विशेष मनोरञ्जन

एउटै गीतका विभिन्न भर्सन : वास्तविक स्रष्टाको पहिचान रहला त ?

1613792429.jpg

गायिका मिलन नेवारको स्वरमा रहेको ‘फूलबुट्टे सारी’ गीत साढे दुई महिनाको बीचमा झन्डै साढे तीन करोड दर्शकले युट्युबमा हेरेका छन्। यो गीत डिसेम्बर ५ मा केन्द्र मोसन पिक्चर्सको युट्युब च्यानलमा अपलोड गरिएको थियो।

NLG Insurance
agrakhi
Yeti parketing

राजनराज शिवाकोटीको शब्द र संगीत रहेको ‘फूलबुट्टे सारी’ गीत त्यसअघि नै मार्मिक लामाको स्वरमा सार्वजनिक भइसकेको थियो। १४ नोभेम्बर २०२० मा देवीथान म्युजिकको च्यानलबाट अपलोड भएको गीत एक करोड ९० लाखभन्दा बढी दर्शकले हेरिसकेका छन्।

देवीथान म्युजिकबाटै जनवरी २ मा अपलोड भएको अरिस्मा शिवाकोटीको स्वरमा रहेको यही गीतको ‘चाइल्ड भर्सन’ ६ लाख २२ हजारभन्दा बढीले हेरेका छन्। पछिल्लो साता कलाकार मदनकृष्ण श्रेष्ठको स्वरमा यो गीत ‘लेजेन्डरी भर्सन’ का रुपमा आएको छ।

देवीथान म्युजिकबाट आएको यो भर्सन १५ लाखभन्दा बढीले हेरेका छन्।

गीतका शब्द उनै हुन्, यसको भाव उही हो तर गीतका फरकफरक भर्सन दर्शकश्रोताको मनमा बस्न सफल भएका छन्। फरक भर्सनमा संगीतमा केही फरक ‘फ्लेबर’ चाख्न पाइन्छ।

यसअघि अन्य गीत पनि ‘मेल’ र ‘फिमेल’ भर्सनका रुपमा आउने गर्थे। तर यसपटक फुलबुट्टे सारी गीत मेल र फिमेलमा मात्र सीमित नरही लेजेन्डरी र चाइल्ड भर्सनमा समेत आयो। यो गीतलाई अनेक भर्सनमा स्वयम् निर्माण टिमले नै ल्याएको हो। फरक भर्सन र फरक फ्लेबरमा यो गीत ल्याउने पूर्वयोजना भने होइन। 

गायकसमेत रहेका गीतका सर्जक राजनराज शिवाकोटीका अनुसार समयक्रमले विभिन्न भर्सनको माग गर्‍यो र निर्माण पक्षले आमश्रोता/दर्शकको फिलिङ्सअनुसार तयार गर्‍यो।

दर्शकले यसअघि पनि विभिन्न गीतमा नयाँ कलाकारले स्वर भरेका ‘कभर भर्सन’ सुनेकै हुन्। सर्जक वा निर्मातासँगको सल्लाहमा वा आफूखुसी कभर भर्सन बनाउने प्रचलन अहिले पनि छ। 

चल्तीकी गायिका एलिना चौहानको कुनै समय पहिचान भनेकै ‘कभर गायिका’ को रुपमा थियो। तर छोटो समयमै उनी कभर गायिकाबाट मूलधारको गायिका बन्न सफल भइन्। 

बलिउडमा पनि कतिपय गायकगायिका कभर गीतको सहाराबाटै मूलधारमा स्थापित भएका छन्। 

एउटा स्वरमा चलिसकेको गीतलाई मेल वा फिमेल भर्सनबाहेक अन्य भर्सनमा चल्तीका कलाकारले खासै गाउने गरेको देखिँदैन। चल्तीमा नरहेका कलाकारले गाउनासाथ त्यसलाई ‘कभर’ का रुपमा हेर्ने परम्परा छ।

केही समयअघि बलिउड गायक गजेन्द्र बर्माको गीत ‘तेरा घाटा’ निकै मन पराइयो। यसका सयौं कभर गीत निस्किए। भारतीय, नेपाली, बंगाली, पाकिस्तानीलगायतका थुप्रै गायकले ‘इस में तेरा घाटा, मेरा कुछ नहीं जाता’ भनेर गाए। 

झन्डै एक वर्षपछि गायिका नेहा कक्करले यही गीतमा आफ्नो आवाज दिइन्। यसलाई फिमेल कभर भनिएन। हुन त यसलाई कुनै ‘भर्सन’ को ट्याग दिइएन। गजेन्द्रको स्वरमा युट्युबमा ४२ करोडभन्दा बढीले हेरेको यो गीत नेहाको स्वरमा पनि झन्डै ११ करोडभन्दा बढीले हेरेका छन्।

नेपालमा कुनै स्थापित कलाकारले यसरी कभरकै रुपमा गाउने प्रचलन देखिँदैन। तर व्यावसायिक रुपमा मेल÷फिमेल भर्सनबाहेक फरकफरक भर्सन बनाउने परम्परा केही समययता सुरु भएको देखिन्छ। 

पछिल्लो पटक फूलबुट्टे सारीमा मदनकृष्णले भरेको स्वर एउटा उदाहरण हो। खासगरी नेवारी संगीतमा स्थापित गायक हुन् मदनकृष्ण। मूलधारमा उनको परिचय गायकका रुपमा भन्दा धेरै हास्यव्यंग्य कलाकारका रुपमा छ।

केही समयअघि उर्गेन दोङको स्वरमा रहेको ‘टाढा भए पनि’ भन्ने गीत अस्मिता अधिकारीको स्वरमा फिमेल भर्सन सार्वजनिक भएको थियो। बादल थापाको स्वरमा रहेको ‘हेर यो मुटुमा चिरा पर्‍या छ’ भन्ने गीत राम्रै रुचाइएको थियो।

युट्युबमा ७६ लाखभन्दा बढी भ्युज भएको यो गीत गत महिना अस्मिता अधिकारीकै स्वरमा फिमेल भर्सनमा आयो।

पछिल्ला केही महिनायता सर्जक नारायण रायमाझी आफ्ना पुराना गीतलाई धमाधम ‘रिमेक’ गरिरहेका छन्। उनले राष्ट्रकवि माधवप्रसाद घिमिरेको शब्दमा रहेको ‘उनको प्रीति’ गीतमा नयाँ कलाकारको स्वर भरेका थिए। साथै उनले ‘नमुछे आमा दहीमा टीका’, ‘आगो पिएर बाँच्ने’ जस्ता गीतलाई पुनः रेकर्ड गरेका छन्।

किन निकालिन्छ विभिन्न भर्सन?

फूलबुट्टे सारी गीतलाई अनेक भर्सनमा निकाल्ने कुनै पूर्वतयारी नभएको सर्जक राजनराज शिवाकोटी बताउँछन्। मार्मिक लामाको स्वरमा धेरै पहिले रेकर्ड भएको गीत पछिल्लो समय टिकटकबाट चर्चा भएपछि पुनः रेकर्ड गरिएको थियो। 

‘मार्मिकको आवाजमा अलि ‘रकिङ’ फ्लेभरमा सार्वजनिक भएको गीत फिमेल भर्सनमा पनि सुन्न पाए हुन्थ्यो भन्ने प्रतिक्रिया पाएपछि मिलनको आवाजमा रेकर्ड गरायौं’, शिवाकोटीले भने, ‘बालबालिकामाझ पनि निकै मन परेको पाइयो, कतिपयले आफ्ना बच्चाहरुले यो गीत गुनगुनाउने गरेको आफूलाई सुनाउन थालेपछि यसको ‘चाइल्ड भर्सन’ रेकर्ड गर्ने जुक्ति फुर्‍यो।’

यसपछि लेजेन्डरी भर्सन रेकर्ड गर्ने तयारी पनि थिएन। तर तीनवटा भर्सनमा आइसकेपछि कतिपयले यसको लेजेन्डरी भर्सन र मेलोडियस भर्सनको माग गरेको अनुभूति राजनलाई भयो। 

उनी भन्छन्, ‘मदनकृष्ण बुवाको स्वरमा लेजेन्डरी र मेलोडियस दुवै भर्सन बन्ने भएपछि हामीले यस्तो भर्सन रेकर्ड गरायौं। मलाई लाग्छ यो भर्सनपछि फूलबुट्टे सारीको कम्प्लिट प्याकेज तयार भएको छ।’

गीतलाई पुनर्जन्म दिने प्रयास

कतिपय गीत विभिन्न भर्सनका रुपमा रेकर्ड गर्नुको अर्को कारणचाहिँ पुनर्जन्म दिनु हो। ‘उनको प्रीति’ गीतको ‘रिमेकिङ’ पछि नारायण रायमाझीले भनेका थिए, ‘नयाँ स्वरमा रेकर्ड गर्नु भनेको प्रविधिमा पनि अपडेट हुनु हो र यसको उद्देश्य आफ्नो सिर्जनालाई पुनर्जन्म दिनु हो।’

वर्षौंअघि रेकर्ड भएका कतिपय गीत नयाँ प्रविधिसहित रिरेकर्ड गर्दा त्यसले जीवन्तता पाउने र नयाँ पुस्ताका लागि संरक्षण गरेर राख्न सजिलो हुने रायमाझी बताउँछन्। साथै कतिपय गीतमा थप मेहनत गर्दा अझ राम्रो हुने देखेपछि पनि पुनः रेकर्ड गर्ने परम्परा छ।

गायक-गायिकाको अस्तित्व के हुन्छ?

कतिपयले कभर वा विभिन्न भर्सनमा फेरि तयार हुने गीतले कतै ‘वास्तविक’ सर्जक वा गायकगायिकाको अस्तित्व त संकटमा पर्दैन भन्ने चिन्ता व्यक्त गर्ने गरेको पाइन्छ। 

शिवाकोटी भन्छन्, ‘सबैको अपनत्वका लागि फरक भर्सन आउने हुन्। मेरा गीत तीन करोड नेपालीले नै गाऊन् भन्ने चाहना छ, त्यसैले ३–४ वटा भर्सनमा आउँदा यसका वास्तविक गायकगायिकाको अस्तित्वमा संकट आउँदैन। मन पराउने सबैले मेरा सिर्जना गाऊन् भन्ने मेरो चाहना छ।’

गायक तथा संगीतकार कृष्णसमीप सुवेदी भने फरक भर्सनमा फरक स्वर ल्याउँदा वास्तविक गायकगायिकाको स्थान सुरक्षित गरिदिनुपर्ने बताउँछन्। 

उनी भन्छन्, ‘कतिपय गीतका राम्रा कभरहरु तयार भएको पाइन्छ, तर ती कभरमा मूल स्रष्टालाई मेन्सन नगरिँदा बिस्तारै ती बिर्सिँदै जाने हुन सक्छ। त्यसैले भर्सन त जति पनि तयार गर्दा भो, मुख्य सर्जकलाई चाहिँ मेन्सन गरिरहनुपर्‍यो।’

उनी आफ्नो सिर्जना संरक्षणका लागि स्वयम् सर्जक र सर्जकको परिवारका सदस्य पनि सक्रिय हुनुपर्ने धारणा राख्छन्। उनी भन्छन्, ‘कतिपय पुराना गीतका नयाँ कभर बन्दै गर्दा सर्जकका नाम नराख्ने वा कतिपय ठाउँमा नाम राख्दा गल्ती हुने गरेको छ। धेरैले गाउँदा सिर्जना झन् जीवित हुँदै जान्छ तर मूल सर्जक पनि जीवितै रहनुपर्‍यो नि।’

प्रतिक्रिया दिनुहोस्