शुक्रबार, वैशाख १४, २०८१

तलबभत्ता जनसेवामा खर्च गर्ने मनकारी माननीय

चुनाव जितेपछि सांसदहरु आफ्नो क्षेत्रमा उतिसारो फर्कंदैनन्। सांसद दवाडीको हकमा भने यो लागू हुँदैन।
 |  मंगलबार, माघ ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ६, २०७७

पोखरा– प्रकाशचन्द्र दवाडी व्यापार–व्यवसायका लागि लामो समय जापान बसे। समयक्रममा उनलाई नेपालको राजनीतिले तान्यो। संघीयतापछिको पहिलो चुनावमा उनी प्रदेश सभाको सांसद बने। उनको व्यावसायिक यात्रा पनि टुटेको छैन। 

triton college

चुनाव जितेपछि सांसदहरु आफ्नो क्षेत्रमा उतिसारो फर्कंदैनन्। सांसद दवाडीको हकमा भने यो लागू हुँदैन। मकै–भटमास झोलामा हालेरै भए पनि उनी मतदाताको घरदैलोमा पुगिरहन्छन्। उनले सुन्ने गरेका छन्, यी नेता त सधैं चुनावझैं गरेर कार्यकर्ता अघिपछि लगाएर हिँड्ने गरेका छन् भनेर। हो, उनी सधैं जनताकै साथमा रहन्छन् र सहयोग गरिरहन्छन्। 

सांसद दवाडीले प्रदेशसभाको संसद् छिर्नु अगाडि नै सार्वजनिक रुपमा भनेका थिए, मैले बुझेको तलबभत्ता सबै जनताकै काममा खर्च गर्छु भनेर। हुन पनि त्यसै गर्दै आएका छन्। यो वर्षमात्रै करिब ९ लाख रुपैयाँ जनताको काममा खर्च गरेको उनले सुनाए। पहिलो वर्ष १२ लाख, दोस्रो वर्ष १० लाख रुपैयाँ सामाजिक काममा खर्च गरिसकेका छन्। 

‘कोही बिरामी हुँदा अस्पताल पुगेको छु। कतै बाटो नहुँदा, डोजर लिएर पुगेको छु। कुनै क्लब र आमा समूहलाई गाह्रो पर्दा नपुगेको ठाउँ छैन,’ उनले भने, ‘स्कुलका बाबुनानीको किताब र कापीका पानादेखि किसानको खेतबारीसम्म मेरो सामर्थ्यले भेटेसम्म सघाएको छु। मैले निर्वाचनका बेला मतदातासँग गरेको वाचा भुलेको छैन।’ 

बिरामीको उपचार, लकडाउनको बेला राहत वितरण, क्लब र आमा समूह तथा विभिन्न समूहहरुलाई आर्थिक सहयोगदेखि एम्बुलेन्स खरिद र सडक मर्मत समेत काममा सघाएको उनले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। ‘मेरो क्षेत्रमा अहिले पनि बिरामी हुँदा अस्पताल जाने परम्परा छैन। राम्रोसँग नेपाली बोल्न नसक्नेहरु पनि छन्,’ उनी भन्छन्, ‘उनीहरुलाई मैले सहयोग गर्नुपर्छ। उनीहरुकै आवाज बोल्न र त्यहाँसम्म विकास लैजान म निर्वाचित भएको हुँ।’ उनले विद्यालयमा समेत सहयोग गरेका छन्। 

corrent noodles
Metro Mart

आफ्नो खर्च विवरण सार्वजनिक गर्न पोखरामा पत्रकार सम्मेलन नै गरेर उनले केही राजनीतिक धारणा पनि राखे। उनले नेपाल कम्युनिस्ट पार्टीले आफूसँगै व्यवस्था समेत सिध्याएको आरोप लगाए। उनले भने,, ‘नेकपाले आफूलाई मात्रै सिध्याएको छैन, एउटा व्यवस्था सिध्याएको छ, जनताको राजनीतिप्रतिको विश्वास सिध्याएको छ। यसको जवाफ कठघरामा उभिएर नेकपा नेतृत्वले दिनैपर्छ।’ 

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको निर्णय गरेकोप्रति उनले आपत्ति जनाए। सर्वोच्च अदालतको फैसला संविधान बमोजिम हुने विश्वास व्यक्त गर्दै दवाडीले आफूहरु सरकार भत्काउने र जोड्ने पक्षमा नरहेको स्पष्ट पारे। ‘सत्ता चलाउने जिम्मेवारी जनताले नेकपालाई दिएका छन्। कांग्रेस प्रतिपक्षमै रहन्छ,’ उनले थपे, ‘सरकार राम्रो भएन भने जिम्मेवार बनाउने हो, प्रतिपक्षी आफैँ सरकारमा जाने होइन।’ 

कांग्रेस संसदीय दलका प्रवक्तासमेत रहेका दवाडीले प्रधानमन्त्रीले संविधानको हत्या गरेको आरोप लगाए। ‘प्रधानमन्त्रीलाई म सोध्दिनँ पानीजहाज कहाँ आइपुग्यो ? म सोध्दिनँ, ग्यासको पाइपलाइन कहाँ आइपुग्यो ? र म यो पनि सोध्दिनँ, सुलुलु बग्ने रेल कहाँ आइपुग्यो ?,’ उनी भन्छन्, ‘यति मात्रै सोध्छु, जनताले ७० वर्ष लामो आन्दोलन र बलिदानबाट ल्याएको संविधानको हत्या गर्ने अधिकार तपाईंलाई कसले दियो ? यसको उत्तर छ ?’ 

नेकपाभित्रको विवादले देश नै संकटमा फसेको उनको तर्क छ। उनले प्रधानमन्त्रीलाई फ्रान्सेली राजा लुई चौधौंसँग दाँजेका छन्। ‘लुई चौधौंले भनेका थिए, म नै राज्य हुँ। अहिले प्रधानमन्त्रीमा त्यही छनक छरपष्ट छ,’ उनले भने। नेकपाले दुईतिहाइ बहुमत पाउँदा समेत सुन्दर अवसर गुमाएको उनको भनाइ छ। 

‘एकातिर कोरोनाको महामारी, अर्कातिर संघीयता संस्थागत गर्ने ऐतिहासिक जिम्मेवारी। नेकपाका लागि यो सयौं वर्ष राज गर्ने महान एजेन्डा बन्ने थियो, यदि यो समय पदको मोह छोडेर जनताका लागि काम गरेको भए,’ दवाडी भन्छन्, ‘जनता रोग र भोकले रोइरहेका छन्। नेताहरुलाई कुर्ची पाउने कि नपाउने भन्ने रडाको छ।’ दुई समूहबीचको घोचपेचले उनीहरुमा राजनीतिक निष्ठा नभएको पुष्टि गर्ने दवाडी बताउँछन्। 

प्रकाशित: Jan 19, 2021| 05:51 मंगलबार, माघ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।