शुक्रबार, वैशाख १४, २०८१

आयु सकिएको कोशी ब्यारेज, सरकारलाई छैन चिन्ता !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
इटहरी- सन् १९५६ मा कोशी ब्यारेज उद्घाटन गर्दा त्यसको आयु बताइएको थियो, २५ वर्ष अर्थात् सन् १९८१ सम्म । पूर्वघोषित आयु सकिएकै ३७ वर्ष बित्यो, यसको विकल्प कसैको दिमागमा सुझेको छैन ।

२५ अप्रिल १९५४ मा भएको कोशी सम्झौतासम्बन्धि विवाद कायम छ, अझै । तत्कालीन राजा महेन्द्र र भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले उक्त ब्यारेज उद्घाटन गरेका थिए । 

११ सय ५० मिटर लामो ब्यारेजले सुनसरी र सप्तरी जोड्छ, जुन पूर्व-पश्चिम राजमार्गको एक अंग पनि हो । पानी नियन्त्रण गर्न ५६ वटा ढोका छन्, ब्यारेजमा । पुलबाट दैनिक सयौं गाडी गुड्छन् ।

मर्मतमा भारतीय बेवास्ता

जानकारहरूका अनुसार ब्यारेजको मर्मत भारतको जिम्मेवारी रहने सम्झौता छ । 'भारतले नै सम्पूर्ण मर्मतसम्भार र पुनर्निर्माण गर्नुपर्ने सम्झौताविपरीत आयु सकिएको चार दशक हुन लाग्दा पनि चासो दिइएको छैन,' पूर्वसांसद कुन्ता शर्मा भन्छिन् । 

यसबारे स्थानीयस्तरबाट पटक-पटक नेपाल सरकारको ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ नभएको उनी बताउँछिन् । सांसद छँदा तत्कालीन संसदमा शर्माले आवाज उठाएकी थिइन् । तर, सरकारले चासो देखाएन । 

ब्यारेजबारे चासो र सरोकार राख्ने धेरैले आवाज उठाए पनि सम्बोधन हुन नसकेको एमाले सुनसरीका नेता वसन्त सुवेदी बताउँछन् । 'जोखिमपूर्ण रूपमा पुलबाट आउजाउ जारी छ,' उनी भन्छन् । 

कानूनी आधार छैन: प्रजिअ

ब्यारेजका सुनसरी र सप्तरीतर्फका नहरका दुवै पुल पनि जोखिममा रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेती बताउँछन् । 

जोखिम कम गर्न जिल्ला तहबाट गर्न सकिने कुनै कानूनी आधार नभेटेको उनको भनाइ छ । 'केन्द्रस्तरको सरकारी तवरमा मात्रै ब्यारेजबारे कामहरू हुने भएकाले समस्या समाधानका लागि तत्काल कदम चाल्न अप्ठ्यारो भएको छ,' प्रजिअ उप्रेती भन्छन्, 'त्यसैले विराटनगरस्थित भूअर्जन कार्यालयमार्फत् ध्यानाकर्षण गराएका छौं ।'

सुनसरीसँग भारत विहारको सुपौल जिल्ला जोडिन्छ । दुवैतर्फका जिल्ला अधिकारीहरूको तहबाट कोशी ब्यारेजबारे ठोस काम गर्ने अधिकार प्रत्यायोजन गरिएको छैन । 

द्विपक्षीय सम्झौताका कारण नेपाल एक्लैले पनि केही गर्न सक्ने कानूनी आधार नभएको प्रजिअ उप्रेती बताउँछन् । 
 

सप्तकोशी ब्यारेजको आयु सन् १९८१ सम्मको मात्र हो । ३७ वर्षपछि पनि नेपाल र भारत दुवैलाई यसको मर्मत र पुनर्निर्माणमा चासो देखिँदैन ।

  
थुप्रिँदै बालुवा, होचा बन्दै बस्ती

नदीसँगै बगेर आउने बालुवा ब्यारेजमा आएर थेग्रिन्छ । सोही कारण दुवै किनारमा बसेका बस्तीभन्दा अग्लो हुँदै गएको छ, नदीको सतह । 

'मैले थाहा पाउँदा ब्यारेजभन्दा बस्ती अग्ला थिए,' कोशी गाउँपालिकाका अजय यादव भन्छन्, 'पछिल्ला वर्षमा ब्यारेज क्रमशः अग्लो हुँदै गएको छ ।' 

नदीमा पानीको सतह बढ्नासाथ आसपासका बस्ती र खेतीयोग्य जमिन डुबानमा पर्न थालेका छन् । 

भारतीय अखबार फाइनान्सियल एक्सप्रेसले १ सेप्टेम्बर २००८ को अंकमा आसपासका बस्तीभन्दा ब्यारेज तीन मिटर अग्लो बनिसकेको उल्लेख गरेको थियो । उक्त समाचार प्रकाशित भएकै एक दशक नाघ्दैछ । 

यसबीचमा ब्यारेजको उचाइ त्यसभन्दा बढी भइसकेको अनुमान छ । सतहको मापनमै पनि कुनै निकायको ध्यान देखिँदैन । 

दुर्घटना भए भारतमा बढी नोक्सानी

जानकारहरूका अनुसार करिब चार दशकको हेलचेक्र्याईं कायम रहे ब्यारेजमा जुनसुकै समयमा दुर्घटना हुने जोखिम छ । 

२ भदौ ०६५ मा सुनसरीको कुसाहा गाविसस्थित तटबन्ध भत्काउँदै सप्तकोशी नदी बस्तीतिर पसेको थियो । जसका कारण नेपाल र भारतका करिब २३ लाख मानिस प्रभावित भएका थिए । 

विहारका सुपौल, अररिया, सहर्षा, मधेपुरा, भागलपुर, पश्चिम चम्पारण र पुर्णिया जिल्लासम्मका मानिसले बाढीको कहर सामना गर्नुपरेको थियो । उक्त वर्ष विहारमा आएको बाढी इतिहासकै ठूलोमध्येको थियो । 

त्यसैले ब्यारेजमा दुर्घटना भए नेपालका सुनसरी र सप्तरी मात्र प्रभावित हुन्छन् । विहारका आधा दर्जनभन्दा बढी जिल्लाका बासिन्दाको उठिवास लाग्छ । 

सप्तकोशीमा डेढ लाख क्युसेक प्रतिसेकेन्ड पानी बग्नु असामान्य मानिन्छ । निर्माणताका आठ लाख क्युसेक पानी थाम्ने बताइएको थियो । तर, ब्यारेजको सतह उठेको र जीर्ण बन्दै गएकाले डेढ लाख क्युसेक पुग्नासाथ खतराको सूचक रातो बत्ती बाल्ने गरिएको छ । 

जबकि, करिब पाँच दशकमा पाँच लाख क्युसेकसम्म पानी ब्यारेजबाट तल्लो तटीय क्षेत्रमा पठाइएको अभिलेख छ । गत वर्षायाममा एक लाख ७० हजार क्युसेक पानी बगेको थियो । 

त्यसैले ब्यारेजको मर्मत अत्यावश्यक भएको इन्जिनियर राजन गौतम बताउँछन् । 'तोकिएको आयु सकिनासाथ मर्मत र स्तरोन्नती हुनुपर्ने ब्यारेज अझै उस्तै रहनु गम्भीर लापरवाही हो,' गौतम भन्छन्, 'मानवीय, प्राविधिक र सम्झौता सबै कोणबाट मृत्युको जोखिम बोकेर बस्नुजस्तो हो, यो अवस्था ।' 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।