भर्ने क्षमता छ। चितवनमा अलि बढी भर्ने क्षमता छ। त्यो उनीहरूलाई पुगेर थप भर्ने क्षमता हो’, डा. गौतमले भने, ‘त्यहाँ हामीले सिलिन्डर भर्न पठाएका छौं। ती सिलिन्डर आए पनि हामीलाई बाँड्न सहज हुनेछ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम

सय बेडभन्दा माथिका निजी अस्पताललाई १५ दिनभित्र आफ्नै अक्सिजन प्लान्ट राख्न सरकारले निर्देशन दिने उनले बताए। अप्ठ्यारो परे त्यसका लागि सरकारले सहजीकरण गरिदिने गौतमको भनाइ छ। चीनबाट चार सय वटा सिलिन्डर ल्याइसकिएको छ। थप १६ सय वटा सिलिन्डिर चार पाँच दिनभित्रै ल्याइने उनी बताउँछन्। मन्त्रालयले बाँकी १८ हजार सिलिन्डर भने स्थलमार्गबाट ल्याउन लागेको छ। यसका साथै १५ ओटा अक्सिजन प्लान्ट र ट्यांक स्थापना गर्ने काम भइरहेको उनले बताए।

निजी अस्पतालमा किन अक्सिजन अभाव भयो त भन्ने जिज्ञासामा उनले साना केही अस्पतालले सुविधा पाए पनि संकट परेको बेला समानुपातिक वितरण गर्दा उनीहरूलाई केही समस्या भएको हुन सक्ने प्रवक्ता गौतम बताउँछन्। ‘निजीले पूरा अक्जिन पाउने बिरामी भर्ने। सरकारीले अक्सिजन नपाएर बिरामी भर्ना गर्न पाउने अवस्था हुनु भएन भनेर हामीले समानुपातिक वितरण प्रणाली लागू गरेका हौं’, उनी भन्छन्, ‘सस्तो उपचार सरकारीमा हुन्छ। कोरोना उपचारको त पैसै लाग्दैन।’ जहाँ बढी बिरामी त्यहाँ बढी सिलिन्डर पठाइएको उनी बताउँछन्।

उनका अनुसार एक सय बेड वा सोभन्दामाथि क्षमता भएका निजी तथा सामुदायिक अस्पताललाई १५ दिनभित्र आफ्नै अक्सिजन प्लान्ट जडान गर्न मन्त्रालयले निर्देशन दिएको छ। 

प्रकाशित: May 12, 2021| 12:34 बुधबार, वैशाख २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।