तत्कालीन नेकपा एमाले र नेकपा माओवादीबीच एकता भएको २९ महिना पुगेको छ। २०७४ को निर्वाचनमा गठबन्धन गरेर निर्वाचनमा होमिएका दुई पार्टी एक भएर बनेको नेकपाले अहिले संघ, प्रदेश र स्थानीय सरकार चलाइरहेको छ। एकताका बाँकी काम सम्पन्न नहुँदै सत्तारुढ दलभित्र ठूलो चिरा पर्ने संकेत देखिँदै छन्। सत्तारुढ दलभित्र देखिएको विवाद, यसका कारण र निकासका बारेमा नेपाल समयका बीपी अनमोलले राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण पोखरेलसँग गरेको संक्षिप्त कुराकानी :
सत्तारुढ नेकपाभित्र विवाद हुनुको कारण के हो?
विवाद विचार र दृष्टिकोणमा हुन्छ। अलिअलि स्वार्थको टक्कर पनि हो। अनि विवादको चुरो नेतृत्वमा बस्नेको कार्यशैलीसँग जोडिएको हुन्छ। अरु कसैको कुरा नसुन्ने र कसैलाई नगन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीले विवाद उत्पन्न भएको हो।
अहिले लिखित दस्तावेजमै एकअर्काप्रति आरोपप्रत्यारोप देखियो नि?
प्रधानमन्त्रीमा मबाहेक कोही छैन भनेर अरुलाई नगन्ने, अपहेलना गर्ने खालको शैलीले असन्तुष्टिको थुप्रो लाग्दै गएको हो। तिनै असन्तोषका अभिव्यक्ति अहिले लिखित रुपमा प्रकट भएका हुन्। साहित्यमा गुम्सेका भावना बाहिर निस्क्यो भने त्यसलाई विरेचन भनिन्छ। असन्तुष्ट नेताहरुमा अहिले एक प्रकारको विरेचन भएको हुनुपर्छ। तत्काल गुम्सेको कुरा र मुखको तितो एकले अर्काविरुद्ध पोखेका हुन्। कतिपयलाई हल्का पनि भएको होला। अब आफ्नोआफ्नो पोजिसन लिने कुरा त छँदै छ।
पार्टी विभाजनसम्मकै अवस्थामा पुगेको हो त?
अहिले एउटा चक्र पूरा भएको छ जस्तो लाग्दैन। प्रदेश सरकार केन्द्रको राजनीतिसँग पनि जोडिन्छ। त्यसैले एक ढंगले सुविधाजनक अवस्थामा राजनीतिमा लागेर जुन पद प्राप्त गरिराखेका छन्, तिनले पनि यसलाई छरिएर जानबाट रोक्नेछन्। विभाजनले कोही पनि लाभान्वित हुने अवस्था रहँदैन। त्यसले गर्दा यस्ता कतिपय स्वार्थका कुराहरुले कहीं न कहीं मिलाउँछन्। पार्टीभित्रका स्वार्थ समूहले रोक्नेछन्।
दाहाल–नेपाल समूहले भने झैं विवाद समाधानका लागि केपी ओलीले नै भूमिका खेल्नुपर्ने हो?
पार्टी अध्यक्ष र प्रधानमन्त्री एकै व्यक्ति भएको हुनाले विवाद समाधानको पहल ओलीबाटै हुनुपर्छ। किनकि पहलकदमी लिने ठाउँमा उहाँ नै हुनुहुन्छ। ओलीले आफ्ना शैली परिवर्तन सुधार गरेर जानुभयो भने विवाद स्वतः मत्थर भएर जान सक्छ। उहाँले त्यसो गर्न सक्नु भएन भने विवाद चर्किरहन्छ। असन्तुष्ट पक्ष पनि विभाजनको आरोप आफू लिन तयार छैन।
ओलीलाई अब यसरी हुँदै हुँदैन भन्ने लाग्यो भने चाहिँ कहीं न कहीं अर्कालाई दोष लगाएर अघि बढ्न सक्नुहुन्छ। तर, एकीकरण जे कारणले भएको थियो, त्यसका विचार र सिद्धान्त आफ्ना ठाउँमा छन्। सत्ता स्वार्थले एक ठाउँमा आएका हुन् भन्ने सबैले बुझेका छन्। त्यसको एउटा चक्र हुन्छ। त्यो चक्र पूरा भएको छैन। त्यसले ढिलोचाँडो समस्या समाधान हुन्छ।
प्रतिनिधिसभाको यो कार्यकाल अवधिभर यस्तै परिस्थितिमा अघि बढ्छन् भन्न खोज्नुभएको हो?
त्यो पनि एउटा सम्भावना छ। तर, कतिपयले प्रधानमन्त्री मध्यावधिमा जाँदै छन् पनि भनेको सुनिन्छ। म यो सम्भावना देख्दिनँ। प्रधानमन्त्रीलाई आफूले चाहेका बेलामा नयाँ जनादेश लिने खालको अख्तियार संविधानले दिएको छैन। सबै विकल्प सकिएको अवस्थामा सबैभन्दा ठूलो दलको नाममा सरकार बनेर अनि त्यो सरकारले नै विश्वासको मत प्राप्त गर्न सकेन भने मात्र मध्यावधिमा जाने हो।
छँदाछँदैको बहुमतलाई भत्काएर मध्यावधिमा जाने सोच जसले लिन्छ त्यसैलाई मतदाताले सजाय दिएको हाम्रो इतिहास छ। ०५१ सालमा गिरिजाप्रसाद कोइरालालाई मतदाताले त्यसै गरेका हुन्। अर्को कुरा कोभिड–१९ ले आक्रान्त भइराखेको बेलामा जनताको थाप्लोमा निर्वाचन थोपर्ने कुरा गर्नेले पक्कै पनि जनताबाट सजाय पाउनेछ। त्यसैले त्यति सजिलै त्यो बाटो जाने अवस्था म देख्दिनँ।
भारतीय खुफिया एजेन्सी रअका प्रमुखको नेपाल भ्रमणपछि नेकपाभित्र विवाद चर्कियो भन्ने छ नि?
सामान्यता के हुन्छ भने आफूले नसक्ने अवस्था आयो र परिस्थिति सम्हाल्न नसक्यो देखियो भने दोष अर्काको टाउकोमा हाल्ने गरिन्छ। यो सन्दर्भ पनि यही हो। नेकपाभित्र विवाद हुनुमा बाह्य शक्तिको चलखेल भइराखेको छ भन्ने वाहियात कुरा हो। आफूसँग सुविधाजनक बहुमत छ। आफू चलाउन नसक्ने अनि बाह्य शक्तिको चलखेल भइराखेको छ भन्ने भनाइ आफ्नो असक्षमता लुकाउने एउटा तरिका मात्रै हो।
नेपालमा दलहरु पटकपटक विभाजन हुने अवस्थामा आउनु को कारण के हो?
नेपालका राजनीतिक दलहरु भनेका आन्दोलनका रुप हुन्। कांग्रेस भनेको पनि एउटा आन्दोलन हो, कम्युनिस्ट पनि आन्दोलन हो। यी दल आन्दोलनका रुपमा सफल छन्। तर, संस्थागत विकास गर्ने मामिलामा असफल छन्। अर्थात् आन्दोलनलाई संगठनमा रुपान्तरण गरेर डेलिभर गर्न दलहरु असफल छन्। अहिलेसम्मको अनुभवले त्यही देखाउँछ। संगठन बलियो नभएका कारण विभाजनको अवस्थामा पुग्नु अस्वाभाविक हैन।
नेकपाभित्र देखिएको विवादको निकास कसरी होला त?
निकास त केपी शर्मा ओलीको आत्मालोचना नै हो। अब आत्मालोचना भयो भने मात्र निकास निस्कन्छ। नत्र यही हिसाबले घिडघिड गर्दै चल्दै जहाँसम्म चल्छचल्छ। नचलेको दिनचाहिँ आ–आफ्नो बाटो लाग्छन्।