शुक्रबार, वैशाख १४, २०८१

सुशीला भन्छिन्, 'रोक्न खाेजियो तर म डराइनँ '

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- सुशीला कार्कीको परिचय पूर्वप्रधानन्यायधीश मात्र होइन । नेपालको न्याय क्षेत्रमा उनको आफ्नै विशिष्ट पहिचान छ । निर्भिक न्यायमूर्ति सुशीलाको न्यायिक सक्रियताले मुलुक नै तरगिंत भएको थियो । प्रथम महिला प्रधानन्यायधीश बनेर इतिहास रचेकी सुशीलाले दुरगामी महत्वका थुप्रै साहसिक फैसला गरेकी छिन् ।

अनेक खाले दबाब र भनसुनलाई निकै संयम र साहसका साथ सामना गर्दै न्यायलाई थप प्रभावकारी र स्वच्छ बनाउन उनले जुन भूमिका निर्वाह गरिन्, त्यसको नागरिक स्तरमा समेत प्रशंसा भइरहेको छ । उनका केही कदम र फैसलालाई लिएर विवादमा तान्न खोजियो । बिना कारण महाअभियोग लगाएर उनको अपमान गर्ने प्रयास पनि भयो । तर उनी अलिकति पनि विचलित भइनन् । 

उनी भन्छिन्, 'यहाँ अनेक चलखेल हुन्छ । मलाई पनि प्रभावित गर्ने र रोक्न खोज्ने खेल भएको थियो । रोक्न खोजे पनि म डराइनँ । थप संयम र साहसका साथ अघि बढे ।' सेवा निवृत्त भएपछि सामान्य जीवन बिताइरहेकी सुशीलासँग उनकै निवासमा नेपाल समय टिमले विशेष भलाकुसारी गरेको थियो । विस्तृत सुशीलाकै शब्दमा ...
...

मानिस जन्मिँदा वेशै हुन्छ । वातावरण, समाज र परिस्थितिले कस्तो बनाउँछ भन्ने मात्रै हो । मैले ३१ वर्ष वकालत गरें, आठ वर्ष पाँच महिना १५ दिन न्यायाधीश भएँ । नेपालमा 'क्लिन जुडिसियरी' र 'क्लिन' वकालत भनिहाल्न मिल्दैन । केही न केही साँघुरा छन्, ती दुवैमा ।

न्यायपालिकाको बाटो विधिको शासन हो । केही वकिल राम्रै हुनुहुन्छ । न्यायाधीशहरू पनि राम्रो हुनुहुन्छ । कोहीचाहीं समय र परिस्थितिअनुसार ढलेको पनि चाहिन्छ । वकालत पेशाबाट न्यायाधीश भएकी हुँ म । 

मैले नरोकिइकन वकालत गरें । बहस गर्दागर्दै न्यायाधीश भएँ । करिब ४० वर्ष एकदम व्यस्त भएँछु । वकालत गर्दा कतै घुम्न गइएन । न्यायाधीश हुँदा पनि एकदमै व्यस्त भएँ, थकित हुनेगरी । 

धेरै सैद्धान्तिक कुरा पनि कसो–कसो ज्यादै 'आइडियल' हुँदा रहेनछन् । ज्यादै आदर्श पनि एक खालको हुँदो रहेछ । ज्यादै कानुनसम्मतभन्दा पनि एक खालको परिस्थिति हुँदो रहेछ । अदालतमा राजनीति घुस्न दिनु हुँदैन भन्ने मेरो मान्यता हो । अदालत स्वतन्त्र निकाय हो । 

राजनीतिमा मत मतान्तर हुन्छन् । कुनै दल सत्तामा आउँदा त्यसको पछि अदालत लाग्ने होइन । कुनै परिवर्तन हुँदा पनि अदालत त्यसको पछि लाग्ने होइन ।

जहिले पनि अदालतको निर्णय अटल हुनुपर्छ । शुरुदेखि अन्त्यसम्म उसले दिने न्याय कानूनी सिद्धान्तका आधारको हुनुपर्छ । दल विशेषको सुविधाका लागि कानुन नै काटिने काम गर्नुहुँदैन । अदालत एकदमै सोझो बाटोमा हिँड्ने संस्था हो । कसका पालामा के भए भन्ने लुक्ने कुरा होइन । सञ्चारमाध्यममा आएकै छन् । 



म अरूको ठेक्का लिन्न र जिम्मा लिन पनि चाहिनँ । मेरो पालामा मैले के गरें भन्ने हो । राजनीतिको कुरा गर्दा बीपी कोइराला, मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला, गणेशमान सिंहसम्मका उच्चस्तरका नेतालाई चिनेको थिएँ । 

वकालतमा त बोल्न, हिँड्न र सभा गर्न स्वतन्त्रता हुन्छ । वकालतको समयमा पनि राजनीतितिर गइनँ । बरू, देशभित्रकै मानवअधिकार संस्था र कानुन व्यवसायी संघमा गएँ । कानुन व्यवसायी धेरै साथी राजनीतिक दलको सदस्य हुनुभयो तर मैले कसैको सदस्यता लिइनँ । 

जबकि, अदालतकै अघिल्तिर कोइराला निवास थियो । मेरो पूरै परिवार राजनीतिमा थियो । र, पिताजी नै कांग्रेसको राजनीतिमा हुनुहुन्थ्यो । 

अहिलेका नेताहरूलाई त म खासै चिन्दा पनि चिन्दिनँ । देखाभेट हुँदा बोलचाल छ । नेताहरूसँग पनि मेरो आउने–जाने भएन । कुनै नेतासँग सान्निध्यता पनि भएन । म कानुन र निष्ठामा हिँडेको मान्छे । 

बरु नेपालमा विश्वविद्यालयहरूमा र्‍यागिङु गरिँदैन । तर, न्यायाधीश बनेपछि ुर्‍यागिङु सुरु हुन्छ  सल्लाह गर्न आइज, छलफल गर्, हामीलाई तैलें के सुविधा दिन्छस् । मैले थाहा पाएको छु त्यहाँ बसेर । 

निष्ठा भएको न्यायाधीशले त्यो कुरा मान्दैन । 'मलाई राखे राख वा नराखे नराख' भन्ने प्रधानन्यायाधीश पनि आउनुभयो । कसैले छलफल र सल्लाह पनि गर्नुभयो होला । कतिले बाचा पनि गर्नुभयो होला । 

तर, मैले त्यसो गर्न एकदमै चाहिनँ । दिए देऊ, नदिए नदेऊ । संसदीय सुनुवाइमा भनेकी थिएँ, 'तपाईंहरूको सामना गर्न आएँ । मलाई प्रधानन्यायाधीश बनाए बनाउनोस् नत्र नबनाउनोस् । मलाई मतलव छैन ।' 

कामु प्रधानन्यायाधीशबाटै हटाइएको भए पनि मलाई केही पछुतो हुने थिएन । 

बरु नेपालमा विश्वविद्यालयहरूमा र्‍यागिङ गरिँदैन । तर, न्यायाधीश बनेपछि  र्‍यागिङ सुरु हुन्छ  सल्लाह गर्न आइज, छलफल गर्, हामीलाई तैलें के सुविधा दिन्छस् । मैले थाहा पाएको छु त्यहाँ बसेर । 


एकदमै 'ल एन्ड अर्डर'मा हिँड्न खोज्दा मैले धेरै प्रहार खेप्नुपर्‍यो । कुनै–कुनै नेताले म न्यायाधीश हुँदा पनि बोलाउनुभयो । मैले ठाडै जवाफ दिएँ, 'तपाईंले जे भनिरहनुभएको छ, मैले त्यसो गर्न सक्दिनँ । मेरो मनले त्यसो गर्न मान्दैन र म त्यसको लागि बनेकी पनि होइन ।' 

मैले 'टसल' र विवाद खेप्नुको कारण पनि त्यही हो । मैले सम्झौता गरेको भए मेरा लागि राम्रै हुन्थ्यो होला । तर, कानुनको बाटो छाडिनँ, भनसुन स्वीकारिनँ अनि नेताहरूसँग भलाकुसारी पनि गरिनँ । 

भनसुन र दबाबमा नपर्ने मेरो स्वभावकै कारण अन्तिम समयसम्म कसैले आँट गरेन । कोही भन्न पनि आएन र कसैको दबाब पनि आएन । भनेकै नसुन्ने भएपछि सवालै उठ्दो रहेनछ । तर, मेरो श्रीमानले बढी दबाब खेप्नु भएछ । अरूको कुरा सुन्नुपर्ने भएछ, उहाँले ।

लोकमानको मुद्दामा नातेदारको दबाब

लोभ र पाप भन्ने कुरा अनौठो रहेछ । लोकमानसिंह कार्कीको केसमा कोठामा आँटी÷नआँटी नातेदारहरू भेट्न आउनुभएको थियो । कार्की, कार्कीको साइनो लगाउनुभयो । मेरो माइती र लोकमानजी दुवै लामा कार्की । 

हाम्रो देशमा ठूलो पदमा पुगेको मानिसलाई नाता लगाउँदै खोजी–खोजी पुग्ने चलनै छ । गरिब र खान नपाउने रहेछ भने कसैले खोजी गर्दैन । लोकमानजी मैले जुठै बार्नुपर्ने नाताको मान्छे हो भन्ने लाग्दैन ।

लोकमानजीको मुद्दा मैले हेर्न नपाउने भए त देशभरिकै लामा कार्कीको मुद्दा नहेर्नुपर्ने हो । केही नातेदार त लोकमानसिंहको मुद्दा के हुन्छ भनेर भविष्यवाणी गरिदिन आग्रह गर्दै पनि आए । 

लोकमान आफैं या उहाँका नातेदार भने भेट्न आउनुभएन । प्रधानमन्त्री र मन्त्रीले भन्न आएनन् । त्यो रिट मैले फैसला गरेको पनि होइन, मेरो बेन्चबाट निस्सासम्म दिएको हो । त्यसअघि अन्तरिम आदेश दिएर मैले झिकाएको थिएँ । फैसलाचाहीं अरू श्रीमान्हरूले गर्नुभएको हो । 

लोकमानजीको मुद्दामा केही नेता पनि लाग्नुभएको थियो । केही नेता त भगाउनेमा पनि हुनुहुन्थ्यो । पछि कुनै नेताले भनेका थिए, 'तपाईंले राम्रो काम गर्नुभएन ।' उहाँहरूलाई के उपलब्धि हुन्थ्यो भन्ने मलाई थाहा भएन । 

आफ्ना मान्छे पार्न बखेडा

मेरो मनमा पाप छैन । म एकदम गंगाजी बराबर छु । यदि त्यस्तो हुँदो हो त ८० जना न्यायाधीश नियुक्ति गर्दा ५÷६ जना आफ्ना मान्छेलाई जसले पनि प्रवेश गराउँछन् । मैले त्यसो गरिनँ । 

प्राकृतिक न्याय र प्राकृतिक कानुनको सिद्धान्तका आधारमा आफ्नै मान्छेलाई फाइदा दिलाउने, आफ्नै मान्छेको मुद्दा हेर्ने, आफ्ना मान्छेलाई सहुलियत दिने काम गर्नुहुँदैन । 

म त्यही सिद्धान्तबाट 'गाइडेड' थिएँ । मेरो परिवारमा पनि प्रशस्त वकिलहरू छन् तर मैले एक जनालाई पनि ल्याइनँ ।

सात वर्षदेखि मैले आफूलाई 'क्लिन' राख्दै आएकी थिएँ । नियुक्ति गर्ने बेलामा ठूला मान्छेका ज्वाईं, भान्जी ज्वाईंका लागि सिफारिस आउँदो रहेछ । परिषद्का सदस्यहरूको भनाइ हुन्थ्यो, 'आफ्नो मान्छे भएको बेला त हो नि आफ्ना मान्छेलाई गर्ने । आफ्नो मान्छे नभएको बेलामा कसले ल्याइदिन्छ त ?' हाम्रो संस्कृति नै त्यस्तो ।
 

लोकमानसिंह कार्कीको मुद्दामा केही नेता पनि लाग्नुभएको थियो । कुनै नेताले भनेका थिए, 'तपाईंले राम्रो काम गर्नुभएन ।'


संघीयताको कार्यान्वयन न्यायपालिकाबाट

हामीले न्यायपरिषद्बाट संघीयता कार्यान्वयनका लागि आफ्नो काम गर्‍यौं । सरकारले संघीय प्रदेशको राजधानीबारे निर्णय गरेको थिएन । भौगोलिक स्थिति हेरेर सातै प्रदेशका उच्च अदालतको मुकाम तोक्यौं । 

प्रदेशको एक ठाउँबाट अदालत जान अर्को प्रदेश छिचोल्नुपर्छ । नेताहरू बोल्दा घरदैलोमै न्याय भन्ने, प्रदेशको बाँडफाँट भने त्यस्तो छ । 

त्यसैले हामीले ११ वटा इजलास गठन गर्‍यौं । १८ वटा अदालतका लागि हामीलाई एक सय ८० जना न्यायाधीश आवश्यक हुन्थ्यो । त्यतिबेला ८० जना मात्र न्यायाधीश थिए । तीमध्ये ४० जना अदालतमा बस्न सक्ने अवस्थामा थिएनन् । 

कोही तालिम र सेमिनारमा विदेश जाने थिए । कोही श्रीमतीलाई क्यान्सर भएको बताउँदै धरधरी रुन्थे । मानवीय दृष्टिले पनि श्रीमती बिरामी हुँदा श्रीमान् बस्नैपथ्र्यो । श्रीमती छाडेर काम गर्न जाऊ भन्न सकिँदैनथ्यो । 

बाँकी ४० न्यायाधीशले १८ वटा अदालत, सात मुख्य र ११ वटा शाखामा काम गर्न सक्ने कुरा थिएन । उच्च अदालतहरूबाट एक जना मात्र न्यायाधीश भएको गुनासो आउँथ्यो । थुनछेक बहसमा दुई न्यायाधीश आवश्यक हुन्छ । 

मैले हिम्मत गर्दै भनें, 'हेर्नूस्, मानिसले यति थोरै गल्ती गरेर पनि राम्रो हुन्छ भने गर्नुपर्छ । एउटालाई मारेर मुलुक बन्छ भने एउटालाई शहीद बनाएर गर्न पनि सकिन्छ ।' 
 

अहिलेका न्यायपरिषद् सदस्य राजनीतिक दलको झण्डै बोक्ने मान्छे हुन् । उनीहरूले जे जे भन्छन्, नेताले त्यही त्यही गर्ने हो ।


न्यायपरिषद्मा राजनीति

न्यायपरिषद् सदस्यहरू कसैलाई भाञ्जा र कसैलाई ज्वाईं ल्याउनुथियो । कसैलाई भाञ्जी र कसैलाई बुहारी ल्याउनु थियो । नेताहरूको त कुरै छैन, उहाँहरूबीच भागबण्डै थियो ।

समस्या विकराल थियो । त्यही हालतमा छाडेर हिँडेको भए ममाथि नालायकको आरोप लाग्थ्यो । 

न्याय परिषद्का सदस्यहरू कात्तिकदेखि पुससम्म १६/१७ वटा बैठक गर्नुभयो । आन्तरिक बढुवा तथा वकिलहरू र सरकारी वकिलहरूबाट सिफारिस भएकाहरू सबै न्यायाधीशको नाम छनोट गरियो । अन्तिम दिनमा आएर न्यायाधीश नियुक्ति नगर्ने कुरा भयो । आफ्ना मान्छे ल्याउन नदिएपछि म तगारो बनें । 

उनीहरूले मलाई 'तिमी पनि २/४ जना आफ्ना मान्छे लेऊ न' भनिरहेका थिए । मैले भनें, 'हुँदैन, म नै अध्यक्ष भएको बेला मेरा मान्छेलाई म गरौंला त ?'

उनीहरूले मलाई सरापुन् वा गाली गरुन् तर आज अदालत चलिरहेको छ । मैले हुँदैन नभनेको भए गोपाल पराजुली निस्किने बेलामा पनि नियुक्ति हुने थिएन । बरू, संस्कार डुबाउने तर आफ्ना मान्छे ल्याउन नछाड्ने प्रवृत्ति रहेछ हामीकहाँ । 

त्यतिबेलाको नियुक्तिलाई के आधारमा भागबण्डा भन्ने ? सबै पढेलेखेका र प्राध्यापकहरू पनि थिए । तीमध्ये कसैको निधारमा कांग्रेस या एमाले लेखेको थिएन । तयार पारिएको सूचीकै आधारमा छनोट गरिएको थियो । न त स्वर्गबाट ल्याइएको थियो, न नर्कबाट । 

नेताहरूप्रति बफादार नबन्दा महाभियोग

महाभियोग लगाउनुपर्ने कारण के भन्ने खोई ? मैले गलत काम गरेकै छैन । कानुनको व्याख्या र परिभाषाभन्दा बाहिर गएको पनि छैन । घुस खाएको छैन । 

उहाँहरूले आफूप्रति बफादार न्यायाधीश पाउनुभएन । उहाँहरूले भनेको मान्ने न्यायाधीश–प्रधानन्यायाधीश चाहिन्थ्यो । अझ, सकेसम्म प्रधानन्यायाधीश र न्यायाधीशको पार्टी पनि छर्लंग खुलोस् । 

मैले कमाएको नाम नेताहरूले दिनुभएको होइन । कर्म र मुलुकले मलाई प्रधानन्यायाधीश बनायो । नेताहरू तीन महिनासम्म हल्लाएर फाल्न लाग्नुभएको थियो । अर्कै मान्छे छान्दै हुनुहुन्थ्यो, सक्नुभएन । 

महाभियोग लगाउँदा मैले केही भनिनँ, जनता नै सडकमा आए । इमानदार मानिसका लागि जनता सडकमै आउँदा रहेछन् । 

उहाँहरू सबै मिलेर महाभियोग पारित गरेको भए पनि मलाई केही फरक पर्दैनथ्यो । जनताले मेरो इमानदारिता चिनिसकेका थिए । उहाँहरू प्रस्ताव फिर्ता लिन बाध्य हुनुभयो । 


संविधान संगठित छैन, छासमिस छ

शक्ति पृथकीकरणका सन्दर्भमा न्यायालयलाई राजनीतिकरण गरिनु हुन्न । संविधान बन्नुअघि कानूनी प्रभुसत्ता पछाडि हुन्छ, राजनीतिक प्रभुसत्ताले बढी काम गर्छ । ७/८ वटा दलहरू मिल्दा कानुन बनिहाल्थ्यो । उनीहरूले गरेको निर्णयमा अदालतमा प्रश्न उठाउन पनि नमिल्ने । 

लिखित कानुन त सैद्धान्तिक हिसाबबाटै बनेका छन् । सात दलका नेताले बोल्नेबित्तिकै अदालतले मान्नुपर्छ भन्ने छैन । रामप्रसाद श्रेष्ठ, खिलराज रेग्मी, कल्याण श्रेष्ठजस्ता प्रधानन्यायाधीशले पनि सात दलका नेताहरूले भनेको मान्नुभएजस्तो लाग्दैन ।

हाम्रो संविधान संगठित नभई छासमिसे भएको छ । विषयहरू सिलसिलाबद्ध छैनन्, संविधानमा । धेरै त्रुटी छन्, त्यसलाई सच्याउनुपर्छ भन्ने हामीलाई लागेको छ । संविधानमा महाभियोगको कुरा निहित स्वार्थबाट आएजस्तो देखिन्छ । त्यति लचिलो बनाउनु हुँदैनथ्यो, यसलाई । 

न्यायपरिषद्लाई पनि 'मोडरेट' हिसाबले लान सकिन्थ्यो । त्यहाँ अहिले न्यायाधीशको कम र बाहिरका मानिस बढी छन् । त्यसैले हो, त्यहाँ राजनीति बढी भएको पनि । 

न्यायपरिषद् नै राजनीति गरिरहेको छ । मन्त्रीलाई राख्दा राजनीतिबाट न्यायपालिकामा प्रभाव पार्छन् । अन्तरिम संविधानको प्रावधानबमोजिम संरचना आयो, न्यायपरिषद्को । 

न्यायपरिषद्मा त अझै राजनीतिक दलको लाइन नै लगाउने कुरा थियो । एउटा जत्थै न्यायाधीश छनोट समितिमा राख्ने कुरा थियो । कम्तिमा त्योचाहीं हुन दिइएन । 

मैले कुनै बेला विद्यार्थी राजनीति गरेकी थिएँ । र, राजनीति शास्त्र पनि पढेकी छु । त्यसैले न्यायपालिका र विधायिका कस्तो हुनुपर्छ भन्ने ज्ञान छ, मसँग । यी दुईबीचको शक्ति सन्तुलनबारे पनि जानकार छु । 

संविधानमा कार्यापालिकाको प्रभाव राज्यका हरेक अंगमा पार्न खोजिएजस्तो देखिन्छ । तर, न्यायपालिकाका आफ्ना मान्यता र सिद्धान्त हुन्छन् । 

नियुक्तिमा कार्यपालिकाको प्रभाव

नियुक्तिको समयमा कार्यपालिकाले न्यायपालिकामाथि प्रभाव पार्न खोज्छ । त्यो दबाबबाट प्रभावित हुनु÷नहुनु व्यक्तिगत कुरा भयो । 

न्यायपरिषद् सत्तारुढ दलबाट प्रभावित हुन्छ, अहिले । प्रधानमन्त्रीको सिफारिसबाट राष्ट्रपतिको पनि एउटा वकिल हुन्छ । ऊ पनि प्रभावितै हुन्छ । नेपाल बार एसोसिएसनबाट पनि प्रभावित हुन्छ । नेपाल बार पनि चोखो छैन । 

न्यायपरिषद्मा दुई जना न्यायाधीश मात्र हुन्छन्, प्रधानन्यायाधीश र वरिष्ठतम न्यायाधीश । वरिष्ठतम न्यायाधीश नै निकट भविष्यमा प्रधानन्यायाधीश बन्ने हो । त्यसैले ऊ स्वाभाविक रूपमा प्रभावित हुन्छ । 

प्रधानन्यायाधीश पनि प्रभावित हुनुपर्छ, बजेट जोडिन्छ त्यहाँ । संरचना निर्माण र सञ्चालनलगायत धेरै विषयमा प्रधानन्यायाधीशले कार्यपालिकाबाट सहयोग लिनुपर्ने हुन्छ ।

अहिलेकै प्रधानन्यायाधीश नेताहरूको निवासमा पुग्नुभयो भन्ने विवाद आएको छ । उहाँ असल भए÷नभएको कुरा आफ्नो ठाउँमा छ । तर, कामुमै राखिरहन खोजेपछि 'कन्फर्म' हुन त दौडधुप गर्नै पर्‍यो, सबैलाई भन्नै पर्‍यो । के गर्ने ? सभ्य ठाउँ, सभ्य राज्य र सभ्य नेता हुने हो भने त्यसो गराउँदैनन् । 

पहिलेका न्यायपरिषद् सदस्य मोतिकाजी स्थापित, मुकुन्द रेग्मीहरूले कहिल्यै हस्तक्षेप गर्दैनथे । त्यसैले सबै कुरा व्यक्तिमाथि नै भर पर्छ । 

अहिलेका न्यायपरिषद् सदस्य राजनीतिक दलको झण्डै बोक्ने मान्छे हो । डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए)मा पनि जान्छन् र न्याय परिषद् (सीएलए) मा पनि आउँछन् । उनीहरूले जे जे भन्छन्, नेताले त्यही त्यही गर्ने हो । 

एक सदस्यले भने, 'मलाई २० वटा कोटा चाहियो नत्र बारले पनि मार्छ, नेताहरूले पनि मार्नु हुन्छ ।' त्यही भएर बिग्रिएको हो हामीकहाँ । 



पहिले यस्ता पनि प्रधानन्यायाधीशहरू आउनुभयो, हरेक पटक राजा वा प्रधानमन्त्री विदेश जाँदा र आउँदा एयरपोर्टमा विदाइ र स्वागत गर्न जानुभयो । न्यायाधीशले त्यसो गर्न मिल्दैन ।

नेपालमा एकदमै साहसी देखिएको प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठ हो । उहाँ भगवानको नाम ज्यादै लिनु हुन्छ । मलाई पनि भेट्नेबित्तिकै पशुपति गयौ भन्नुहुन्छ । उहाँलाई चित्त बुझाउन पनि वर्षको २÷४ पटक पशुपति जाने गर्छु । 

दुई दिनअघि मेरो संसदीय सुनुवाइ थियो । मैले एउटा ठूलो मुद्दा फैसला गरें । कतिको अनुमान थियो, म प्रधानन्यायाधीश बन्न सक्दिनँ भन्ने । 

तर, म भोलि मर्दैछु भन्ने थाहा पाए पनि मैले मुलुकलाई हित हुने कुरा छोडौंला त ? म मारिन्छु, निकालिन्छु वा मलाई अहित हुँदैछ भन्ने थाहा पाए पनि हामीले न्याय दिनै पर्छ । न्यायाधीशको धर्मै त्यही हो । 

कतिपय देशमा फैसलालगत्तै गोली ठोकिदिएका उदाहरण पनि छन् । तर, मलाई त्यससँग कुनै सरोकार थिएन । यी नेताले मलाई टिक्न दिने हुन् कि होइनन् भन्ने मैले कहिल्यै सोचिनँ । अहिले मलाई लाग्छ, मैले जे गरें, ठीक गरें । डर, लोभ र लाभ केही नराखी फटाफट काम गरें । 

जति धेरै मुद्दा भए, त्यति धेरै कर्मचारी र न्यायाधीश राख्नुपर्ने हुन्छ । फैसला गरिदियो भने त कार्यान्वयनमा जान्छ नि । न्यायपालिकाको विकृतिको अन्त्य कसरी गर्न सकिन्छ भन्ने सबै न्यायाधीश र कर्मचारीलाई जानकारी छ । 

गैर–बाटोमा नगए न्यायपालिका स्वच्छ हुन्छ । न्यायालयको काम मुद्दा हेर्ने र कार्यान्वयन गर्ने हो । 

न्यायालयमा केही गर्नु पर्दैन । न्यायाधीशहरू इजलासमा बस्ने, समयमा फैसला गरिदिने । फैसला समयमा लेखिदिने र त्यसलाई कार्यान्वयनमा लगिदिने । 

अहिले बेइमानी भइरहेको पक्ष कार्यान्वयन हो । कुनै व्यक्ति कसैको नाता रहेछ र अलिकति पैसा दिएको रहेछ भने १० वर्षमा पनि कार्यान्वयन हुँदैन । न्यायाधीशले पनि कसैको भनसुन सुनिदियो भने सिध्दियो, फैसला नै हुँदैन । 

पूरै हार हुनेजस्तो मुद्दा रहेछ भने पनि लामो समय फैसला नगरी राखिदिने । यस्तो भयो भने मुलुक कसरी चल्छ ? 

वर्तमान कानुन मन्त्रीले विकास निर्माणका काममा अदालतको अन्तरिम आदेशका कारण अवरोध भएको र राजश्वसँग सम्बन्धित मुद्दा फैसलामा एकदमै ढिलाइ हुने गरेको बताएको समाचार पढेकी थिएँ । बोल्नुभन्दा कामै गरेर देखाउन म मन्त्रीजीलाई सुझाव दिन्छु । 

सबै न्यायाधीशलाई अपराधी या असक्षम भन्न मिल्दैन । यो त न्यायाधीशहरूलाई तर्साएजस्तो भयो । यसरी न्यायाधीशहरूलाई तर्साउने काम गर्नु हुँदैन ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।