शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • आईसीयू र भेन्टिलेटरबिनै बिरामी लिँदै जनमैत्री अस्पताल, अनुदान लिएर पनि संक्रमितसँग दैनिक १५ हजार असुली

आईसीयू र भेन्टिलेटरबिनै बिरामी लिँदै जनमैत्री अस्पताल, अनुदान लिएर पनि संक्रमितसँग दैनिक १५ हजार असुली

जनमैत्री अस्पतालले बिना पूर्वाधार बिरामी भर्ना गरेको, स्वास्थ्य मन्त्रालयसँगको सम्झौताविपरीत चर्को शुल्क असुलेको र उपचारमा समेत लापरबाही गरेको विषयमा स्वास्थ्य मन्त्रालयका अधिकारीहरुसँग बुझ्दा आफूहरुलाई थाहा नभएको बताए।
 |  आइतबार, वैशाख २६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २६, २०७८

काठमाडौं– वैशाख २२ गते (बुधबार) बेलुका काठमाडौंका एक जना कोरोना संक्रमित पुरुषको बाजालुस्थित जनमैत्री अस्पतालमा मृत्यु भयो। सास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना भएका उनको अक्सिजन अभावमा ज्यान गएको हो।

triton college

केही समयअघि कोभिड अस्पतालका रुपमा रुपान्तरण गरिएको जनमैत्री अस्पतालमा अक्सर बिरामीले अक्सिजन नै पाउँदैनन्, किनकी यहाँ अक्सिजनको कुनै बन्दोबस्त नै छैन। भेन्टिलेटर त परको कुरा, यहाँ आईसीयू बेडसमेत अहिलेसम्म बनेको छैन। 

अक्सिजन, आईसीयू र भेन्टिलेटर नभए पनि अस्पतालमा बिरामी भर्ना भने धमाधम चलिरहेको छ। भर्ना लिने अनि राम्रोसँग उपचार नगरी होल्ड गर्ने काम अस्पतालले गरिरहेको बिरामीका आफन्तहरुको गुनासो छ। आईसीयूसमेत नभएको सामुदायिक अस्पताल जनमैत्रीले एक जना बिरामीसँग दिनको १५ हजार रुपैयाँ असुल्ने गरेको छ। अक्सिजन र औषधीको अलग्गै तिर्नुपर्छ। 

बाजाजुका गणेशप्रसाद थपलियाले कोरोना संक्रमण भएर गाह्रो भएपछि वैशाख २१ गते (मंगलबार) काका र काकीलाई जनमैत्री अस्पतालमा भर्ना गरे। तर, अस्पताल ल्याएको १८ घण्टासम्म पनि उनीहरुले अक्सिजन पाएनन्। उनीहरु छटपटाइरहँदा कोही स्वास्थ्यकर्मी पनि आएनन्। ‘उहाँहरुलाई सास फेर्न गाह्रो भएको थियो। दिउँसो ल्याएका बिरामीले भोलिपल्ट बिहानसम्म पनि अक्सिजन पाउनुभएन। कोही स्वास्थ्यकर्मी पनि आएनन्,’ थपलियाले नेपाल समयसँग भने। 

मान्छे भर्ना लिएर होल्ड गर्ने काममात्रै अस्पतालले गरेको गुनासो गर्दै उनले भने, ‘कतै बेड नपाएपछि यहाँ ल्याएका थियौं। मर्न लाग्दा समेत कोही डाक्टर हेर्न नआउने रहेछन्।’ 

corrent noodles
Metro Mart

अवस्था थप जटिल भएपछि वैशाख २३ गते राति नै थपलियाले काका–काकीलाई जनमैत्रीबाट निकालेर ग्रान्डी अस्पताल पुर्याए। उनले भने, ‘आँखै अगाडि अस्पतालले अक्सिजनको समेत व्यस्था नगरिदिएका कारण मान्छे मरेको देखेपछि मैले काका–काकीलाई कसरी यहाँ राखौ ? यहाँ लापरबाहीको हद छ।’

अक्सिजन र आईसीयू नभए पनि अस्पतालले संक्रमितसँग प्रतिदिन बेडको मात्रै १५ हजार रुपैयाँ असुल्ने गरेको छ। नाम खुलाउन नचाहेका एक संक्रमितका आफन्तले भने, ‘पैसा राम्रै असुलिएको छ, तर उपचारमा अत्यन्त लापरबाही छ। के गर्नु अन्त बेड खाली छैन। कहाँ लानु बिरामीलाई ?’ 

सामुदायिक अस्पताल जनमैत्रीले कोरोना संक्रमितको उपचार गर्न स्वास्थ्य मन्त्रालयसँग सम्झौता पनि गरेको छ। गएको भदौदेखि बन्द रहेको अस्पताल संक्रमितको उपचारकै लागि पुनः खुलेको हो। मन्त्रालयसँग पैसा लिने र संक्रमितको निःशुल्क उपचार गर्ने सम्झौता अस्पतालले गरेको छ।

मन्त्रालयले अस्पताललाई अक्सिजन नलगाउनुपर्ने बिरामीको हकमा प्रति संक्रमित प्रतिदिन ३५ सय, अक्सिजन लगाउनुपर्ने बिरामीको हकमा प्रति संक्रमित प्रतिदिन ७ हजार र आईसीयू वा भेन्टिलेटरमा बस्नुपर्ने बिरामीको हकमा प्रति संक्रमित प्रतिदिन १५ हजार रुपैयाँ दिँदै आएको छ।

सरकारले विभिन्न चरणमा गरी जनमैत्री अस्पताललाई एक करोड ५४ लाख १६ हजार ५०० रुपैयाँ दिएको छ। यो रकम सामान्य बिरामीका लागि प्रतिदिन ३५०० का दरले मध्यम खालका बिरामीका लागि दैनिक ७००० का दरले र गम्भिर बिरामीका लागि १५००० रुपैयान् प्रतिदिनका दरले दिइएको हो।

सरकारसँग हरेक बिरामीको पैसा लिने अस्पतालले बिरामीसँग पनि असुल्छ। एक जना बिरामीसँग १५ हजार रुपैयाँ लिने अस्पतालले स्वीकार गरेको छ। अस्पतालका निर्देशक उमेश पाण्डेले संक्रमितसँग पैसा लिएको तर उपचारमा कुनै हेल्चेक्र्याइँ नभएको दाबी गरे। उनले भने, ‘हामीले सकेसम्म अक्सिजन उपलब्ध गराएका छौं। अझै जुटाउने प्रयास भइरहेको छ। डाक्टरहरु बिहान–बेलुकै खटिरहनु भएको छ। कसरी भयो हेल्चेक्र्याइँ ?’ 

आईसीयू बेड नभएको स्वीकार्दै निर्देशक पाण्डेले निर्माणको काम भइरहेको र आइतबार वा सोमबारबाट सञ्चालनमा आउने बताए। ‘आईसीयूसमेत तयार नपारी किन बिरामी भर्ना लिएको त?’ भन्ने जिज्ञासामा पाण्डेले भने, ‘अन्त कहीँ बेड पाइएन, यहाँ राख्नमात्रै पाए नी हुन्थ्यो भनेर बिरामीका आफन्तले अनुनय गरेपछि हामीले राखेका हौं। उपचार पनि गर्ने गरेका छौं।’ 

जनमैत्री अस्पतालले बिना पूर्वाधार बिरामी भर्ना गरेको, स्वास्थ्य मन्त्रालयसँगको सम्झौताविपरीत चर्को शुल्क असुलेको र उपचारमा समेत लापरबाही गरेको विषयमा स्वास्थ्य मन्त्रालयका अधिकारीहरुसँग बुझ्दा आफूहरुलाई थाहा नभएको बताए। मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जथाभावी शुल्क लिएको र उपचारमा लापरबाही भएको भए कारबाही गरिने बताए। उनले भने, ‘सम्झौताविपरीत जाने छुट कसैलाई छैन। त्यस्तो गरेको भए सम्झौता खारेज हुनेछ।’ 

कोरोनाको पहिलो लहरमा जनमैत्रीले ६ सय जना संक्रमितको उपचार गरेको थियो। तर, कति सामान्य प्रकृतिका, कति मध्यम प्रकृतिका र कति जटिल अवस्थाका संक्रमितको उपचार गरियो भन्ने विषयमा अस्पतालले सूचना दिन चाहेन। उपचारबापत कति रकम स्वास्थ्य मन्त्रालयसँग अस्पतालले लियो भन्ने विषयमा पनि अस्पतालले सूचना दिन मानेन। अस्पतालका निर्देशक पाण्डेले भने, ‘अहिले त्यसको हिसाब नगरौँ। हामी उपचारमा खटिएका छौं, म व्यस्त छु।’ 

सरकारसँग अनुदान लिएर कोरोना संक्रमितसँग पैसा असुल्नुलाई अपराध नै भन्छन् पूर्व स्वास्थ्य सचिव डा. प्रवीण मिश्र। ‘यस विषयमा स्वास्थ्य मन्त्रालयले तुरुन्त ध्यान दिओस्। यो व्यक्ति र राज्यमाथिकै अपराध हो,’ उनले भने। 

लामो समयदेखि बन्द रहेको जनमैत्री अस्पताल कोभिडको पहिलो लहरसँगै ०७७ साल भदौबाट पुनः सञ्चालनमा आएको थियो। ३१५ बेड क्षमताको अस्पतालको १०० वटा बेड प्रयोग गर्न मिल्ने अवस्थाको भएकाले सोहीअनुसार परिचालन गरिएको थियो। सामुदायिक अस्पतालका रुपमा सञ्चालन भएको जनमैत्री आन्तरिक विवादका कारण ०७२ सालदेखि बन्द थियो।

प्रकाशित: May 09, 2021| 08:14 आइतबार, वैशाख २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।