शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • डेढ वर्षदेखि बन्द प्रशिक्षणको पर्खाइमा महिला क्रिकेट टिम

डेढ वर्षदेखि बन्द प्रशिक्षणको पर्खाइमा महिला क्रिकेट टिम

धेरै सम्भावना हुँदाहुँदै पनि प्रशिक्षण र पूर्वतयारीमा चासो नदिँदा नेपाली महिला टिमले अन्तर्राष्ट्रिय क्रिकेटमा अपेक्षाकृत् प्रदर्शन गर्न सकेको छैन।
 |  आइतबार, चैत २९, २०७७

विनय सापकोटा

विनय सापकोटा

आइतबार, चैत २९, २०७७

काठमाडौं– नेपालमा पछिल्लो समय पुरुष टिमको दुई र महिला टिमको दुई गरी क्रिकेटका चार वटा प्रतियोगिता भए। पुरुष टिमको घरेलु प्रतियोगितासँगै राष्ट्रिय टिमको बन्द प्रशिक्षण सुरु भएको छ।

triton college

महिलाको राष्ट्रिय टिमको बन्द प्रशिक्षण १३ औं दक्षिण एसियाली खेलकुद (साग) पछि भएकै छैन। डेढ वर्षदेखि राष्ट्रिय टिम अन्तर्राष्ट्रिय प्रतियोगिता र बन्द प्रशिक्षणविहीन छ। 

कोरोना महामारीका कारण लामो समय अन्तर्राष्ट्रिय खेल नभएपछि र महामारीको जोखिम कायमै रहेपछि खेल र बन्द प्रशिक्षण भएनन्।

अहिले बिस्तारै खेलाडी मैदान फर्किएका छन्। अन्तर्राष्ट्रिय प्रतियोगिता पनि सम्पन्न भइसकेका छन्। वैशाख ४ गतेदेखि पुरुष क्रिकेटको अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदै छ। महिला टिमको भने न प्रशिक्षक नियुक्त भएका छन्, न खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ।

आउँदो नोभेम्बरमा नेपालले विश्वकप छनोटको खेल खेल्दै छ। उमेर समूहको छनोट सेप्टेम्बरमा हुँदै छ। खेलाडी नै त्यसको तयारी चाँडै सुरु गर्नुपर्ने बताउँछन्। 

corrent noodles
Metro Mart

‘अब खेलाडी छनोट गरेर बन्द प्रशिक्षणमा बोलाइहाल्नुपर्छ,’ राष्ट्रिय महिला टिमकी उपकप्तान सीता राना मगर भन्छिन्, ‘पीएम कप र मेयर कपमा राम्रो प्रदर्शन गर्ने खेलाडीलाई सहभागी गराउनुपर्छ।’

धेरै सम्भावना हुँदाहुँदै अवसर नपाएपछि नेपाली महिला टिमले अन्तर्राष्ट्रिय क्रिकेटमा अपेक्षाकृत् प्रदर्शन गर्न सकेको छैन। दुई प्रतियोगितामा नयाँ खेलाडी पनि देखिएका छन्। उपकप्तान सीताकै नजरमा लक्ष्मी साउद र एपीएफकी राजमती ऐरीले राम्रो प्रदर्शन गरेपछि उनीहरू नजरमा परिसकेका छन्। नयाँ खेलाडी मिलाएर राष्ट्रिय टिम बनाउनुपर्ने सीता बताउँछिन्।

जिम्मेवारीमै छैनन् महिला प्रशिक्षक 

नेपाल क्रिकेट संघ (क्यान) ले सागमा जगत टमाटालाई महिला टिम सम्हाल्ने जिम्मा दिएको थियो। त्यसपछि पुरुष टिम पनि सम्हालेका टमाटा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का प्रशिक्षक हुन्।

सागपछि महिला टिमका कुनै प्रशिक्षक छैनन्। क्यानले महिला टिमलाई लामो समयका लागि भन्दा पनि प्रतियोगिताका आधारमा प्रशिक्षकको व्यवस्था गर्छ। यस्तो प्रवृत्तिले खेलाडीको स्तर वृद्धि नहुने राष्ट्रिय टिमकी कप्तान रुविना क्षेत्री बताउँछिन्। 

‘लामो समयसम्म एकै प्रशिक्षकले टिम सम्हाले पो राम्रो हुन्छ। प्रशिक्षकलाई खेलाडी बुझ्ने समय त चाहियो नि,’ उनी भन्छिन्, ‘एउटा प्रतियोगिता एउटा प्रशिक्षकले अर्को प्रतियोगिता अर्को प्रशिक्षकले अभ्यास गराउने होइन। जो प्रशिक्षक आए पनि उसले लामो समयका लागि हेर्नुपर्ने हुन्छ।’

पछिल्लो समय क्यानले क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ वाटमोरले महिला टिमलाई पनि प्रशिक्षण दिने बताएको थियो। त्यसो गरेमा पहिलेको समस्या दोहोरिने सम्भावना हुन्छ। लामो समय महिला खेलाडी हेर्ने प्रशिक्षक हुने छैनन्। प्रशिक्षक फेरिइरहने अवस्थामा पुग्छन्।

कप्तान क्षेत्री भन्छिन्, ‘वाटमोरले दुई चार वटा टिप्स दिनुहोला। उहाँले सधै‌ त हेर्ने होइन। अहिले हामीलाई विदेशी प्रशिक्षक पनि चहिएको छैन। देशमै पनि पर्याप्त प्रशिक्षक हुनुहुन्छ। उहाँहरुलाई नै धेरै समयको जिम्मेवारी दिए हुन्छ।’

खेलाडीमा घट्दो आत्मविश्वास

प्रशिक्षक र खेल नभएपछि खेलाडीको लय बिग्रने नै भयो। कप्तान रुविना पनि पीएम कप र मेयर कपमा नियाल्दा यस्तै महसुस भएको बताउँछिन्। 

क्यानले पीएम कप गर्ने घोषणा निकै अघि गरेको थियो। त्यसका लागि प्रदेश १ ले राम्रो तयारी ग¥यो र जित्यो पनि। तर मेयर कपमा जितको लय देखिएन। त्यसैले बलियो टिम प्रदेश १ ले क्षमताअनुसार प्रदर्शन गर्न सकेन।

‘पीएम कपमा एउटा च्याम्पियन स्पिरिट थियो। त्यसपछि प्रतिस्पर्धा हुन्छ हुँदैन थाहा थिएन। हामीले होममा पाँच सिरिज खेलेर नेटिङ पर्याप्त गरेको हौं। तर खेलाडीमा आत्मविश्वास देखिएन। त्यसैले फाइनल पुग्न सकेनौं,’ प्रदेश १ को समेत प्रशिक्षक रहेकी रुविनाले भनिन्। उनका अनुसार खेलाडीलाई प्रेरणा दिइरहे पनि खेल हुनेमा विश्वासको कमी रह्यो। 

शनिबार सम्पन्न ललितपुर मेयर कप विभागीय टिम एपीएफले जितेको छ। तर अब घरेलु प्रतियोगिता कहिले हुने हो थाहा छैन।  क्यानसँग वार्षिक खेल क्लालेन्डर पनि छैन। यस कारण प्रदेश १ को जस्तै एपीएफको च्याम्पियन लय बिग्रिन धेरै समय लाग्नेछैन।

सुदूरपश्चिमकी कप्तान रितु कनौजिया पनि मेयर कपमा फाइनल पुगे पनि आफ्ना खेलाडी दबाबमा रहेको स्वीकार गर्छिन्। उनले भनिन्, ‘रन धेरै बनाउने क्रममा ब्याटिङमा दबाब थियो। त्यसलाई सम्हाल्न गर्न नसक्दा धेरै ब्याटर आउट भए।’ 

राष्ट्रिय टिमका खेलाडीको बाक्लै उपस्थिति रहेको सुदूरपश्चिमका लागि घरेलु प्रतियोगितामा यस्तो दबाबले नेपाली खेलाडीको अहिलेको अवस्था छर्लंग पारेको छ।

समाधानको उपाय : लामो फर्म्याटको क्रिकेट

क्रिकेटमा देखिएका समस्या समाधानका लागि लामो फर्म्याटको प्रतियोगिता आवश्यक छ। लामो फर्म्याटको क्रिकेटले खेलाडीले विकेटमा टिकेर खेल्न सक्छन्।

‘टी–२० होइन, ४०–५० ओभरका खेल पनि हुनुपर्छ। जसले गर्दा हामीलाई पनि पिचमा बस्न सहज होस्,’ उपकप्तान सीता भन्छिन्, ‘जहिल्यै ट्वान्टी–ट्वान्टीको फर्म्याटमा खेल हुन्छ। त्यहीअनुसारको खेल्दा निकै धपेडी हुन्छ। ५०–४० ओभर खेल्दा बल पनि मजाले खेल्न पाइयो नि। बलबारे धेरै कुरा थाहा हुन्छ। हतारिनु पनि पर्दैन।’

कप्तान रुविना नेपाली खेलाडीले ठूलो ओभरको बल खेल्न सक्ने बताउँछिन्। ‘कतिपय खेलाडी विकेटमा टिकेर खेलिरहेका छन्। क्लासिक खेलिरहेका छन्। सिंगल्स कन्भर्ट भइरहेको छ। भी सेपमा ब्याट चलाइरहेका छन्। त्यसैले डोमेस्टिक क्रिकेट लामो फर्म्याटको पनि होस् भनेर क्यानसँग आाग्रह गर्नेछौं।’

त्यसो त नेपाली महिला क्रिकेटको धेरै वृद्धि र विकास भइरहेको छ। पहिलापहिला ५०–६० रनमै सकिने महिला क्रिकेट अहिले अधिकांश खेलमा सयभन्दा धेरै रन बन्न थालेका छन्। 

‘नेपालमा महिला क्रिकेटको धेरै सम्भावना छ। खेल नभएर मात्र खेलाडीको ट्यालेन्ट बाहिर आउन नसकेका हुन्। पछिल्ला दुई प्रतियोगितामा खेलाडीको स्पिरिट त देखियो नि। अवसर दिए गर्न सक्ने रहेछन् भन्ने पुष्टि भयो,’ रुविनाले भनिन्।

अब क्यानले अझै धेरै प्रतिस्पर्धा गराउनुपर्ने उनी बताउँछिन्। उनले भनिन्, ‘त्यसपछि खेलाडीमा आत्मविश्वासको कमी हटेर जान्छ। अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पनि सहज हुन्छ।’ 

खेलको मापक–समर्थकको संख्या

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मेयर कप हुँदै गर्दा फाइनलबाहेकका खेलमा समर्थकको उपस्थिति निराशाजनक रह्यो। फाइनलमा पनि समर्थकको उपस्थिति सम्झनलायक थिएन।

यसले खेलाडीको कमजोर प्रदर्शन पनि इंगित गरेको हुन सक्ने एपीएफकी कप्तान सीता बताउँछिन्। उनी भन्छिन्, ‘गेममा दर्शक नहुँदा दुःख नै लाग्छ। तर पुरुषको तुलनामा महिलाको स्पर्धा कमजोर देखिन्छ। हामी एक दिन राम्रो पोजिसनमा पुगेर मैदानमा समर्थक फिर्ता ल्याउनेछौं।’

कप्तान रुविना क्षेत्री पनि अब महिला क्रिकेटलाई माथि उकास्ने कुरामा विश्वस्त छिन्।

अन्तर्राष्ट्रिय प्रतियोगिताको आशा

सागमा खेलेपछि पुरुषको टिमले दुई प्रतियोगिता खेलेको छ भने तेस्रो खेल्ने तयारीमा छ। तर महिला टिमले अन्तर्राष्ट्रिय खेल खेल्न पाएका छैनन्। 

त्यसो त क्यानले सागपछि नै महिला खेलाडीका लागि अन्तर्राष्ट्रिय खेल गराउने आश्वासन दिएको थियो। अब यू–१९ को छनोट सेप्टेम्बरमा र सिनियरको छनोट खेल नोभेम्बरमा हुने कार्यतालिका छ। त्यसको तयारीका लागि नेपालले अन्तर्राष्ट्रिय खेल्नु अत्यावश्यक देख्छिन् कप्तान रुविना। उनका अनुसार क्यानले म्याच एक्सपोजरका लागि भारत र बंगलादेशससँग आश्वासन दिएको भए पनि कार्यान्वयन भएको छैन। 

रुविना भन्छिन्, ‘हामीले यो कुरा भनेको धेरै समय भयो। सायद चाँडै पनि हुन सक्छ। किनभने उहाँहरु सक्रिय हुनुहुन्छ।’ क्यानले आशमात्र देखाउने वा गरेर पनि देखाउने अहिले समय आइसकेको बताउँछिन् एपीएफकी कप्तानसमेत रहेकी राना मगर। उनका अनुसाार मेयर कप निकै फलदायी रह्यो। 

खेलाडीको यही स्पिरिट समातेर खेलमा बाँध्न सके क्वालिफायरमा राम्रो प्रदर्शन गर्न सक्ने उनी बताउँछिन्। उनी भन्छिन्, ‘अहिले क्याम्प राख्ने कुरामा आशावादी छौं। क्यानले पनि यसमा चासो देखाएको छ। क्वालिफायरका लागि चार–पाँच महिना मात्र छ। धेरै तयारी गर्नुपर्छ। त्यसैले हाम्रो क्याम्प चाँडै हुन्छ होला।’

क्यानले महिला खेलाडीको बन्द प्रशिक्षण चाँडै सुरु गरेर केही फिटनेस अभ्यास भइसकेपछि अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेमा खेलाडी आशावादी छन् उनी।

प्रकाशित: Apr 11, 2021| 14:08 आइतबार, चैत २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।