अर्थ विचार

सर्कुलर ट्रेडिङको गोलाकारभित्र रुमल्लिँदै नियामक

1623235253.thumb.jpg

पछिल्लो समय सेयर बजार उकालो लागिरहेको छ। बजार उकालो लाग्नुपर्ने कुनै कारण देखिँदैन। देशको अर्थतन्त्रको ऐनाको रुपमा बुझिने सेयर बजार उकालो लागिरहँदा अर्थतन्त्रका अन्य सूचकहरु ओरालो लागिरहेका छन्। देशको आर्थिक वृद्धि नकारात्मक भइरहेको छ। 

केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षमा २.९९ प्रतिशतको आथिक वृद्धि हुन घोषणा गरे पनि कोभिडको दोस्रो लहर सुरु भएसँगै आर्थिक वृद्धि नकारात्मक हुने जनाइसकेको छ।

चालु आर्थिक वर्षको बजेटको नै हाराहारीमा १० महिनाको व्यापार घाटा पुगिसकेको छ। वैदेशिक मुद्रा सञ्चितिमा पनि कमी आइरहेको छ भने पुँजीगत खर्चमा एक तिहाइको हाराहारीमा मात्र भइरहेको छ। 

कोरोनाका कारण उद्योगधन्दा, कलकारखाना व्यापार व्यवसाय बन्द छन्। पुँजी निर्माणका कामहरु अगाडि बढ्न सकेको छैन। राजस्व संकलनमा कमी आइरहेको छ। अर्थतन्त्रको ऐनाको रुपमा रहेको सेयर बजारले भने नेपालको अर्थतन्त्रको उल्टो तस्बिर देखाइरहेको छ। सम्पूर्ण अर्थतन्त्रका सूचक नकारात्मक भएको बेलामा सेयर बजारले भने दैनिक रेकर्ड बनाइरहेको छ। 

सेयर बजारको नेप्से सब-इन्डेक्स पनि अस्थिर छ। कुनै दिन फाइनान्स कम्पनीमा सेयर किन्नेको भीड हुन्छ भने कुनै दिन विकास बैंकहरुको सेयर किन्नेको भीड हुन्छ। अझ पछिल्लो समयमा त नोक्सानमा गएका कम्पनीहरुको सेयर मूल्यसमेत सर्किट ब्रेक लागेको छ। बजारमा कहाँबाट कसरी रकम आइरहेको भन्ने कसैलाई जानकारी छैन। 

नेपालको सन्दर्भमा नियामकको काम भने बजारमा भएका गतिविधिहरुलाई नियालेर गलत गर्नेलाई कारबाही गर्नुको साटो संशयगत आशंका गर्नु मात्र जस्तो देखिएको छ। 

लगानीकर्ता तथा अन्य सरोकारवालालाई दिग्भ्रमित पार्ने चेष्टा गरेर नियामकीय दायित्व पूरा गरेको देखाउन खोजेको मात्रै रहेकोे देखिन्छ भन्दा पूर्ण रुपमा गलत होेइन। किनकी यसको उदाहरण पछिल्लो समयमा अजोड इन्स्योरेन्समा भएको इन्साइडर ट्रेडिङलाई लिन सकिन्छ। अजोड इन्स्योरेन्समा इन्साइडर ट्रेडिङ भएको आवाज सर्वत्र उठे पनि नियामक निकाय धितोपत्र बोर्डले कारबाही गर्न सकेन। 

पोन्जी योेजनाका योजनाकारका बदनियतलाई सहयोग पुर्‍याउने कर्नरिङ, सर्कुलर ट्रेडिङ, इन्साइड ट्रेडिङजस्ता गैरकानुनी कार्यहरुलाई किन दण्डित गरिँदैन? नियामक निकायसँग यसको पक्कै तयारी जवाफ होेला।

विभिन्न समूहहरुले जब धितोपत्र कारोबारमा ठूलोे चलखेल गर्ने उद्देश्यले सेयर खरिद र बिक्रीको समान मूल्यमा आफैंले खडा गरेका खाताहरुमार्फत राफसाफ गर्छन्, त्यो पम्प र डम्प योजनासँग सम्बन्धित हुन्छ। नेपालका लगानीकर्ताहरुले समान बिक्री अर्डर समान मूल्य तथा सेयर सख्यामा राफसाफ भएपछि सर्कुलर ट्रेडिङ हुन्छ।

यसरी गरिएको सर्कुलर ट्रेडिङको मुख्य उद्देश्य बजारलाई आफ्नो पक्षमा ल्याउनु र अकूत मुनाफा कमाउन खोज्नु हो। यस्ता गैरकानुनी कारोबारलाई नियन्त्रित र दण्डित गर्ने नियामकले भारतको खेतान पारख घोेटाला (२००१) को अध्ययन गरी त्यहाँबाट पनि सिक्नु जरुरी छ। खेतान पारख घोटालामा भारतीय सेक्युरिटी एन्ड एक्सचेन्ज बोर्ड (सेबी) ले गरेका कारबाहीको अध्ययन गर्नु राम्रो हुन्छ। नत्र नियामक निकायले सेयर बजारमा इन्साइडर ट्रेडिङ, सर्कुलर ट्रेडिङ भइरहेको छ भनेर आशंका गरेर बस्नु बेकार नै हुनेछ।।

कि त नियामक निकायले नेपालमा इन्साइडर यस्ता ट्रेडिङ, सर्कुलर ट्रेडिङ जस्ता गलत काम भएको छैन भन्नुपर्‍यो नत्र भने त्यस्ता कार्यलाई कारबाहीको दायरामा ल्याएर दण्डित गर्नुपर्छ। अन्यथा सेयर बजारमा त्यस्ता अवैध धन्दा गरेर एक समूहले अकुत सम्पत्ति कमाउँछ भने अर्कोतर्फ सर्वसाधारण जनता समस्याले सेयर बजारमा आफ्नो सर्वस्व हार्नेछन्। नियामकले आशंका गरेर बस्ने होइन आशंका लागेमा छानविन गरी दोषी भेटिएमा कारबाही गर्नुपर्छ। आशंका लागेको छ भनेर मात्र रोइलो गरेर बस्न हुँदैन।

सेयर बजारमा अहिले सर्कुलर ट्रेडिङ भइरहेको भन्न सकिन्छ किनकी यसले कृत्रिम रुपमा बजारमा भोलुम बढाउँछ। जसका कारण बनावटी तरलता अत्यधिक सिर्जना गर्छ। यसले धेरैजसो लगानीकर्ता र कारोबारीलाई अमूक सेयरतर्फ आकर्षित गर्छ। त्यस्ता सेयरतर्फ आकर्षित भएका लगानीकर्ताहरुले व्यालेन्ससिट नहेरी नै लगानी गर्दा लगानीकर्ताहरु उठ्न नै नसक्नेगरी भासिन सक्छन्। 

नीरव पुडासैनी

सर्कुलर ट्रेडिङ विश्वका धेरै देशमा प्रतिबन्धित छ। तर नेपालको नियामक निकाय भने यस विषयमा मौन नै रहेको छ। यस्ता किसिमका ट्रेडिङले माग र आपूर्तिबीचको सर्वमान्य सिद्धान्तले चाल्नुपर्ने बजारको मान्यतालाई नै च्यूत गरिदिन्छ। 

सर्कुलर ट्रेडिङ गर्न, गराउन धेरै पक्षहरुबीच ठूलो षड्यन्त्र भइरहेको हुन्छ। यसका लागि धेरै कृत्रिम खरिदकर्ता र बिक्रीकर्ताहरु खडा गर्नुपर्ने हुनाले यस्तो प्रकारको ट्रेडिङमा ठूलो तथा पहुँचवाला समूहको आवश्यकता पर्छ। तव मात्र सो समूहले कृत्रिम करोबार सहज रुपमा गर्न सहयोग गर्दछ। 

यस्तो कार्य गर्न ठूला तथा पहुँचको सहज दुरुपयोग गर्न सक्ने ठूला भनिने लगानीकर्तामार्फत मात्र सम्भव हुन्छ। त्यस्तै ठूला तथा पहुँचवाला संस्थागत लगानीकर्ताहरुले पनि यस प्रकारको कारोबारमा संलग्न भएका छन्। बजारमा कतिवटा संस्थागत वा व्यक्तिगत समूहले यस्ता कारोबार गरेका छन् सोबारे छानविन गरेर बाहिर ल्याइ कारबाही गर्ने सम्मको काम नियामक निकायको हो। 

सर्कुलर ट्रेडिङको लागि चाहिने ठूलो परिमाणको नक्कली खरिदकर्ता र नक्कली विक्रिकर्ताहरु खडा गरी कारोबार गर्ने र नियामक निकायमा सेटिङ मिलाउने कामका लागि पनि दलाल व्यवसायी यसको मुख्य पात्र हुनु स्वाभाविक हो। यो कुनै आरोप होइन तर यदि सर्कुलर ट्रेडिङ भएको छ भने तिनको संलग्नता सजिलै पुष्टि हुन्छ भन्ने मेरो भनाइ हो। यसका लागि नियामकले नियामकीय अधिकार प्रयोग गर्ने आँट गर्न सक्नुपर्छ। कारोबार रकम र कारोबार संख्याका आधारमा छानबिन गर्दै त्यसको दायरा व्यक्ति तथा संस्थाको सेयर कारोबारको हिसाबसम्म पु¥याउनु जरुरी हुन्छ। 

यदि सर्कुलर ट्रेडिङ सेयर बजारमा स्थापित हुन थाल्यो भने यसले कृत्रिम सेयर कारोबारलाई हावी हुन दिन्छ। जसले सेयर मूल्यलाई प्रभावित पारिदिन्छ। फलस्वरुप सर्कुलर ट्रेडिङको खेलमा रहेका भन्दा इतरका हजारौं कारोबारी तथा लगानीकर्तालाई भ्रमित गरिदिन्छ। 

यसका साथै सिनिकल ओभर ट्रेडिङको पनि अध्ययन हुन आवश्यक छ। नियामकले त्यसतर्फ पनि ध्यन पुर्‍याओस्। पोर्टफोलियो प्रबन्धन गर्ने संस्थाको गतिविधि सुक्ष्म अध्ययन हुन जरुरी देखिन्छ। 

लगानीयोग्य मूल पुँजीलाई घट्न नदिइकन धितोपत्र दलालसँग मिलेर दलाली (ब्रोकेज) अत्याधिक बनाउने प्रयोग नै सिनिकल ओभर ट्रेडिङ हो। जस्तै अमुक सेयरको मूल्यमा चलखेल गर्ने उद्देश्यले सेयर कर्नरिङ गर्ने प्रयास नेपाली सेयर बजारमा हुदै आएको सबैलाई जगजाहेर नै छ। यस्ता सर्कुलर ट्रेडिङ, सेयर कर्नरिङ तथा सिन्क्रनाइज ट्रेडिङको मुख्य स्रोत भनेकै इन्साइडर ट्रेडिङ हो।

(पुडासैनी सेयर बजार विश्लेषक हुन्)

प्रतिक्रिया दिनुहोस्
थप समाचार
लेखकबाट थप
ताजा अपडेट