कला/साहित्य

आफैंलाई प्रोत्साहन गर्न भर्चुअल नाटक गर्दै रंगकर्मी

1622965184.E2pYEvhUUAo2l6g.png

काठमाडौं- जेठ १९ गते बुधबार शिल्पी थिएटरले साँझ ५ बजे अनलाइन नाटक मञ्चन गर्‍यो। भर्चुअल प्रदर्शन गरिएको नाटक फ्रान्सेली लेखक जाँ पाल सात्रको ‘अनुपस्थित तीन’ थियो। नाटकको अनुवाद अवतार पाठकले गरेका थिए भने परिकल्पना तथा निर्देशन घिमिरे युवराज स्वयंले गरेका थिए। नाटक मञ्चनका लागि भने कलाकारहरू थिएटर आउनुपरेको थिएन। सबै कलाकारले घरबाटै अभिनय गरेका थिए। दर्शकको संख्या पनि राम्रै जोडियो। 

संकटमा रंगमञ्च क्षेत्र पनि धरापमा नपरेको होइन, तर रंगकर्मीहरू भर्चुअल नाटक लिएर दर्शकसँग जोडिनु आफैँमा सुखद् पक्ष हो। लकडाउन बढ्दै गए नेपाली रंगकर्मीले भर्चुअल नाटक मञ्चनलाई निरन्तरता दिन सक्लान् त?  कि यो अभ्यासको रूपमा मात्रै आउने हो?  रंगकर्मी घिमिरे युवराज भन्छन्, ‘बन्दाबन्दीका कारण भर्चुअल नाटक मञ्चन विकल्पको रूपमा देखिएको हो।’

मण्डला नाटकघरले अघिल्लो लकडाउन र पछिल्लो निषेधादेशकाे समयमा मात्रै १८ वटा भर्चुअल नाटक मञ्चन गर्‍यो। ‘वीर रूपा’ शीर्षकको एक घण्टा जति लामो नाटक पनि गर्‍यो। यसले राम्रै दर्शक पाएको बताउँछन् रंगकर्मी राजन खतिवडा। ‘मितज्यू’ शीर्षकको नाटक पनि ‘सिनेम्याटिक’ हिसाबले नै खिचेर प्रदर्शन गर्ने भनी रिहर्सलमा जुटेका थिए उनीहरू। तर दोस्रो चरणको निषेधादेशका कारण रोकिनुपरेको बताउँछन् खतिवडा। 

प्रविधिलाई अवसरका रूपमा गरेको प्रयोगले भर्चुअल नाटकको प्रदर्शन प्रभावकारी होला? रंगकर्मी राजन खतिवडा भन्छन्, ‘विश्वमा यस किसिमको प्रयोग भइसक्यो। यहाँसम्म कि भारतमा पनि भर्चुअल नाटक भइरहेको छ। नेपालमा पनि सुरु भएको छ।’

समय प्रविधि उन्मुख छ। यसको विकास भइरहँदा नयाँ-नयाँ विकल्पका द्वार पनि खुल्दै जान्छन्। फरक–फरक समयमा, फरक-फरक स्वरूपको पहुँच प्रभावकारी हुने अपेक्षा गर्न सकिन्छ। प्रविधिलाई अवसरका रूपमा गरेको प्रयोगले भर्चुअल नाटकको प्रदर्शन प्रभावकारी होला? रंगकर्मी राजन खतिवडा भन्छन्, ‘विश्वमा यस किसिमको प्रयोग भइसक्यो। यहाँसम्म कि भारतमा पनि भर्चुअल नाटक भइरहेको छ। नेपालमा पनि सुरु भएको छ।’

भर्चुअल नाटक मञ्चनमा कलाकारहरू एकै स्क्रिनमा देखिने गरी फरकफरक डिभाइसमा 'प्ले' हुन्छन्। टाढाटाढाका कलाकारलाई एकै ठाउँमा ल्याउन सकिन्छ। यो अवसरमात्रै नभएर कोरोना न्यूनीकरणमा राज्यलाई गरेको सहयोग पनि हो।  

नेपाली समाज ‘टेक्नोलोजी’को अभ्यासमा छ। नयाँ प्रविधिको विकास भएसँगै त्यसमा मानिस ‘अपडेट’ हुनुपर्ने अवस्था छ। नाटक मञ्चनमा भर्चुअल अभ्यास नेपाली रंगकर्मीका लागि आफैँमा नौलो हो। थिएटरमा जति नाटक हेर्नु र भर्चुअल दुनियाँमा नाटक हेर्नु फरक कुरा भएको बताउँछन् लेखक तथा संगीत तथा नाट्य एकेडेमीका पूर्व कुलपति सरुभक्त। प्रविधिको माध्यमबाट नाटक हेर्ने अभ्यास पश्चिमा मुलुकमा बानी नै परिसके पनि नेपालमा भने त्यसको अभ्यास यस्ताे संकटका बेला उत्तम रहेको बताउँछन् उनी। उनका अनुसार बैठक बस्नु जस्तो होइन भर्चुअल नाटक मञ्चन गर्नु। नाटकको मूलभूत सिद्धान्त भनेको प्रत्यक्ष कला हो। यसलाई सरुभक्त ‘डाइरेक्ट मिडियम’ भन्छन्। 

'दर्शकले थिएटरभित्र छिरेपछि मञ्चमा कलाकारले जे गर्छ, त्यो नै सत्य हुन्छ। त्यसैलाई स्वीकार्नुपर्छ। त्यो संशोधन हुँदैन। फिल्ममा जस्तो ‘रि–टेक’ दिन र लिन मिल्दैन। जे आउँछ त्यही बुझिन्छ। र नाटक पनि त्यहीँ सकिन्छ,' सरूभक्त भन्छन्। 

कौसी थिएटरकी आकांक्षा कार्की पनि यतिखेर ‘प्लेब्याक थिएटर’ गरिरहेकी छिन्। प्रत्येक बुधबार उनीहरू जुममार्फत मान्छेहरूका दैनिकीसँग सरोकार राख्ने विषयवस्तुमाथि नै प्लेब्याक थिएटर गर्दै आइरहेका छन्। स्वतन्त्र रूपमा गरिने नाट्य शैली प्ले ब्याक थिएटर रहेको बताउने कार्की भन्छिन्, 'भर्चअल नाटक मञ्चन कोरोनाकाल सकिएपछि कम हुन्छ नै। किनकि यो तत्कालका लागि ठिक छ। तर लामो समय चाहिँ जाँदैन जस्तो लाग्छ। नाटक भनेको प्रत्यक्ष नै हुनुपर्छ भन्ने हो।’ बन्दाबन्दीमा हुने भर्चुअल नाटक मञ्चनले कलाकारमा ‘रिफ्रेसनेस’ भने ल्याउने कार्कीको ठम्याइ छ। 

हुन पनि बन्दाबन्दीका कारण रंगकर्मी निष्क्रिय छन्। आफ्नै रंगकर्मीहरूको सर्कलबाट पनि टाढिनु परेको छ। यस्तो परिस्थितिमा रंगकर्मी आफूले गर्दै आएको कामलाई भर्चुअल माध्यमबाट सक्रिय हुनु नै ठूलो कुरा हो। यो प्रचलन सबै क्षेत्रमा छ भने रंगमञ्च अछुत हुने कुरा पनि भएन। 

कोभिडको विश्व महामारीमा घरभित्रै थन्किनुको पीडा सबैलाई उस्तै छ। यस्तोमा सिर्जनशील व्यक्तिहरूले भर्चुअल माध्यमको प्रयोग गरी जनमानससम्म पुग्न खोज्नु नयाँपन हो। यसले स्वयं कलाकारलाई पनि राहत दिलाउँछ। सरुभक्त भन्छन्, ‘भर्चुअल माध्यमको मूल्यांकन गर्ने बेला भइसकेजस्ताे त लाग्दैन। किनकि यो हामीकहाँ प्रारम्भमा छ। नहुनु मामा भन्दा कानो मामा जाती भनेझैं यो माध्यम सुरु भएको हो। तर यसको दूरी कतिसम्म हुन्छ भविष्यमै थाहा हुन्छ।’

सबै क्षेत्रमा अहिले भर्चुअल माध्यम प्रयोगमा आयो। भर्चुअल कार्यक्रम त फेसनजस्तै भयो। तर यसैबाट आफ्नो प्रोफेसनलाई निरन्तरता दिन सकिन्छ भन्ने कुनै ठोस ग्यारेन्टी भने छैन। 

'कलाकारको सर्भाइभ सम्भव छैन'
थिएटर घरमा बसेर नाटक हेर्नुको मजा छुट्टै छ। कलाकार जीवन्त लाग्छन्। दर्शक र कलाकार एकदम नजिक हुन्छन्। सिधा सम्पर्क हुन्छ। प्रतिक्रिया तुरुन्तै पाइन्छ। तर थिएटर खुल्ने टुंगो छैन। तत्काल लकडाउन हटिहाल्यो भने पनि भीड बनाउन सम्भव छैन। किनकि थिएटरमा घुइँचाे त हुन्छ नै। भीडबाट बच्नु नै कोरोनाबाट बच्नु हो भनेरै सरकारले बन्दाबन्दी गरेको हो। बन्दाबन्दीबाट रंगकर्मी अछुतो रहने कुरा हुँदैन। 

स्वतन्त्र रंगकर्मी मञ्जु गिरी भन्छिन्, ‘मुस्किलले नाटक हेर्न आउने दर्शक छन् सहरमा। अझ भर्चुअल नाटक हेर्न टिकट काट्ने विषय त अर्को आश्चर्य हुन्छ। टिकटै काटेर नाटक हेर्ने अभ्यास भने नेपालमा अझै गाह्रो छ।’

सरकारले ‘बाँच’ भनेर गरेको बन्दाबन्दीमा पनि जीवन छ। जीवन धान्न काम गर्नैपर्‍यो, खानैपर्‍यो। जब कामधन्दा ठप्प हुन्छ, अनि बचाउन गरिएको बन्दाबन्दी थप भयानक भइदिन्छ। शासक सत्ता टिकाउन जनतालाई बचाएका छौं भनेर मौन बसिदिन्छ। तर यही मौनता जनताका लागि कष्टकर हुँदै आएको छ। त्यसैले कलाकार निराश छन्। तर नाट्य क्षेत्रमै लागेर आफ्नो जीविकोपर्जन गर्दै आइरहेका कलाकार-निर्देशक कहिलेसम्म चुप बसिदिने? यस्तोमा केही न केही त गर्नुपर्‍यो। 

रंगकर्मीका लागि नाट्य क्रियाकलापमा सक्रियता देखाउनु आफैँलाई आशावादी बन्नु हो। भर्चुअल नाटक गरेर कलाकारले आफ्नो प्रतिभा प्रदर्शन गर्ने कि, दुई पैसा पनि आम्दानी गर्ने? उनै रंगकर्मी खतिवडा भन्छन्, ‘रंगमञ्चमा लागेर ‘सर्भाइभ’ त लकडाउन नहुँदा पनि थिएन। अहिले कहाँ होला? तर स-सानो फन्डिङ खोज्नु चाहिँ पर्छ।’

नाटक प्रभावकारी बनाउन पनि आर्थिक पाटो बलियाे चाहिन्छ। भेषभुषा चाहियो, रिहर्सल गर्नुपर्छ। थिएटरकाे हल भाडा चाहियो। नाटक खेल्ने कलाकारलाई पारिश्रमिक चाहियो। प्राविधिक स्रोत र सामग्री भएमात्र नाटक गर्न सकिन्छ। यी सबै स्रोतसाधन जुटाउन आर्थिक स्रोत पनि बलियो चाहिन्छ नै। 

हिजोको दिनमा थिएटर घरमा आएर दर्शकले टिकट काटेर नाटक हेर्थे, जुन पैसाले कलाकारको पारिश्रमिक र थिएटरको भाडा अरू खर्च उठ्थ्यो। तर यो संकटमा भर्चुअल नाटकका लागि लगानी गरिदिने कहाँ पाउनु? निर्देशक स्वयंले गरेको निजी खर्चबाट प्रदर्शन भएको भर्चुअल नाटकले सही व्यवस्थापन हुन सक्ला त? कि अनलाइन टिकट बेच्नुपर्ने हो? दर्शकले भर्चुअल नाटक हेर्नका लागि अनलाइन टिकट किन्लान्?  स्वतन्त्र रंगकर्मी मञ्जु गिरी भन्छिन्, ‘मुस्किलले नाटक हेर्न आउने दर्शक छन् सहरमा। अझ भर्चुअल नाटक हेर्न टिकट काट्ने विषय त अर्को आश्चर्य हुन्छ। टिकटै काटेर नाटक हेर्ने अभ्यास भने नेपालमा अझै गाह्रो छ।’

त्यसो भए कलाकार कति सर्भाइभ हुन सक्छन् भन्ने कुरा पनि आउँछ। ‘प्रोफेसनल थिएटर आर्टिस्ट’का लागि भर्चुअल नाटकले कलाकारको जिम्मेवारी बोध मात्रै गराउन सक्ने बताउँछन् खतिवडा। भन्छन्, ‘विसंगतिविरुद्ध कलाकारितामार्फत वकालत गर्नु एउटा कलाकारको पनि जिम्मेवारी भएकोले सक्रिय हुनुपर्छ।’ 

कुनै ‘स्पोन्सर’ तथा सहयोगी संस्थाले लगानी गरेमा केही राहत होला। तर सोचेजस्तो लगानी गर्न सक्छन् त भन्ने प्रश्न पनि छ। कलाकारलाई के कति र कसरी पारिश्रमिक दिने भन्ने कुरामा पनि मतभेद भइहाल्ला। सर्वनाम थिएटरका राज शाह भन्छन्, ‘भर्चुअल नाटक मञ्चनकै कारण चाहिँ कलाकारको आयस्रोतको निर्धारण हुने वातावरण नहोला।’

आकांक्षा कार्की पनि कलाकारलाई प्रोत्साहन गर्नकै लागि भर्चुअल नाटक गरिएको बताउँछिन्। भन्छिन्, ‘अवस्था निराशाजनक छ। अघिपछि त थोरै भए पनि काम हुन्थ्यो। यताउताबाट आम्दानी हुन्थ्यो। यो महामारी संकटमा भर्चुअल नाटकबाट कलाकार बाँच्न त सकिन्न। बरु कलाकार स्वयंले आम्दानीका लागि अर्को स्रोततिर लाग्नुपर्छ। भर्चुअल नाटक प्रदर्शनले केवल दर्शकसँग जोड्ने काम मात्रै हुन्छ। तर दर्शक पनि सन्तुष्ट होलान् भन्ने लाग्दैन।’ 

दर्शक ‘कनेक्ट’ हुन सक्दैनन् 
'थिएटरको मञ्च होस्, अध्याँरो पृष्ठभूमिमा कताकतै कलाकारसँगै झुल्किने लाइट होस्, साउन्ड होस्, र त्यो परिवेशको छनक दिने खालको सेट होस्' तब नाटक हेर्नुको मजा आउँछ। तर भर्चुअलबाट नाटक हेर्नुकाे मजा आउँदैन। पात्रहरूको जीवन्त अभिनय बासी फिल्म जस्तो हुन्छ।  

रंगकर्मीको दुर्भाग्य के हो भने रंगमञ्च सधैँ मारमा परेको छ। कोभिडका कारण थप धराशायी छ। यसलाई माथि उठाउन राज्यले पहलकदमी चालिदिनुपर्ने थियो। तर त्यस किसिमको सरकारी ढाडस दिन नसकेको बताउँछन् सरुभक्त।

नाटक भर्चुअलबाट हेर्ने बानी कहाँ छ र नेपाली दर्शकको? त्यो अर्को अभ्यास जोखिमपूर्ण छ। कथंकदाचित् दर्शक बढे भने पनि नाटकको मौलिकता भने मर्ने बताउँछन् रंगकर्मीहरू। कोरोना संकटमा रंगकर्मीले आफूलाई नाटकमै सक्रिय देखाउनु ठूलो मेहनत पनि हो र आफ्नो पेशाप्रति हरेस नखानु हो। तर समय नै जटिल अवस्थाबाट गुज्रिरहेको बेला कुनै स्क्रिनमा बसेर दर्शकले नाटक हेर्न अलि फरक त हुन्छ नै। स्क्रिनमा नाटक हेर्नु नाटक जस्तो हुँदैन भन्दा पनि भो। युट्युबतिर पनि नाटक हेरिन्छ। तर त्यो थिएटरमा मञ्चन भएको नाटकजस्तो नहुने बताउँछन् नाटककर्मी किशोर अनुराग। भन्छन्, ‘भर्चुअल नाटक गर्नु भनेको नाटक भइरहेको छ भन्नलाई त ठिकै होला तर दर्शक सन्तुष्ट गर्ने कुरामा म विश्वस्त छैन।'

यो महामारीमा पनि नाटक क्षेत्र जेनतेन जोगाउन लागिएको मात्रै हो त भर्चुअल नाटक मञ्चन। तर नाटक बचाउन नाटकघर नै चाहिन्छ। कलाकारले प्रत्यक्ष अभिनय गरेकै हुनुपर्छ। यस महामारीमा केही रंगकर्मीले आफूलाई निराशावादबाट जोगाउन पनि यस्ता भर्चुअल नाटक गर्नु मानसिक रूपमा बलियो हुनु हो।

शाहका लागि भने नाटकको विकल्प नाटक घर नै हो। उनी भन्छन्, ‘भर्चुअल रूपमा प्रदर्शन हुने नाटकले दर्शकलाई र कलाकारलाई खासै सन्तुष्ट दिँदैन। यो केवल प्रयोगका लागि मात्रै हो।’ हुन त भर्चुअल नाटक हेर्ने दर्शकलाई कति ‘कन्भिन्स’ गर्न सकिन्छ भन्ने कुरामा पनि भर पर्छ। अझ विश्वमा फिल्म माध्यम व्यापक भए पनि नाट्यकलालाई पहिलो स्थानमा राखेको बताउँछन् सरुभक्त।  भन्छन्, 'नाटकमा अभिनय गर्दा रिपिट गर्न पाइँदैन। चलचित्रमा बारम्बार त्यही गर्न पाइन्छ। नाटकमा दर्शकले तुरुन्तै प्रतिक्रिया दिन्छन्। त्यो प्रत्यक्ष कला भएको विशेषतालाई भर्चुअल माध्यमबाट हेरेर सन्तुष्ट हुँदैन। भर्चुअल नाटक देखाउनु नाटक फिल्ममा रुपान्तर भएझैं हो। नाटकको आफ्नै सीमित घेरा हुने भएकाले यसलाई थिएटर नै प्रभावककारी हुन्छ।’

प्रयोगात्मक भए पनि भर्चुअल नाटक हेर्दा दर्शकका लागि चलचित्र हेरेजस्तो हो। तैपनि अहिलेको समयको आवश्यकतामा भर्चुअल माध्यम सकारात्मक छ। कोभिडबाट मुक्त भएपछि जुन चिज रंगमञ्चमा छ, त्यो फर्किन्छ। र, यो प्रविधि पनि बेला मौकामा प्रयोग गर्न सकिने बताउँछन् सरुभक्त। भन्छन्, ‘भर्चुअल माध्यममा नाटक मञ्चन गर्नमा प्रत्यक्ष फाइदा के हो भने विश्वको जुन कुनामा भए पनि दर्शकले नाटक एकै मञ्चमा बसेर हेर्न सकिन्छ। खेल्न सकिन्छ। प्रस्तुति दिनका लागि यस्तो माध्यमले नयाँ किसिमको आयाम चाहिँ थपेको हो भन्ने लाग्छ।’

राज्यको भूमिका सधै निराशाजनक!

भर्चुअल नाटक मञ्चन केही व्यक्तिगत पहुँच भएका रंगकर्मीका लागि सहज होला। तर अभिनय मात्रै गर्ने कलाकारका लागि भने साधनस्रोतको अभाव पक्कै हुन्छ। त्यस्ता कलाकार भर्चुअल माध्यममा आउन सक्दैनन्। त्यसैले सबै रंगकर्मीका लागि भने भुर्चअल नाटक मञ्चन गर्न सहज नरहेको बताउँछन् केही रंगकर्मीहरू। 

रंगकर्मीका लागि भनेर बनेको हो संगीत नाट्य एकेडेमी। यस्तो महासंकटको बेला किन कुनै ‘फन्डिङ’ गर्न सकेको छैन भन्ने प्रश्न सबै नाट्यकर्मीको मनमा छ। केही परियोजनाका लागि कागजपत्र नबुझाएका पनि होइनन्। तर त्यो किन कार्यान्वयन हुन सकेन। रंगकर्मी खतिवडा भन्छन्, ‘एकेडेमी त रंगकर्मीका लागि बनेकै होइनजस्तो भो।'

यो महामारीको बेला रंगकर्मीका लागि भनेर किन फन्डिङ गर्दैन संगीत नाट्य एकेडेमी? उनै घिमिरे युवराज भन्छन्, ‘भौतिक, आर्थिक र मानसिक रूपमा पनि आफैँ लाग्नुपर्ने अवस्था छ।’ नाटकमार्फत राज्यलाई नै सहयोग गरिरहेका हुन्छन् रंगकर्मी। तर कलाकारलाई संगीत नाटक एकेडेमी छ भन्ने महसुस पनि हुँदैन। 

राज्यले समन्वय गर्नुपर्ने हो। त्यो छैन। खतिवडा भन्छन्, ‘राज्य रंगमञ्चलाई लिएर कहिले पनि संवेदनशील भएन। यस्तो संकटको बेला त हुँदैन भने अघिपछि के भर पर्नु! कार्की पनि निजी थिएटरका लागि संगीत नाट्य एकेडेमी कहिले नबनेको बताउँछिन्। भन्छिन्, ‘सरकारी संगीत नाट्य एकेडेमी र निजी थिएटर घरहरूबीच जहिल्यै खाडल रहिरह्यो। हामी रंगकर्मी नै होइनौँजस्तो व्यवहार गर्छ एकेडेमी।’ रंगकर्मीहरू भने आज पनि नेपाल संगीत एकेडेमीलाई अभिभावकको रूपमा लिन्छन्। तर राज्यको भूमिका सधै निराशाजनक छ। 

रंगकर्मीको दुर्भाग्य के हो भने रंगमञ्च सधैँ मारमा परेको छ। कोभिडका कारण थप धराशायी छ। यसलाई माथि उठाउन राज्यले पहलकदमी चालिदिनुपर्ने थियो। तर त्यस किसिमको सरकारी ढाडस दिन नसकेको बताउँछन् सरुभक्त। भन्छन्, ‘नेपाल संगीत नाट्य एकेडेमीले संगीत नाट्यमा सक्रिय संस्था र कलाकारलाई सुसंगठित रूपमा आफ्नो उपस्थिति जनाउनुपर्छ। तर त्यही काम गर्न गाह्रो छ। किनकि त्यहाँ पनि सीमाहरू छन्। आफ्नै आन्तरिक समस्याहरूसँग जुधिरहेका छन्।’

उनी थप्छन्, ‘सानोतिनो कार्यक्रमसँगै देशभरिका सांगीतिक तथा नाट्य संघसस्थाले प्रेरित गर्ने खालका काम गर्नुपर्‍यो। एक सूत्रमा ल्याने कोसिस गर्नुपर्‍यो। त्यो दिशातिर उन्मुख हुनुपर्छ भन्ने लाग्छ।’

प्रतिक्रिया दिनुहोस्
थप समाचार
लेखकबाट थप
ताजा अपडेट