विशेष समाचार

इजरायलमा सिक्दै कमाउँदै, फर्केपछि उद्यम

1613886182.jpg
इजरायलमा गोलभेंडा ग्रेडिङको काम गर्दै नेपाली विद्यार्थी।

काठमाडौं– गाउँठाउँमा जागिर छैन। स्वरोजगार बन्न पुँजी थिएन। गाउँ डुलेर हिँड्नुभन्दा मलेसिया हान्निने विचार गरे बर्दियाका परदेशी थारूले। 

पासपोर्ट बोकेर काठमाडौंतिर हान्निए अनि भाग्य अजमाउन उनी मलेसिया पुगे। 

मलेसियामा काम सोचेजस्तो सजिलो थिएन। धेरै खट्नुपर्ने तर आम्दानी थोरै। स्वास्थ्य समस्या आइरहने। केही वर्ष त दुःखसुख बिताए। ‘खासै केही’ नहुने देखेपछि उनी गाउँ फर्किए। 

उनले मलेसियामा पसिना बगाएर कमाएको केही रकम लगानी गरेर भैंसीपालन सुरु गरे। भैंसीपालनबाट राम्रै आम्दानीको अपेक्षा राखेका परदेशीले फेरि परदेसिनुपर्ने भयो। कारण- सोचेजस्तो आम्दानी भएन। अनि उनले सीप सिक्न र पैसा पनि कमाउन घर छाड्ने निधो गरे। 

परदेशीकी भाउजू साना किसान विकास लघुवित्त वित्तीय संस्था (साविकको साना किसान विकास बैंक) मा सदस्य थिइन्। उनले थाहा पाए– त्यो वित्तीय संस्थाले युवालाई कृषिसम्बन्धी सीप सिक्न इजरायल पठाउँछ। साथमा कमाइ पनि हुन्छ। परदेशीको गन्तव्य बन्यो इजरायल।

भैंसी पाल्न थालेपछि उनलाई कृषिमा रस बस्न थालेको थियो। केही नयाँ सिकौं, गरौं भन्ने लागिरहन्थ्यो। उनले त्यो अवसर गुमाउन चाहेनन् र आवेदन दिए। सन् २०१९–२० का लागि उनी छनोट पनि भए।

०००

विश्वमै उदाहरणीय मानिन्छ इजरायलको व्यावसायिक कृषि। त्यहाँको आधुनिक प्रविधि र सीप सिक्न धेरै देशबाट मानिस पुग्छन्। 

नेपालबाट पनि इजरायल गएर कृषि तालिम लिने व्यवस्था सरकारी स्तरमै मिलाइएको छ। यसका लागि साना किसान लघुवित्त वित्तीय संस्थाले इजरायलका कृषि कलेजसँग द्विपक्षीय सम्झौता गरेको छ। ११ महिने तालिमकै क्रममा युवाले मासिक डेढ लाख रुपैयाँसम्म कमाउँछन्। 

‘कमाउ र सिक’ (लर्न एन्ड अर्न) को अवधारणामा सञ्चालित कार्यक्रमबाट अहिलेसम्म ३१ सय ५० भन्दा बढी नेपाली युवा लाभान्वित भइसकेको साना किसान विकास लघुवित्त वित्तीय संस्थाका डेपुटी सीईओ झलेन्द्र भट्टराई बताउँछन्। 

उनका अनुसार सन् २०१३ देखि सुरु भएको कार्यक्रममार्फत वार्षिक ५०० हाराहारीमा नेपाली युवा इजरायल गइरहेका छन्। १२ कक्षा पास गरेका र ३० वर्ष ननाघेका युवा यसका लागि योग्य हुन्छन्। 

‘देशभर रहेका ११ सयभन्दा बढी साना किसान सहकारीले प्रारम्भिक छनोटका लागि सूचना निकाल्छन्। पाँच सयका लागि १० हजारजतिको आवेदन पर्छ। पहिलो चरणमा सहकारीले नै युवा छनोट गर्छन्। त्यसपछि निश्चित मापदण्डका आधारमा इजरायलबाट आएका प्रतिनिधिले अन्तर्वार्ता गर्छन्,’ छनोट प्रक्रियाबारे भट्टराईले भने। 

उनका अनुसार युवा छनोटदेखि अभिमुखीकरणसम्म वार्षिक करिब ३० लाख रुपैयाँ खर्च हुन्छ। यो खर्च साना किसान लघुवित्तले सामाजिक उत्तरदायित्वका रूपमा बेहोर्छ। जाने व्यक्तिको भने पासपोर्ट, हवाई टिकट र मेडिकलबाहेक अन्य कुनै खर्च हुँदैन।

साना किसान लघुवित्तले इजरायलमा युवा पठाउन त्यहाँका पाँच वटा कृषि कलेजसँग सम्झौता गरेको छ। 

उनी भन्छन्, ‘हामीले ३१ सयभन्दा बढी विद्यार्थी पठाइसकेका छौं। उनीहरूले केही घण्टामात्र कलेजमा पढ्ने हो। बाँकी समय श्रमिकजस्तै काम गर्ने हो। त्यहाँकै श्रमिकसरह तलब–सुविधा पाउँछन्।’ 

एकजनाले वर्षमा १२ देखि १५ लाख रुपैयाँ बचाउँछन् कलेजको फी तिरेर। वर्षमा ७५ करोडदेखि एक अर्ब रुपैयाँ नेपाल भित्रिने उनले जानकारी दिए। भट्टराई भन्छन्, ‘त्यहाँ गएपछि केही न केही सीप सिक्छन् नै। धेरैले यहाँ आएर सदुपयोग गरिरहेका पनि छन्।’

साना किसान विकास लघुवित्त वित्तीय संस्थाका डेपुटी सीईओ झलेन्द्र भट्टराई

आप्रवासी श्रमिकका लागि इजरायल सुरक्षित मानिन्छ। भट्टराईका अनुसार अहिलेसम्म तीन वटामात्र ठूला दुर्घटना भएका छन्। उनले भने, ‘दुईवटा दुर्घटना मेसिनरी कारणले भयो र एकजनाको मुटुमा गम्भीर समस्या देखियो। बाँकी कसैको हात भाँच्चिएको समेत सुनिएको छैन।’ 

उनले इजरायल पुगेर कार्यस्थल अनुगमनसमेत गरेका छन्। उनले भने, ‘कार्यस्थलमा श्रमिकमैत्री वातावरण छ, श्रमिकको सुरक्षामा ध्यान दिइन्छ।’ 
इजरायलको आधुनिक कृषि प्रविधिबारे पनि सुनाए डेपुटी सीईओ भट्टराईले। उनले भने, ‘ढुंगा, बालुवा, मरुभूमि जहाँ पनि बिरुवा उमार्छ र फलाउँछ इजरायलले। मौसम–बेमौसम भन्ने हुँदैन। जहिले पनि जे पनि फल्छ।’ कसरी सम्भव भयो त? भट्टराई भन्छन्, ‘आधुनिक ग्रिन हाउस र थोपा सिँचाइ प्रविधिले।’ 

पानी अभाव भएको इजरायलमा त्यसको सदुपयोग ९० प्रतिशत हुन्छ। पानीको थोपामा नै बिरुवालाई आवश्यक सबै कुरा पठाइन्छ। यस्ता थुप्रै प्रविधि प्रयोग गरेको छ इजरायलले। 

०००

परदेशी थारूसहितको टोली सेप्टेम्बर २०१९ मा इजरायल पुगेको थियो। टोलीमा परदेशीले चिनेका पनि केही साथी थिए। तालिम राम्रैसँग चल्दै थियो। काम पनि गर्दै थिए। 

परदेशीको टाउको अचाक्ली दुख्न थाल्यो। कामको धपेडीले होला भनेर केही दिन त वास्ता गरेनन्। अति भएपछि चिकित्सकलाई देखाए। रिपोर्टले भन्यो– मुटुमा गम्भीर समस्या छ। डाक्टरले भने– ओपन हार्ट सर्जरी गर्नुपर्छ।

परदेशको ठाउँ। काम सिक्न गएको छ। कमाउनु पनि छ। सिकेको सीप स्वदेश फर्केर उपयोग गर्नुपर्ने छ। त्यति ठूलो स्वास्थ्य समस्या आएपछि उनी आत्तिए। घरतिर खबर गरे। तर, यताबाट केही गर्न सक्ने अवस्था थिएन। 

‘कोरोना भाइरसको महामारी चल्दै थियो। शंका लागेर परीक्षण गराउँदा नौ एमएमको प्वाल परिसकेको रहेछ परदेशीजीको मुटुमा त,’ पछिल्ला दुई वर्षदेखि इजरायलको सेदोत नेगेभ एग्रिकल्चर सेन्टरमा नेपाली विद्यार्थीको टिम लिडरको रूपमा काम गरिरहेका मनोज मयालले सुनाए। 

‘सुरुमा त हामी आत्तियौं। यति ठूलो स्वास्थ्य समस्या कसैलाई आएको थिएन। यहाँ कस्तो उपचार हुन्छ भन्ने पनि थाहा थिएन। परदेशीजीले नेपाल फर्किने इच्छा राख्नुभयो। परिवारबाट पनि फर्किने दबाब आइरहेको थियो। हामीले नेपाली दूतावासलाई पनि जानकारी गरायौं। तर, बुझ्दै जाँदा यहाँ नै राम्रो उपचार हुने देखियो,’ मनोजले थपे।    

परदेशीको उपचारमा उनी पढ्ने कलेज र निर्देशक सोल्मो नेजेरले गरेको सहयोग बिर्सन नसकिने मनोज बताउँछन्। 

जुलाई २०२० मा परदेशीको ओपन हार्ट सर्जरी भयो। उपचारमा त्यहाँको करिब एक लाख (करिब ३५ लाख नेपाली रुपैयाँ) खर्च भएको उनले थाहा पाएका छन्। सबै खर्च इन्स्योरेन्स कम्पनीले बेहोरिदियो। 

उनको एक रुपैयाँ पनि खर्च भएन। ६–६ महिनामा मुटु परीक्षण गराउनु भनेकी छन् डाक्टरले। अहिले पनि परदेशी डाक्टरको ‘भर्चुअल फलोअप’ मा छन्। अपरेसन गर्ने डाक्टरले बेला–बेला सल्लाह दिइराख्छिन्। उनलाई भने एकपटक इजरायल नै गएर डाक्टरलाई भेट्न मन छ। 

‘मिले त काम नै गर्न जान पाए हुन्थ्यो। अझै सिक्न पाए हुन्थ्यो, कमाउन पाए हुन्थ्यो,’ बर्दियामा रहेका परदेशीले भने। 

परदेशीको अपरेसन गर्ने डा. अभिभा लेभितासका अनुसार अस्पताल भर्ना गर्दा उनलाईसास बढ्ने समस्या देखिएको थियो। 

‘पहिले दुईजना युवा डाक्टरले उनको परीक्षण गरे। मुटुमा केही गडबडी भएको शंका लाग्यो र उनीहरूले मलाई रिफर गरे। मलाई लाग्यो– मुटु बचाउन अपरेसन तुरुन्तै गर्नुपर्छ। अनि अपरेसन भयो। अब उनी अन्य सामान्य मानिसजस्तै काम गर्न सक्छन्,’ रे स्नेइडर हस्पिटलकी चिकित्सक लेभितासले नेपाल समयसँग भनिन्।  

इजरायलको रे स्नेइडर अस्पतालमा मुटुको अपरेसन गराएपछि परदेशी थारू।

अपरेसनपछि पनि परदेशीले झन्डै चार महिना काम गरे इजरायलमा। उनी  कोर्स सकेर मात्र स्वदेश फर्के। अहिले उनले भैंसीपालनलाई निरन्तरता दिएका छन्। इजरायलमा सिकेको सीप र प्रविधि उपयोग गरिरहेको बताउँछन् उनी। 

व्यावसायिक कृषिका लागि योजना बनाउनेदेखि ऋण लिने अनि त्यसको व्यवस्थापनसम्मको सीप सिकेका छन्। कुनै पनि वस्तु उत्पादन गरेर मात्र हुँदैन, त्यसको बजारीकरण पनि उत्तिकै जरुरी छ भन्ने थाहा पाएका छन्। सिकेको सीप र प्रविधि सदुपयोग गरेर उद्यमी बन्ने प्रयासमा छन् परदेशी थारू। 

०००

नेपालका लागि इजरायली राजदूत खनान गोडेर ‘लर्न एन्ड अर्न’ कार्यक्रमका लागि गएका विद्यार्थी इजरायलका लागि परिवारकै सदस्यजस्तो हुने बताउँछन्। ‘त्यही भएर उनीहरुले इजरायली नागरिकसरह स्वास्थ्य तथा अन्य सेवासुविधा पाउँछन्,’ उनले भने। 

नेपाली विद्यार्थी तथा श्रमिकको स्वास्थ्य तथा अन्य समस्यामा इजरायल सरकार संवेदनशील रहेको गोडर बताउँछन्। ‘नेपाल र इजरायल सरकारबीच राम्रो सहकार्य भइरहेको छ र यसलाई हामी अझ विस्तार गर्न चाहन्छौं,’ उनले भने। 

उनका अनुसार निकट भविष्यमै नेपाल–इजरायल सहयोग कार्यक्रम ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ सुरु हुँदै छ। हालैमात्र आफूले कृषिमन्त्री पद्माकुमारी अर्यालसँग भेटेर यसबारे कुराकानी गरेको राजदूतले सुनाए। 

कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालसँग सिंहदरबारमा कुराकानी गर्दै नेपालका लागि इजरायली राजदूत हानान गोडर। तस्बिर ः मन्त्री अर्यालको सचिवालय

इजरायल सरकारको प्राविधिक सहयोगमा सञ्चालन हुने उक्त कार्यक्रमका लागि गत असोज १४ गते नेपाल र इजरायलबीच सम्झौता भएको थियो। कार्यक्रम सञ्चालनका लागि नेपालका तर्फबाट सहसचिवको नेतृत्वमा स्टेरिङ कमिटी गठन भइसकेको छ भने इजरायलले पनि आफ्नो प्रतिनिधि छनोट गरिसकेको छ। 

नेपाल सरकार र इजरायल सरकारद्वारा संयुक्त रुपमा सञ्चालन हुने उक्त कार्यक्रमबाट नेपालको कृषि क्षेत्रमा आधुनिकीकरण र व्यवसायीकरणको लागि महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा राजदूत गोडरको छ। 

०००

परदेशीको सफल उपचारले त्यहाँ तालिम गरिरहेका नेपाली विद्यार्थीमा आत्मविश्वास बढेको बताउँछन् टिम लिडर मनोज। ‘हामीले थाहा पायौं– यहाँको स्वास्थ्य सेवा निकै राम्रो रहेछ। विद्यार्थी र श्रमिकको स्वास्थ्यमा राम्रो ध्यान दिइँदो रहेछ। यहाँको श्रम कानुन नै श्रमिकमैत्री छ,’ इजरायलमै रहेका मनोजले ह्वाट्सएपमा भने। 

उनका अनुसार त्यहाँ स्वास्थ्य बिमा अनिवार्य छ। नेपालबाट जाने विद्यार्थी तथा श्रमिकको बिमा रोजगारदाता कम्पनीले नै गरिदिएको हुन्छ। 

रोजगारी एवं अन्य सिलसिलामा तीन हजारभन्दा बढी नेपाली इजरायलमा रहेको सरकारी तथ्यांक छ।

वार्षिक खेलकुद कार्यक्रममा नेपाली विद्यार्थी।

प्रतिक्रिया दिनुहोस्