शुक्रबार, वैशाख १४, २०८१

भविष्य हेरेर नाफामा सम्झौता गरेका छौं (अन्तर्वार्ता)

सेयर बजारले देशको पुँजीलाई चलायमान बनाउने र पुँजी निर्माणका लागि वातावरण तयार गर्ने भएकाले यसलाई अनुत्पादक क्षेत्र मान्न मिल्दैन।
 |  मंगलबार, फागुन १८, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १८, २०७७

बैंकिङ क्षेत्रमा करिब २५ वर्षदेखि कार्यरत गोविन्द गुरुङ पछिल्लो साढे तीन वर्षदेखि सिभिल बैंकमा प्रमुख कार्यकारी अधिकृत छन्। व्यवसाय प्रशासनमा स्नातकोत्तर गुरुङसँग हिमालयन, ग्लोबल आईएमई र मेगा बैंकमा काम गरेको अनुभव छ। एक साताअघि वार्षिक साधारणसभा सम्पन्न गरेको सिभिल बैंकले कोरोना कहरका बीच पनि आम्दानी सन्तोषजनक गरेको छ। गुरुङसँग समग्र बैंकिङ क्षेत्र र सिभिल बैंकबारे नेपाल समयका लागि शर्मिला ठकुरीले गरेको कुराकानीको सम्पादित अंंश :

triton college

राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामार्फत कोभिड–१९ प्रभावित ऋणीहरूको भाखा २०७८ असारसम्म थपेको छ। यसले बैंकिङ क्षेत्रमा कस्तो असर गर्ला? 

यसले ऋणीलाई मात्र नभएर समग्र अर्थतन्त्रलाई मद्दत गर्छ। ऋण तिर्ने समय थप हुँदै गर्दा पुनर्कर्जा तथा व्यवसाय निरन्तर कर्जा लिन छुटेकाले पनि त्यस्तो ऋण पाऊन् भनेर यो व्यवस्था गरिएको हो। जसका कारण कोभिड –१९ ले थला परेका उद्योग व्यवसाय पुनः स्थापित हुन सक्छन्।  

यद्यपि, यो व्यवस्थाले बैंकहरूको नाफा घट्छ। तर पनि हामीले यसलाई सामान्य रुपमा लिएका छौं। 

कोभिडका कारण नेपालको समग्र बैंकिङ क्षेत्रकै नाफामा असर गरेको छ। बैंकिङ क्षेत्रको नाफा गत वर्षको असार मसान्तमा १० अर्बभन्दा बढी घटेको छ। 

corrent noodles
Metro Mart

बैंकिङ क्षेत्रको नाफा हरेक वर्ष करिब १५ प्रतिशत बढ्ने गरेकोमा यस वर्ष त्यही अनुपातमा घटेको छ। बैंकिङ व्यवसाय लामो समयको व्यवसाय भएकाले समग्र अर्थतन्त्रको दिगोपन जरुरी हुन्छ। त्यसैले राष्ट्र बैंकले ल्याएको व्यवस्थालाई हामीले सहज रुपमा लिएका छौं। 

थपिएको समयमा पनि कर्जा उठेन भने बैंकहरूको एनपीएल (खराब कर्जा) को अनुपात बढ्ला नि? 

हो, एनपीएल केही बढ्छ। कोभिडभन्दा पहिले पनि वाणिज्य बैंकहरूको एनपीएल १.५३ प्रतिशत थियो। अहिले १.७५ प्रतिशत पुगेको छ। कोभिडका कारण जति पनि व्यवसायी ऋण तिर्न नसक्ने अवस्थामा थिए, अब त्यो अवस्थामा सुधार आउँदै छ।

अन्तर्राष्ट्रिय पर्यटन, सिनेमा हल र शिक्षा क्षेत्र छाडेर अन्य क्षेत्र बिस्तारै पुरानै लयमा फर्किइरहेका छन्। कोभिडकै कारण बढेको एनपीए पनि एकदुई वर्षभित्र ‘रिभाइभ’ भइसक्छ। 

अहिले बैंकहरूमा पर्याप्त तरलता छ, यस्तो अवस्थामा लगानी जोखिमयुक्त क्षेत्रमा जाने सम्भावना कति छ? 

मलाई त्यस्तो लाग्दैन। सेयर बजारमा पहिलेको तुलनामा केही बढी कर्जा गएको छ। सेयर बजारले देशको पुँजीलाई चलायमान बनाउने र पुँजी निर्माणका लागि वातावरण तयार गर्ने भएकाले यसलाई अनुत्पादक क्षेत्र मान्न मिल्दैन।

नेपाल राष्ट्र बैंकले कोर पुँजीको ४० प्रतिशतभन्दा बढी रकम सेयर बजारमा लगानी गर्न नमिल्ने व्यवस्था गरेको छ। कोर पुँजीको ४० प्रतिशतसम्मको जोखिम थेग्न नेपालका वाणिज्य बैंकहरू सक्षम छन्। अन्य जोखिमयुक्त क्षेत्रमा लगानी भएको छैन।

कर्जा लगानीमा बैंकहरू आक्रामक बन्न थालेपछि फेरि तरलता अभावको अवस्था आउने त होइन? 

कर्जाको माग बढ्नुले बजार साधारण अवस्थामा फर्केको जनाउ दिन्छ। तर, निक्षेप मन्द गतिमा बढेको छ। पछिल्लो समयमा तरलतामा केही संकुचन देखिए पनि दुई वर्षअघिको जस्तो ‘क्रेडिट क्रन्च’ को अवस्था भने तत्काल आउँदैन। अहिले भएको तरलताले आगामी वैशाखसम्म धान्छ। 

कात्तिक–मंसिरमा भने समस्या देखिन सक्छ। असार मसान्तमा सरकारी खर्च बढ्छ। अहिलेकै हिसाबमा बैंकहरूले कर्जा प्रवाह गर्दा त्यो रकम असोज मसान्तसम्ममा लगानी भइसक्छ। फेरि दसैंतिहारका बेला ऋणको माग बढ्छ। उपभोगको आधारमा ऋणको माग बढ्ने तर, निक्षेप संकलन सुस्त हुने हुँदा तरलता संकुचन अलिक बढी हुन सक्छ। 

सिभिल बैंकको अवस्थाचाहिँ कस्तो छ? 

कर्जाको गुणस्तर र व्यवसायको आयातन हेर्ने हो भने हामी राम्रो अवस्थामा छौं। भर्खरै दसाैं वार्षिक साधारणसभा सकियो। सभाले ८ प्रतिशत बोनस सेयर र ०.४५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश दिने निर्णय गरेको छ।

सिभिल बैंकले विगतका वर्षभन्दा यसपटक धेरै लाभांश बाँडेको छ। तीन वर्षअगाडि ४.०७ प्रतिशत र गत वर्ष ६.५७ प्रतिशत लाभांश दिइएको थियो। आगामी दिनमा यो अझै बढ्नेछ। 

चालू आवको सात महिनामा कर्जा ३४ प्रतिशतले बढेर ७२ अर्ब पुगेको छ। निक्षेप ३० प्रतिशतले बढेर ७८ अर्ब रुपैयाँ पुगेको छ। सबैभन्दा ठूलो समस्या हामीलाई एनपीए घटाउनु थियो। २०७३ असार मसान्तमा ४.९९ प्रतिशत हाराहारीमा रहेको एनपीए गएको पुस मसान्तसम्म आइपुग्दा १.७ मा झरेको छ। आगामी असार मसान्तसम्ममा यसलाई १ प्रतिशतमा झार्ने लक्ष्य छ। 

सिभिल बैंकको प्रोभिजनिङ १४२ प्रतिशत छ। यसलाई कसरी बुझ्ने? 

लोनलेस प्रोभिजनिङ धेरै हुनु राम्रो हो। हामीले जे कमाएका छौं त्यो प्रोभिजनिङ नगरी नाफामा देखाएको भए पनि हुन्थ्यो।

पछि कर्जामा समस्या हुन सक्छ भनेर प्रोभिजनिङ गरेका हौं। तीन महिना भाखा नाघेको र असल कर्जाका कारण प्रोभिजनिङ १४२ प्रतिशत भएको हो। यो बैंकका लागि राम्रो हो। 

हामीले करिब १९ करोड हाराहारीमा वाच लिस्ट (नेपाल राष्ट्र बैंकको नियम अनुसार तीन महिनाभन्दा बढी भाखा नाघेको कर्जालाई वाच लिस्टमा राख्नुपर्छ) का कर्जाको प्रोभिजनिङ गरेका छौं। कोभिडका कारण ऋणको पुनर्तालिकीकरण गरेको कर्जामा पनि हामीले ५ प्रतिशत प्रोभिजनिङ गरेका छौं। 

पुस मसान्तसम्म हाम्रो असल कर्जा १४ अर्ब रुपैयाँले बढेको छ। जसको एक प्रतिशत १४ करोड रुपैयाँ प्रोभिजनिङमा छुटट्याएका छौं। वास्ताविक एनपीए अकाउन्टको प्रोभिजनिङ पनि ८० प्रतिशत छ। 

निक्षेप संकलन र कर्जा प्रवाह राम्रो हुँदाहुँदै पनि नाफा भने किन कम? 

१४२ प्रतिशत प्रोभिजन, कस्ट अफ फन्ड (लागत), सञ्चालन खर्च र स्प्रेड रेट (निक्षेप र कर्जाको अनुपात) कम भएका कारण बैंकको नाफामा कमी आएको हो। 

पुस मसान्तसम्म सिभिल बैंकको नाफा २० करोड रुपैयाँ छ। नाफा कम हुनुमा प्रोभिजन थप ३४ करोडले बढ्नु पनि होे। निक्षेपमा ब्याजदर कम मात्र घटाएर निक्षेप वृद्धि गरिरह्यौं जसका कारण हाम्रो लागत बढिरह्यो। 

त्यस्तै प्रतिस्पर्धाका लागि कर्जाको ब्याजदरमा कमी गर्‍यौं। जसले स्प्रेड रेट निकै कम भयो। आधार दरमा थोरै मात्र प्रिमियम जोडेर कर्जा प्रवाह गरेका कारण पनि नाफामा कमी आएको हो। 

पछिल्लो दुई वर्षमा सिभिल बैंकका ४० शाखा विस्तार भएका छन्। जुन अझै पनि पूर्ण रूपमा सञ्चालनमा आएका छैनन्। अर्को वर्ष भने बैंकले राम्रो नाफा कमाउन सक्छ। बैंकको भविष्य राम्रो बनाउन अहिले नाफामा सम्झौता गरेका छौं। 

सिभिल बैंकले आफ्नो लगानीलाई विविधीकरण गर्न नसकेको गुनासो छ नि? 

हाम्रो कर्जा विविध क्षेत्रमा लगानी भएको छ। ७२ अर्बको कर्जामा ४० प्रतिशत मात्र कर्पोरेट क्षेत्रमा गएको छ। पछिल्लो ६ महिना साना तथा मझौलास्तरको व्यापार वृद्धि ६० प्रतिशत छ। खुद्रा क्षेत्रमा बैंकको ४० प्रतिशत वृद्धि छ। 

सिभिल बैंकले मर्जरका बारेमा के सोचिरहेको छ? 

मर्जरका लागि हामी खुला छौं। साधारणसभाले बोर्डलाई मर्जर तथा एक्विजिसनका लागि अधिकार दिइसकेको छ। त्यसका लागि विकास बैंक तथा केही ‘क’ वर्गका बैंकसँग पनि सल्लाह भइरहेको छ। सबै कुरा हेरविचार गरेर अगाडि बढ्छौं। 

चुक्ता पुँजीको २५ प्रतिशत डिबेन्चर जारी गर्नुपर्ने राष्ट्र बैंकको अनिवार्य व्यवस्था कहिले लागू गर्दै हुनुहुन्छ? 

राष्ट्र बैंकले ७९ सालसम्मको समय दिएको छ। उक्त समयसम्म हामी डिबेन्चर जारी गर्छौं।  त्यसकै लागि अहिले क्रेडिट रेटिङको प्रक्रियामा छौं।  हामीले ८४ अर्ब हाराहारीमा ऋण लगानी गर्‍यौं भने थप लगानीका लागि पुँजी आवश्यक हुन्छ। त्यस्तै, राष्ट्र बैंकले ‘काउन्टर साइकलिङ बफर’ लागू गरेमा १३ प्रतिशत पुँजी निष्क्रिय रहन्छ। त्यसैले यही वर्ष नै पनि डिबेन्चर जारी हुन सक्छ।

सिभिल बैंकको आगामी योजना के छ? 

हामी प्रतिस्पर्धी भएर अगाडि बढ्ने सोचमा छौं। त्यस कारण अहिले व्यापार वृद्धिमै ध्यान दिएका छौं। अबको ६ महिनामा निक्षेप ९० अर्ब रुपैयाँ र कर्जा ८४ अर्ब रुपैयाँ पुर्‍याउने सोच छ। हाल बैंकसँग ८ अर्ब ६४ करोड रुपैयाँ चुक्ता पुँजी  छ। हामीले नाफालाई पनि केन्द्रमा रोखेर अगाडि बढिरहेका छौं।

प्रकाशित: Mar 02, 2021| 04:16 मंगलबार, फागुन १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

नेपालमा २०३५ सालसम्म मुटु रोगको समस्या थिएन। नेपालीको जीवनशैली निकै राम्रो थियो । तर, अहिले खासगरी खानपिन र व्यायाम गर्ने परिपाटीमा धेरै परिवर्तन भएको छ।
सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

तीन तहका सरकारबीच उचित समन्वय नहुँदा सेवा प्रवाहमा अन्योल देखिएको छ। गाउँगाउँमा सिंहदरबार पुगेको व्याख्या हुँदै आए पनि सिंहदरबारको समस्या प्रदेश र स्थानीय तहमा पनि...
शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

‘समयअनुरुप चुनौती बदलिँदै र जटिल बन्दै गएका छन्। अहिलेको प्रणाली र संविधानमाथि विभिन्न कोणबाट देखिएका चुनौती अनि विचलनको अवस्थाप्रति सजग रही प्रभावकारी ढंगबाट काम गर्न...
राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

नेकपा एमालेका तर्फबाट मुलुकको नयाँ राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङले राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण बनाउन...
राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

सबैको चाहना निर्वाचनमा जाँदाकै गठबन्धन अगाडि बढ्नुपर्छ भन्ने छ। पाँच वर्ष सोही गठबन्धनले काम गर्नुपर्छ भन्ने उहाँहरूको चाहना भएकाले छिटोभन्दा छिटो पुरानै गठबन्धनले निरन्तरता पाउने...