शुक्रबार, वैशाख १४, २०८१

युवा भन्छन्- राजा त हटे तर राजनीति सुध्रिएन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- गणतन्त्रको १२ वर्षे यात्रासँग सन्तुष्ट छैनन्, भक्तपुरका किरण किलम्बू । रत्नराज्य क्याम्पसबाट राजनीतिशास्त्रमा स्नातक गरेका उनलाई अझै 'पोलिटिक्स इज अ डर्टी गेम' नै लाग्छ । 

'राजनीतिमा अनेक नीति र चाल हुन्छन्,' किलम्बू भन्छन्, 'हामीले स्वतन्त्रता पायौं तर त्यसको उचित प्रयोग गर्न सकेका छैनौं ।' आम नेपालीझैं १० वर्षे गणतन्त्रको यात्राबाट खासै परिवर्तन अनुभूती गर्न सकेका छैनन्, उनले पनि । 

गणतन्त्रको अभ्यास केवल राजाबाट राष्ट्रपति चुन्नमै सीमित बनेकामा उनलाई चित्त बुझेको छैन । भन्छन्, 'केही हदसम्म संघीयताले बाटो पाएको छ । यो भने सकारात्मक पक्ष हो ।'

किलम्बूको बुझाइमा युवाले राजनीतिमा चासो दिनुको अर्थ कार्यकर्ता भएर नेताका पछाडि लाग्नु होइन । भन्छन्, 'आ–आफ्नो क्षेत्रमा सरल र इमानदारिताका साथ काम गर्नु हो ।'

तीन वटै तहमा निर्वाचित सरकारहरू संघीयताको अभ्यास थालेका छन् । आम जनतामा मुलुकले पाँच वर्षमा विकासको फड्को मार्ने आशा देखिन्छ । त्यस्तै आशा राख्छन्, सविन राई पनि । उनी मदन भण्डारी मेमोरियल कलेजमा स्नातकोत्तरका विद्यार्थी हुन् । 

राजनीति राज्य सञ्चालनको नीति भएकाले युवा वर्गले आफ्नो बौद्धिक विकास गर्न पनि यसबारे जानकारी राख्नु आवश्यक ठान्छन्, राई । भन्छन्, 'कस्तो पार्टीलाई भोट दिँदैछु भन्ने ज्ञान हुनुपर्छ ।'

शिक्षित नेतृत्व भए मात्र आम जनताले परिवर्तनको आभाष पाउने उनको बुझाइ छ । योग्य नेताहरूलाई जनता त्यसमा पनि युवाले ठम्याउन सक्नुपर्ने राई बताउँछन् । 

 

फेरि पनि भ्रष्टाचारको खेती मौलाउने जोखिम देख्छ युवा पुस्ता ।



युवा राजनीतिबाट टाढा रहेसम्म बुढापाका नेताहरूकै हालीमुहाली चलिरहने दाङका नरेश रेग्मीको निष्कर्ष छ । २९ वर्षका उनी राजनीतिमा संलग्न छन् । र, राजनीतिलाई फोहोरी खेलको संज्ञा दिनु युवालाई त्यसबाट टाढा राख्ने रणनीतिको उपज भएको बताउँछन् । भन्छन्, 'कुनै पनि चिज आफैंमा फोहोरी हुँदैन ।'

भोट हाल्ने र त्यस क्रममा सजगता अपनाउने अधिकारलाई युवा पुस्ताले बेवास्ता गर्नु नहुने उनी बताउँछन् । थप्छन्, 'आफूले चुन्न लागेको पार्टी वा उमेदवारका कम्तिमा ३० वटा सबल पक्ष हेर्नुपर्छ । र, खराब पार्टीहरूको बीचमा कम खराबलाई चुन्नुपर्छ, जसबाट भ्रष्टले ठाउँ पाउँदैनन् ।'

मौलिक अधिकार र संघीय शासन प्रणालीलाई परिवर्तनको आधारका रूपमा बुझेकी छन्, झापाकी गीता राजभण्डारीले । 'रूपमा नदेखिए पनि सारमा परिवर्तन भइरहेको छ,' उनी भन्छिन्, 'सामाजिक रूपान्तरण सन्तोषजनक रूपमा भइरहेको छ । गणतन्त्रका कारण जातीय विभेदको अन्त्य, मौलिक हक र वाक स्वतन्त्रता पाएका छौं ।' 

नेताहरू प्रति असन्तुष्टी

अझै पनि राजनीतिक दलका नेताहरूको कार्यशैली मन नपराउने जमात भने घटेको छैन । युवा पुस्तामा पनि त्यस्तो असन्तुष्टी कायम देखिन्छ । भोट माग्ने बेलामा घर–घर पुग्ने नेताहरू जितेर गएपछि निजी स्वार्थमा अल्झिन थालेको उनीहरू बताउँछन् । 

'गुणात्मकभन्दा मात्रात्मक विकास चाहने प्रवृत्तिले परिवर्तनको आभाष गर्न नसकेका हौं,' युवा नेता रेग्मी भन्छन् । 

उनको भनाइ जेसुकै होस्, भ्रष्टाचारको खेती फेरि पनि मौलाउने जोखिम देख्छ युवा पुस्ता । नेपाल ल क्याम्पसमा स्नातककी विद्यार्थी अप्सरा ओली यसैमा जोड दिन्छिन् । 

पछिल्ला दिनमा यातायात सिन्डिकेट र लोडसेडिङको अन्त्य भने सकारात्मक परिवर्तनका संकेत भएको ओली बताउँछिन् । 

भक्तपुर सुडालका सुधीर पराजुलीलाई उनका साथीभाइले नाम दिएका छन्, 'कुल ब्वाइ' । उनी साथीभाइलाई सकारात्मक बन्न प्रेरित गरिरहन्छन् । 

गणतन्त्र घोषणापछि जननिर्वाचित संविधानसभाबाट संविधान आउनुलाई उनी सकारात्मक परिवर्तन मान्छन् । कार्यान्वयनको पक्ष भने आशातीत बन्न नसकेकामा उनी निराशा व्यक्त गर्छन् । 

गणतन्त्र स्थापनाका १२ वर्षमा देश विकासको पूर्वाधार मानिने युवा पुस्ता भने राजनीतिको विपरित धारमै बगेको बग्यै छ । विकृतिविरुद्ध युवा पुस्ताले खबरदारी गर्न नसक्दा सही ट्रयाक समाउन सकेको छैन, राजनीतिले । 

यद्यपि, नेपालका नेताहरूको मगन्ते बानी अझै नगएकामा उनीहरू चिन्ता व्यक्त गर्छन् । हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण क्रममा पनि नेपाली नेताहरूको त्यही चरित्र उदांगिएको रेग्मी बताउँछन् । भन्छन्, 'देशले स्थायित्व पाएको हुनाले विस्तारै प्रक्रियागत रूपमा विकासतर्फ लम्किन सक्ने आशा गर्न सकिन्छ ।'
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।