नेपालगञ्ज- चारैतिर घनाबस्ती र बीचमा उद्योग । कमैले आकलन गरेका होलान्, एउटा उद्योगले बस्तीमा कति विष फैलाइरहेको छ भनेर । आसपासका बासिन्दाको आवाज न त प्रशासनले सुनेको छ, न नेपालगञ्ज उपमहानगरपालिकाले ।
नेपालगञ्ज-१ धम्बोझी र १२ बेलासपुरको बीचमा पर्ने ओम प्लाइउड उद्योगले प्रयोग गर्दै आएका रसायनहरूका कारण आसपासका बासिन्दा आक्रान्त छन् ।
उद्योगले प्रयोग गर्ने फर्मालिन, फेबिकोलजस्ता रसायन तथा धुवाँ र ध्वनि प्रदुषणका कारण मानव स्वास्थ्यमा प्रतिकुल असर पुर्याइरहेको छ । आँखा पोल्ने, श्वास प्रश्वासलगायत समस्या देखा परेको बताउँदै स्थानीय बासिन्दा विरोधमा छन् ।
उद्योगले पुर्याएको असरका सम्बन्धमा विभिन्न निकायमा धाउँदासमेत सुनुवाइ नभएको उनीहरू बताउँछन् । कतैबाट न्याय नपाएपछि उनीहरू निराश छन् ।
विषाक्त धुवाँ, ध्वनि र जथाभावी रसायनको प्रयोग रोक्न तथा बोइलर मेसिन हटाउन माग गर्दै एक दशकदेखि सरकारी निकाय गुहारिरहेका छन् ।
स्थानीय बासिन्दा ३५ जनाको हस्ताक्षरसहितको निवेदन उपमहानगर, जिल्ला प्रशासन, जिल्ला समन्वय समिति, राष्ट्रिय मानवअधिकार आयोग, मन्त्रालय, विभागलगायत निकायमा बुझाइसकेका छन् ।
स्वस्थ रूपमा बाँच्न पाउने अधिकारको रक्षा गरिदिन उनीहरूले माग गर्दै आएका छन् । उद्योगले आवश्यक मापदण्ड पूरा नगरेको उनीहरूको भनाइ छ ।
प्लाइउड उद्योगबाट निस्किने विषाक्त धुवाँ र ध्वनिका कारण बस्तीमा बस्ने नसकिने अवस्था आएको नेपालगञ्जका दुई वडाका बासिन्दाको भनाइ ।
'उद्योगले गरेको अन्यायविरुद्ध धेरै निकायमा डेलिगेसन गयौं, कसैले हाम्रो माग सुनेन,' नेपालगञ्ज-१ का राधेश्याम गुप्ता भन्छन् ।
चुनावका बेला उक्त उद्योगलाई अन्यत्र सार्ने आश्वासन उम्मेदवारहरूले नदिएका पनि होइनन् । तर, जितेर गएपछि कसैले चासो नदिएको स्थानीय बासिन्दा बताउँछन् । सबै राजनीतिक दललाई प्रभावमा पारेर मापदण्डविपरित निर्वाध उद्योग चलिरहेको उनीहरूको भनाइ छ ।
प्रतिवाद गर्दा उद्योग सञ्चालकले डर, धम्की दिइरहेको स्थानीयवासीको गुनासो छ । असुरक्षाकै कारण उद्योगबाट पुगिरहेको असरबारे सबैले खुलेर प्रतिवाद गर्न नसकेको अर्का स्थानीयवासी कुन्दन गिरी बताउँछन् । 'बोल्यो कि सञ्चालकबाट कुनै न कुनै थ्रेट आउँछ, बरु चुपचाप पीडा सहेर बसिरहेका छन्,' उनी भन्छन् ।
उद्योग सञ्चालक प्रमोद जालान भने दुई दशकदेखि सञ्चालित आफ्नो उद्योगले अहिले आएर मानव स्वास्थ्यमा असर पुर्याएको कुरा सुन्दा आश्चर्यमा परिरहेको बताउँछन् । 'मेरो उद्योग मापदण्डअनुसार नै चलिरहेको छ, उद्योगबाट त्यस्तो विषादी निस्कन्थ्यो भने मेरा कर्मचारीले कसरी काम गर्न सक्थे होला,' उनी भन्छन्, 'बरु उल्टै मेरो उद्योग वरिपरिको जग्गा अतिक्रमणमा परेको छ ।' उद्योग चलाउँदा आफूलाई अनावश्यक रूपमा सताउने गरिएको जालानको गुनासो छ ।
उद्योगनजिकै शान्ति विद्या निकेतन सञ्चालनमा छ । त्यहाँ अध्ययनरत बालबालिका पनि प्रत्यक्ष प्रभावित भएको स्थानीय बासिन्दा बताउँछन् । विषाक्त धुवाँका कारण आँखा पीरो हुने नेपालगन्ज-१२ बेलासपुरका कञ्चन श्रेष्ठ बताउँछन् ।
भन्छन्, 'विषाक्त धुवाँ सहन नसकेर बालबालिका स्कुल जानै मान्दैनन्, विद्यार्थी संख्या पनि घट्दै गएको छ ।'
भेरी अञ्चल अस्पतालका डा. राजन पाण्डे फर्मालिन र फेबिकोलले स्वास्थ्यमा गम्भीर असर पुर्याउने बताउँछन् । उनका अनुसार आँखा रातो हुन्छ, छालाको एलर्जी हुन्छ र श्वास प्रश्वासको समस्या निम्तिन्छ ।
'फर्मालिन र फेबिकोलले कलेजोमा सीधा असर गर्छन्,' डा. पाण्डे भन्छन्, 'स्नायु प्रणालिमा पनि असर पुर्याएर स्मरण शक्ति कमजोर बनाउन सक्छन् ।'
१७ फागुन ०६८ मा साविक इन्द्रपुर-९ स्थित एसएम प्लाइउड उद्योगमा पानी तताउने बोइलर मेसिन विष्फोट हुँदा दुई जनाको ज्यान गएको थियो । उक्त घटनापछि धम्बोझी र बेलासपुरका बासिन्दा त्रसित देखिन्छन् ।
'उद्योगको गन्धले खाना खान सकिँदैन,' नेपालगन्ज-१ का फौजदार बर्मा भन्छन्, 'बोइलर मेसिनको त्रासले रातभर राम्ररी निद्रा पर्दैन ।'
दुवै वडा कार्यालयले कारवाही प्रक्रिया अगाडि बढाइदिन नगर प्रमुख डा. धवलसमशेर राणालाई सिफारिस गरे पनि उपमहानगरले कुनै कदम चालेको छैन । नेपालगञ्ज-१ का वडाध्यक्ष प्रमोद रिजालले २६ वैशाख र १२ का वडाअध्यक्ष बुद्धिसागर सुवेदीले २८ वैशाखमा उद्योगमाथि कारवाही सिफारिस गरेका थिए ।
नगर प्रमुख डा. राणा राप्रपाका महामन्त्री हुन् भने उद्योग सञ्चालक जालान सोही पार्टीका केन्द्रीय सदस्य । सोही कारण उद्योगविरुद्ध कारवाही अगाडि बढाउन नगर प्रमुख डा. राणाले आनाकानी गरिरहेको स्थानीय बासिन्दाको आरोप छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४