शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सशस्त्रमा सात डीआईजी पद रिक्त, बढुवाका लागि एसएसपीहरूको तीव्र लबिङ

सशस्त्रमा सात डीआईजी पद रिक्त, बढुवाका लागि एसएसपीहरूको तीव्र लबिङ

‘उहाँहरुले सेवा अवधि थपका लागि भन्दै गृह मन्त्रालयमा निवेदन पेस गर्नुभएको थियो। मन्त्रालय र संगठन इच्छुक नहुँदा सेवा अवधि थप भएन।’ 
 |  सोमबार, मंसिर २९, २०७७

बीपी अनमोल

बीपी अनमोल

सोमबार, मंसिर २९, २०७७

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालका ६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) र एक जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ले अनिवार्य अवकाश पाएका छन्।

triton college

सशस्त्र प्रहरी बलका अनुसार उनीहरुले ३० वर्षे सेवा अवधिका कारण आइतबारदेखि अनिवार्य अवकाश पाएका हुन्। 

अवकाश पाउने डीआईजीहरूमा नगेन्द्र थापा, कवीन्द्रमान श्रेष्ठ, कृष्णभक्त बह्माचार्य, हरिशंकर बुढाथोकी, राजेन्द्र बस्नेत, हरिशचन्द्र अधिकारी र एसएसपी राजेन्द्र शाक्य छन्।

आफ्नो सेवाअवधि थप्न उनीहरुले गृह मन्त्रालयमा लबिङ गरे पनि सफल हुन सकेनन्। डेढ वर्ष सेवा अवधि थप्न माग गर्दै उनीहरुले गृहमा निवेदन दिएका थिए। तर, गृहले सेवा अवधि थपिदिएन। 

अवकाश पाएका ६ जना डीआईजी र एकजना एसएसपी नेपाली सेनाबाट स्थानान्तरण भई सशस्त्र प्रहरी बलमा आएका थिए। सेनामा कार्यरत रहँदा गरेको तालिमको १८ महिना अवधिलाई पनि सेवा अवधिमै गणना गरिनुपर्ने उनीहरुको माग थियो। 

corrent noodles
Metro Mart

सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता डीआईजी राजु अर्यालले ६ जना डीआईजी र एकजना एसएसपीले आइतबारदेखि अनिवार्य अवकाश पाएको बताए। ‘उहाँहरुले ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश पाउनुभएको हो,’ उनले भने।

सशस्त्रमा एकजना डीआईजीको दरबन्दी यसअघि नै रिक्त छ। अहिले अवकाश पाएका ६ जना र यसअघिको रिक्त गरेर सातजना डीआईजीको पद रिक्त भएको छ। आइतबार अवकाश पाएका एक एसएसपीको पद पनि रिक्त भएको छ। 

अनिवार्य अवकाश पाउने दिन नजिकिएपछि केही साताअघि उनीहरुको सशस्त्र प्रहरी बल मुख्यालयमा काज सरुवा गरिएको थियो।

विभिन्न पृतनाको जिम्मेवारीमा रहेका उनीहरुलाई मुख्यालयमा काज सरुवा गरेर अन्यलाई त्यहाँ पठाइएको थियो। 

‘मुख्यालयलाई नै जानकारीसमेत नदिएर उहाँहरुले सेवा अवधि थपका लागि भन्दै गृह मन्त्रालयमा निवेदन पेस गर्नुभएको थियो,’ सशस्त्र प्रहरी बलका एक अधिकृतले भने, ‘त्यसमा मन्त्रालय र संगठन इच्छुक थिएन। त्यसैले सेवा अवधि थप भएन।’ 

अवकाश पाएका ६ डीआईजी र एक एसएसपीले २८ मंसिर २०४७ मा नेपाली सेनामा सेवा प्रवेश गरेका थिए। सशस्त्र प्रहरी बल गठन भएपछि उनीहरु स्थानान्तरणमा भएका हुन्। 

रिक्त पदमा बढुवाको तयारी

सातजना डीआईजी र एक एसएसपी रिक्त भएपछि सशस्त्र प्रहरी बल मुख्यालयले बढुवा प्रक्रिया अघि बढाएको छ।
प्रवक्ता अर्यालले रिक्त पदमा अब छिट्टै बढुवा प्रक्रिया अघि बढ्ने बताए। ‘रिक्त सातजना डीआईजी र एकजना एसएसपी पदका लागि बढुवा प्रक्रिया अघि बढ्छ’, उनले भने। 

डीआईजीमा बढुवाका लागि सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरुले लबिङ तीव्र पारेका छन्। 

सातजना डीआईजीका लागि १३ जना सस्शत्र वरिष्ठ प्रहरी उपरीक्षकहरु प्रतिस्पर्धामा छन्। उनीहरु सबै नेपाल प्रहरीबाट सशस्त्र प्रहरी बलमा स्थानान्तरण भएका हुन्। 

सशस्त्र प्रहरी स्रोतका अनुसार डीआईजी बढुवाका लागि एसएसपीहरु अभिकुमार खत्री, शम्भु सुवेदी, गणेशबहादुर ठाडा मगर, दुर्गाप्रसाद भट्टराई, कमल गिरी, कुलबहादुर नेम्वाङ, कालीदास धौवजी, कुमार न्यौपाने, भेषबहादुर शाह, मुरारी बस्नेत, प्रदीपकुमार पाल, कृष्णराज पाठक, लक्ष्मणबहादुर सिंह मुख्य प्रतिस्पर्धामा छन्।

यीमध्ये खत्री, सुवेदी, ठाडा मगर, भट्टराई, गिरी, नेम्वाङ, धौवजी र न्यौपाने पहिलो वरीयतामा छन्। 

वरिष्ठतामा रहेका सातजनालाई नै डीआईजीमा बढुवा गर्ने सशस्त्र प्रहरी बलको तयारी छ। 

‘वरिष्ठताका आधारमा रहेकाहरू नै बढुवामा सिफारिस हुन्छन् होला,’ एक सशस्त्र प्रहरी उच्च अधिकृतले भने, ‘शक्तिकेन्द्रको दबाब पर्याे भने उनीहरुका मानिस पनि पर्न सक्छन्।’

त्यस्तै रिक्त एक एसएसपीमा पनि बढुवा गरिनेछ। यसमा वरिष्ठतम एसपी पर्नेछन्। 

सशस्त्र प्रहरी नियमवाली– २०७२ अनुसार सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि गृह मन्त्रालयका सचिवको अध्यक्षतामा तीन सदस्यीय समिति हुने व्यवस्था छ।

समिति सदस्यमा सशस्त्रका आईजीपी तथा सदस्य सचिवमा सशस्त्र अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) हुने प्रावधान छ। 

सुरक्षा निकायमा वरिष्ठता र कार्यक्षमताको मूल्यांकनका आधारमा बढुवा गरिँदै आइएको छ। 

नियमावलीअनुसार कार्यसम्पादन मूल्यांकनबापत ४० अंक, ज्येष्ठताबापत २० अंक, भौगोलिक क्षेत्रमा काम गरेको ८ अंक, शैक्षिक योग्यताको ७ अंक, तालिमको १३ अंक, चुनौतीपूर्ण वा विशेष जिम्मेवारीको ५ अंक, विभूषणको २ अंक र बढुवा समितिले दिने ५ अंकका आधार बढुवा हुने प्रावधान छ। 

बढुवा समितिले गरेको सिफारिस मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि बढुवा भएका व्यक्तिहरुले दज्र्यानी चिह्न प्राप्त गर्नेछन्। 
 

प्रकाशित: Dec 14, 2020| 08:21 सोमबार, मंसिर २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।