विशेष

हिमालयन बैंक स्थापनादेखि बिग मर्जरसम्मको नालीबेली

हिमालयशमशेर जबरा 

1618129947.jpg

नेपाल राष्ट्र बैंकमा गभर्नरको पदावधि सकिएपछि म संयुक्त राष्ट्रसंघमा काम गर्न थालें। न्युयोर्क, श्रीलंका, अफगानिस्तान, बर्मा, ट्युनिसिया र पाकिस्तान गरी २४ वर्ष राष्ट्रसंघको कर्मचारीका रूपमा बिताएँ। 

सन् १९८६ मा अवकाश भएर नेपाल फर्किएपछि केही गरौं भन्ने लाग्यो। अनि मोहनगोपाल खेतानसँग मिलेर गोर्खा ब्रुअरी खोलें। केही समयपछि खेतानले गोर्खा ब्रुअरीे म आपैंm चलाउँछु भन्नुभयो। अनि म त्यहाँबाट बाहिरिएँ। 

६ महिना त्यत्तिकै बसेपछि मलाई फेरि केही काम गर्ने सोच आयो। अर्थशास्त्रमा स्नातकोत्तर, अर्थसचिव, राष्ट्र बैंकको गभर्नर भएर बैंकिङसम्बन्धी ज्ञान भएकाले बैंक खोल्नका लागि मसँग पर्याप्त अनुभव थियो। त्यसैले मलाई बैंक खोल्ने हुटहुटी जाग्यो र सन् १९९० मा सरकारलाई निवेदन दिएँ। तर, पञ्चायतकालमा नयाँ बैंकका लागि अनुमति पाउन सकिएन।

पञ्चायती शासन अन्त्य भई बहुदलीय व्यवस्था पुनर्स्थापना भइसकेको थियो। देश खुला अर्थतन्त्रमा गएकाले स्वस्थ प्रतिस्पर्धाका लागि थप बैंक आवश्यक थियो। निजी लगानीमा नबिल, ग्रिनलेज, इन्डोस्वेज गरी तीनवटा बैंक स्थापना भइसकेका थिए। 

२०४८ सालको आमनिर्वाचनपछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएका बेला हामीले बैंक खोल्ने अनुमति पायौं। अनुमति त पायौं तर हामीलाई कुनै एउटा विदेशी बैंक साझेदार आवश्यक थियो। 

विदेशी बैंक र त्यसमा पनि पुरानो बैंकसँग जोइन्ट भेन्चर भएमा एलसी खोल्न सहज हुने थियो। अनि भारतीय वित्त मन्त्रालयका उच्च अधिकारीहरूसँग कुरा गरें। वित्त मन्त्रालयका अधिकारीहरूले बैंक अफ इन्डियासँग पार्टनर बन्न र बैंकका तत्कालीन प्रमुख भाष्करणसँग सम्पर्क गर्न सुझाव दिए।

मैले भाष्करणलाई पार्टनरसिपका लागि प्रस्ताव पठाएँ। महिनौंसम्म पनि बैंक अफ इन्डियाले चासो देखाएन। अनि यसबारे नेपालका लागि तत्कालीन भारतीय राजदूत विमल प्रसादलाई जानकारी गराएँ। राजदूतले पनि पहल गर्नुभयो। तर पनि बैंक अफ इन्डियाले कुनै चासो दिएन। यतिसम्म कि बैंकका प्रमुख भाष्करणले मलाई भेट्नसम्म चाहेनन्। 

पार्टनरसिपका लागि बेलायत र जर्मनीका विभिन्न कमर्सियल बैंकसँग कुराकानी भयो। उनीहरु नेपाली बैंकसँग ज्वाइन्ट भेन्चरका लागि तयार भए पनि व्यवसायको आकार सानो हुने भएकाले बिजनेस नपुग्ने भनेर आएनन्। 

श्रीलंकाको बैंक अफ सिलोन र पाकिस्तानको हबिब बैंकसँग कुराकानी भयो। दुवै बैंक नेपाली बैंकसँग ज्वाइन्ट भेन्चरमा लगानी गर्न इच्छुक देखिए। तर हामीले हबिब बैंक अफ पाकिस्तानलाई नै रोज्यौं। 

बैंक अफ सिलोन सञ्चालनमा आएको पाँच वर्ष मात्र भएको थियो। हबिब बैंक सञ्चालनमा आएको भने ५० वर्षभन्दा बढी भएको थियो। हबिबको पहुँच विश्वभर नै थियो। त्यसैले हामीले हबिब बैंक अफ पाकिस्तानलाई रोजेका हौं। 

बैंकको नाम हिमालयन बैंक राख्न हुँदैन भनेर मैले धेरै विरोध गरें। हिमालय मेरो नाम थियो र हिमालयन बैंक नाम राख्दा मेरो नामबाट नै राखिएको हुने र यसले गलत सन्देश जान्छ भन्ने मेरो धारणा थियो। अन्य संस्थापक सेयरधनीले नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक जस्ता नाममा बैंक खुलिसकेकाले नेपालको पहिचान झल्काउने खालको नाम खोज्दा हिमालयन ठिक भएको तर्क अघि सारे। त्यसपछि म पनि सो नाम राख्न सहमत भएँ।

हामीभन्दा पहिले नेपालमा ज्वाइन्ट भेन्चरमा सञ्चालनमा आएका बैंकले ५१ प्रतिशत सेयर विदेशी साझेदार कम्पनीलाई सुम्पिएका थिए। तर, हामीले ५१ प्रतिशत सेयर आफूले राख्यौं। उनीहरूलाई २० प्रतिशत मात्र दियौं। हिमालयशमशेर राणा, पृथ्वीबहादुर पाँडे, नर्सिङबहादुर श्रेष्ठ र मोहनगोपाल खेतान चार समूहको ५१ प्रतिशत सेयरमा हिमालयन बैंक सञ्चालन हुन थाल्यो। हामीले कर्मचारी सञ्चय कोषको १४ र सर्वसाधारणको १५ प्रतिशत गरी शतप्रतिशत सेयर पुर्‍याएका थियौं। 

सञ्चालकमध्ये बैंकिङ सम्बन्धी ज्ञान भएकामा म र पृथ्वीबहादुर पाँडे मात्र थियौं। त्यसैले अध्यक्ष म र प्रमुख कार्यकारी अधिकृत पृथ्वीबहादुर पाँडे रहने निर्णय भयो। पृथ्वी राष्ट्र बैंकको कार्यकारी निर्देशक भइसकेका थिए। राष्ट्रिय वाणिज्य बैंकमा दुई वर्ष सीईओ भएर काम गरिसकेकाले उनीसँग बैंकिङ अनुभव र ज्ञान पर्याप्त थियो। 

नातामा म पृथ्वीका ससुरा हुँ। तर हामीले बैंकका गतिविधिमा त्यसको छायासम्म पनि पर्न दिएनौं। म आठ वर्षसम्म बैंकको अध्यक्ष भएँ। पृथ्वीले १० वर्ष बैंकको कमान्ड सम्हाले। यही बीचमा इन्डोस्वेज बैंकले नेपालको लगानी बिक्री गरेर जाने निर्णय लियो। बैंकको सेयर सस्तोमा पाएपछि पृथ्वीले सेयर किने र नेपाल इन्भेस्टमेन्ट बैंक स्थापना गरे।

पृथ्वीबहादुर पाँडे त्यताको कमान्ड सम्हाल्न गएपछि करिब १२ वर्ष हिमालयन बैंकमा श्रेष्ठ समूहले आलोपालो सञ्चालक समितिको अध्यक्ष भए। उनीहरूले हामी राणा समूहलाई पेल्न नखोजेका होइनन् तर सकेनन्। १२ वर्ष बैंकको सञ्चालक समिति अध्यक्ष भएकाले होला, केही समय उनीहरूलाई हिमालयन बैंक हाम्रो मात्र हो भन्ने भ्रम रह्यो। तर बिस्तारै त्यो भ्रम चिरिँदै गयो। 

बैंक सञ्चालन गर्दा कहिल्यै कुनै समस्या परेन। मलाई कुनै दिन पनि व्यर्थैमा बैंक स्थापना गरेंछु भन्ने लागेको छैन। 

नेपालमा पाकिस्तानको हबिब बैंकसँग संयुक्त लगानी भएकाले समस्या आउँछ कि भनेर शंका गर्ने धेरै थिए। तर समस्या परेन। पहिलेपहिले केही भारतीय व्यापारीले भारतसँगको संयुक्त लगानीमा किन काम नगरेको भनेका थिए। तर मैले पहिले भारतकै बैंकसँग लगानीका लागि आग्रह गरे पनि नमानेपछि पाकिस्तान जानुपरेको यथार्थ स्पष्ट पारिदिएपछि भारतीय व्यापारीले मलाई कहिल्यै नराम्रो दृष्टिकोणले हेरेनन्। 

पाकिस्तानको हबिब बैंकले हामीसँग संयुक्त लगानीमा काम गरे पनि पाकिस्तानी बजार नेपालमा राम्रो छैन। पाकिस्तानी दूतावासले गर्ने कारोबारबाहेक अन्य कारोबारै हुन सकेन। 

भारतले उसको आकाश प्रयोग गरेर पाकिस्तान जान रोक लगाएपछि नेपालमा पाकिस्तानी सामान महँगो भएको छ। नेपाली सामान पनि पाकिस्तान पुग्दा महँगो हुने भएकाले नेपाल र पाकिस्तानबीचको व्यापार सुकेको छ। 

मलाई पाकिस्तानले एकपटक सम्मान गरेको थियो। केही मानिसले मलाई पाकिस्तान पक्षधर हो भनेर कुरा पनि लगाए। तर भारतीय दूतावासले ‘उहाँलाई त हामीले पनि सम्मान गर्नुपर्ने हो’ भनेपछि चुप लागे। भारतले मलाई कहिल्यै पनि पाकिस्तान नजिक भएको भनेर हेरेन। म कुनै पनि पक्षमा लाग्नुपर्ने कारण छैन। 

अन्य देशमा बैंक, फाइनान्स, बिमा, व्यापार गर्ने छुट्टाछुट्टै क्षेत्र छ तर नेपालमा भने सबै सराबरी छन्। एकै व्यक्ति बैंकर, बिमाका सञ्चालकदेखि व्यापारी र उद्योगपति छन्। यसैले नेपालको बैंकिङ क्षेत्रमा ‘प्रुडेन्ड बैंकिङ’ भएको छ भनेर दाबी गर्न सकिने अवस्था छैन। 

१० वर्षअघि नेपालको बैंकिङ क्षेत्रमा समस्या उत्पन्न भइसकेको थियो। तर तत्कालीन गभर्नर डा. युवराज खतिवडा ती सबै विकृति रोक्न सफल भए। अहिले बैंकिङ क्षेत्रमा पारदर्शिता कायम हुन थालेको छ। नियमन र सुपरीवेक्षण पनि बढेका छन्।

हिमालयन बैंकमा लामो अवधिसम्म हबिब बैंकले साथ दियो। तर उसलाई सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी हेर्ने अन्तर्राष्ट्रिय निकाय फाइनान्सियल एक्सन टास्क फोर्सले ग्राहक पहिचान राम्ररी नगरेको भन्दै २० करोड डलर जरिबाना गरेको छ। 

हुन त हबिब बैंक मात्र होइन, स्ट्यान्डर्ड चार्टर्ड जस्ता बैंक पनि जरिबानामा परेका छन्। जरिबाना रकम तिर्न हबिबले नेपाल, मौरिसस जस्ता साना बिजनेस भएका देशमा गरेको लगानी बिक्री गर्‍यो। हबिब गएपछि बेलायतको सीडीसी ग्रुपले हिमालयन बैंकमा सेयर किन्न खोजेको थियो। तर हिमालयन बैंकमा भएको आन्तरिक किचलोका कारण समयमै त्यसबारे निर्णय गर्न नसक्दा फर्केर गयो।

राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भएपछि उहाँले एक दिन मलाई र हिमालयन बैंकका अध्यक्ष तथा कर्मचारी सञ्चय कोषका प्रशासक तुलसीप्रसाद गौतमलाई बोलाएर इन्भेस्टमेन्ट र हिमालयन बैंक मर्ज हुन आग्रह गर्नुभयो। त्यसपछि हामीले बिग मर्जरको तयारी थालेका हौं। 

नेपालमा पाँच ठूला बैंक स्ट्यान्डर्ड चार्टर्ड, नबिल, हिमालयन, एभरेस्ट र इन्भेस्टमेन्ट बैंक मर्ज गर्नुपर्ने गभर्नर अधिकारीको योजना थियो। नबिल र स्ट्यान्डर्ड मर्जमा नजाने अनि हामीले पनि उहाँको आग्रहलाई नकार्ने गर्न भएन । एभरेस्टले मर्जका लागि धेरै पटक कोसिस गरे पनि सफल भएको छैन। त्यसैले हामी बिग मर्जका लागि अगाडि बढेका हौं। 

हामीले मर्जरका लागि रिजाल अडिटर्स प्रालिलाई ड्यु डेलिजेन्स अडिट (डीडीए) गर्ने जिम्मा दिएका थियौं। कम्पनीले नेपाल इन्भेस्टमेन्टको २७९ र हिमालयन बैंकको २८२ रुपैयाँ प्रतिकित्ता सेयर भएको प्रतिवेदन दिएको छ। उस्तै प्रकृतिको ‘फेयर भ्यालु’ मा गरिएको अडिट रिपोर्ट हामी दुवै पक्षलाई चित्त बुझेको छ। त्यसैले अब मर्जरमा जान्छौैं। दुवै बैंकको सञ्चालक समितिबाट पारित भएपछि औपचारिक प्रक्रिया सुरु हुनेछ। 

मर्जरका लागि सैद्धान्तिक सहमति भइसक्ने थियो। तर, हिमालयनका अध्यक्ष गौतम बिरामी परेका कारण सञ्चालक समिति बैठक बस्न सकेको छैन। मर्जर भएपछि हिमालयन इन्भेस्टमेन्ट नाम रहने टुंगो लागेको छ।

यस्तै भिनाजु अर्थात् पृथ्वीबहादुर पाँडे अध्यक्ष र सालो अशोकशमशेर राणा सीईओ हुने पक्का भइसकेको छ। इन्भेस्टमेन्ट बैंकका सीईओ पृथ्वीबहादुर पाँडेका मामाका छोरा ज्योति पाण्डे सहायक सीईओ हुनेछन्। 

(नेपाल समयकी शर्मिला ठकुरीसँगको कुराकानीमा आधारित)

याे पनि पढ्नुहाेस् :  तराईमा मुद्रा पुर्‍याउन भारतीय दूतावासको अनुमति चाहिन्थ्यो 

 

प्रतिक्रिया दिनुहोस्