शनिबार, वैशाख १५, २०८१

साइक्लिस्ट अर्जुन, खर्च धान्न साइकल नै बेच्नुपर्‍यो

उनले पहिलो उपाधि धरानमा आयोजित सेकेन्ड मेयर एमटीबी एक्ससीओ साइक्लिङ च्यम्पियनसिपमा काश्य पदका जितेका हुन्।
 |  शनिबार, मंसिर २७, २०७७

विनय सापकोटा

विनय सापकोटा

शनिबार, मंसिर २७, २०७७

काठमाडौं- स्थायी घर उदयपुर रौंतामाई गाउँपालिका–७ का अर्जुन रिखाम मगर चाबहिल शान्ति गोरेटो नजिकैको कोठाबाट बिहान ९ बजे निस्किन्छन्। ड्युटी सकेर डेरा फर्कंदा बेलुका ८ बज्छ। बिहानबिहान साइक्लिङ र दौडको स्वप्रशिक्षण गर्छन्। दुई वर्षयता उनको दैनिकी यसरी चल्दै आएको छ।

triton college

१३ वर्षको उमेरमै घर छोडेका उनी संघर्षको भर्‍याङ चढ्दै एथ्लेटिक्सका सक्रिय खेलाडी बन्न पुगेका छन्। कसरी?

..अनि घर छोडे

गाउँ खासै नरमाइलो थिएन। बच्चै थिए अर्जुन। घरमा बुवा एकदमै कडा स्वाभावका थिए। सानो गल्तीमा पनि ठूलो सजाय दिने। उनी भन्छन्, ‘घरमा उहाँको ‘राणा शासन’ नै थियो। सबै जना डराउनैपर्ने।’

उनलाई घरमा डर लाग्थ्यो। बुवाको अगाडि जान र बोल्न सक्ने त कुरै भएन।

corrent noodles
Metro Mart

‘५ कक्षापछि मलाई गाउँकै मामा पर्नेले ‘भान्जा तिमी काठमाडौं जान्छौ’ भनेर सोध्नुभयो। मैले पनि हुन्छ भनें’, उनले भने, ‘डराएर घरमा बस्नु भन्दा काठमाडौं जानु बेस भन्ने लाग्यो।’

काठमाडौं गएर निकै सुख पाइन्छ होला, रमाइलो हुन्छ होला भन्ने थियो उनलाई पनि। उनले ठूला सपना देखेका थिए। केही गरौंला भन्ने अठोट लिएका थिए।

साइकल, हेल्मेट र सुटको तस्बिर

मनोज भक्तपुर चाँगुनारायणस्थित एउटा घरमा घरेलु श्रमिकका रुपमा काम गर्थे। सरकारी स्कुलमा पढ्थे। बाटोमा अरुले हेल्मेट र जर्सी लगाएर साइकल चलाइरहेको देख्दा उनी हेरिरहन्थे। 

‘जर्सी र हेलमेट लगाएर साइकल चढेको देख्दा मलाई पनि त्यस्तै गरौं–गरौं लाग्थ्यो,’ उनले बाल्यकाल सम्झिए, ‘मनमनैै खुसी हुन्थें। सोच्थें– साइकल चढेर हिँड्न पाए कस्तो हुन्थ्यो होला!’

उनले एकपटक लाङटाङमा भएको खेल ब्ल्याक एन्ड ह्वाइट टेलिभिजनमा देखेका रहेछन्। बाटोमा लहरै साइकल कुदेको देख्दा उनलाई पनि त्यस्तै रहर लागेको थियो। टीभीमा देख्दा त्यसप्रतिको मोह झन् बढ्यो।

उनीसँग साइकल किन्न पैसा थिएन। साइकल किनिदिन दाइलाई पटकपटक आग्रह गरे।
‘नौ कक्षामा पुगेपछिचाहिँ दाइले इन्डियन साइकल किनिदिनुभयो। त्यसपछि मात्र सिक्न थालें’, उनले भने।

दुःखमा बदलिएको सपना

काठमाडौं उनले सोचेजस्तो कहाँ छ र? त्यसैले उनले धेरै दुःख पाए।  
‘मैले ज्यामी काम गरेँ। सानै भएकाले ठेकेदारहरुले सिमेन्ट–बालुवा, गिटी कुर्न  लगाउँथे,’ उनी भन्छन, ‘त्यहाँ सिमेन्ट कुरेर बस्दाबस्दा एक दिन घर बनाउने साहुले, पढ्छस त? भनेर प्रश्न गरे।’

तर घरेलु श्रमिकका रूपमा काम गर्नुपर्ने सर्त थयो। उनले सहमति जनाए। पढिसकेपछि जागिरमा पनि लगाइदिने आश्वासन पाएपछि उनी खुसी भए। 

उनले भने, ‘पढ्ने त भन्नु मात्र रहेछ। कामको स्वरुप मात्र बदलिएको रहेछ।’ उनले भक्तपुरको चाँगुनारायणस्थित एउटा घरमा सात वर्ष काम गरे।

‘पैसा दिँदैनथे, स्कुलको फी तिर्न पनि गाह्रो मान्थे। त्यसैले सरकारी स्कुलमै पढें’, उनी भन्छन्।, ‘आफ्नै घरजस्तो गरेर काम गर्दागर्दै सात वर्ष बितेछ।’

उनले गाईको दूध दुहुने, घाँससोत्तर गरिदिने, खेतबारीमा काम गर्नुका साथै सरसफाइ र भान्छाको काम पनि गरे।

परिवारबाट पाएको सहयोग, साइकल

परिवार ठूलो छ अर्जुनको। तर बाआमा दुवै बितिसके। ‘म डेढ वर्षको हुँदा मम्मी बित्नुभएको रे। उहाँको एउटा फोटो मात्र छ अहिले। फोटो हेरेर मम्मीलाई सम्झन्छु र चित्त बुझाउँछु,’ उनले भने। बुवाको निधन हुँदा उनी ७ कक्षामा पढ्थे। 

बुवाका दुई पत्नी थिए। उनकी आमा कान्छी हुन्। दुवै आमाबाट १३ जना छोराछोरी जन्मिए। अर्जुन सबैभन्दा कान्छा हुन्।
घरपरिवारसँग सानैमा बिछोडिएका उनले कक्षा ९ पास गरेपछि एउटा सहयोग पाए। त्यो हो दाइबाट नयाँ साइकल। उनले भने, ‘दाइले १२/१३ हजार रुपैयाँमा किनिदिनुभएको साइकल नै परिवारको पहिलो र अन्तिम प्रेरणा र सहयोग हो।’

केही वर्षअघि दाजुभाइको अंशबन्डा भयो। उनको भागमा खेत परेको थियो। तर खेत उनको रहेन। अर्जुनले भने। ‘दुर्भाग्य! कस्तो भने काइँला दाइ र मेरो भागको जग्गा दुई वर्षअघि पहिरोले लगिदियो।’

साइकल बनाउँदा जुरेको संयोग...

अर्जुन एकपटक साइकल बनाउन न्युरोड पुगेका थिए। बनाउँदै गर्दा ‘साइकल र्‍याली हुँदै छ सहभागी बन्ने भए फाराम भर्नु’ भन्ने सन्देश पाए।

उनी साइकल र्‍यालीमा पहिलोपटक समावेश भए। उनी भन्छन्, ‘त्यसपछि मात्र प्रतियोगितामा सहभागी बन्न थालें।’ उनी पहिलोपटक ललितपुर उद्योग वाणिज्य संघले आयोजना गरेको साइकल प्रतियोगितामा सहभागी भएका हुन्। 

साइक्लिङ गर्दै जाँदा त्यस क्षेत्रका धेरै मानिससँग निकट सम्बन्ध बढ्यो। राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीसँग चिनजान हुन थाले। साइकल एसोसिएसनले गरेका प्रतियोगितामा एकपटक मात्र भाग लिएका छन् उनले। उनले भने, ‘यसका लागि जिल्लाबाट कार्ड बनाउनुपर्ने रहेछ। बल्ल जानकारीमा आउँदै छ। अबचाहिँ भाग लिन्छु।’

साइक्लिङमा नाम जोड्ने सपना बोकेका अर्जुन हरेक बिहान साढे ५ बजे उठ्छन। ५–१० मिनेट वार्मअप गरेर रनिङमा जान्छन्। दैनिक ढेड दुई घण्टाको वर्कआउट यसरी नै बित्छ।

परीक्षा फर्म भर्ने पैसा भएन

काठमाडौं आएपछि उनी दुई वर्ष स्कुल जान पाएनन्। दुई वर्षपछि फेरि पाँच कक्षामै भर्ना भए। ‘पढ्नुपर्छ भन्ने लागेन,’ उनले त्यति बेलाको याद गरे।
एसएलसी पास भएपछि ११ कक्षा भर्ना भएका उनले पैसा नहुँदा १२ कक्षाको परीक्षा फारम भर्न पाएनन्। 
उनले भने, ‘परीक्षा फाराम भर्ने बेलामा पैसै थिएन। त्यसै म्याद सकियो अनि कहाँबाट परीक्षा दिन पाउनु?’ 

यस्ता प्रतियोगिता...

अन्तर्राष्ट्रिय खेलमा उनले सहभागिता जनाउन पाएका छैनन्। तर राष्ट्रिय प्रतियोगिता भने प्रायः छुटाउँदैनन्।
उनलाई सबैभन्दा मनपर्ने ‘रेस’ आर्मी ट्राई एड्भेन्चर हो। उनी मुस्ताङमा आयोजित यस्तो रेसमा दुईपटक सहभागी बनिसकेका छन्। त्यहाँ पहिले रक क्लाइम्बिङ अनि साइक्लिङ त्यसपछि रनिङ हुन्छ।

उनी भन्छन्, ‘ट्रेक नेसनल’ भन्ने खेल पनि खेलेको छु। तर राष्ट्रिय खेलकुदमा सहभागी बन्न सकेको छैन।’
साइकल चलाउन थालेको ६ वर्ष भए पनि विगत तीन वर्षबाट मात्र प्रतियोगिता खेल्दै आएका छन्। त्यसअघि उनीसँग प्रतियोगितामा भाग लिन साइकल थिएन। 

साइक्लिङ गर्दाको पीडा

खेलेर खान सक्ने वातावरण हाम्रो देशमा छैन। त्यसैले खेलाडीले पनि काम गर्नैपर्छ। 
विकसित देशमा खेलाडीलाई त खेलबाटै पर्याप्त आम्दानी हुन्छ। तर हाम्रो देशमा त्यस्तो छैन। ‘यहाँ त स्पोन्सर छैन, खेलाडीलाई मान्यता छैन। आफ्नै खर्चले गेम खेलिरहेको छु,’ अर्जुनले भने।

उनी अहिले चाबहिलस्थित केएल टावरको हाइप लाउन्समा काम गर्छन्। भन्छन्,  ‘सेफ हुँ, बिहान ९ देखि बेलुका ८ बजेसम्म काम गर्छु। अनि बचेको समयमा चाहिँ ट्रेनिङ।’

उनी इटालियन, चाइनिज, इन्डियन, नेपालीसहित कन्टिनेन्टल फुड बनाउन सिपालु छन्। धेरै सास्तीपछि मात्र यो काम पाएको अर्जुन बताउँन्। 

‘दुःख पनि कति गरियो–गरियो,’ उनले भने, ‘घरमा रंग लगाउने, होटेलमा वेटर र सेकुरेटी गार्ड बसेको छु।’
आफ्नो कमाइले बाँच्न पुगेको उनी बताउँछन्। कोठा भाडा तिर्न र पकेट खर्च गर्न पुगेको छ। उनी भन्छन्, ‘बचत हुँदैन। त्यसैले काम रोकिँदा ठूलो समस्यामा परें।’

केही ठिक र सन्तोषजनक अवस्था नै चलिरहेको बेला कोरोना भाइरसको महामारी सुरु भयो। यसले सबै क्षेत्रका व्यक्ति जस्तै अर्जुन पनि प्रभावित नहुने कुरै भएन। लामो समयको लकडाउनले सबै क्षेत्र बन्द भयो।

बाल्यकालमै घर छोडेर काठमाडौं छिरेका २३ वर्षीय अर्जुनले बल्लतल्ल किनेको साइकल डेराभाडा तिर्नका निम्ति बेच्नुपर्‍यो। त्यसले लकडाउन अवधि निकै पीडादायी र छटपटीपूर्ण बनेको उनी बताउँछन्।

‘९५ हजारमा किनेको साइकल ४५ हजारमा बेचेँ। त्यो पैसा त भाडा तिरेर सकियो,’ उनले भने, ‘अझै तीन महिनाको तिर्न बाँकी छ। बिस्तारै तिर्ने योजना छ। पैसा जम्मा भएपछि फेरि साइकल किन्नेछु।’

पैसा कम भएकाले सबैभन्दा महँगो खेल नै साइकल हो कि जस्तो लाग्छ उनलाई। भन्छन्, ‘साइकलको सानो पार्टपुर्जा बिग्रियो भने पनि बाहिरबाट मगाउनुपर्छ। आम्दानी कम हुनेका लागि यो खेल धेरै गाह्रो छ।’
त्यसो त उनलाई कहिलेकाहीं खेल छोडिदिऊँ कि जस्तो पनि लाग्छ। तर छोड्न सक्दैनन्! भन्छन्, ‘भित्रैदेखि माया लाग्ने कुरा कसरी छोड्नु? सकिँदैन नि।’

आफूसँग साइकल नभएकाले उनी दौडमा केन्द्रित छन्। यसमा खर्च पनि कम हुन्छ।

‘खर्च जुत्तामा हुन्छ। त्यो पनि टिकाउ हुने चाहिन्छ। रनिङका लागि कम्तीमा पनि १५–२० हजार रुपैयाँको जुत्ता चाहिन्छ,’ उनले भने। तर उनी त्यो भन्दा कम दामको जुत्ता लगाएर दौडन्छन्।

दौडमा उनी पहिलोपटक गोदावरी फेस्टिभलमा सहभागी हुँदा दोस्रो भएका थिए।
उनले भने, ‘पहिलो पटक थियो। त्यसमै दोस्रो हुँदा दौडप्रति धेरै आशा जाग्यो। त्यसपछि निकै प्रतियोगितामा सहभागी भएँ र विजयी पनि भएँ।’

उनले पहिलो उपाधि धरानमा आयोजित सेकेन्ड मेयर एमटीबी एक्ससीओ साइक्लिङ च्यम्पियनसिपमा काश्य पदका जितेका हुन्। आठौं हिमालयन आउटडोर फेस्टिबलमा उनले स्वर्ण जिते। केटीएम सिरिज ट्रेल रेसमा पनि स्वर्ण नै जिते भने १६ औं नेपाल नेसनल माउन्टेन बाइक च्याम्पियनसिपमा पाँचौं स्थानमा आए।

यसबाहेक ‘ट्रेल रनिङ नेपाल’ मा पनि स्वर्ण पदक पाएका छन्। दौडतर्फ ‘फाइभ के’ रनमा पनि स्वर्ण नै पाए।

प्रकाशित: Dec 12, 2020| 08:20 शनिबार, मंसिर २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।