शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • व्यक्ति हत्याको शृंखला दोहोर्‍याउन थालेको हो चन्द समूहले?

व्यक्ति हत्याको शृंखला दोहोर्‍याउन थालेको हो चन्द समूहले?

शिक्षक श्रेष्ठमाथि चन्द समूहले लगाएको आरोप पनि तत्कालीन माओवादीले सर्वसाधारणको हत्यापछि दिने कारण जस्तै छ, ‘सुराकी गरेको र आफ्ना नेतालाई पक्राउन सहयोग गरेको।’
 |  बुधबार, मंसिर २४, २०७७

बीपी अनमोल

बीपी अनमोल

बुधबार, मंसिर २४, २०७७

काठमाडौं– नेत्रविक्रम चन्द नेतृत्वको समूहले मंगलबार बिहानै मोरङको पहाडी गाउँ मिक्लाजुङमा एक शिक्षकको अपहरणपछि हत्या गर्‍यो। 

triton college

जिल्ला सदरमुकामबाट टाढा दुर्गममा भएको उक्त हत्याको खबर सुरुमा ‘गोली हानेर हत्या’ भनिए पनि प्रहरी टोली घटनास्थल पुगेपछि मात्र थाहा भयो– शिक्षक राजेन्द्र श्रेष्ठका दुवै हात पछाडिबाट बाँधी घाँटी रेटेर हत्या गरिएको। 

१९ वर्षअघि तत्कालीन माओवादीले लमजुङका शिक्षक मुक्तिनाथ अधिकारीको पनि यसैगरी बर्बर तरिकाले हत्या गरेको थियो। त्यही माओवादीको एउटा हाँगो अहिले सत्तामा छ र त्यसबाट चोइटिएको एउटा समूहको नेतृत्व गरेका छन्, नेत्रविक्रम चन्दले ।

श्रेष्ठ मिक्लाजुङ गाउँपालिका–१ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक हुन्। राजनीति वा क्रान्तिका नाममा हुने हत्याबाट अब त छुटकारा मिल्ला कि भन्ने बेला फेरि उस्तै नृशंस हत्या दोहोरिएको छ। र, मिक्लाजुङ क्षेत्रमा त्रास र क्षोभ छ। यो घटनाले देशभर आम–नागरिकलाई झस्काएको छ। 

बम विष्फोट, चन्दा आतंकलगायतका गतिविधिमा सक्रिय विप्लव समूहले त्रास देखाएर शक्ति हासिल गर्न फेरि सर्वसाधारण नागरिकलाई निशाना बनाउन लागेको संकेत गरेको छ। 

corrent noodles
Metro Mart

शिक्षक श्रेष्ठमाथि चन्द समूहले लगाएको आरोप पनि तत्कालीन माओवादीले सर्वसाधारणको हत्यापछि दिने कारण जस्तै छ, ‘सुराकी गरेको र आफ्ना नेतालाई पक्राउन सहयोग गरेको’।
 
चन्द समूहका मेची–कोशी ब्युरो इञ्चार्ज प्रतापले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सम्झाउन गएका बेला हतियार लिएर आक्रमण गर्न खोजेपछि प्रतिकारका क्रममा मारिएको...।’ 

प्रदेश १ का प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्की भन्छन्, ‘शिक्षकले सुराकी गरेको भन्ने कुरामा सत्यता छैन। त्यो उनीहरूको बहाना मात्रै हो। घरबाट बिहानै अपहरण गरेपछि जंगलमा लगेर निर्ममतापूर्व हत्या गरिएको छ।’ 

केही दिनअघि एक सञ्चारमाध्यममा प्रकाशित/प्रसारित अन्तर्वार्तामा चन्दले आफ्नो क्रान्ति हत्या, हिंसाबाट नभई जनताको बीचबाट अघि बढ्ने बताएका थिए। तर, त्यो सार्वजनिक खपतका लागि झुक्याउने रणनीति अन्तर्गत दिइएको अभिव्यक्ति थियो भन्ने शिक्षकको हत्याले पुष्टि गरेको छ। 

रोकिएला हत्या-हिंसा ? 

मोरङ घटनापछि मंगलबार कीर्तिपुरमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्रीले देशमा हत्या, हिंसाको शृंखला पुनः ब्युँत्याउने प्रयास भएको बताए।

उनले सबैलाई सचेत हुन आग्रह गर्दै अब कुनै पनि बहानामा मुलुक हत्या, हिंसाको बाटोमा अघि बढ्न नसक्ने बताए। प्रधानमन्त्रीको अभिव्यक्तिले सरकार चन्द समूहविरुद्ध कठोररूपमा प्रस्तुत हुने संकेत दिएको छ। 

तर, १० वर्षे सशस्त्र हिंसाका बेला मानवताविरुद्धको गम्भीर अपराध गरेका व्यक्तिलाई कानुनी दायरामा ल्याउने काममा प्रधानमन्त्रीले कति सक्रियता देखाउलान? किनभने जबसम्म मानवताविरुद्धको अपराध गर्नेलाई कानुन अनुसार सजाय हुँदैन र पीडितले न्याय पाउँदैनन् तबसम्म शान्ति स्थापना हुन सक्दैन।

नेपाल प्रहरीका एक उच्च अधिकृत पनि अब चन्द समूहप्रति थप आक्रमक हुनुपर्ने अवस्था आएको बताउँछन्। 

‘अहिलेसम्म व्यक्ति हत्याकै तहसम्म पुग्ने उनीहरुको केन्द्रीय नीति देखिएको थिएन तर, मोरङको घटनाले विगतका घटना सम्झाएको छ,’ ती प्रहरी अधिकारी भन्छन्, ‘चेतावनी दिने ढंगबाट अरुलाई त्रसित बनाउन खोजेको देखिन्छ।’ 

अहिले प्रदेश– १ प्रहरीले चन्द समूहविरुद्ध सर्च अभियान सुरु भएको जनाएको छ। ‘यसरी व्यक्ति हत्यामा नै उत्रिसकेपछि हामी पनि त्यसै अनुसारको रणनीति बनाएर अघि बढ्छौं,’ डीआईजी ईश्वरबाबु कार्की भन्छन्, ‘प्रदेशभर सर्च अभियान थालिसकेका छौं, यो अभियानकै रूपमा अघि बढ्छ।’

व्यक्ति हत्याका घटनाले सुरक्षा चुनौती बढेको सुरक्षा मामिलाका जानकारहरू बताउँछन्। यसलाई सम्वोधन गर्न सरकार र अन्य सबै पक्ष गम्भीर बन्नुपर्ने उनीहरूको सुझाव  छ। 

पूर्व डीआईजी हेमन्तमल्ल ठकुरी पनि मोरङमा गराइएको घटना चन्द समूहका अन्य गतिविधिभन्दा फरक भएको बताउँछन्। 

‘यसअघि पनि बम विष्फोट गराएर मानिस मारेकै हुन् तर, अहिलेको घटना निकै फरक छ,’ उनले भने, ‘सुराकीको आरोपमा मानिसलाई अपहरणपछि घाँटी रेटेर त्रास सिर्जना गर्न खोजिएको छ।’

उनी यस्ता घटनाले गाउँमा बढी नै त्रास फैलनसक्ने र आगामी दिनमा सुरक्षा चुनौती झन् थपिने बताउँछन्। 

करिब दुई महिनाअघि भएको नेपाली सेनाको पृतनापति सम्मेलनले पनि चन्द समूह मुख्य सुरक्षा चुनौतीका रूपमा देखिन सक्ने निष्कर्ष निकालेको थियो। सुरक्षा परिषद्को बैठकमा पनि चन्द समूहका गतिविधि बढ्दै गए थप रणनीति चाल्नुपर्ने बताइएको थियो। 

बुधबार नै गृह मन्त्रालयमा बसेको सुरक्षा निकायको बैठकमा पनि पछिल्लो घटनाका बारेमा समीक्षा भएको छ। चन्द समूह व्यक्ति हत्यामा उत्रिएपछि ऊविरुद्धको कारबाहीलाई थप कडाइका साथ अघि बढाउने निर्णय गरेको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवर पनि चन्द समूह हिंसात्मकरूपमा अगाडि बढ्न खोजेको बताउँछन्। 

‘सुरक्षा निकायहरू संवेदनशील भएर सूक्ष्मरूपमा निगरानी गर्दै कारबाही अघि बढाउनुपर्ने देखिएको छ,’ उनले भने, ‘कुनै पनि खालका हत्या, हिंसालगायतका आपराधिक काम क्षम्य हुन सक्दैनन्।’

दुई हजारबढी नेता–कार्यकर्ता पक्राउ

सरकारले चन्द समूहको नेकपामाथि २८ फागुनमा २०७५ मा प्रतिबन्ध लगाएको थियो। त्यसलगत्तै सरकारी आदेशअनुसार प्रहरीले उक्त समूहको शक्तिलाई छिन्नभिन्न पार्न आक्रमक कारबाही सुरु गरेको थियो। 

झण्डै २१ महिनाको अवधिमा नेपाल प्रहरीले उक्त समूहका झण्डै दुई हजार नेता–कार्यकर्तालाई पक्राउ गरिसकेको छ। 

नेपाल प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार १० फागुन २०७५ देखि २३ मंसीर २०७७ सम्म देशभरबाट एक हजार ९८२ जना नेता–कार्यकर्ताहरू पक्राउ परेका छन्। 

तीमध्ये प्रहरीले एक हजार ८९४ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ। ८८ जनालाई सोधपुछ गरेर छाडिएको छ। प्रहरीका अनुसार मुद्दा दर्ता गरिएकामध्ये एक हजार ७१० जना छुटिसकेका छन्। 

हाल १३८ जना पुर्पक्षका लागि कारागार चलान भएका छन्। ४६ जना अनुसन्धानका क्रममा हिरासतमा नै छन्। 

प्रहरीले बम विष्फोट, चन्दा आतंक, राज्यविरुद्धको अपराध लगायतमा पक्राउ परेकाहरूलाई मुद्दा चलाउदै आएको छ।

कारबाहीका क्रममा प्रहरीले उनीहरूको साथबाट पेस्तोल, रिभल्बर, थ्रीनटथ्री राइफल, भरुवा बन्दुक, एलएमजी, एम १६ लगायतका हतियार र गोलाबारुद समेत बरामद गरेको छ। 
 

प्रकाशित: Dec 09, 2020| 16:10 बुधबार, मंसिर २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।