शुक्रबार, वैशाख १४, २०८१

मोदीलाई सवा सात करोडको अभिनन्दन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम- जनकपुरधाम आएर पूजाअर्चना गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चाहना चार वर्षपछि मात्र पूरा भयो । तर, त्यस क्रममा भएको खर्च प्रदेश सरकारले हालसम्म सार्वजनिक गर्न सकेको छैन । 

मुख्यमन्त्री कार्यालयका अनुसार मोदीको स्वागत, मञ्च निर्माण, सरसफाइ, जनपरिचालन, सुरक्षा र प्रचारप्रसार शीर्षकमा सात करोड २० लाख रुपैयाँ खर्च भएको छ । मोदीले करिब तीन घण्टा जनकपुरमा बिताएका थिए ।

रंगभूमि मैदानमा आयोजित नागरिक अभिनन्दनमा जनकपुर उपमहानगरको नभई प्रदेश सरकारकै हालीमुहाली थियो । उपमहानगरका मेयर लालकिशोर साहले अभिनन्दन पत्र वाचन गरेर प्रदेश सरकारलाई साथ मात्र दिए । 

भ्रमणको व्यवस्थापन र संयोजनको जिम्मेवारी प्रदेश सरकारले नै लिएको थियो । त्यसका लागि मुख्यमन्त्री लालबाबु राउतको संयोजकत्वमा दुई हजार ६ सदस्यीय मूल समारोह समिति गठन भएको थियो ।

भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलको संयोजकत्वमा गठित १० सदस्यीय मञ्च व्यवस्थापन समितिले मात्र करिब तीन करोड खर्च गरेको छ । नागरिक अभिनन्दन समारोहको मञ्च निर्माणमा भारतीय कम्पनीलाई संलग्न गराइएको थियो । 

मुख्यमन्त्री कार्यालयले भारतीय दूतावास र सुरक्षाकर्मीको निर्देशनमा विहार मोतिहारीको मनोजकुमार राज एन्ड कम्पनीलाई ठेक्का दिएर मञ्च र पण्डाल निर्माण गराएको थियो । भौतिक योजना तथा विकास मन्त्रालयका लेखा अधिकृत दिनेश पण्डितका अनुसार त्यसका लागि एक करोड ३४ लाख रुपैयाँ भुक्तानी दिइएको थियो ।

वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासकै पहलमा उक्त कम्पनीलाई ठेक्का दिइएको हो । 

मोदी भ्रमणका लागि सरसफाइ, स्वागत र भौतिक संरचना मर्मत सुधारमा मात्र दुई करोड ५० लाख रुपैयाँ प्रदेश सरकारले खर्चिएको छ । लेखा अधिकृत पण्डितका अनुसार रंगभूमि मैदानमा शौचालय बनाउन मात्र २० लाख रुपैयाँ खर्च भएको छ । 

जीके कन्स्ट्रक्सनका ज्ञानेन्द्र झालाई आठ वटा अस्थायी शौचालय र ३८ वटा पिसाब फेर्ने ठाउँ (युरिनल) निर्माणको ठेक्का दिइएको थियो । मञ्चमा भीआईपी शौचालय निर्माण गरिएको थियो । 

मन्त्रालयका एक प्राविधिकका अनुसार भीआईपी शौचालय र अन्य अस्थायी सेट उपमहानगरका कर्मचारीले लगेका छन् ।

रंगभूमि मैदानमा ग्राभेल गर्न प्रदेश सरकारले एक करोड रुपैयाँ खर्च गरेको छ । उक्त कामको जिम्मा जनकपुरस्थित चौधरी कन्स्ट्रक्सनका दीपेन्द्र ठाकुरलाई दिइएको थियो । 

प्रदेश सरकारले इन्धन शीर्षकमा करिब तीन लाख रुपैयाँ खर्च गरेको छ । सरसफाइ र स्वागतद्वार निर्माणमा ६ लाख ५० हजार रुपैयाँ सकिएको छ । उक्त रकमबाट ८६ वटा स्वागतद्वार बनाइएको थियो । 

त्यसबाहेक १५ सय वटा टी-सर्ट वितरणका लागि तीन लाख २५ हजार रुपैयाँ खर्च भएको छ । र, सरसफाइमा एक लाख ७५ हजार रुपैयाँ सकिएको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रकुमार साह संयोजकत्वको जनपरिचालन समितिले ८८ लाख रुपैयाँ सकेको छ । प्रदेशका आठ वटा जिल्लाबाट सर्वसाधारणलाई जनकपुरसम्म ल्याउन ३० वटा बस भाडामा लिइएको थियो । 

आगन्तुकलाई बसमै खाजा, खाना र पानीको व्यवस्था गरिएको मन्त्री साहको भनाइ छ । जनकपुरले गर्ने नागरिक अभिनन्दनमा अन्य जिल्लाबाट सहभागी गराएर प्रदेश सरकारले जथाभावी खर्च गरेको राष्ट्रिय जनता पार्टी (राजपा)का युवा नेता अरुण झा बताउँछन् । 

पिउने पानीका लागि ठूलो रकम खर्च भएको बताइए पनि अभिनन्दन समारोहमा एक थोपा पिउन नपाइएको सहभागीहरू बताउँछन् । 

प्रचारप्रसारमा मात्रै एक करोड १० लाख रुपैयाँ खर्च भएको छ । ब्यानर, पोस्टर, झण्डालगायत शीर्षकमा उक्त रकम खर्च गरिएको हो । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादवको संयोकत्वमा प्रचार प्रसार समिति गठन गरिएको थियो ।

समितिका सदस्यहरू नै खर्च अनुमोदन गर्न तयार नभएपछि विवाद बढेको एक प्रदेशसभा सदस्य बताउँछन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।