शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • ज्ञानेन्द्रको 'कु' पछि मात्र प्रचण्डजी गणतन्‍‍त्रमा आउनुभयो

ज्ञानेन्द्रको 'कु' पछि मात्र प्रचण्डजी गणतन्‍‍त्रमा आउनुभयो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart

काठमाडौं- गणतन्त्र लोकतान्त्रिक आन्दोलनको सर्वोच्च रूप हो । विज्ञानको विद्यार्थी हुनुका नाताले राजनीति सबै नीतिको केन्द्रविन्दु रहेछ । त्यहाँबाट हस्तक्षेप नभएसम्म कुनै पनि प्राविधिक विषयमा दक्षता पाउन नसकिने रहेछ भन्ने चेतका साथ म राजनीतिमा होमिएँ । त्यतिबेलादेखि नै मलाई लागेको थियो, नेपालमा गणतन्त्र नआएसम्म लोकतन्त्रको कुनै औचित्य छैन । 

हामीले भन्ने गरेको आधुनिक युग युरोपमा भएको वैज्ञानिक क्रान्ति, औद्योगिक क्रान्ति र प्रबद्र्धन अभियानको उपज हो । र, त्यसैको विश्वव्यापीकरणको एउटा अंग पनि । त्यसभन्दा अघिको मध्ययुग अन्धकारमय नै थियो । 

राजा-महाराजा र सामन्तहरूले राज गर्थे । त्यसविरुद्ध जागेको चेतनाले वैज्ञानिक क्रान्ति सफल बनायो, जुन न्युटन र ग्यालिलियो जीवित छँदै भएको थियो । त्यही क्रममा विकास भएको प्रविधिले नै औद्योगिक क्रान्ति ल्यायो । त्यसको जगमा पुरानो राजतन्त्रात्मक प्रणाली बाधक रहेको विचार जन्मियो । र, त्यसैलाई प्रबद्र्धन अभियान भनियो । 

फ्रान्सेली दार्शनिकहरू भोल्तेयर, रुसो, मन्टेस्क्यु, हब्स, कान्टलगायतले लोकतन्त्र र गणतन्त्रको अवधारणा अगाडि सारे । र, सन् १७८९ मा फ्रान्सेली क्रान्ति भयो । त्यसको मुख्य नारा स्वतन्त्रता, समानता र भ्रातृत्व थियो । यो नै समग्र आधुनिक युगको शुरुवात थियो भनेर म मान्छु । 

त्यही विन्दुबाट दुई धार जन्मिए । एउटाले फ्रान्सेली क्रान्तिको स्वतन्त्रताको पाटोलाई लियो र व्यक्तिगत स्वतन्त्रतालाई मात्र लोकतन्त्र मान्यो । त्यसलाई पछि उदारवादी लोकतन्त्र, पुँजीवादी लोकतन्त्र भनियो । त्यो अपूर्ण भयो भनेर मार्क्सहरूको नेतृत्वमा फ्रान्सेली क्रान्तिकै दोस्रो पाटोका रूपमा समानताको कुरा आयो । त्यसलाई केन्द्रमा राखेर समाजवादी धार जन्मियो । 

२०औं शताब्दीमा आइपुग्दा निजी स्वतन्त्रतामा मात्र आधारित उदारवादी, पुँजीवादी लोकतन्त्र र समानता भनिएको समाजवादी लोकतन्त्र दुवै गतिरोधमा पुगे । यही क्रममा नेपालमा फ्रान्सेली क्रान्ति र अन्य देशमा भएजस्तो समाजवादी क्रान्ति पनि हुन नसकेको अवस्था रह्यो । 

हामीले सोच्यौं, विश्व उदारवाद, समाजवाद हुँदै नयाँ विचारको खोजीमा छ । र, त्यही उदारवाद पूर्वको अवस्थामा हामी छौं भन्ने मलाई लाग्यो । पहिले राजतन्त्र फालेर मात्र अगाडि बढ्न सकिन्छ नत्र केही गर्न सकिँदैन भन्ने लाग्यो । 

२००७ सालदेखि पटक-पटकका आन्दोलन पनि सफल हुन नसक्नुको कारण भनेको पनि राजतन्त्र नफालेरै हो भन्ने निष्कर्ष मैले निकालें । त्यसैले ०३३ सालतिरै अखिल भारत नेपाल विद्यार्थी संघ आफ्नै पहलमा खडा गरेर यो अभियान शुरु गरें । 

डा. भट्टरार्इसँग गरिएको कुराकानी भिडियोमा हेर्नुहोस्


मेरो चेतना र्‍याडिकल डेमोक्र्याट र रिपब्लिकन डेमोक्र्याट नै थियो । त्यसबेला बीपी कोइरालासँग म केही आकर्षित थिएँ । किनभने, नेपाली कांग्रेसले पनि मैले सोचेको अभियान चालेको छ भन्ने लागेको थियो । 

२०१७ सालपछि पञ्चायती व्यवस्थाविरोधी आन्दोलन थालेको थियो, कांग्रेसले । दुर्भाग्य, बीपी कोइरालाले राष्ट्रिय मेलमिलापको नीति भन्दै 'राजासँग मेरो घाँटी जोडिएको छ' भन्ने अभिव्यक्ति दिनुभयो । 

मलाई उहाँको भनाइले साह्रै धेरै दुःखी बनायो । उहाँप्रतिको मेरो आस्था र विश्वास टुट्न पुग्यो । र, म र्‍याडिकल रिपब्लिकन मुभमेन्टतिर लागें । कांग्रेसभित्र गणतन्त्रको पक्षमा उभिएका दुर्गा सुवेदी, प्रदीप गिरीहरूसँग पनि सहकार्य भयो । 

पुष्पलाल नेतृत्वमा रहेको कम्युनिस्ट धारले गणतन्त्रकै पक्षमा आवाज उठाउँदै आएको थियो । र, म पनि कम्युनिस्ट आन्दोलनमा जोडिन पुगें । पछि कम्युनिस्टहरूले पनि यो अभियान चलाउन सकेनन् । 

२०४७ सालपछि एमाले सम्झौतामा पुगेपछि त्यो अपुग भएको निष्कर्षका साथ माओवादी आन्दोलन निर्माण गरेर हामी अगाडि बढ्यौं । मलाई लागेको एक मात्र कुरा थियो, राजतन्त्रको अन्त्यपछि मात्र बल्ल लोकतन्त्रले पूर्णता पाउँछ । र, लोकतन्त्रको जगले मात्र समाजवाद आउँछ भन्ने मेरो बुझाइ थियो । 

माओवादी आन्दोलन शुरु गर्दा पनि ४० सूत्रीय माग अगाडि सारेका थियौं । त्यसको १० नम्बर बुँदामा 'जनप्रतिनिधिमार्फत् जनगणतन्त्रात्मक संविधान बनाउने' वाक्यांश समावेश छ । त्यतिबेलै म 'संविधानसभा' शब्द नै प्रयोग गर्न चाहन्थें । तर, प्रचण्डजीहरू 'संविधानसभा' शब्दावलीसँग सहमत हुनुहुन्नथ्यो । 

कम्युनिस्ट आन्दोलनमा रायमाझीहरूले राजतन्त्रप्रति नरम नीति लिए र ०१७ सालपछि संविधानसभाको नारा छाड्दै गए । सोही कारण कम्युनिस्ट आन्दोलनको अर्को धारले संविधानसभा र गणतन्त्रलाई खुला रूपमा ल्याउँदैनथ्ये, सीधै भन्दैनथे । त्यस धारमा मैले नै ती शब्दावलीको शुरुवाति प्रयोग गरेको हुँ । 

माओवादी आन्दोलन उचाइमा थियो । त्यही बेला दरबार हत्याकाण्डमा राजा वीरेन्द्रको वंश नाश भयो । मैले लेखें, 'अब नेपालमा गणतन्त्र आयो, ज्ञानेन्द्र कोतपर्वका अर्का नायक हुन् । जंगबहादुरका रूपमा फेरि आउन खोज्दैछन्, यसलाई मान्यता दिनु हुँदैन ।' 

मेरो त्यस लेखले माओवादी आन्दोलनभित्र पनि ठूलो चर्चा र बहस चल्यो । लोकतान्त्रिक गणतन्त्र पनि ०५९ सालको एउटा लेखमा लेखें, कांग्रेस, एमाले र गणतन्त्रवादीहरू एक हुनुपर्छ ।

यही विषयलाई प्रचण्डजीहरूले मन पराउनुभएन र मलाई कारवाही गर्ने घोषणा गर्नुभयो । उहाँहरू ज्ञानेन्द्रसँग वार्ता गरेर सत्ता साझेदारी गरौं भन्ने 'लाइन'मा हुनुहुन्थ्यो । त्यो कम्युनिस्ट आन्दोलनभित्रको रायमाझी लाइनको निरन्तरता थियो । 

समाजवादमा पुग्नुअघि लोकतान्त्रिक गणतन्त्रको खुड्किलो टेक्नुपर्छ भन्ने मेरो सुसंगत धारणा थियो । तर, अन्ततः ज्ञानेन्द्रले सीधै सत्ता कब्जा गरेर माओवादीसँग वार्ता नगर्ने अडान लिए । अनि, हामी सबै मिलेर १२ बुँदे हुँदै, संविधानसभा र गणतन्त्रसम्म आयौं । 

१९ माघपछि मात्र प्रचण्डजी गणतन्त्रमा

माओवादी पार्टीमा लोकतान्त्रिक गणतन्त्रको हाम्रो नारामा १९ माघको ज्ञानेन्द्रको 'कु' पछि प्रचण्डजीहरू पनि आइपुग्नुभयो । जबकि, त्यही कुरा उठाउँदा ममाथि कारवाही भएको थियो । चुनबाङ बैठकले लोकतान्त्रिक गणतन्त्रको लाइन पारित गर्‍यो । 

मंसिर ०६१ मा हामीले १२ बुँदे सहमति गर्‍यौं । त्यतिबेला मेरै पहलमा गिरिजाप्रसाद कोइरालासँग प्रचण्डको भेट भएको हो । गिरिजाप्रसाद र प्रचण्डबीच चिनजान पनि थिएन, त्यतिबेलासम्म । गणतन्त्रको कुरा गर्दा गिरिजाप्रसाद, कृष्णप्रसाद सिटौला र शेखर कोइराला हुनुहुन्थ्यो । अनि, प्रचण्डजी र म बसेर कुरा गरेका थियौं । 

हामीले नै कुराकानी थालेका थियौं । गिरिजाबाबु त राजासहितको लोकतन्त्र भन्दै आउनुभयो । हामीले भन्यौं, 'त्यही कुराले तपाईंहरूले ००७ सालदेखि धोका खानुभयो । बीपी कोइरालाले पनि पहिले घाँटी जोडिएको छ भन्नुभएको थियो, त्यसले केही लाभ नदिएपछि उहाँले पनि छाड्नुभयो । यसरी राजतन्त्रले पटक-पटक धोका दिइरहेको छ । त्यसैले तपाईंहरूले पनि राजतन्त्रलाई छाड्नुपर्‍यो, गणतन्त्रमा आउनुपर्‍यो ।' 

प्रचण्डजीहरू ज्ञानेन्द्रसँग सत्ता साझेदारी गर्ने 'लाइन'मा थिए, जुन कम्युनिस्ट आन्दोलनभित्र रायमाझी लाइनको निरन्तरता थियो ।

हामीले थप्यौं, 'तपाईंहरू गणतन्त्रमा आउनुभयो भने हामी पनि प्रतिस्पर्धाको राजनीतिमा आउँछौं । हिजो एकदलीय समाजवादी सत्ता, नौलो जनवाद भनेर हिँडेकै हो । तर, अहिलेको परिस्थितिमा एकदलीय प्रणाली भनेर हुँदैन । हामी बहुदलीय प्रणालीमा आउँछौं । तपाईंहरू गणतन्त्रमा आउनुपर्‍यो ।' 

गिरिजाबाबुले भन्नुभयो, 'हामी पनि पुग्ने ठाउँ त्यही हो । अहिले शब्दै गणतन्त्र भनिनहाल्नुहोस् । जाने त्यहीं हो, ढुक्क हुनुहोस्, पुर्‍याउने पनि त्यही हो ।' 

बुढाले भन्न त भने तर हुने के हो भनेर अलमलमा पर्‍यौं, हामी । हामीले बहुदलीय प्रतिस्पर्धामा सामेल हुने र उहाँहरू गणतन्त्रमा आउनुपर्ने दोहोर्‍यायौं । र, त्यसको प्रक्रिया मिलाउने सहमति भयो । परिणामस्वरूप १२ बुँदे सहमति भयो । 

त्यसको मस्यौदा बनाउने म, नारायणकाजी श्रेष्ठ र केपी ओली थियौं । नारायणकाजीलाई भाषा नरम बनाएर बुँदा तयार पार्नूस् भनें मैले । उनले ६ वटा बुँदा तयार पारे । केपी ओलीलाई त्यो जिम्मा लगाइयो । उहाँले १९ बुँदा बनाउनुभयो । र, मलाई फाइनल गर्न भन्नुभयो । 

र, मैले फाइनल १२ बुँदा तयार पारें । त्यहाँ गणतन्त्र नै लेख्नुपर्छ भनेका थियौं । तर, गिरिजाबाबुले 'जाने त्यहीं हो' भन्नुभएपछि मैले 'पूर्ण लोकतन्त्र लेखौं' भनें । दुवै पक्षले त्यसलाई गणतन्त्रका रूपमा बुझ्ने सहमति भयो । १२ बुँदेमा आएको पूर्ण लोकतन्त्र भन्ने शब्द त्यसरी आएको हो । 

१२ बुँदेकै जगमा ०६२/६३ को आन्दोलन भयो । त्यसपछि राजामार्फत् संसद पुनःस्थापना गराए, संसदवादी दलहरूले । हामीले त्यसको विरोध गर्‍यौं । किनभने, त्यहाँ संविधानसभाको कुरा थिएन । 

संविधानसभाको ग्यारेन्टीपछि मात्र युद्धविराम

हामीले राजाको वक्तव्यमा संविधानसभा नसमेटिएकामा तीन वटा विज्ञप्ति निकाल्यौं । र, युद्ध जारी राख्ने निष्कर्ष निकाल्यौं । उहाँहरूले पुनःस्थापित संसद्मार्फत् संविधानसभा घोषणा गर्ने बताउनुभयो । र, १५ वैशाखमै संविधानसभामा जाने घोषणा गर्नुभयो । 

त्यसपछि मात्र युद्धविराम घोषणा गरेर वार्तामा आयौं । त्यसपछि पनि गणतन्त्र घोषणामा बाधा आयो । विस्तृत शान्ति सम्झौता हुँदै अन्तरिम संविधान र अन्तरिम सरकारसम्म आउँदा गणतन्त्रमा जाने भन्ने भयो । तर, संविधानसभाको पहिलो बैठकबाट गणतन्त्र घोषणा गर्ने विषय समेटियो । 

त्यहीअनुसार हामी सरकारमा गयौं । क्रान्तिकारी जोशका कारणले पनि होला, संविधानसभामै लटरपटर गरेर चुनाव पनि उनीहरूले नै मात्र जित्ने पो हुन् कि भन्ने शंका हामीलाई लाग्न थाल्यो ! राजतन्त्र राख्ने पो हुन् कि यिनले ! 


त्यही शंकाका बीच हामीले भदौ ०६४ मा सरकार छाड्यौं । साउनमा हाम्रो बालाजु बैठक बसेको थियो, जसमा पहिले गणतन्त्र घोषणा गरौं नत्र धोका हुने निर्णय गर्‍यौं । 

कृष्णबहादुर महरा, हिसिला यमीलगायत नेता सरकार छाडेर आएपछि असोज, कात्तिक र मंसिरमा हामीले सडकबाट संघर्ष चलायौं । हाम्रो माग अहिले नै गणतन्त्र घोषणा गर्नुपर्छ भन्ने थियो । त्यसपछि पुसमा फेरि सम्झौता भयो । त्यसमा भनियो, 'राजालाई सबै अधिकारबाट वञ्चित गराउने, कार्यवाहक राष्ट्राध्यक्ष बन्ने र त्यसको औपचारिकता संविधानसभाको पहिलो बैठकले गर्ने ।' 

त्यसपछि सरकारमा पुनः सहभागी भएर पहिलो संविधानसभाको चुनाव भयो । चुनावपछि १५ जेठमा 'गणतन्त्र नेपाल' घोषणा भयो । 

चुनावमा माओवादी सबैभन्दा ठूलो पार्टी भएपछि कांग्रेस, एमाले हच्किए । माओवादीले करिब ४० प्रतिशत मत छ । न त माओवादीलाई बाहिर राख्न सकिन्थ्यो, न कांग्रेस, एमालेलाई । त्यसपछि बहुमतीय आधारमा सरकार गठन गर्ने कुरा आयो । र, माओवादी संकटमा पर्‍यो । 

पहिलो बैठक नबसी गणतन्त्र नआउने, बहुमतीय शब्द नराखी कांग्रेस, एमाले बैठक बस्नै नमान्ने । बहुमतीय प्रणालीमा सहमति भएपछि मात्र संविधानसभाको पहिलो बैठक बस्यो । र, लामो संघर्षको परिणामका रूपमा नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भयो । 

दुर्भाग्य, त्यही संविधानसभाका लागि मैले पार्टी भित्र र बाहिर पनि संघर्ष गरें । आफैं प्रधानमन्त्री भएको बेलामा पहिलो संविधानसभा संविधान जारी गर्न नसकी विघटन भएको घोषणा गर्नुपर्‍यो । यो मेरो जिन्दगीकै सबैभन्दा नमिठो क्षण हो । 

गिरिजाबाबुका बाधक वैद्य, बादल र विप्लव

संविधानसभाको पहिलो बैठक बोलाउनै सकस भएको थियो । त्यसपछि राष्ट्रपति निर्वाचन गर्ने विषयमा पनि अर्को अड्चन आयो । त्यतिबेला हाम्रो आन्दोलनलाई साथ दिएर आउनुभएका गिरिजाबाबुलाई नै राष्ट्रपति बनाउने हाम्रो भित्री सहमति थियो । 

उहाँ आफैंले त भन्नुभएको थिएन । तर, कृष्णप्रसाद सिटौलालगायत उहाँ निकटस्थ नेताहरूले त्यस्तो आशय प्रकट गर्नुभएको थियो । संविधासभा चुनावको परिणामपछि हाम्रा साथीहरूमा कांग्रेसलाई नै मुख्य दुश्मन देख्ने प्रवृत्ति आयो । 

साथीहरूले भने, 'किन गिरिजालाई राष्ट्रपति बनाउने ?' धुलिखेल बैठकमा कांग्रेससँगै लडेर जाने प्रस्ताव पारित भयो । मोहन वैद्य, रामबहादुर थापा 'बादल' र नेत्रविक्रम चन्द 'विप्लव'ले त्यस धारको नेतृत्व गरेका थिए । 

म, प्रचण्ड, टोपबहादुर रायमाझी, पोष्टबहादुर बोगटीलगायत नेता केही समय मिलेरै जानुपर्छ भन्नेमा थियौं । तर, उहाँहरूले 'हाम्रो दुश्मन नै कांग्रेस भएपछि कहाँ मिल्ने भिडेर जानुपर्छ, अब सहकार्य गर्ने चरण नै सकियो' भन्नुभयो । 

माओवादीको पोलिटब्युरोमा पनि हाम्रो विपक्षकै मत बढी भयो । हामी चार जना एकातिर भयौं, १५ जनामा ११ जना अर्कोतिर । हामीले सहमति तोड्ने भनेर त निर्णय गरेनौं । तर, चाहँदा चाहँदै पनि गिरिजाबाबुलाई राष्ट्रपति बनाउन सकेनौं । 

उहाँसँग शंका पनि नभएको चाहीं होइन हामीलाई । बुढा चलाख छन्, स्थापित पनि हुन् । राष्ट्रपति बनेर सबै लट्पट्याउने हुन् कि भन्ने शंका थियो । तर, यहाँसम्म मिलेर आइसकेपछि बनाऊँ भन्नेमा थियौं, प्रचण्ड र म । पार्टीभित्रको फरक धारका कारण नबनाउने निष्कर्षमा पुग्यौं । 

भिडियो हेर्नुहोस्

मधेशकेन्द्रित दलले धोका दिए

त्यसपछि रामराजाप्रसाद सिंहलाई राष्ट्रपतिको उम्मेदवार प्रस्ताव गर्ने पनि मै हो । उहाँसँग मेरो ०२८ सालदेखि नै व्यक्तिगत सम्बन्ध/सम्पर्क थियो । अस्कल कलेजमा आईएस्सी पढ्दा उहाँ राष्ट्रिय पञ्चायतमा स्नातकबाट निर्वाचित हुनुभएको थियो । तर, सपथग्रहण गर्न दिइएको थिएन । 

त्यतिबेला उहाँको पर्चामा गणतन्त्र ल्याउने थियो र हामी त्यो पर्चा बाँड्दै हिँड्थ्यौ । त्यतिबेला मेरो प्रेरणा हुनुहुन्थ्यो, उहाँ । ०४२ सालको बम काण्डपछि उहाँका नजिकका साथी राम कार्की, कुमार पौडेललगायत हामीसँग पनि आउनुभयो र व्यक्तिगत रूपमा मसँग नजिक पनि हुनुभयो । 

जनयुद्धकालमा पनि भूमिगत रूपमा भेट्थ्यौं । बुढेसकालमा पनि उहाँको जोशचाहीं कडा । उहाँ भन्नु हुन्थ्यो, 'छोड्नु हुन्न है, गणतन्त्र ल्याउनै पर्छ, मैले सकिनँ । म पनि चे ग्वेभाराबाट प्रभावित भएर विद्रोहमा लागेको, अहिले तपाईंहरूले अगाडि बढाउनुभएको छ, तपाईंहरूलाई मेरो साथ छ ।'

त्यसैले गणतन्त्रका मुख्य हकदार उहाँ नै हो भन्ने लागेको थियो । फेरि पहाड र मधेश जोड्नका लागि राम्रो सन्देश पनि जान्छ भनेर प्रस्ताव राखें, जुन पार्टीले स्वीकार्‍यो । 

रामराजाप्रसादलाई उठाएपछि मधेशकेन्द्रित दलहरूको साथ पाइहालिन्छ भन्ने सरल बुझाइ हाम्रो भयो । तर, एमाले र कांग्रेस मिलेर मधेशकेन्द्रित दलहरूलाई मिलाइसकेछन् । 

रामराजाका पक्षमा कुरा गर्न उपेन्द्र यादवकहाँ गएको त 'हामीले उता वचन दिइसक्यौं' भन्नुभयो । रामराजाप्रसाद मधेशका पनि साझा उम्मेदवार बन्ने हाम्रो बुझाइ थियो । मधेशकेन्द्रित दलहरू आएको भए बहुमत हाम्रो पक्षमा हुन्थ्यो । 

अन्त्यमा केही गर्न सकिन्छ कि भनेर विजय गच्छदार र जेपी गुप्तासँग पनि छलफल गर्‍यौं । 'रामराजालाई नै बनाउनुपर्छ, त्यहाँको मत ल्याउँछौं, उपेन्द्रले केही मत लगे पनि धेरैभन्दा धेरै मत ल्याएर यतै बहुमत ल्याउँछौं' उहाँहरूले भन्नुभयो । 

थोरै आशामा बस्यौं । पहिलो चरणमा बहुमत आएको थियो । दोस्रो चरणमा बहुमत आएन र रामराजाप्रसाद सिंह हार्नुभयो । डा. रामवरण यादवलाई राष्ट्रपति बन्ने चिठ्ठा पर्‍यो । उहाँहरूले जित्ने निश्चित भएर डा. यादवलाई उठाउनुभएको थिएन । 

जित्ने निश्चित भएको भए त गिरिजाबाबु नै उठिहाल्नु हुने थियो । हामीले नदिएकामा उहाँमा पनि रिस थियो । पछि डा. यादवसँग भेटका बेला उहाँले पटक-पटक भन्नुभयो, 'गणतन्त्र तपाईंहरूले ल्याउनुभयो, राष्ट्रपति म बनें ।' वास्तविकता पनि त्यही थियो । 

यसरी विघटन भयो संविधानसभा

पहिलो संविधानसभा विघटनको भित्री पाटो धेरै गहिरो छ । बाहिरी सतहमा आएजस्तो मैले विघटन गराएको होइन । म मेरै पालामा, आफ्नै जीवनकालमा संविधानसभाबाट संविधान बनेको हेर्न चाहन्थें । यदि त्यसो भएको भए म जति सन्तुष्ट कोही हुने थिएन ।

आफैं प्रधानमन्त्री रहेको बेला १४ जेठ ०६८ मा पहिलो संविधानसभा विघटन भयो । 

२ जेठमा १० वटा प्रदेश, फ्रान्सेली शैलीको राष्ट्रपतीय प्रणाली र सर्वोच्च अदालतका प्रधानन्यायाधीशकै नेतृत्वमा अरु संयन्त्रको संवैधानिक अदालत गठन गर्ने सहमति भयो । तर, पार्टीभित्रकै मोहन वैद्यजीहरूले विरोध गरिदिनुभयो । 

उपेन्द्र यादवलगायत मधेशकेन्द्रित दलहरूले पनि त्यसको विरोध गरे । पार्टीभित्रकै जनजाति साथीहरूले पनि विरोध गरे । त्यसपछि प्रचण्डजीले पनि खुट्टा छाडिदिनुभयो । ७ जेठमा त नेपाल बन्द नै बयो । १४ जेठ नजिक आइसक्दा २ जेठको सहमति भंग भयो । 

संविधानसभा बचाउने एक मात्र विकल्प म्याद थप्ने मात्र थियो । कृष्णप्रसाद सिटौला पनि मेरो नेतृत्वको सरकारमा हुनुहुन्थ्यो । हामीले ९ जेठमा निर्णय गरेर म्याद थपको प्रस्ताव संधिवानसभामा पठायौं । 

कानुन मन्त्रीको हैसियतले सिटौलाले दर्ता गर्नुभयो । तर, कांग्रेस सभापति सुशील कोइरालाले साँझ पत्रकार सम्मेलन गरेर विरोध गर्नुभयो । र, मुद्दा हाल्न लगाउनुभयो । कांग्रेसकै केही वकिलले मुद्दा हाले । ११ जेठमा तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीले संविधानसभाको म्याद थप गर्न नमिल्ने भनेर फैसला दिनुभयो । 

अनि हाम्रा हातखुट्टा बाँधिए । २/३ दिन बाँकी रह्यो । तत्कालीन सभामुख सुवास नेम्वाङलाई संविधानसभाको बैठक बोलाउनूस् भनें । उहाँले सहमति नभई बोलाउँदिन भन्नुभयो । 

१४ जेठमै पनि सबैलाई बालुवाटारमा बोलाएर सहमतिका लागि आग्रह गरें । तर, सफलता मिलेन । साँझ सभामुखकै कार्यकक्षमा म्याद थपका विषयमा कुराकानी गर्‍यौं, त्यहाँ पनि सहमति जुटेन । 

मसँग संकटकाल घोषणा गरेर म्याद थप्न सक्ने अन्तिम अस्त्र बाँकी थियो । त्यो मेरा लागि कालो टीका लगाएसरह हुन्थ्यो । मैले प्रस्ताव गरें, 'संकटकाल लगाएर म्याद थप्छु ।' शेरबहादुर देउवाबाहेक सबै नेताले मानेनन् । 

कांग्रेस सभापति थिएनन्, देउवा । सभापति सुशील कोइरालाले विरोध गरे । कृष्णप्रसाद सिटौला नै संकटकालको प्रस्ताव आउँदै गरेको सन्देश लिएर राष्ट्रपति डा. रामवरण यादवकहाँ पुग्नुभएछ । र, त्यसलाई रोक्न आग्रह गर्नुभएछ । 

मलाई खबर आयो, 'तपाईंले क्याबिनेटबाट पारित गरे पनि जारी गर्ने त राष्ट्रपतिले हो ।' सबैतिरबाट यसरी धर्मसंकटमा परें । 

मध्यरातमा स्वतः विघटन हुन्थ्यो । राति १० त बजिसकेको थियो । परामर्श गर्दा वकिलहरूले भने, 'अब संविधानसभा त्यसै तुहिन सक्छ । ००७ सालदेखिको षडयन्त्र अहिले पनि हावी हुन्छ । यहाँभित्र ठूलो डिजाइन पनि हुन सक्छ । त्यसैले तपाईंले कमसेकम अर्को संविधानसभाको चुनाव घोषणा गरिदिनूस् ।' 

त्यसपछि संविधानसभा चुनाव कसले गराउने, 'कु' हुने, सेनाको हातमा जाने खतरा औंल्याए, वकिलहरूले । उनीहरूकै सुझावका आधारमा मैले दोस्रो संविधानसभाको निर्वाचन मिति घोषणा गरेको हुँ । 

तर, आम मानसिकतामा बाबुरामले नै संविधानसभा विघटन गर्‍यो भन्ने पर्‍यो । निर्वाचित प्रधानमन्त्रीको हैसियतमा मैले दोस्रो संविधानसभाको निर्वाचन घोषणा गरेको थिएँ । तर, कानुन पढेका वकिल भन्नेहरूले पनि यस्तो कुरा नबुझेको देख्दा मलाई अचम्म लाग्छ । 

संविधानसभाबाट गणतन्त्रको अनुमोदन गरिएकाले यो संस्थागत भएको छ । अब सैनिक 'कु' गरेर संविधान मिचियो भने मात्रै हो, नत्र गणतन्त्र गुम्ने अरू कुनै खतरा छैन । तर, संकटमा परेकोचाहीं लोकतन्त्र हो । 

लोकतन्त्र गतिशील हुन्छ । यसका परिभाषा त धेरै छन् तर हामीले संघीयता र समावेशितासहितको लोकतन्त्र भनेका छौं । त्योचाहीं अझै पूर्ण हुन सकेको छैन । 
(पूर्वप्रधानमन्त्री डा. भट्टराईसँगको कुराकानीमा आधारित)
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।