काठमाडौं– नर्स भन्नेबित्तिकै हाम्रो मानसपटलमा सेतो कोट लगाएकी महिलाको प्रतिबिम्ब झल्किन्छ। स्वाभाविकै पनि हो– नेपालका अस्पतालमा देखिने नर्स महिला नै हुन्छन्।
धेरै नेपालीले अस्पताल वा स्वास्थ्य संस्थामा पुरुष नर्स देखेका छैनन्। नेपाली शब्दकोशमा पनि ‘नर्स’ को अर्थ ‘परिचारिका’ भनेर लेखिएको पाइन्छ। यद्यपि नेपालमा पुरुष नर्स हुँदै नभएका भने होइनन्। औंलामा गन्न सकिने संख्यामा मात्र छन् पुरुष नर्स। तिनैमध्येका एक हुन् हरिप्रसाद कोजु।
हरि अहिले भक्तपुर अस्पतालमा कार्यरत छन्। २७ वर्षदेखि विभिन्न अस्पतालमा पुरुष नर्सको रुपमा कार्यरत कोजुलाई नचिन्नेहरुले डाक्टर भनेर बोलाउँछन्। कतिपय चिन्ने साथीहरु पनि ‘सिस्टर’ भनेर जिस्क्याउँछन्। नेपाल नर्सिङ संघका केन्द्रीय सदस्य पनि हुन् कोजु।
कोजुले ०५० सालमा पीसीएल नर्सिङ पास गर्दा रिजल्ट नआउँदै अस्पतालबाट कामका लागि बोलावट आउँथ्यो। कोजु भन्छन्, ‘कुन अस्पतालमा जाने भनेर छान्न पाइन्थ्यो, तलबमा कुनै सम्झौता गर्नु पर्थेन। तर, अहिले नर्सको संख्या यसरी बढ्यो कि निकै कम तलबमा काम गर्नुपर्छ। कतिपय अस्पतालमा त बिनातलब नै गर्नुपर्ने अवस्था छ।’
कोजु ०४६ सालमा नर्सिङ पढ्न भर्ना भए। उनको ब्याचमा ६ जनामात्र पुरुष थिए। नर्सिङ काउन्सिलले नर्सिङका लागि १० प्रतिशत कोटा छुट्याएको थियो पुरुषलाई। ०४३ सालमा सुरु भएको नर्सिङ अध्ययनमा विस्तारै पुरुषहरु पनि आकर्षित हुँदै गर्दा ४ ब्याचपछि यो कार्यक्रम नै रोकिएको थियो। चार वर्षको अवधिमा नेपालमा करिब ८० जना पुरुष नर्स उत्पादन भएका थिए।
१० प्रतिशत कोटा बढाएर ५० प्रतिशत बनाउनुपर्ने माग भएपछि कार्यक्रम नै बन्द भएको कोजु बताउँछन्। अहिले फेरि यो कार्यक्रम ल्याइएको छ। नर्सिङ काउन्सिलले शैक्षिक सत्र ०७५–०७६ देखि पुरुषले पनि नर्सिङ अध्ययन गर्न पाउने व्यवस्था गरेको छ। पुरुषका लागि १५ प्रतिशत कोटा छुट्याइएको छ।
पछिल्लो व्यवस्थाअनुसार भर्ना भएका विद्यार्थी अध्ययनकै क्रममा छन्। कोजु भन्छन्, ‘पुरुषलाई १५ प्रतिशत कोटा छुट्याए पनि त्यो पूर्ण हुने अवस्था छैन। पुरुषको आकर्षण नर्सिङ पेशामा देखिएको छैन।’
नेपालका कुनै पनि शैक्षिक कार्यक्रममा पुरुषको लागि कोटा छुट्याइएको छैन। नेपाल नर्सिङ संघका वरिष्ठ उपाध्यक्ष रमेश लिम्बू भन्छन्, ‘नर्सिङमै मात्र किन यो अवस्था आयो ? किन पुरुषलाई आकर्षण गर्न सकिएको छैन भन्ने कुरा पहिचान गर्न सक्नुपर्छ।’
सरकारी तथ्यांकअनुसार हाल नेपालमा वार्षिक ११७ वटा नर्सिङ कलेजबाट करिब ७ हजार ७०० नयाँ नर्सिङ जनशक्ति उत्पादन हुँदै आइरहेको छ। नयाँ व्यवस्था कार्यान्वयनमा आएपछि हालको कोटाका आधारमा वार्षिक १ हजारभन्दा बढी पुरुष नर्स उत्पादन हुन्छन्। तर, १५ प्रतिशत कोटा पूरा गर्न गाह्रो रहेको कोजु बताउँछन्। भन्छन्, ‘नर्सिङ पेशामा पुरुष सहभागिता बढाउने हो भने कोटा प्रणाली हटाउनुपर्छ।’
नर्सिङ संघका वरिष्ठ उपाध्यक्ष लिम्बू भन्छन्, ‘०७५ असार ५ गते नेपाल नर्सिङ काउन्सिलले सर्टिफिकेट नर्सिङ र बीएससी नर्सिङमा पुरुष विद्यार्थीलाई अध्यापन गराउने निर्णय गर्दा कतिपयले हाँसोमा उडाए। तर, वास्तवमा त्यो स्वागतयोग्य निर्णय थियो।’
पुरुषका लागि नर्सिङमा १० प्रतिशत कोटा छुट्याउँदा विद्यार्थी नै भएनन्। अहिले १५ प्रतिशत बनाउँदा पनि कोटा पूरा हुन सकेको छैन। किन नर्सिङ पेशामा पुरुषको आकर्षण छैन त ? कोजु भन्छन्, ‘पुरुष नर्सिङको अध्ययनमा निरन्तरता नहुनु एउटा कारण थियो भने बिरामीले आफ्नो सेवाको लागि महिला नर्सलाई नै रुचाउनु अर्को कारण हो। दया, माया, करुणा, आत्मीयता, हार्दिकता, विनम्रता, धैर्यताजस्ता गुण पुरुषमा कम हुन्छन् भन्ने मानसिकताले गर्दा यो अवस्था आएको हो।’
नर्सिङ काउन्सिलकी रजिष्ट्रार विन्दा घिमिरे नर्सिङ पेसाको सेवासुविधा तथा तलबभत्ता चित्तबुझ्दो नहुँदा र दुर्गममा गएर काम गर्ने तत्परताको आभावले गर्दा पुरुषको नर्सिङ पेसामा लगाव नदेखिएको तर्क गर्छिन्। ‘नर्सिङ पेसा महिलाकै हो भन्ने मानसिकताका कारण पनि पुरुषको आकर्षण नदेखिएको हुनसक्छ,’ घिमिरे भन्छिन्।
नर्सिङमा अर्को मुख्य समस्याको रुपमा समायोजनको विषय रहेको वरिष्ठ उपाध्यक्ष लिम्बू भन्छन्, ‘समायोजनमा नर्सिङको चौथोदेखि एघारौँ तहसम्मका नर्सहरु छन्। दरबन्दी भएकै छैन। ०५० सालको दरबन्दीअनुसार चल्नुपरेको छ। त्यो बेलाको जनसंख्या कम थियो। स्वास्थ्य समस्या पनि कम हुन्थे। अहिले जनसंख्या तीन गुणा बढी छ, स्वास्थ्य समस्या अनेक थपिएका छन्। तर सेवा प्रदान गर्ने नर्सको दरबन्दी चाहिँ थपिएको छैन। दरबन्दी मिलान गर्दै लैजाने र पुरुष नर्सप्रतिको सकारात्मक धारणा बढाउने हो भने आकर्षण बढ्न सक्छ।’
नेपाली नर्सिङमा पुरुष सहभागिता बढाउने र स्वदेशमा नै जनशक्ति टिकाइराख्ने कुरामा सरोकारवालाले पहल गर्ने हो भने भविष्यमा नेपालको नर्सिङ पेसाको उत्थानमा टेवा पुग्ने लिम्बू बताउँछन्।
नर्सिङ काउन्सिलको पछिल्लो तथ्यांकअनुसार हाल नेपालमा ९५ हजारभन्दा धेरै नर्स काउन्सिलमा दर्ता भएका छन्। ११७ वटा कलेजले पीसीएल पढाउँछन्।
नेपाल नर्सिङ संघको तथ्यांक भने केही फरक छ। दर्ता भएका नर्समध्ये सरकारी जागिरमा १२ हजार र निजी स्वास्थ्य संस्थामा २५ हजार कार्यरत छन्। करिब १५ हजार नर्स बिदेसिएका छन्।