विचार समाचार

'सीमापारिबाट आउने सबैलाई क्वारेन्टिन राख्नैपर्छ'

1618204510.jpg

कोरोना भाइरसको संक्रमण भइसकेपछि लक्षण देखिन, वा लक्षण नभएपनि परीक्षणमा पोजिटिभ देखिन, २ देखि १४ दिनसम्म लाग्न सक्छ। आज सीमामा प्रवेश गर्दा कुनै मान्छेलाई लक्षण रहेनछ भनेपनि १ हप्तापछि उसलाई लक्षण देखिने वा लक्षण नदेखिए पनि सास फेर्दा भाइरस अरूलाई सर्ने संभावना हुन्छ।

त्यसैले आज गरेको पिसिआर वा एन्टिजेन टेस्ट नेगेटिभ भयो भन्दैमा उसबाट अरूलाई रोग सर्ने सम्भावना छैन भन्नै मिल्दैन। त्यसै कारण आजभन्दा केही हजार वर्षअघिदेखि नै मान्छेहरूले संक्रमण हुनसक्ने क्षेत्रबाट आउनेलाई क्वारन्टिनको प्रचलन शुरु गरेका थिए।

कोरोनाभाइरसको संक्रमण भइसकेका (जाँच गरे पोजिटिभ देखिने) व्यक्तिमै पनि फरक समुदायमा गरिएका विभिन्न अध्ययनले देखाए अनुसार एक तिहाइदेखि दुई तिहाइसम्म संक्रमितलाई शुरुदेखि अन्त्यसम्मै लक्षण पटक्कै नहुन सक्नेरहेछ। यद्यपि तिनबाट रोग अरूलाई सर्न भने मजाले सक्नेरहेछ।

लक्षण हुनेहरूमा पनि सबैभन्दा संक्रामक अवस्था चाहिँ लक्षण शुरु हुनुभन्दा २४ घन्टा अगाडिको समय हुँदोरहेछ। अर्थात् सीमामा अहिले लक्षण नै नभएका थुप्रै व्यक्ति यस्ता लक्षणविहीन वा लक्षण देखिनुभन्दा अगाडिका संक्रमित हुन सक्छन्, जसलाई परीक्षण गरेको भए पोजिटिभ देखिन्थ्यो। तिनलाई परीक्षण नै नगरी निर्बाध प्रवेश गर्न दिँदा बाटोमै वा आफ्ना गाउँघर पुगेपछि तिनीहरूबाट सम्पूर्ण जिल्ला वा प्रदेशभर संक्रमण फैलिन सक्ने सम्भावना हुन्छ।

छिटो र प्राविधिक हिसाबले सजिलो भएपनि एन्टिजेन जाँचको संक्रमित पहिचान गर्न सक्ने क्षमता (सबै परिस्थितिलाई नियन्त्रण गरिएको प्रयोगात्मक परिवेशमा पनि) ८० प्रतिशत भन्दा केही बढी मात्र छ। त्यस्तो सबै मापदण्ड अक्षरशः पालना नहुने 'रियल-वर्ल्ड सेटिङ'मा यो जाँचले संक्रमितको ठूलो हिस्सालाई नेगेटिभ देखाउन सक्छ।

त्यसैले सीमानाकामा अहिल्यै पोजिटिभ भएकालाई अरूबाट छुट्याएर राख्न त यसको प्रयोजन हुन्छ, तर कोभिडको जस्तै लक्षण भएकै कुन व्यक्ति चाहिं कोरोना भाइरसको संक्रमण छैन र उसलाई निर्बाध घर जान दिए हुन्छ भनेर छुट्याउने मापदण्ड यसलाई बनाए ठूलो समस्या हुने निश्चित छ।

अब के गर्ने ?
सीमापारीबाट आउने सबैलाई क्वारन्टिन राख्नैपर्छ। बरु १४ दिन सकिँदैन भने ७ वा १० दिन मात्रै राखौं र त्यसपछि पिसिआर गरौं। यदि नेगेटिभ पिसिआर आयो भने घर पठाउन/पुर्‍याउन सकिन्छ।

खुला सीमाबाट मानिसहरू हुलका हुल नेपाल भित्रिरहेका छन्। फेरि लाखौंलाई क्वारन्टिन र पिसिआरको व्यवस्थापन त धेरै खर्चिलो हुन्छ नि! यसको व्यवस्थापन कसरी गर्ने भन्ने प्रश्न आउन सक्छ।

क्वारन्टिनमा मान्छे आउन 'प्रेरित' गर्ने वातावरण बनाउन सक्नुपर्‍यो। सफा, स्वस्थ, सुरक्षित, र कमसेकम बस्न कष्टकर नहुने बनाउन सक्नुपर्‍यो।

क्वारन्टिन-व्यवस्थापन र पिसिआर जाँचको लागि अहिले केही अरब रुपैयाँ खर्च गर्न लोभ गरेर महामारी नियन्त्रणको लागि गर्नैपर्ने कामलाई अठोट र आँट नदेखाउनु भनेको लकडाउनलाई अवश्यम्भावी, लामो र कष्टपूर्ण बनाउने निश्चित गर्नु हो। पछि खर्बौंमा त्यो अकर्मण्यता र लाछीपनाको मूल्य चुकाउनुपर्नेछ।

राज्यले के गर्नुपर्थ्यो ?
रोग सीमाभित्रै पनि फैलिरहेकै थियो र छ पनि। यताका संक्रमितलाई अरू पनि सुरक्षित हुने गरी आइसोलेसनमा राख्ने, तिनको राम्रोसँग कन्ट्याक्ट ट्रेसिङ गर्ने, त्यसरी सम्पर्कमा आएको पत्ता लागेकालाई पनि क्वारन्टिन र निःशुल्क पिसिआरको व्यवस्था राज्यले गर्नुपर्ने थियो।

अरु नयाँ र सायद थप चुनौतीपूर्ण भेरियन्ट (प्रजाति)का उभार आउने छन् नै। तिनको तयारीको लागि पनि यति आधारभूत काम गर्न सक्ने जनस्वास्थ्य संयन्त्र त बनाउनै पर्नेछ।

अहिले राज्यले सीमामा र सीमाभित्र यहाँ भनेजति मात्र गर्नुको महत्व बुझिदिए महामारी अनियन्त्रित रुपमा बढ्न पाउने थिएन।

(यो सामग्री डा‍. सुवेदीको फेसबुक वालबाट लिइएको हो।)

प्रतिक्रिया दिनुहोस्