कला - साहित्य

लुकीलुकी भए पनि ‘यौन साहित्य’ बढी पढिन्छ

1613790086.jpg

समाज र संस्कृतिको अध्यताका रुपमा लामो समयदेखि सक्रिय शशी थापा पण्डित ११ वर्ष उमेरदेखि नै साहित्य सिर्जनमा लागेकी हुन्। भक्तपुर कटुन्जेमा २०३२ सालमा जन्मिएकी उनले बाल्यकालमै साहित्यिक ‘माहोल’ देखिन्। घरछेउमै रहेको साहित्यकार चक्रपाणि चालिसेको सालिकमा हरेक कात्तिकमा देशका ठूला साहित्यकार माल्यार्पण गर्न आउँथे। उनीहरु कविता वाचन गर्थे। त्यसैबाट प्रभावित उनले सुरुमा कथा लेखिन्। त्यसपछि कविता र फुटकर निबन्ध प्रकाशित हुन थाले। ‘मेरी छोरी सहिद भइछे’ र ‘प्रेमको बकपत्र’ उनका कवितासंग्रह हुन्। ‘नागार्जुन क्षेत्रको सांस्कृतिक अध्ययन’ उनको अर्को कृति हो। साहित्यकार शशीको शुक्रबार ‘उठ तिलोत्तमा’ कथासंग्रह पाठकमाझ आएको छ। सोही कृतिमा आधारित रहेर शशीसँग गरिएको कुराकानी :

NLG Insurance
agrakhi
Yeti parketing

उठ तिलोत्तमा संग्रहमा कस्ता कथा संगृहीत छन्?

नेपाली समाज, परिवेश र सांस्कृतिक विषयमा आधारित रहेर रचना गरिएका कथाहरु यस संग्रहमा छन्। हामीले यसअघि सुन्दै र पढ्दै आएका मिथकको चुरोसम्म पुगेर केही नयाँ कुरा दिन खोजेको छु। ती विषय नारीको यौनजीवनसँग सम्बन्धित छन्। धेरैले नसुनेका सन्दर्भ पनि छन्। मेरो अध्ययनअनुसन्धानको विषय संस्कृति हो। यसमा अलि बढी केन्द्रित छु। वैदिक कालीन समाजका नारी र आजको नारी, त्यस बेलाको स्वतन्त्रता अझ यौनलाई हेर्ने दृष्टि र आजको परिवेशले यसमा स्थान पाएको छ। नियोग प्रथा र आजको समाजलाई मैले तुलनात्मक रुपले उठान गरेकी छु। केही विषयवस्तु कोरोनाकालका पनि छन्। कथाहरु मिथकीय र पौराणिक सन्दर्भका आधारमा तयार पारिएका छन्। दोस्रो प्रकारका कथाहरू नारी स्वतन्त्रताको सन्दर्भसँग सम्बन्धित छन्। नारी स्वतन्त्रतामा पनि सबैभन्दा जोड दिइएको पक्ष यौन स्वतन्त्रता हो।  

कथासंग्रह प्रकाशनको हुटहुटी कसरी भयो? 

कतिपय भावना र जीवन भोगाइका सन्दर्भ कविताबाट मात्र व्यक्त गर्न नसकिने रहेछ। समाजका यावत् विषयलाई कथामार्फत व्यक्त गर्दा मैले बढी सन्तुष्टि प्राप्त गरें।  त्यसो त कविता सिर्जना गर्दाको स्वाद र आनन्द बेग्लै छ। मैले पहिलादेखि नै कथा लेख्दै आएकी हुँ। अहिले त्यसलाई संकलन गरेर कृतिको रुप दिएकी हुँ। यसमा २०६० यता लेखेका १५ वटा कथा छन्। तर ती परिमार्जन र आफैं सम्पादन पनि गरेकी छु। यो कृति मैले अहिले अलिक फुर्सद पाएर पनि तयारी गर्ने मौका पाएँ।

पछिल्लो समय बजारलाई हेरेर सिर्जना छापिने र लेखिने गरेको छ। अहिलेको बजारले रुचाउला त यो विषय?

मैले बजारका लागि भन्दा सिर्जनाका लागि यो कृति प्रकाशन गरेकी हुँ। अर्को कुरा कृति आजका लागि मात्रै पनि त होइन, भोलि पनि त रहिरहने हो। आजको बजार कमर्सियल छ। बजारमा लुकीलुकी भए पनि ‘यौन साहित्य’ बढी रुचाइन्छ। त्यो नराम्रो त होइन, मैले उठान गरेको विषय वैदिक कालीन समाजको मिथक हो। आजको समाजका लागि सन्देश पनि हो। कतिपय कथामा यौन मिसिएको छ। तर त्यो न्यायसंगत छ। पूरै विषय त पढेर नै थाहा हुने हो। 

यो कृति पढेपछि पाठकले पाउने खुराक के हो त?

कथाहरुको भीडमा मेरा कथा यिनै कारणले पढ्नैपर्छ भनेर म दाबी गर्दिनँ। कुनै पनि कृति पढेपछि पाठकले केही नयाँ कुरा त पाउँछ नै। यौन, अपराध, कुण्ठा, दुःख र पीडा मात्र होइन, हाम्रो असली पहिचान के हो भन्ने विषयमा जान्न चाहनेका लागि यसका कथाहरु उपयोगी हुनेमा म विश्वस्त छु। 

यसअघि कतिपयले वैदिक विषयलाई तोडमरोड गरेको पाएँ। कुन्तीको यौनजीवन र द्रोपदीको यौनजीवन फरक थियो। समकालीन नारीको यौनजीवन फरक छ। मैले हाम्रो सनातन समाजको मिथकलाई आजको समाजसँग जोड्ने प्रयत्न गरेकी छु। उति बेलाको यौनजीवन र अहिलेको यौनजीवनको तुलनात्मक जानकारी पाठकले पाउनेछन्। यसले हाम्रो थप चिनारी दिनेमा म विश्वस्त छु। 

तपाईं आफैंलाई घत लागेका विषय के छन्, उठ तिलोत्तमामा?

‘लिमीको त्यो रात’ कथा पढ्नुभयो भने एउटा यस्तो समाज पाउनु हुनेछ, जहाँ एउटा समाजको चित्रण छ। त्यहाँ एउटा गाउँका नारीले विवाह गरेका छन्। अर्को गाउँ यस्तो छ, जहाँ नारीले विवाह गर्न पुरुष नपाएर गुम्बाका गुरुसँग संसर्ग गराएर ‘कुमारी आमा’ को जीवन बाँचेको पाउनुहुनेछ। यो सांस्कृतिक विषयको अनुसन्धानमा आधारित कथा हो। अर्को कथाले रजस्वलापछि हरेक नारी त्यसरी नै कुमारी हुन्छ जसरी उ जन्मँदा थिई भन्ने विषय उठान गरेको छ। ‘बूढी बेहुली’ थामी जातिको विवाह प्रथासँग सम्बन्धित छ। 

‘मुक्ति’मा मैले धर्म निरपेक्षतालाई विषय बनाएकी छु। ‘कोरोना र्यामिटेन्स’ ले विदेशमै ज्यान गुमाउनेको कथा बोलेको छ। 

कृति विवादमा आउला कि भन्ने चिन्ता लाग्दैन?

सर्जक जिउँदो हुनुपर्छ। सत्य लेख्न र बोल्न सक्नुपर्छ। मैले त समाज, संस्कृति अध्ययनका क्रममा पाएका विषयलाई कथा बनाएकी छु। मेरा हरेक कथा सत्यको नजिक छन्।

प्रतिक्रिया दिनुहोस्