जनकपुरधाम– प्रदेश २ का प्रदेश प्रमुख तिलक परियालाई पदबाट हटाइएको छ। नयाँ प्रदेश प्रमुखमा रौतहट निवासी राजेश झा नियुक्त भएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली प्रदेश प्रमुख परियारलाई एक्कासि पदबाट हटाउने निर्णयमा किन पुगे त? प्रदेश २ मा यतिबेला परियारलाई दुई कारणले हटाइएको अनुमान गर्न थालिएको छ।
केही दिनअघि प्रदेश प्रमुखका निजी सचिव अनिल पासवान र रेल्वेका महाप्रबन्धक गुरु भट्टराईबीच टेलिफाेन कुराकानीमा भनाभन भएको थियो।
प्रदेश प्रमुखको आदेशमा उनका निजी सचिव पासवानले भट्टराईलाई रेलवे सञ्चालनबारे सोधखोज गरेका थिए। दुईजनाबीच गालीगलौज भएको अडियो बाहिरिएको थियो।
परियार पुष्पकमल दाहाल निकट र भट्टराई ओली निकटका हुन्।
अर्को कारण शुक्रबार बिहान प्रजातन्त्र दिवसका अवसरमा प्रदेश प्रमुख परियारले प्रतिनिधिसभा विघटनविरुद्ध कडा अभिव्यक्ति दिएका थिए। उनले ओलीको आलोचना गरेका थिए। त्यसपछि प्रधानमन्त्री ओली उनीसँग रुष्ट बनेको अनुमान गरिएको छ।
ओलीले आफूविरुद्धमा बोल्नेहरुलाई तह लगाउन प्रदेश प्रमुख परियारलाई हटाएको हुन सक्ने दाहाल निकटका एक नेताले बताए।