विशेष समाचार

दिलशोभाको लुकेको कथा : चुँडिएको दिलले जोडेको समाजसेवाको तार

1617412016.jpg

लोग्नेले छाडेपछि उनलाई साथीभाइले बिहेका लागि प्रस्ताव नगरेका होइनन्। कतिले त दिलशोभालाई प्रेमपत्र लेखेर बिहे गरौंसम्म भने रे।

NLG Insurance
Sampoorna Oil

काठमाडाैं - दिलशोभा श्रेष्ठको १६–१७ वर्षको कलकलाउँदो उमेरमा एक युवकसँग नजर जुध्यो। बिस्तारै ती पुरुष पनि आकर्षित हुन थाले। 

भेट बाक्लिँदै गयो। एकअर्कालाई नछाड्ने स्थितिमा पुगे। 

दिलशोभा श्रेष्ठका परिवारले त पटक्कै रुचाएका थिएनन्। निश्छल प्रेमका सामु परिवारको केही लागेन। २०२८ सालमा दिलशोभाले प्रेम विवाह गरिन्। अभिभावकसँग भने सम्बन्ध बिग्रियो। 

दिलशोभा दम्पतीको गृहस्थ संघर्ष गर्दै अघि बढ्यो। दुवैजनाले काम गर्न थाले। 

दिलशोभाले घरखर्च चलाउन होजियारी, गार्मेन्ट्स र टेलर खोलिन्। पति गाडी चलाउँथे। जिन्दगी राम्रैसँग चलिरहेको थियो। दुवैले रंगीन सपना बुनेका थिए।

२०३० सालमा छोरी जन्मिइन्। सन्तान पाएर दुवै खुसी थिए। छोरीको सुनौलो भविष्यबारे उनीहरू घण्टौं गफिन्थे। 

०००

खुसी खोसिन धेरै समय लागेन। छोरा नभएको भन्दै २०४८ सालमा लोग्नेले छाडिदिएपछि उनका दुःखका दिन सुरु भए। 

कोठाभाडा तिर्न नसक्दा बारम्बार कोठा मात्रै सर्नु परेन उनलाई पेट पाल्न कतिपयका घरमा भाँडासमेत माझ्नुपर्‍याे।

‘हामी एकअर्कालाई निकै प्रेम गर्थ्याैं। तर बीचमा छोरा नभएका कारण उनले छाडेर गए,’ दिलशोभाले ती दिन सम्झिइन्।

मायाका खातिर जन्मदिने बाआमालाई छोडेर आएको सहयात्रीले बीचमै छोड्दा विरक्त लाग्यो उनलाई।

छोरीको बिहेका लागि भनेर जम्मा गरेको पाँच लाख रूपैयाँ पनि लोग्नेले नै लगेछन्। त्यो पनि कहिल्यै नफर्काउने गरी।

लोग्नेले छाडेपछि उनलाई साथीभाइले बिहेका लागि प्रस्ताव नगरेका होइनन्। कतिले त दिलशोभालाई प्रेमपत्र लेखेर बिहे गरौंसम्म भने रे।

तर, प्रेमविवाह एकै पटक हुने भन्दै उनी एक्लै बस्न राजी भइन्।

‘प्रेम गरेरै बिहे गरेकाले अरू कसैसँग प्रेम र बिहे गरौं जस्तो लागेन’, दिलशोभा भन्छिन्, ‘प्रस्ताव त कति आए कति तर मनमा उनै थिए।’

प्रेम गरेको मान्छेले छाडेर गएपछि श्रेष्ठ भौंतारिन थालिन्।

‘प्रेमको पीडा संसारकै सबैभन्दा गहिरो हुँदोरहेछ, पीडा भुलाउन संसार त्याग्न खोजें। बाँच्न मन थिएन। मर्न पनि प्रेमले नै दिएन छोरीका कारण,’ आँसु टिलपिल पार्दै दिलशोभाले भनिन्।

मन शान्त पार्न मन्दिर, गुम्बा, विहार र चैत्य धाउन थालिन्। निरन्तर ६–७ वर्ष ओम शान्ति, साईराम, राधेराधेको शरणमा परिन्। 

गीता, महाभारत, रामायण पढिन्। तर, मन थामिँदै थामिएन। शान्ति त झन् पर हुँदै गयो। जीवन ज्यादै निरस बन्न थाल्यो।

एक दिन साथीहरूले चर्चमा गएर प्रार्थना गरे मन शान्त हुने सुझाव दिए। उनी थाकिसकेकी थिइन्। निकै कर गरेपछि उनी एकपटक गइन्। 

‘आँसु र निराशाले भरिएको मनमा शान्ति र खुसी फर्केर आयो। सेवा गर्ने मौका पाउन रहेछ। धेरै पटक जिन्दगी त्याग्ने प्रयास गर्दा पनि सकिनँ’, ती दिन सम्झिन्छिन्।

लोग्नेले छाडेर गएको घटना माइतीलाई भनिनन्। भनून् पनि कसरी? आफैंले मन पराएको मान्छेले छाडेको थियो।

उनीहरू छुट्टिएको तीन वर्षसम्म माइती पक्षले थाहै पाएन।

२०५१ सालमा दिलशोभाका बुवाको मृत्यु भएपछि उनी एक्लै माइत गइन्।

‘बुवाले त थाहै नपाई बित्नुभयो। आमाले मलाई एक्लै देखेपछि मात्रै थाहा पाउनुभयो’, उनी भन्छिन्, ‘आफैंले मन पराएको मान्छेसँग बिहे गरेकाले बिछोड हुँदा पनि अभिभावकको मन दुखाउन चाहिनँ।’

प्रेममा बिछोड भएपछि मानिसले आत्महत्याको बाटो रोज्छ या विगत भुल्दै अर्कै व्यक्तिसँग सम्बन्ध गाँसेर अघि बढ्न खोज्छ। 

४० वर्षको उमेरमा लोग्नेले छाडेपछि एक्लो बनेकी दिलशोभाले यी दुवै बाटो रोजिनन्। 

उनले हिम्मत हारिनन्। एक छोरीकी आमा दिलशोभाको मनले हजारौंको आमा बन्ने अठोट गर्‍यो र उनी त्यही बाटोमा लागिन्।

नामजस्तै ‘दिलदार’ बनेर उनी बेसाहारको सहारा बनिरहेकी छन्। उनले सयौंलाई आश्रय त दिएकी छन् नै अनाथ, असहाय र घरबारविहीनलाई मानो पनि दिइरहेकी छन्। 

२७ वर्षदेखि समाजसेवामा संलग्न उनले भएभरको जायजेथा पनि आमाघरको नाममा दान गरेकी छन्।

दिलशोभा हजारौंकी आमा बनेकी छन्। ‘मेरो प्रेम र संसार उहाँहरू नै हो। मैले जिन्दगीभर सेवा गर्ने र साथ दिने प्रण गरेकी छु,’ आश्रममा रहेकाहरूलाई देखाउँदै उनी भन्छिन्। उनीसँग एक सयभन्दा बढी सदस्य रहेको परिवार छ।

‘कसैले बेघर हुन नपरोस्, कोही भोकै मर्न नपरोस् र सडकमा भिख माग्न नपरोस् भन्ने सोचेर यो क्षेत्रमा समर्पित भएँ,’ उनी भन्छिन्। 

बाल्यकालमा बाआमाको र बुढेसकालमा छोराछोरीको माया नपाएकाहरू उनको आश्रममा छन्। 

आश्रमका सबैले दिलशोभालाई आमा भनेर सम्बोधन गर्छन्। उनले आश्रय दिइरहेको घरको नाम हो ‘आमाघर’। यो २०५६ सालमा स्थापना भएको हो। 

काठमाडौं रविभवनमा रहेको आमाघरमा ३० महिला, एक पुरुष र १६ जना बालबालिका छन्। उनीहरूको खाने, बस्ने र पढाइखर्च आमाघरले नै व्यहोर्छ। 

२०५० सालको कुनै दिन उनले त्रिपुरेश्वरस्थित सडकमा कसैले वृद्धालाई छाडेको भेटिन्। त्यो देख्दा मन पग्लियो। वृद्धालाई घरमा लगेर खाना खुवाइन्। सरससफाइ गरिदिइन्। 

दिलशोभा भन्छिन्, ‘ती वृद्धाले दुई वर्षदेखि न पेटभर खान पाएकी थिइन् न त नुहाउन नै।’

ती आमाले दुई वर्षदेखि नुहाएकी छैन नुहाइदेऊ भन्दा दिलशोभा रोएकी थिइन्। उनी भन्छिन्, ‘मरेपछि श्राद्ध होइन जिउँदो छँदा श्रद्धा गर्नुपर्छ।’ 

यसरी सेवामा हात हालेकी दिलशोभाले अहिलेसम्म धेरै बाल, वृद्धा र वनिताको स्याहार गरेकी छन्। 

आमाघरका कसैको मृत्यु हुँदा आर्यघाटसम्म लैजाने र दागबत्ती दिने कामसमेत उनी आफैं गर्छिन्।

दिलशोभाकी छोरी पनि मनकारी छिन्। उनी मासिक रूपमा आमाघरका लागि खर्च पठाउँछिन्।

दिलशोभाले विभिन्न पुरस्कार र सम्मान मात्रै पाएकी छैनन् सयौं छोराछोरीसमेत पाएकी छन्।

‘सबैको प्रेम पाएकी छु, आत्मालाई सन्तोष मिलेको छ। सेवा र प्रेम नै मेरो प्रण हो,’ उनी भन्छिन्।

उनी चाहन्छिन् कसैले सडकमा भातका सिता खोज्न नपरोस्, उपचार नपाएर मर्न नपरोस् र बूढाबूढीको सडकमा बास नहोस्।

प्रतिक्रिया दिनुहोस्