रुकुमपूर्व - भूमे गाउँपालिका-८, सिमखोला (पूर्साबाङ)मा बाटो खन्ने क्रममा माथिबाट झरेको सुक्खा पहिरोले पुर्दा स्काभेटर चालकको मृत्यु भएको छ।
पहिरोले पुर्दा भूमे–१, लुकुमका ४२ वर्षीय कर्णवीर पुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय खाबाङका प्रहरी प्रमुख सविन शाहले जानकारी दिए। पहिरोले पुरेको स्काभेटरको बकेट मात्र देखिएको छ।
घटना भएलगत्तै प्रहरी घटनास्थलमा पुगे पनि तत्काल उद्धार सम्भव नभएको उनले बताए। अहिले सो ठाउँमा अर्को डोजरको सहायताले माथिबाट झरेको पहिरो हटाउन सुरु गरिएको उनको भनाइ छ।
शाहका अनुसार पुर्साबाङ–रुकुमकोट–कुचिवाङ–कोर्जा–तमारी–लावाङ सडकखण्डअन्तर्गतको पुर्साबाङमा सडक खन्ने क्रम जारी थियो।
उक्त ठाउँमा कमजोर माटो भएको हुँदा मानिसले नै खन्ने र उपकरणको प्रयोग नगर्ने भनिएको गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगरले बताए। उनले ठेकेदार कम्पनीले उपकरण प्रयोग गरेपछि दुर्घटना भएको जानकारी दिए। रासस