शुक्रबार, वैशाख १४, २०८१

यस्तो थियो राजा हटाउने 'फाइनल डिल'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- तत्कालीन राजा ज्ञानेन्द्रले निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई १८ असोज ०५९ मा बर्खास्त गरेपछि नै उनीप्रति कांग्रेसमा गम्भीर शंका पैदा भएको थियो । उनी क्रमिक रूपमा पिता महेन्द्रकै पथमा हिँड्न लागेको र १ पुस ०१७ कै घटना दोहोर्‍याउन खोज्दैछन् भन्ने शंका लाग्यो । 

उनको त्यस कदमलाई रोक्नुपर्ने र प्रतिगमनविरुद्ध आन्दोलनमा अगाडि बढ्यौं । त्यसबेला कांग्रेसको नेतृत्व गिरिजाबाबुले गर्नुभएको थियो । र, कांग्रेसबाट अलग भएको कांग्रेस (प्रजातान्त्रिक)का सभापति शेरबहादुरजी हुनुहुन्थ्यो । प्रतिनिधिसभा विघटनपछि निर्वाचन नहुने स्थिति आयो ।

राजा ज्ञानेन्द्रको १८ असोजको कदमपछि मुलुक ठूलो ग्रान्ड डिजाइनमा फसेको गिरिजाबाबुले बताउनुभयो । उहाँको लामो अनुभवले त्यसै भन्थ्यो । कैलालीमा उहाँले घोषणा नै गर्नुभयो, 'प्रजातन्त्रमाथि ठूलो षडयन्त्र छ, ग्रान्ड डिजाइन छ । यसविरुद्ध म लडाईं लड्छु ।' 

राजा ज्ञानेन्द्रले संसद विघटन गराए र निर्वाचित प्रधानमन्त्रीलाई बर्खास्त गरे । अनि, प्रधानमन्त्रीमा मनोनित प्रथा शुरु गरे । त्यतिबेलै १ पुस ०१७ मा राजा महेन्द्रले अपनाएको मार्गमा उनी लागिसकेको हाम्रो निष्कर्ष थियो । 

नेता सिटौलासँग गरिएको कुराकानी हेर्नुहोस्
 

कांग्रेस, एमालेसहित पाँच पार्टी (जनमोर्चा, नेमकिपा र सद्भावना) आन्दोलनमा गयौं । तर, पछि फेरि शेरबहादुरजीलाई राजा ज्ञानेन्द्रले प्रधानमन्त्री बनाए । त्यसबाट झन् ठूलो शंका पैदा भयो । लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापालाई जस्तै गरेर शेरबहादुरजीलाई प्रधानमन्त्री बनाएपछि उनी झनै बलियो बने । 

शेरबहादुरजी प्रधानमन्त्री बनेपछि माधवकुमार नेपालजी र उहाँको पार्टी एमाले प्रतिगमन आधा सच्चियो भन्दै सरकारमा गए । उहाँलाई रोक्न हामीले सक्दो प्रयास गर्‍यौं तर एमालेलाई सरकारमा जानबाट रोक्न सक्ने स्थितिमा माधवजी हुनुहुन्नथ्यो । 

त्यसका लागि गिरिजाबाबु, तत्कालीन संयुक्त जनमोर्चाका अध्यक्ष अमिक शेरचन, माधवजी र म भेटेर कुरा गर्‍यौं । त्यसबेला माधवजीले भन्नुभएको थियो, 'सरकारमा जानबाट मैले मेरा साथीहरूलाई रोक्न सक्ने अवस्थै छैन । मन्त्री नै तयार भइसके ।' उहाँको भनाइमै त्यो गल्ती हो भने 'रियलाइजेसन' झल्किन्थ्यो । 

कांग्रेसमा एकथरि साथीहरूले १८ असोजको कदम असंवैधानिक मात्र हो भने । मलगायत केहीले त्यो प्रतिगमन हो भन्यौं । त्यो प्रतिगमन नै हो भन्ने निष्कर्षमा पुग्न हामीसहितका पाँच पार्टीलाई तीन महिना लाग्यो । 

एमाले देउवा सरकारमा सामेल भएपछि चार पार्टी मात्र बाँकी रह्यौं । चार पार्टी भए पनि सडकमा बस्यौं । त्यसबेला गिरिजाबाबुले भन्नुभएको थियो, 'एक्लै भए पनि बस्ने ।'

१९ माघमा झापाबाट भारत

राजा ज्ञानेन्द्रले १९ माघ ०६१ को कदम उठाउँदा म गृहजिल्ला झापामा थिएँ । शाही घोषणालगत्तै गिरिजाबाबुले फोन गर्नुभयो, 'जे सकिन्छ गर्नु, पक्राउ नपर्नु ।' 

प्रहरीले भने मेरो मैतिदेवीस्थित डेरामा छापा मारिसकेको रहेछ । श्रीमतीले सादा पोशाकका प्रहरीलाई झापामा हुनुहुन्छ भनिछन् । तर, म सीमापार भइसकेको थिएँ । गिरिजाबाबुको भनाइ सम्झँदै सोच्न थालिसकेको थिएँ, 'अब गणतन्त्रमा जाने हो ।' 

भारतीय भूमिमा पुगेर जनकपुरमा रहनुभएका डा. रामवरण यादव (पूर्व राष्ट्रपति)लाई फोन गरें । ठ्याक्कै फोन लाग्यो । महन्थ ठाकुर (तत्कालीन कांग्रेस कोषाध्यक्ष हाल राजपा अध्यक्ष मण्डलका संयोजक) महोत्तरीबाट पारि (सीतामडी) गइसक्नुभएको रहेछ । 

डा. यादवलाई पनि 'समाउला, किन जनकपुर बसेको ? आउनूस्' भनें । र, म पनि सीतामडी गएँ । त्यहाँ म, रामवरणजी र महन्थजी भेट भयौं । काठमाडौं गएर सल्लाह गर्न सक्ने परिस्थिति छैन । भारत बसेरै राष्ट्रिय/अन्तर्राष्ट्रिय जनमत निर्माण गर्ने निर्णय गर्‍यौं । साथमा, पूर्ण रूपमा राजाका खिलाफमा जाने निर्णय पनि गर्‍यौं । 

त्यत्रो निर्णय हामीले मात्र कसरी लिने भन्नुभयो, उहाँहरूले । मैले भनें, 'महन्थजी कोषाध्यक्ष, रामवरणजी सहमहामन्त्री र म संगठन विभाग प्रमुख । अनि, हामी तीन जनाले निर्णय गरेपछि भइहाल्यो नि ।' र, रामवरणजी खर्चको जोहो गर्न पटना जानुभयो । 

हामीलाई लाग्यो, नेपालको तानाशाहलाई तह लगाउन आन्तरिक शक्तिले सम्भव हुँदैन, दुनियाँको समर्थन पनि चाहिन्छ । विश्वका हरेक प्रजातान्त्रिक आन्दोलनमा हामीले सहयोग गरेका थियौं । म्यानमार, बंगलादेश, भारत र दक्षिण अफ्रिकाको आन्दोलनमा कांग्रेसले नैतिक समर्थन गरेको थियो । त्यसैले हामीले पनि दुनियाँको नैतिक समर्थन जुटाउनुपर्छ भन्ने निष्कर्ष निकाल्यौं । 

महन्थजीसँग मेरो कुरा मिल्थ्यो, उहाँ एकदम 'स्ट्रङ' मान्छे । उहाँले गणतन्त्रमा जाने निष्कर्ष निकाल्ने कुरामा आनाकानी गर्नुभएन । 

रामवरणजीको भने त्यसमा अलिकति फरक बुझाइ थियो । उहाँ गिरिजाबाबुलाई नसोधी त्यत्रो निष्कर्ष कसरी निकाल्ने भन्नेमा हुनुहुन्थ्यो । पछि गिरिजाबाबुलाई भेटेर भनेपछि उहाँले पार्टीबाट अनुमोदन गराइहाल्नु हुन्छ भन्ने विश्वास हामीमा पलायो । 

१९ माघ ०६१ पछि माओवादीसँग सम्पर्क

म सिलिगुडी जाँदा नै माओवादी नेता कृष्णबहादुर महरासँग फोनमा कुरा भइसकेको थियो । महराजीले रमाइलो तरिकाले भन्नुभयो, 'ल ल हाम्रो क्याम्पमा आउनूस् । राजाको क्याम्पबाट तपाईंहरूलाई हटाइहाले !' 

उहाँ कहाँ हुनुहुन्थ्यो, मलाई थाहा थिएन । लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री हुँदा युद्धविराम भएको थियो । वार्ता टोलीमा डा. बाबुराम भट्टराई, महराजी, अग्नि सापकोटा, मातृका यादव, टोपबहादुर रायमाझी हुनुहुन्थ्यो । गिरिजाबाबु, नरहरि आचार्य र मैले उहाँहरूसँग भेटेर कुरा गरेका थियौं । 

१९ माघको कदमअघि पनि म, नरहरिजी र शेखर कोइरालाले भारतको हरिद्वारमा बाबुराम र महराजीसँग भेटेका थियौं । 

triton college

असार ०६२ मा श्रीमती कवितामार्फत् गिरिजाबाबुलाई एउटा पत्र पठाएँ, 'तपाईं नयाँदिल्ली नआई परिवर्तन सम्भव छैन । तपाईंले अरूसँग भेटेर हुन्न, प्रचण्डसँगै भेट्नु पर्छ ।' 


त्यस बैठकमा मैले एउटा प्रस्ताव गरेको थिएँ । ०४७ सालको संवैधानिक व्यवस्थाबाट संसद सार्वभौम थिएन । राजालाई विशेष अधिकार थिए । युवराजधिराज घोषणा र कानुन निर्माण राजा आफैंले गर्थे, जुन संसदको विषय बन्दैनथ्यो । सार्वभौमसत्ता र राजकीय सत्ताको प्रयोग संविधानमा उल्लेख भएबमोजिम हुने भनिएको थियो ।

'त्यसैले अबको आन्दोलनले राजकीय र सार्वभौमसत्ता पूर्ण रूपले जनतामा स्थापित गरौं र पूर्ण लोकतन्त्र भनौं,' मैले भनें, 'यो आन्दोलनलाई तपाईंहरूको भाषामा गणतन्त्र भन्न सक्नुहोला, हाम्रो भाषामा यति मात्र भन्छौं । आन्दोलन विकसित हुँदै जाँदा देखा जाएगा ।' 

पछि बाबुरामजीले भन्नुभएको थियो, 'शब्दचाहीं तपाईंले क्वाइन गरेकै हो ।' 

पार्टी विधानमै 'निरंकुश राजतन्त्रको अन्त्य'

निरंकुश राजतन्त्रको अन्त्यको एजेन्डालाई कांग्रेसको ११औं महाधिवेशनमा प्रवेश गरायौं । त्यतिबेला कांग्रेस दुई वटा थिए । शेरबहादुरजी नेतृत्वको कांग्रेस (प्रजातान्त्रिक)ले १९ माघको शाही कदमलाई असंवैधानिक मात्र भनेको थियो । 

मूल पार्टी कांग्रेसको विधान संशोधनको कुरा आयो । र, 'निरंकुश राजतन्त्रको अन्त्य गरी पूर्ण लोकतन्त्र स्थापना गर्न राजकीय सत्ता र सार्वभौमसत्ता जनतामा पूर्ण रूपमा स्थापित नगरेसम्म आन्दोलन जारी रहन्छ' भन्ने वाक्यांश विधानको प्रस्तावनामै राख्न सफल भयौं । केही साथी भने 'राजाको निरंकुशता अन्त्य गरी लोकतन्त्र स्थापना गर्ने' वाक्यांश राख्न चाहन्थे, प्रस्तावनामा । 

गिरिजाबाबुले विधानको मस्यौदा गर्ने जिम्मा केही साथीहरूलाई दिनुभयो । मैले भनें, 'गिरिजाबाबु, यो त हाम्रो अन्डरस्ट्यान्डिङ हो, निरंकुश राजतन्त्रको अन्त्य भन्ने शब्दको अर्थमा कसैले राजतन्त्रको अन्त्य भनेर पनि बुझ्छन् र कसैले संवैधानिक राजतन्त्र भनेर बुझ्छन् । एकातिर माओवादीसँग समझदारी गरेर जानुपर्छ भन्ने अनि उनीहरूसँग भएको अन्डरस्ट्यान्डिङअनुसार उनीहरूलाई स्पेस नै नदिई हामी जानु हुन्न ।' 

उहाँले अन्त्यमा मेरो कुरा मान्नु भयो र विधानमा प्रष्टसँग लेख्न सक्यौं ।  कांग्रेसको कार्यदिशाको व्याख्या र सडक आन्दोलन हुँदै जाँदा पाँच पार्टीबीचमा पनि गणतन्त्रको कुरा उठ्न थाल्यो ।

२०६४ सालमा केन्द्रीय कार्य समिति बैठकमा गिरिजाबाबुले भन्नुभयो, '६० वर्षदेखि संवैधानिक राजसंस्थाको नाममा राजालाई बोकियो तर उनलाई प्रजातन्त्र चाहिएन । हामीलाई राजा चाहिने, राजालाई हामी नचाहिने ? अब राजा बोक्दा-बोक्दा हाम्रो काँध थाक्यो । किन तपाईंहरू खाली राजाको पक्षमा बोल्नुहुन्छ ? छोड्नूस् अब सबै ।'

कांग्रेस र कांग्रेस प्रजातान्त्रिकबीच एकता भयो । संस्थापक नेता किशुनजी (कृष्णप्रसाद भट्टराई)ले गणतन्त्रमा जाने प्रस्ताव मन परेन भनेर विरोध गर्दै पूर्वसभामुख तारानाथ रानाभाटमार्फत् चिठ्ठी पठाउनुभयो । जुन बेला गिरिजाबाबुले कांग्रेसको विधानमा विधिवत रूपमा गणतन्त्रको प्रस्ताव पारित गराउन सक्नुभयो, नेपालमा गणतन्त्र स्थापनाको प्रस्थान विन्दु त्यही हो । 

संसदबाट राजाको कुर्सी हटाउँदा मेरै पार्टीका एक उच्च नेताले भन्नुभयो, 'सेनाले हामीलाई छेक्छ र यहीं गोली ठोक्छ, रक्तपात हुन्छ ।'



रत्नपार्कको सभामा गिरिजाबाबुले भन्नुभएको थियो, 'यो देशमा दुई वटा नदी सँगै बग्दैछ, एउटा गणतन्त्र र अर्को संवैधानिक राजतन्त्रको । यदि दुवै नदी मिसिए भने के हुन्छ ? एकादेशमा एउटा राजा थियो अरे भन्ने कथा बन्छ ।' गिरिजाबाबुको यो भाषा बडो चुनौतिपूर्ण थियो । 

त्यस विन्दुमा परिस्थितिको गाम्भीर्य बुझेर दरबारियाहरूले संसदलाई पूर्ण सार्वभौम राख्ने निर्णय गरेको भए शायद राजतन्त्र रहने ठाउँ हुन्थ्यो होला । गिरिजाबाबुले त सक्छौ भने राजसंस्था जोगाऊ भनेर राजालाई संकेत दिइसक्नु भएको थियो । 

किनभने संसदवादी दल र माओवादी मिलिसकेपछि गणतन्त्र आउने लगभग निश्चित थियो । त्यस्तो अवस्थामा पनि राजा ज्ञानेन्द्रको होस खुलेन । 

सधैं दरबारको टार्गेटमा

१९ माघपछि वैशाख ०६२ सम्म त मैले गिरिजबाबुसँग भेट्नै पाइनँ । म सिलिगुडीबाट नयाँदिल्ली पुगें । मैतीदेवीको डेरा र आमा बस्ने बिर्तामोडको घरमा सादा पोशाकका सेनाले छापा मारे । 

सेनाले मलाई कहीं नभेटेपछि झापा कांग्रेसका सभापति उद्धव थापा र पूर्वसभापति सुधीर शिवाकोटीलाई चारआली ब्यारेकमा लगेर नांगेझार पारेर यातना दिइयो । यस्ता घटनाको वर्णन गरेर साध्य छैन । मेरो डिजाइन र क्रियाकलापलाई लिएर दरबारले मलाई पूरै टार्गेट बनाएको थियो । 

नयाँदिल्लीमा सम्पर्क कार्यालय

म बिरामी भएर दिल्लीको एम्स अस्पतालमा भर्ना भएँ । पछि शेखर कोइरालासँग भेट भएपछि नयाँदिल्लीमा सम्पर्क कार्यालय खोल्यौं । त्यो कांग्रेस, एमाले, नेमकिपा, जनमोर्चा, बाममोर्चा र सद्भावना आनन्दीदेवीको 'सात पार्टी एकता कार्यालय'जस्तो थियो । 

नेपालबाट आउने-जाने साथीभाइ तथा भारतीय राजनीतिक दलका नेता र शुभेच्छुकसँग भेटघाट बढायौं । र, लोकतन्त्र प्राप्तिका लागि शान्तिपूर्ण संघर्ष गर्ने निर्णय लियौं । 

यद्यपि, संसद पुनःस्थापनाका विषयमा भयंकर विवाद थियो । कांग्रेस प्रजातान्त्रिक, एमाले र माओवादी कसैले पनि विश्वास नगर्ने स्थिति थियो । माओवादीको त हामीले संसदकै बाटोमा लैजान्छौं भन्ने शंका थियो । गिरिजाबाबुको स्पष्ट धारणा थियो, संसद पुनःस्थापना नभई कसले सम्झौताको निर्णय गर्छ ? राजाले सम्झौताको निर्णय लिए भने राजा नै सुप्रिम हुन्छन् । 

प्रचण्डसँग भेट्न गिरिजाबाबुलाई चिठ्ठी

असार ०६२ मा म एम्स अस्पतालमै हुँदा श्रीमती कविता नेपालबाट आइन् । उनी फर्किंदा गिरिजाबाबुलाई एउटा पत्र पठाएँ, 'तपाईं नयाँदिल्ली नआई परिवर्तन सम्भव छैन । तपाईंले अरूसँग भेटेर हुन्न, प्रचण्डसँगै भेट्नु पर्छ ।' 

त्यसपछि मात्र हो, गिरिजाबाबु उपचारको बहानामा दिल्ली पुग्नुभएको । कांग्रेसबाट गिरिजाबाबु, डा. शेखर र म थियौं । माओवादीबाट प्रचण्ड, बाबुराम, महरा, रामबहादुर थापा 'बादल'सहित पाँच जना थिए । 

गिरिजाबाबुसँगै हामी नयाँदिल्लीको होटेल एम्बेसेडरबाट करिब पौने घण्टा दक्षिण ट्याक्सीमा भेट्न गयौं । गिरिजाबाबुले 'अब म नेपाल फर्किने बेला भयो, आराम गर्ने (सुत्ने) बेला भयो' भनेर सुरक्षाकर्मीलाई फिर्ता पठाइदिनु भयो । 
४ जेठको घोषणा रोक्न दबाब दिन आएका तत्कालीन प्रधानसेनापति प्याराजंग थापालाई मैले भनें, 'तपाईं कसको अनुमतिमा दरबार पस्नुभयो । अब आइन्दा पस्नुभयो भने स्याकमा पर्नुहुन्छ ।'

हामी पुगेको ५/७ मिनटमा प्रचण्डजी आइपुग्नुभयो । गिरिजाबाबु र मैले प्रचण्डलाई पहिलो पटक भेटेको त्यहीं हो । 

गिरिजाबाबुलाई सम्बोधन गरेर प्रचण्डजीले लामो बोल्न थाल्नुभयो । गिरिजाबाबुले भन्नुभयो, 'तपाईंका सबै कुरा किन चाहियो मलाई, तपाईं शान्तिपूर्ण राजनीति र प्रजातन्त्र मान्ने हो कि होइन ? त्यति भन्नु न मलाई ।' प्रचण्डले भन्नुभयो, 'हो ।' गिरिजाबाबुले भन्नुभयो, 'भइहाल्यो नि त ।'

त्यसपछि मात्र १२ बुँदे समझदारीको सूत्रपात भएको हो । र, नेपाली राजनीतिले नयाँ कोर्स लियो । 

एमालेसहित सात दलका नेताहरूसँग छलफल गर्‍यौं । अनि, दोस्रो भेट भयो । त्यसबेला एमाले महासचिव माधवकुमार नेपाल, नेता केपी ओली र म सँगै नहिँड्नु भन्नुभएको थियो, गिरिजाबाबुले । गिरिजाबाबुलाई सिँढी चढ्न गाह्रो हुन्थ्यो । अनि, एक तला माथि लगेर १२ बुँदे समझदारीमा हस्ताक्षर गरायौं । 

१२ बुँदे समझदारी तयार गर्दा एमाले महासचिव नेपाल, नेता ओली, नारायणकाजी श्रेष्ठ, अमिक शेरचन, डा. भट्टराई, म र पछि गिरिजाबाबुले शेखरजीलाई पनि लिएर आउनुभएको थियो । अहिले वा पछि केपीजीले के बोल्नु भयो वा के गर्दै हुनुहुन्छ, त्यो आफ्नो ठाउँमा होला तर १२ बुँदे समझदारी तयार गर्दाको भूमिका एकदमै सकारात्मक हो । 

१२ बुँदे समझदारीको मस्यौदा डा. भट्टराईका सहयोगी विश्वदीप पाण्डेले टाइप गरेका थिए । गिरिजाबाबुले त्यसको कन्टेन्ट विस्तृत हेर्नु नै भएन । त्यो उमेरमा पनि उहाँको माइन्ड कति अलर्ट थियो भने 'संसद पुनर्बहाली छ कि छैन' भनेर सोध्नु भयो । 

७ मंसिर ०६२ मात्र सार्वजनिक गर्ने सहमति भयो । गिरिजाबाबुले भन्नुभएको थियो, 'नेपालमै यो सहमति गर्न पाएको भए हुन्थ्यो ।' तर, माओवादीसहित गिरिजाबाबु एकै ठाउँ नेपालमा रहने स्थिति त थिएन । 

१२ बुँदे गरेर फर्किने बेला थियो । नयाँदिल्लीको एम्बेसेडर होटेलमा शेखरजी र म थियौं । शेखरले एक प्रति त म पनि राख्नुपर्‍यो भन्नुभयो । गिरिजाबाबुले 'हेई, हुँदैन । कथंकदाचित त्यो बाहिर आयो भने यो योजना भताभुंग हुन्छ । यो पत्र कसैलाई देखाउने होइन नि, ज्यान जाला ज्यान ।' 

मैले 'सुशीलदा (कोइराला)लाई त देखाउनु पर्ला नि' भनेर सोधें । तर, गिरिजाबाबुले 'कसैलाई देखाउने होइन, होस पुर्‍याऊ, हामीलाई पनि समात्छ । सात दलको सिग्नेचर पनि हुँदैन । अनि, हाम्रो यो अभियान त कहाँ पुग्छ कहाँ' भन्नुभयो । विश्वासको मान्छे श्रीमती वा कसैलाई भने पनि एक कान दुई कान मैदान हुन्छ । अनि त बाँच्नै गाह्रो हुन्छजस्तो मलाई पनि लाग्यो । 

हामी नयाँदिल्लीमा हुँदा गिरिजाबाबुलाई बीबीसीले खोजको खोज्यै गर्‍यो । हल्ला भएछ । मलाई पनि फोन आयो । नेपालमा भने गृहमन्त्री कमल थापा 'माओवादीसँग वार्ता गर्ने आतंककारी हुन् । आतंककारीका मतियार हुन्' भन्दै कुर्लंदै थिए । 

भिडियो हेर्नुहोस्

गिरिजाबाबुले बीबीसीमा बोल्न मलाई अह्राउनुभयो । मैले भनें, 'माओवादीसँग गिरिजाबाबुको वार्ता भएको छैन । तर, माओवादीलाई शान्तिपूर्ण राजनीति र बहुदलीय प्रजातन्त्रमा आउनूस् भनेर गिरिजाबाबुले सन्देश पठाउनु भएको छ ।' 

काठमाडौं आएर गिरिजाबाबुको महाराजगञ्जस्थित निवासमा सातै दलका नेतालाई बोलायौं । ६ पार्टीका १/१ जना नेता आउनुभएको रहेछ । नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छे आउनुभएको रहेनछ । 

तर, हस्ताक्षर गर्ने बेलामा कांग्रेस प्रजातान्त्रिकका नेता गोपालमान श्रेष्ठले 'मैले शेरबहादुरलाई सोध्नुपर्छ, अनि मात्र हस्ताक्षर गर्छु' भन्नुभयो । गिरिजाबाबुले 'म र माधवजी नै भइसकेपछि के अप्ठ्यारो मानेको' भन्नुभयो । तर, गोपालमान मान्ने पक्षमा थिएनन् । 

माधव नेपालले एक पटक शेरबहादुरजीलाई भेटौं न त भन्नुभयो । अनि माधवजी, गोपालमानजी र म शेरबहादुरलाई भेट्न टेकु गयौं । शेरबहादुरजीसँग आधा घण्टाजति कुरा भएपछि एउटा प्रहरी आयो, तपाईंहरूसँग एउटा कागज छ रे भन्दै । 

माधवजी झोंक्किनु भयो, 'कोसँग बोल्दै हुनुहुन्छ तपाई ?' म, माधवजी र गोपालमानजी फेरि साढे १२ बजेतिर गिरिजाबाबुको निवासमा पुग्यौं । गिरिजाबाबु माथिल्लो तलामा चढिसक्नु भएको रहेछ । खाना खाँदै हुनुहुँदो रहेछ । भन्नुभयो, 'छोड्देउ अब म जान्न, अब गोपालमानलाई भन्दिनु, म सुतिरहेको छु भनेर ।' 

मैले तल ओर्लिएर भनें, 'गोपालमाजी रेल स्टार्ट भयो, डिब्बामा चढ्ने/नचढ्ने तपाईंको इच्छा । 'गिरिजाबाबु सुतिसक्नु भएको रहेछ । मैले उठाउन सकिनँ ।' बल्ल-बल्ल गोपालमानजीले हस्ताक्षर गर्नुभयो । 

नेमकिपा अध्यक्ष बिजुक्छेको हस्ताक्षर बाँकी थियो । उहाँको फोन नम्बर पत्ता लगाएर १२ बुँदे पढेर सुनाइयो । उहाँले 'पठाइदिनु नि त प्रेस सुवालमार्फत्' भन्नुभयो । लगत्तै 'गिरिजाबाबुले त हस्ताक्षर गरिसक्नुभयो, मैले पनि सही गरेर पठाएँ' भन्नुभयो ।

सुशील कोइराला पड्किनुभयो

त्यही दिन मैले गिरिजाबाबुलाई भनें, 'हेर्नूस् यत्रो समझदारी भयो, अब नेताहरूलाई बोलाएर भन्नुपर्‍यो तपाईंले ।' उहाँले सबैलाई भोलिपल्ट बोलाऊ भन्नुभयो । 

केन्द्रीय समितिमा सबै साथीहरूको आलोचना आयो । त्यो समझदारी भोलिपल्टै प्रकाशित भइहाल्यो । तत्कालीन पार्टी उपसभापति सुशील कोइराला मसँग पूरै कड्किनु भयो । गिरिजाप्रसादपछि मैले कसैलाई मानेको भनेको सुशीलदालाई नै हो । तर, त्यही सुशीलदाले मलाई भन्नुभयो, 'तपाईं मलाई नपठाउने ? यत्रो घटना हुँदा पनि मलाई थाहा नदिने तपाईं ?' 

'सुशीलदा, गिरिजाबाबुले भनेको कुरा तपाईंलाई भनौं जस्ताको तस्तै ? पीर पर्ला नि,' मैले भनें । गिरिजाबाबुलाई त्यो समझदारी पत्र दरबार पुग्छ र भताभुंग हुन्छ भन्ने चिन्ता थियो । त्यसैले उहाँले कसैलाई नभन्नु भन्नुभएको थियो । १२ बुँदे समझदारीदेखि नै गिरिजाबाबु गणतन्त्रको लाइनमा प्रतिबद्ध भएर लागिसक्नुभएको थियो ।

सच्चितसमशेरलाई नांगो राजाको कथा

कान्तिपुर टेलिभिजनको 'बहस'मा इन्द्र लोहनी (स्वर्गीय)ले मलाई बोलाए । त्यो कार्यक्रममा म, ओलीजी र पूर्वप्रधानसेनापति सच्चितसमशेर जबरालाई बोलाइएको थियो । 

राजा देश दौडाहामा थिए । सात दलको स-साना आन्दोलन चलिरहेका थिए । बहस हुँदै गर्दा सच्चित समशेरले मलाई हप्काउँदै भने, 'सिटौलाजीलाई थाहा छैन ? महाराजधिराज देशभरि घुमिबक्सेको छ । हजारौं मान्छे श्री ५ को दर्शन गर्न आएको देख्नुभएको छैन ? रत्नपार्कमा दुई सय विद्यार्थी ल्याएर विदेशीको इशारामा ढुंगा हानेर हुन्छ ?' 

मलाई पनि भित्रैबाट जागेर आयो र नांगो बादशाहको कथा सुनाएँ । र, थपें, 'सडकमा राजालाई निकाले, सारा जनता नांगो राजा हेर्न भीड लागे । राजाले एक दिन भीरबाट हाम फाल्छन् । उहाँहरू भाग्नुहुन्छ ।' आखिर राजालाई बिदा गर्दा मै जानुपर्‍यो, नारायणहिटी । 

यसरी सम्हालियो आन्दोलनको कमान्ड

त्यसपछि हामी आन्दोलनमा होमियौं । २४ चैत ०६२ देखि चारदिने आम हड्ताल कार्यक्रम तय गर्‍यौं । चारदिने आन्दोलनले लक्ष्यमा पुग्दैनौं भन्दै आन्दोलनलाई निरन्तरता दिने निर्णय गर्‍यौं । त्यसैक्रममा करण सिंह नेपाल आए । 

७ वैशाख ०६३ मा राजा ज्ञानेन्द्रको देशवासीका नाममा सम्बोधन आयो । करण सिंहले नै समन्वय गरेर त्यो सम्बोधन आएको थियो । गिरिजाबाबुले राति १० बजे फोन गर्नुभयो । उहाँलाई मैले भनें, 'हामीले त्यो वक्तव्यलाई नमान्ने सन्देश बाहिर गइसकेको छ । कुनै मान्नु हुँदैन ।' 

गिरिजाबाबु सामान्यतया नौ बजे सुत्ने मान्छे । उहाँले मलाई १० बजे फोन गर्नु भनेको कोही मान्छे उहाँलाई सम्झाउन त्यहाँ गइसकेको हुनुपर्छ, मेरो अनुमान छ । 

११ वैशाख ०६३ को राजाको वक्तव्य हामीले नै लेखेर दिएका हौं । त्यसमा कमा र फुलस्टप पनि परिवर्तन गर्न पाइँदैन भनेका थियौं । त्यो मान्न राजा तयार थिएनन् । हामीले भनेअनुसार नगरे भोलि र पर्सीपल्ट गिरिजाबाबुको नेतृत्वमा नारायणहिटी घेराउ गर्ने कार्यक्रम थियो । 

६ वैशाखदेखि नै आन्दोलन गणतन्त्रको दिशामा गइसकेको थियो । झापा चन्द्रगढीमा सेना उतारेर भयंकर गोली बर्साइयो । दुई जना शहीद, ७० भन्दा बढी घाइते, दुई जना अझै अपांग छन् । 

काठमाडौं कलंकीमा ६ जनाको हत्या, गोंगबुमा सयौं घाइते । यस्तो अवस्थामा गणतन्त्रबाट पछाडि फर्किने सम्भावना नै थिएन । गणतन्त्रको नारा उराल्ने काम गगन थापालगायत त्यतिबेलाका विद्यार्थी नेताहरूले गरेका थिए । काठमाडौंको आन्दोलनको नेतृत्व तीर्थराम डंगोलजीले गर्नुभएको थियो । 

यसरी मुलुकलाई गणतन्त्रमा पुर्‍याउन राजा र उनका आसेपासेकै भूमिका बढी छ । १९ माघको कदम चाल्नु साटो संसद पुनःस्थापना गरिदिएको भए संसदवादी दलहरूलाई गणतन्त्रमै पुग्न त्यति सजिलो हुने थिएन । तर, उनले मुर्खतापूर्ण बाटो रोजे । 

माओवादीले राजाको ११ वैशाखको घोषणालाई पूर्ण स्वागत गरेन । सात दल संसद पुनःस्थापनामार्फत् संसदीय अभ्यासमै फर्केलान् भन्ने शंका थियो । माओवादीले भनेझैं संसद पुनःस्थापना नगरी गणतन्त्रमा सीधा जान सम्भव थिएन । हामी १२ बुँदेबाट पछाडि फर्केको भए पनि गणतन्त्र सम्भव थिएन ।

राजदण्डको विवाद

पुनःस्थापित प्रतिनिधिसभामा राजदण्ड राख्ने/नराख्ने भन्ने विवाद भयो । अहिले ठूला नेता भएका केही साथीहरू राजदण्ड राख्ने पक्षमा थिए । प्रतिनिधिसभाबाट राजाको कुर्सी हटाइसकिएको थियो । 

संसद बैठक शुरु हुनुअघि पहिले मर्यादापालक अघि-अघि गएर सभामुखको माथि राजाको कुर्सी र त्यहाँको राजदण्डलाई सलाम ठोक्ने अनि मात्र सभामुखले आशन ग्रहण गरेर बैठक शुरु हुने चलन थियो । 

मेरै पार्टीका एक नेताले भन्नुभयो, 'सेनाले हामीलाई छेक्छ र यहीं गोली ठोक्छ, रक्तपात हुन्छ ।' मैले भनें, 'ठोक्न दिनूस् न त, यत्रा मान्छे मरेका छन् । हामीलाई छेक्छ र ठोक्छ भने ठोकोस् न त, गणतन्त्र जिन्दावाद भन्ने हो, यहीं मर्ने हो । अरु त केही उपाय छैन ।' 

केही कर्मचारी आएर यस्तो, उस्तो भन्दै थिए । मैले भनें, 'यो राजासँग सम्झौता गरेर आएको परिवर्तन होइन । उनले आत्मसमर्पण गरेर आएको संसद हो । राजा जनतासँग आत्मसमर्पण गर्ने अनि हामी चाहीं राजासँग आत्मसमर्पण गर्ने ?' 

त्यसपछि राजाको कुर्सी पनि फ्याँकियो, राजाको फोटो पनि फ्याँकियो र संसद भवनमा पसियो । गणतन्त्रको प्रारम्भ त्यहींबाट र त्यही क्षणबाट भएको हो । कागजमा नलेखे पनि यो घटना गणतन्त्रको 'डिफ्याक्टो' अभ्यास थियो । 

प्रचण्डलाई लिन गार्डबिनै सिक्लेस

महराजीको संयोजकत्वमा एउटा वार्ता टोली माओवादीले पठायो । हामीले छलफल गरेको ४/५ दिनमा आचारसंहिता बनायौं । सात दलको तर्फबाट मेरो संयोजकत्वमा एमालेका प्रदीप ज्ञवाली र रमेश लेखक हुनुहुन्थ्यो । माओवादीबाट महरासहित देव गुरुङ र दिनानाथ शर्मा सदस्य हुनुहुन्थ्यो । 

शान्ति सम्झौताको गृहकार्य गर्दा पनि त्यस्तै अप्ठ्यारो । महराजीलाई यो शब्द राख्दा पनि हुँदैन, त्यो राख्दा पनि हुँदैन । हाई कमान्डलाई नसोधी अहिले भन्न र गर्न सकिन्न भन्ने । मलाई लाग्यो, यसरी हुन्न । हामी यदि मिलेरै जाने हो भने त प्रचण्डजीसँग कुरा गरेर अगाडि बढ्नुपर्छ । 'मलाई प्रचण्ड भेटाई दिनूस् महराजी, म कुरा गर्छु,' भनें । 

त्यसबेला भारतका राजदूतसँग सोध्दा बाबुराम र प्रचण्ड भारतबाट नेपाल पसेको भन्छन् तर कहाँ हुनुहुन्छ ? कोही भन्दैनन् । सेना, प्रहरी र जासुसी संयन्त्रले थाहा पाउँदैन । मलाई अचम्म लागिरिहेको थियो । 

महराले केही दिनपछि प्रचण्डसँग कुरा गर्नु भएछ क्यारे । मलाई भेट्न त सकिन्छ तर जहाज लान पाइँदैन भन्नुभयो । मैले गिरिजाबाबुलाई त्यो कुरा भनें । गिरिजाबाबुले सोध्नुभयो, 'गृहमन्त्रीजस्तो मान्छे तपाईं एक्लै जाँदा जोखिम हुन्न ?' 

'मलाई के हुन्छ ? प्रचण्डले राखेछन् भने बसौंला नि, के गर्दा रहेछन् हेरौं त नि' मैले भनें । पछि एक्लै जानु पर्छ, ठाउँ पहिले भन्न मिल्दैन भनेर महराजीले भनेपछि कता-कता डर पनि लाग्यो । 

गिरिजाबाबुले शेखरलाई लिएर जानु भन्नुभयो । मैले 'ए शेखरजी आउनूस्, घुम्न जाने आज' भनें । शेखर, म र महराजी हेलिकोप्टरमा बस्यौं । ७/८ मिनटपछि महराजीले भन्नुभयो, 'अब पश्चिम जाने ।' टावरलाई पनि हामीले भनेका थिएनौं । टावरलाई थाहा दिनासाथ सूचना बाहिर जाने भनेर उहाँहरूलाई पनि समस्या थियो होला । 

प्रचण्ड भेट्न कुनै अनकन्टार दुर्गम ठाउँमा लाने होला भनेको त उहाँ त्यही पोखराछेउको सिकलेसमा हुनुहुँदो रहेछ । सिकलेसमा उत्रिएपछि माओवादी सेनाले सलाम ठोके । मानौं म कुनै बेग्लै देशको गृहमन्त्री थिएँ र सलामी दिइरहेका थिएजस्तो । 

पूरै कम्ब्याट ड्रेसमा हातहतियारसहित ठूलो समूहका बीचमा प्रचण्डजी हुनुहुँदो रहेछ । त्यहाँको एउटा एनजीओको घरमा हामीलाई राखे । एकछिनपछि बाबुुरामजी र प्रचण्डजी आउनुभयो । त्यत्रो भेला र प्रशिक्षण चल्दासमेत राज्यलाई सूचनासम्म थिएन । 

प्रचण्डलाई तपाईंलाई लिन आएको भनें । प्रचण्डले पोखरामै गिरिजाबाबुलाई भेट्ने प्रबन्ध गरौं भन्नुभयो । मैले 'तपाईंलाई भेट्न गिरिजाबाबु प्रधानमन्त्री हुनुहुन्छ, पोखरा आउनु हुन्छ त ? समस्या समाधान गर्न त काठमाडौं नै जानु पर्छ । म मुलुकको गृहमन्त्री, विश्वास गर्नूस् । कुरा मिलेनछ भने पनि तपाईंले जहाँ भन्नु हुन्छ, त्यहीं पुर्‍याउन जान्छु, त्यो मेरो दायित्व पनि हो ।' 

गिरिजाबाबुले जे भन्नुहुन्छ त्यही गर्नुहुन्छ तर धोकाचाहीं दिनु हुन्न भनेर सम्झाएँ । उहाँ बल्ल-बल्ल काठमाडौं आउन तयार हुनुभयो । तर, एउटा शर्त राख्नु भयो, 'काठमाडौंमा खुला नहुने, भूमिगत नै बस्ने अनि म जहाँ जुन समयमा फर्कन चाहन्छु, त्यस ठाउँमा ल्याएर छोडिदिनु पर्छ ।' 

विमानस्थलबाट प्रचण्डजी, बाबुरामजी सबैलाई गृहमन्त्रीको गाडीमा खाँदखुँद गरेर सीधै बालुवाटार हुलें । अनि मात्र नेताहरूलाई फोन गरेर बोलाइयो । बालुवाटारमा प्रेसले घेरिहाल्यो । उहाँ पनि वार्ता सकारात्मक भएपछि उत्साहित हुनुभयो र बोल्नु भयो । 

लामो मन्तव्य दिनुभयो, सेनालाई गाली गर्नु भयो । विद्रोही नेताको ह्याङओभर गएको थिएन । त्यो घटनाबाट म धेरै विवादमा तानिएँ । पार्टीकै साथीहरूले मलाई माओवादी भन्न थालिहाले । 

प्रचण्डजीहरू त्यस दिन काठमाडौंमै बस्नुभयो तर भोलिपल्टै उपत्यकाबाहिर छोड्नुपर्ने भयो । त्यसबेला सबैभन्दा संकट मलाई नै पर्‍यो ।

गिरिजाबाबु उपचारका लागि बैंकक जाने दिन थियो । मैले 'गिरिजाबाबु, आज प्रचण्डलाई छोड्न अरू कुनै कर्मचारी साथीलाई पठाउँछु' भनें । तर, गिरिजाबाबुले मान्नु भएन । 'होइन, तपाईंले ल्याएको, तपाईं नै जानूस् ।' अनि, प्रचण्डजीहरूलाई डोटीको बीपीनगर भन्ने ठाउँमा पुर्‍याएँ । त्यहाँ माओवादीका नेता जनार्दन शर्मा पनि हुनुहुन्थ्यो, एक हात लामो दाह्री पालेको, कम्ब्याट ड्रेस लगाएको । मैले हेलिकोप्टरको पंखा पनि बन्द नगरिकन फर्किएँ । 

काठमाडौं फर्किंदा गिरिजाबाबुको चेहरामा उत्साह देखिनँ । उहाँको मुहारमा मलिनता थियो । मैले अड्कल काटें, साथीहरूले गिरिजाबाबुलाई पक्कै मेरो बारेमा गुनासो गरेर हैरानी गरे होला । भोलिपल्ट गिरिजाबाबुले मलाई बैंककबाट फोन गरेर भन्नुभयो, 'तपाईं धेरै आत्तिनुपर्ने काम छैन । तपाईंले गाली खानु पर्ला । कहिलेकाहीं सहनु पनि पर्छ । म आएपछि सबै ठीक भइहाल्छ ।'

भोलिपल्ट संसदको बैठक थियो । एमाले सांसद रघुजी पन्तले कहिल्यै बिर्सन नसक्ने गरी भन्नुभयो, 'सिटौलाजी देशको गृहमन्त्री कि प्रचण्डको सवारी मन्त्री हो ?' मैले त्यसबेला कडा जवाफ दिन सक्थें तर दिइनँ  किनकी म देशको गृहमन्त्री थिएँ । मैले यति भनें, 'गृहमन्त्री हुँ । जनता बचाउन रहर छ । गृहमन्त्रीको उद्देश्य शान्ति सुरक्षा दिने नै हो । शान्ति सुरक्षा दिन द्वन्द्वको अन्त्य हुनैपर्छ । यही मानसिकताले मैले काम गरिरहेको छु ।' 



गिरिजाबाबु इतिहासकै शक्तिशाली 'डिफ्याक्टो'

संसद सञ्चालन प्रक्रिया ०४७ सालको संविधानबमोजिम गरेनौं । राजाको जन्मोत्सवमा बिदा दिने र सोही दिन विभिन्न मान पदवी, तक्मा वितरण तथा बन्दी रिहा गर्ने प्रचलनको अन्त्य भयो । राजा ज्ञानेन्द्र र पूर्वराजा वीरेन्द्रको सबै सम्पत्ति राष्ट्रियकरण गर्न ट्रस्टमातहत ल्याउने कानुन बनाइयो । 

राजाले सधैं सेनाको आडमा 'कु' गर्थे । त्यसैले पुरानो सैनिक ऐन खारेज गरेर राज्यव्यवस्था समितिले नयाँ सैनिक ऐन बनायो । अन्तरिम संविधानमा राजामा कुनै अधिकार रहने छैन, राजाले प्रयोग गर्ने सबै अधिकार प्रधानमन्त्रीले प्रयोग गर्नेछन् भनेर लेख्यौं । 

गिरिजाबाबुलाई सहमतिको आधारमा प्रधानमन्त्री बनायौं र हटाउन दुई तिहाइ चाहिने व्यवस्था गर्‍यौं । गिरिजाबाबु मात्र यो मुलुकमा यस्तो कार्यकारी प्रधानमन्त्री हो, जसले राष्ट्रप्रमुखले प्रयोग गर्ने सबै अधिकार प्रयोग गर्नुभयो । 

उहाँ 'डिफ्याक्टो' राष्ट्रप्रमुख पनि हो । संवैधानिक रूपमा सबैभन्दा शक्तिशाली प्रधानमन्त्री नै गिरिजाबाबु हो । सबैभन्दा शक्तिशाली भएर पनि उहाँले सबैभन्दा कम शक्ति प्रयोग गर्नुभयो । 

संविधानसभाको पहिलो बैठकले गणतन्त्रको घोषणा गर्ने अन्तरिम संविधानमा उल्लेख थियो । मन्त्रिपरिषद्ले गणतन्त्र घोषणाको प्रस्ताव पारित गर्‍यो । र, त्यो प्रस्ताव सदनमा पेश गर्न गिरिजाबाबुले मलाई भन्नुभयो । कमल थापाहरूले सदनमै बखेडा झिके 'हारेको मान्छेबाट पनि गणतन्त्रको प्रस्ताव राख्ने ?' भनेर । राप्रपा नेपालका चार जनाले प्र्रस्तावको विपक्षमा मत हाले । 

संविधानतः प्रचण्डजीको नयाँ सरकार आउने स्थिति थिएन । किनभने, प्रधानमन्त्री हुन दुई तिहाइको समर्थन चाहिन्थ्यो । कांग्रेसले समर्थन नगरी प्रधानमन्त्री बन्न सम्भव थिएन । प्रचण्ड प्रधानमन्त्री बन्न संविधान संशोधन जरुरी थियो । त्यसैले गिरिजाबाबुले प्रचण्डजीलाई ठूलो पार्टीको नेताको हैसियतले सरकार बनाउन बाटो खोल्दिनूस् भनेर सदन समक्ष आग्रह गर्नुभयो । सोही बमोजिम मैले संशोधनको प्रस्ताव गरें । 

नारायणहिटी खाली गर्न ज्ञानेन्द्रसँग 'वान टु वान'

संविधानसभाको पहिलो बैठकले १५ जेठ ०६५ मा गणतन्त्रको घोषणा गर्‍यो । सातादिन बित्दा पनि राजा ज्ञानेन्द्रले दरबार छाडेनन् । 

दरबारको सम्पति बुझबुझारथ गर्न तत्कालीन सामान्य प्रशासन सचिव गोविन्द कुसुमको अध्यक्षतामा प्रशासकहरूको सात सदस्यीय कमिटी बनायौं । उहाँहरू दरबार जानुहुँदो रहेछ । त्यहाँका कर्मचारीले गफ गरेर फर्काइदिँदा रहेछन् । 

यस्तो क्रम पाँच दिनसम्म चलेछ । चौथो दिनमा मलाई सचिव कुसुमले आफ्नो तहबाट सम्भव भएन भन्नुभयो । उहाँहरू भित्र गएपछि एक जना सहायक रथी आएर 'यहाँ बस्दै गर्नूस्, म जाहेर गर्छु' भनेर हिँडेपछि फर्केर नआउने रहेछन् । त्यत्तिकै फर्किनुहुँदो रहेछ । 

गिरिजाबाबुलाई भेटें र त्यो कुरा बताएँ । उहाँले भन्नुभयो, 'के हो राजाले षडयन्त्र थाले कि क्या हो ?' मैले १५ दिनभित्र गणतन्त्र कार्यान्वयन गर्नुपर्छ भनें । उहाँले पशुपतिभक्त महर्जनलाई फोन गरिदिनुभयो । र, म राजालाई सम्झाउन गएँ । 

भोलिपल्ट गृहसचिव उमेश मैनाली र सामान्य प्रशासन सचिवसहित पाँच जना नारायणहिटी गयौं । हामी चढेको गाडी नारायणहिटीको पश्चिम गेटमा पुगेपछि हामीलाई रोकियो । र, मेरो गार्डलाई उतार्न खोजे । तर, मैले हप्काएँ र मेरो गार्ड गाडीमै बस्यो । 

राजा एकदमै शान्त स्वभावमा प्रस्तुत भए । हामी पाँच र दरबारका पनि ४/५ जना थिए । मैले भनें, 'मलाई प्रधानमन्त्रीले पठाउनुभएको, तपाईंसँग भेट्न । तपाईंका समस्याहरू के छन् ?'

- पूर्वराजालाई नागार्जुनमा बस्न दियौं, पूर्वमुमा बडामहारानीलाई महेन्द्र मञ्जिल उपलब्ध गरायौं । र, नारायणहिटी छाड्दा पत्रकार सम्मेलन गर्न दियौं ।


त्यसपछि उनले 'म एक्लै कुरा गर्न चाहन्छु गृहमन्त्रीज्यू' भने । उनले मलाई आफ्नो समस्या सबै बताए । मैले इरानका बादशाहको कथा बताएँ । करिव २५ सय वर्षको इतिहास रहेको बादशाहको लाश पनि उठाउन कोही नआएको सम्झाएँ । 

'दरबारबाट जाँदाजाँदै केही समस्या छन् भने बुझेर आउनु भन्ने गिरिजाबाबुको आदेश मलाई छ' भनें । उनले आफ्नो केही व्यक्तिगत समस्या सुनाए । निवासको समस्या हामीले सम्बोधन गर्‍यौं । र, बस्नलाई नागार्जुन दरबार उपलब्ध गरायौं । 

उनले भने, 'मेरो मुवाको सेन्टिमेन्ट महेन्द्र मञ्जिलसँग जोडिएको छ । मैले उहाँलाई कसरी यो ठाउँ छोड्नूस् भन्ने ?' मलाई पनि यो विषयले मन छोयो । र, पूर्वमुमा बडामहारानी रत्नलाई त्यहीं बस्ने व्यवस्था मिलाइयो । 

दरबार घुमिसकेपछि उनलाई अन्तिममा भनें, 'हेर्नूस्, तपाईंले दरबारका सामान बेच्नुभयो, निर्मल निवास लैजानुभयो भन्ने हल्ला आयो । यसले तपाईंलाई राम्रो हुन्न । यत्रो राजतन्त्र त गयो । यो राजदण्ड लिएर के गर्नु हुन्छ र ? म त नियतमा विश्वास गर्छु । म त आध्यात्मिक विचारको मान्छे ।' उनलाई नारायणहिटी छाड्दा पत्रकार सम्मेलन गर्न छुट दियौं । 

'दरबार छिरे स्याकमा पर्नुहुन्छ'

प्रतिनिधिसभा पुनःस्थापना भएपछि ४ जेठमा सदन सञ्चालनको तयारी हुँदै थियो । सदनमा पेश गर्ने सबै प्रस्ताव गृहमन्त्रीको हैसियतले तयार गरिसकेको थिएँ । म गिरिजाबाबुसँग सल्लाह गरेर सिंहदरबारस्थित संसद सचिवालयतर्फ जाँदै थिएँ । 

करिब १०/१५ मिनटपछि गिरिजाबाबुले मलाई फोन गरेर 'कहाँ पुग्नुभयो, फर्कनूस्' भन्नुभयो । मैले 'गिरिजाबाबु, संसदतिर पुग्न पो लागें' भनें । गिरिजाबाबुले 'महत्वपूर्ण काम छ, फर्कनूस्' भन्नुभयो । 

म बालुवाटार पुग्दा निवासको भित्री बैठकमा गिरिजाबाबु, तत्कालीन अर्थमन्त्री डा. रामशरण महत र प्रधानसेनापति प्याराजंग थापा हुनुहुन्थ्यो । मलाई गिरिजाबाबुको छेउमै राखियो । गिरिजाबाबुले एक मिनटजस्तो मौनता साँध्नुभयो । अनि, प्रधानसेनापतिलाई देखाउँदै 'ल के छ भन्नूस् ?' भन्नुभयो ।

उनले भने, 'गृहमन्त्रीज्यु, आज संसदमा पेश हुने प्रस्ताव रोकिदिनु पर्‍यो । श्री ५ महाराजधिराज सरकार र दरबारबाट त्यो प्रस्ताव रोक्नु पर्‍यो भन्ने छ । त्यसै गर्दा राम्रो होला । हामीलाई पनि त्यस्तै दबाब छ ।' 

मैले बीचैमा रोकेर 'गिरिजाबाबु, तपाईंको अनुमतिले केही कुरा भनौं' भनें । गिरिजाबाबुले अनुमति दिनुभयो । मैले उनलाई सोधें, 'तपाईं कसको प्रधानसेनापति ? प्रधानमन्त्री, रक्षामन्त्री वा राजा कसको आदेशमा चल्नु हुन्छ ? तपाईं अहिले कोसँग यस्तो प्रस्ताव गर्दै हुनुहुन्छ ? तपाईंलाई यस्तो प्रस्ताव गर्न कसले अनुमति दियो ?'

मैले थपें, 'गिरिजाबाबु मनोनित प्रधानमन्त्री होइन, उहाँ आन्दोलनको प्रधानमन्त्री हो । अब आइन्दा अनुमतिबेगर दरबार पस्नुभयो भने स्याकमा पर्नुहुन्छ ।'

शाहीकालीन चिफहरूलाई 'स्याक' गर्ने निर्णय

नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख र सेकेन्डम्यानलाई हटाइएको थियो । उनीहरूलाई कुनै पूर्वाग्रहबाट हटाइएको होइन । गणतन्त्रमा जाने हो भने त राजालाई नै बोकेर हिँड्ने मान्छेलाई राखेर जान सकिँदैन । सेनालाई पनि त्यही हो । 

गिरिजाबाबु, म र केपी ओलीबीचको 'अन्डरस्ट्यान्डिङ' हो । प्रधानमन्त्री गिरिजाबाबु, केपी ओली उपप्रधान तथा परराष्ट्र मन्त्री र म गृहमन्त्री । 

मन्त्रिपरिषद् बैठकको निर्णयबाटै सुरक्षा निकायका प्रमुख र उच्च अधिकृतहरूलाई मन्त्रालयमा झिकाइएको थियो । पछि उहाँहरूलाई अवकाश दिइयो । यो काम हामीले कुनै दुराग्रह राखेर गरेका थिएनौं । तर, जस-जसले अवकाश पाए, उनीहरूले मलाई गाली गर्दै हिँडे ।
(लीलाराज खनालसँगको कुराकानीमा आधारित)
 

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।