विचार

धर्म संकटमा माधव–झलनाथ, ब्रान्ड निष्ठा रोज्ने कि एजेन्डा ?

1616049300.jpg

धेरैलाई लाग्छ, बजारशास्त्र र राजनीतिशास्त्रबीच ठूलै भिन्नता हुन्छ। बजारशास्त्र नाफाको विज्ञान हो भने राजनीतिशास्त्र राष्ट्र निर्माणको। त्यसैले यी दुई फरकफरक विधा लाग्नु स्वाभाविकै हो। तर अन्तर्यमा यी दुईबीच त्यति धेरै भिन्नता पाइन्न। 

बजारशास्त्रले जनतालाई ‘उपभोक्ता’ वा ‘ग्राहक’ भन्छ। राजनीतिशास्त्रले ‘नागरिक’ वा ‘मतदाता’। बजारशास्त्रले ग्राहकलाई ‘भगवान्’ ठान्छ। राजनीतिशास्त्रले भन्छ– ‘नागरिक सार्वभौम शक्ति हुन्।’ बजारशास्त्रले ग्राहकलाई भगवान् भन्नुको अर्थ आशीर्वादमा नाफा कमाइला, पुँजी वा सम्पत्ति थपिएला भन्ने हो। राजनीतिशास्त्रले नागरिकलाई सार्वभौम भन्नुको अर्थ ‘भोट पाइएला’, सत्ता वा शक्तिमा पुगिएला भन्ने अपेक्षा हो। 

यो अन्तर्यलाई राम्ररी बुझ्ने हो भने बजारको राजनीति र राजनीतिको बजार उस्तै लाग्छन्। ‘राजनीतिक खपत’ तथा ‘पोलिटिकल मार्केटिङ’ जस्ता शब्दावली त्यसै जन्मिएका हैनन्। 

बजारशास्त्रमा एउटा शब्द हुन्छ– ब्रान्ड निष्ठा। अंग्रेजीमा ‘ब्रान्ड लोयालिटी’ भनिने यसको अर्थ कुनै उत्पादक कम्पनी वा प्रचलित वस्तुको नामप्रति उपभोक्तामा हुने भक्ति, मोह वा अतिरिक्त अनुराग हो। बानी परेको स्थापित ब्रान्ड वा ट्रेडमार्कबाट उपभोक्तालाई नयाँ ब्रान्डतिर आकर्षित गर्न सजिलो हुँदैन।  

ख्याति पाइसकेका ब्रान्ड प्रतिस्थापित नै नहुने चाहिँ हैन। बजारशास्त्रले भन्छ– त्यसका लागि ‘आक्रामक विज्ञापन’ मात्र पर्याप्त हुँदैन, ‘गुणात्मक भिन्नता’ सहितको दीर्घकालीन बजार रणनीति हुनुपर्छ। कुनै समय मोबाइल फोनको दुनियाँमा चक्रवर्ती सम्राटजस्तो बनेको ‘नोकिया’ आज उपभोक्ताले विरलै खोज्छन्। त्यसको ठाउँमा दर्जनौं नयाँ ब्रान्ड आएका छन्। 

बजारशास्त्रीय ब्रान्ड निष्ठाको राजनीतिशास्त्रीय अभिव्यक्तिलाई ‘मातृपार्टी निष्ठा’ (मदरपार्टी लोयालिटी) भनिन्छ। यो नागरिक वा मतदातामा हुने एक वैश्विक भावना हो। 

अमेरिकामा फरक धारका नयाँ पार्टीहरु निर्माण गर्ने प्रयास नभएका हैनन्। तर, रिपब्लिकन र डेमोक्र्याटसको ब्रान्ड निष्ठा यति बलियो छ कि फरक धारको पार्टी निर्माणका लागि लामो समय खर्चेर केही सफलता पनि पाएका बर्नी स्यान्डर्सजस्ता राजनीतिक साधकहरु अन्ततः डेमोक्रेटिक पार्टीमा प्रवेश गर्न बाध्य भए। 

बेलायतमा लेबर र कन्जर्भेटिभ पार्टीप्रतिको मातृपार्टी भावना तोड्न ‘लिबरल डेमोक्र्याटस’ र ‘एसएनपी’ लाई सजिलो भइरहेको छैन।

सामान्यतया प्रतिनिधिमूलक लोकतन्त्र, संसदीय व्यवस्था र ‘प्रथम हुनेले जित्ने’ निर्वाचन प्रणालीमा ब्रान्ड निष्ठा वा मातृपार्टी भावनाको राजनीतिले संचरनात्मक भरथेग प्राप्त गर्दछ।

अमेरिकी निर्वाचन प्रणालीबारे लामो अनुसन्धान गरेका ली द्रुटम्यानले रिपब्लिकन र डेमोक्र्याटसप्रतिको ब्रान्ड निष्ठालाई ‘द्विदलीय दुर्भाग्यचक्र’ (टु पार्टी डुमलुप) भनेर निन्दा गर्दै अमेरिका समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने तीव्र वैचारिक पैरवी गरेका छन्। 

नेपालमा पनि ब्रान्ड निष्ठाको राजनीति कमजोर छैन। विशेषतः २०४६ पछिको बहुदलीय राजनीतिमा ‘कांग्रेस’ र ‘एमाले’ त्यस्तै स्थापित ब्रान्ड बने। यिनीहरुको विचार र एजेन्डा के हो? यिनीहरुले के गर्छन् वा गर्दैनन् भन्नेमा मतदातालाई सरोकार भएन। समाज यी दुई दलमा विभक्त भयो। ‘कांग्रेस’ वा ‘एमाले’ हुनु खान्दानिया संस्कृति बन्न पुग्यो।

कुनै समय ‘लोक दल’ बनाएर राजनीतिक विकल्प दिने प्रयास गरेका देवेन्द्रराज पाण्डे र टंक कार्कीहरू नेपालमा वैकल्पिक दल बनाउन असम्भव छ भन्दै किनारा लागे।

डा. बाबुराम भट्टराईले बनाएको नयाँ शक्तिले एक लाख पनि भोट पाएन। साझा पार्टी बनाएर यो मतदाता मनोविज्ञानलाई नजिकबाट नियालेका रवीन्द्र मिश्रले ‘पूरै मेनु पढेर अन्त्यमा मोमो र चाउमिन मगाउने’ प्रवृत्ति भन्ने गरेका छन्।

नेपालमा मातृपार्टी भावनाको राजनीतिक बिलकुल अनुल्लंघनीय वा अभेद्यचाहिँ मान्न सकिन्न। त्यसका दुई महत्त्वपूर्ण उदाहरण पहिलो संविधानसभा निर्वाचनमा माओवादी पहिलो र मधेसी जनाधिकार फोरम चौथो शक्तिका रुपमा उदित हुनु हो।

नेपाली मतदाता ‘कांग्रेस’ र ‘एमाले’ ब्रान्डमा आधारित ‘दुई पार्टी दुर्भाग्यचक्र’ को सिकार भइसकेका भए त्यो सम्भव थिएन। विचार, एजेन्डा र नेतृत्वको फरकपन वा त्यसको सान्दर्भिकताप्रति आश्वस्त भएमा मतदाताले नयाँ वा फरक दललाई पनि भोट दिन सक्छन् भन्ने प्रस्ट प्रमाण हो त्यो। 

नेकपा विवादको पछिल्लो परिवेश नियाल्दा कम्युनिस्टहरुलाई  विचार, सिद्धान्त  र एजेन्डाभन्दा ब्रान्ड निष्ठामै बढी विश्वास भएको मान्न सकिन्छ। गत पुस ५ गते प्रतिनिधिसभा विघटनदेखि फागुन २३ गतेसम्म ‘सूर्य चिह्न’ कसको हुनुपर्छ वा पर्दैन भन्ने दाबी विवादको केन्द्रमा थियो। 

सर्वोच्च अदालतले पूर्व एमाले र माओवादी केन्द्रलाई १५ दिनभित्र विधिसम्मत नयाँ एकता नगरे पूर्ववत् फरकफरक पार्टी हुने निर्णय गरेपछि पनि एमालेभित्र त्यो विवाद कायमै छ।

फागुुन २३ को सर्वोच्च अदालतको फैसलापछि एमालेका माधव–झलनाथ समूहको राजनीतिमा जुन नयाँ कानुनी जटिलता र मोड आयो, त्यसले थुप्रै गम्भीर राजनीतिक तथा वैचारिक प्रश्न जन्माउँछन्। नेकपा विवाद जुन तह र स्तरमा थियो, त्यो रातारात प्याक गरेर के उनीहरूले ठिक गरे? विचार, सिद्धान्त, एजेन्डा र राजनीतिक नैतिकताको प्रश्न हो भने पार्टीको नाम वा चुनावचिह्न जे भए पनि के फरक पर्छ? के मतदाता त्यति पनि खुट्याउन नसक्ने होलान्? 

पक्कै, ब्रान्ड निष्ठाको राजनीति एकाएक प्रभावहीन हुँदैन। यसबीच  त्यस्ता थुप्रै कम्युनिस्ट कार्यकर्ता वा समर्थक देखिए जो ओली समूह र प्रचण्ड–माधव समूहको लडाइँबीच निरपेक्ष थिए। उनीहरू जता ‘सूर्य’ चिह्न र बहुमत हुन्छ, त्यतै जाने मनस्थितिमा थिए।

यसको सीधा अर्थ हुन्थ्यो– नेकपा विवादलाई उनीहरूले कुनै वैचारिक, सैद्धान्तिक तथा एजेन्डागत मानेका थिएनन्। प्रवृत्ति र संस्कृतिजन्य बहसको विषय मानेका थिएनन्। जता जाँदा राजनीतिक भविष्य सुनिश्चित हुन्छ, त्यतै जान सकिने सामान्य विवाद मात्र मानेका थिए। नेताहरुको अहं, कुण्ठा र महत्त्वाकांक्षाको लडाइँ मात्र मानेका थिए। 

फागुन २३ को फैसलापछि ‘एमाले’ नाम र ‘सूर्य’ चिह्न कसले पाउला भनेर सोचिरहनुपर्ने ठाउँ रहेन। त्यो कानुनतः र स्वाभाविक रूपमा ओली समूहमा पुग्ने नै भयो।

विघटित प्रतिनिधिसभा पुनः स्थापनालाई कुनै नैतिक पराजयको विषय नठान्ने ओली समूह ‘एमाले’ नाम र ‘सूर्य’ चिह्न पाएपछि खुसीले गदगद देखिन्छ भने माधव–झलनाथ समूह उदास र निराश देखिएको छ। 

भोटको राजनीतिमा अवश्य केही मात्रात्मक प्रभाव पर्ला तर एमाले नाम र सूर्य चिह्न पाएकै कारणले ओली समूहलाई मतदाताले सहजै स्वीकार गर्लान् भन्न सकिन्न। तीन वर्षका बेथिति, असंगति, कुशासन र भ्रष्टाचारलाई नागरिकले सहजै बिर्सने छैनन्। माधव–झलनाथ समूहसँग विचार, सिद्धान्त, राजनीति र एजेन्डाको गुरुत्व छ भने उनीहरु किन यति धेरै निराश हुनुपरेको? 

जब ब्रान्ड निष्ठा र निष्ठाको राजनीतिबीच अन्तर्विरोध उत्पन्न हुन्छ, त्यति बेला कुन बाटो तय गर्ने? यो अहं प्रश्न हो। राजनीतिलाई ‘करिअर’ मात्र बुझ्ने हो भने स्वाभाविक रूपमा ब्रान्ड निष्ठाको बाटो रोज्नुपर्ने हुन्छ। राजनीतिक निष्ठालाई महत्त्व दिने हो भने ब्रान्ड केही पनि हैन। राजनीतिमा ब्रान्डको दीर्घकालीन महत्त्व हुँदैन, अन्ततः विचार, एजेन्डा र दृष्टिकोण नै स्थापित हुनेछ।

माधव–झलनाथ समूह अब ब्रान्ड निष्ठा कि विचार/एजेन्डा? दुईमध्ये कुनै एक रोज्नुपर्ने बिन्दुमा आइपुगेको छ। यी दुवै एकसाथ रोज्ने वा खोज्ने स्थितिमा अब यो समूह छैन। यसलाई दुर्भाग्य, नियति वा संयोग जे भने पनि हुन्छ। जुन पार्टी उनीहरुले आफ्नो सम्पूर्ण जीवन लगाएर बनाए त्यही पार्टीको कानुनी आधिकारिता अब उनीहरुसँग रहेन।

फागुन २३ गतेको सर्वोच्चको फैसलामा ओलीको सेटिङ थियो भन्ने आरोप पनि अब उचित छैन। जुन अदालतले उनीहरुलाई खुसीयालीको ‘लडडु खाने’ अवसर दियो, केही दिन नबित्दै त्यही अदालतलाई सत्तोसराप गरेर कुनै बुद्धिमत्ता हुँदैन।

निश्चय नै यति बेला माधव–झलनाथ समूहका लागि निर्मम क्षणहरू अगाडि आएका छन्। घटनाक्रमको संयोगले यो समूहलाई जटिल मोडमा पुर्‍याइदिएको छ। उनीहरूको राजनीतिक करिअरको दृष्टिकोणले मात्र हेर्ने हो भने यो मोडबाट अँध्यारोबाहेक अर्थोक केही देखिने छैन।

तर प्रकृतिको नियममा अँध्यारो अनन्त हुँदैन। कुनै क्षणमा अँध्यारो फाट्न र उज्यालो आउनैपर्छ। त्यसैले विचार, सिद्धान्त, एजेन्डा, नैतिक मूल्यमान्यता र संस्कृतिका लागि राजनीतिक गरिएको हो भने हतास हुनुपर्ने कारण छैन। 

‘कांग्रेस’ र ‘रूख’,  ‘एमाले’ र ‘सूर्य’ चिह्न नै नेपाली राजनीतिका अकाट्य सत्य हैनन्। यी हिजो थिएनन्। भोलि नहुन सक्छन्। २०१५ सालको आमनिर्वाचनमा नेकपाको चुनाव चिह्न सूर्य थिएन, नत नाम एमाले थियो। नेकपाले त्यति बेला ‘मकैको घोगा’ चुनाव चिह्नमा चार सिट जितेको थियो। 

अब मतदाताले कुनै अमूक पार्टी नाम र चुनाव चिह्नप्रतिको ब्रान्ड निष्ठालाई मतदानको मुख्य प्रवृत्ति बनाउँछन् भन्ठान्नु स्वयं मतदाता ज्ञान, चेतना र विवेकको अपमानसरह हुन सक्छ। यस्तो भ्रम र हीनाताबोध कसैले राख्न जरुरी छैन।

प्रतिक्रिया दिनुहोस्