शुक्रबार, वैशाख १४, २०८१

बजारमा चहलपहल छैन, भेडाच्यांग्राको भाउ उच्च 

व्यवसायीका अनुसार पोहोरभन्दा यस वर्ष एउटा च्यांग्रो ६ देखि ८ हजार रुपैयाँ महँगो भएको छ। अहले एउटा च्यांग्राको मूल्य ३५ देखि ४० हजार रुपैयाँ पर्छ। 
 |  आइतबार, असोज २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज २५, २०७७

पोखरा– दसैं आउन लाग्यो। पोहोर–परार यति बेला हेम्जादेखि टुँडिखेलसम्मै भेडाच्यांग्राका बथान भेटिन्थे। पारखीहरू ‘यो चैं च्यांग्राको मासु मिठो हुन्छ’ भन्दै च्यांग्राको गर्धन छामेर मोलमोलाइमा जुट्थे।

triton college

यस वर्ष मुस्ताङबाट भेडाच्यांग्रा केही संख्यामा त झरेका छन्। तर बजारमा चहलपहल छैन। बिक्री केही बढे पनि व्यापारी आशावादी देखिँदैनन्। 

व्यवसायीका अनुसार पोहोरभन्दा यस वर्ष एउटै च्यांग्रो ६ देखि ८ हजार महँगो भएको छ। एउटा च्यांग्राको मूल्य ३५ देखि ४० हजार पर्छ। 

तर पोखरामा मासु व्यापार ६५ प्रतिशतसम्म घटेको छ। बजारमा मान्छे कम छन्। बजारवासीको क्रयशक्ति घटेको छ। 

लामो समयदेखि पोखरामा मासु व्यापार गर्दै आएका शीतलादेवी फ्रेस हाउसका सञ्चालक गोकर्ण भण्डारी दसैंमा भेडाच्यांग्रा मात्र होइन खसीबोका पनि पोहोरजस्तो बिक्री नहुने बताउँछन्।

corrent noodles
Metro Mart

उनकै अनुमानमा यस वर्ष भेडाच्यांग्राको भाउ पनि उचालिन्छ। अघिल्ला वर्षजस्तो तिब्बतबाट मुस्ताङ हुँदै पोखरामा च्यांग्रा आउने छैनन्। 

कोरोना महामारीले चीन–नेपाल नाका ठप्प छ। त्यसैले मुस्ताङका भेडाच्यांग्रा मात्र पोखरा झर्नेछन्। 

तिब्बतबाट भेडाच्यांग्रा नआउने भएपछि मुस्ताङ, डोल्पा, मुगु, दार्चुलालगायत ठाउँका भेडाच्यांग्राले बजार पाउने खसीबोका व्यवसायी समिति पोखराका निवर्तमान अध्यक्षसमेत रहेका भण्डारी बताउँछन्। 

स्वादिलो हुने भएकाले दसैंमा च्यांग्राको मासु पोखरेलीको भान्सामा अनिवार्यजस्तै मानिन्छ।

सक्नेले सिंगै ढाल्छन् भने धेरैजसोले दुइ–तीन परिवार मिलेर एउटा च्यांग्रो काट्ने चलन छ, पोखरामा। 

पोखराका मात्र होइन, कास्की, स्याङ्जा, बाग्लुङ, काठमाडौंलगायत जिल्लाका व्यवसायी च्यांग्रा लिन मुस्ताङ पुग्ने गरेका छन्। 

मुस्ताङबाट हिँडाएर र ट्रकमा हालेर च्यांग्रा पोखरा ल्याइन्छ। ट्रकमा ल्याउँदा निस्सासिएर मर्ने भएकाले धेरैजसोले १० देखि १५ दिन हिँडाएर ल्याउने गरेको व्यवसायी बताउँछन्। 

भण्डारीका अनुसार पोहोर दसैंमा पोखरामा २५ हजार भेडाच्यांग्रा र ३० हजार खसीबोका खपत भएका थिए। अहिले त्यो संख्या निकै कम हुने उनी बताउँछन्। 

गत वर्ष पोखरामा प्रतिकेजी १५ सयमा बेचिएको च्यांग्रा यो वर्ष तीन सय रुपैयाँसम्म बढी पर्ने भएको छ। 

पहिलापहिला मुस्ताङबाट किसानले आफै‌ं पोखरा ल्याएर बेच्दा च्यांग्रा सस्तो पाइन्थ्यो। तर अहिले त म्याग्दीसम्म एउटा व्यापारीले ल्याउँछ। त्यहाँबाट अर्कोले ल्याउँदा व्यापारीको च्यानल बढेकै कारण भाउ अकासिएको हो। 

मुस्ताङी किसानलाई फाइदा 

तिब्बतबाट भेडाच्यांग्रा नआउने भएपछि यस वर्ष मुस्ताङका किसानलाई फाइदा हुने भएको छ।

उताबाट च्यांग्रा नभित्रिने भएपछि उपल्लो मुस्ताङका भेडाच्यांग्रा गत वर्षभन्दा २० प्रतिशत बढी मूल्यमा बिक्री हुन थालेको मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङछोम्फेल बिष्ट बताउँछन्।

‘गत वर्ष जिउँदो रोजा भेडाच्यांग्रा प्रतिगोटा १६ देखि १९ हजार रुपैयाँसम्म परेको थियो,’ अध्यक्ष बिष्टले भने, ‘यसपटक पशुपालक किसानको खोरमै २३ हजारदेखि २७ हजार ५०० रुपैयाँसम्म बिक्री गरिरहेका छन्।’ 

उनका  अनुसार लोमान्थाङबाट बढीमा तीन हजार र लोघेकर दामोदरकुण्डबाट बढीमा दुई हजार भेडाच्यांग्रा बिक्री हुनेछन्। 

चीनबाट नआउने भएपछि छोसेर, छोनुप, सुर्खाङ, चराङ, चुमजुङ, मराङघमी, घिलिङ, यारा, घाराध्ये, ताङग्या, चैले, छुसाङ, मुक्तिनाथ, धाकार्जुङ, फल्याक, तिरी, ताङ्वे र झोङ लगायतका गाउँका पशुपालक कृषकले राम्रो आम्दानी गर्ने अनुमान छ।  

दसैंतिहारमा तिब्बतबाट बर्सेनि पाँचदेखि १० हजारसम्म भेडा—च्यांग्रा भित्रिने गरेका थिए। डोल्पा र मुगुबाट समेत मुस्ताङमा भेडा च्यांग्रा ल्याइन्थे। 
यस वर्ष डोल्पाका स्थानीय भेडाच्यांग्रा पनि कमै आउने व्यापारी बताउँछन्। 

यस वर्ष उपल्लो मुस्ताङबाट पाँच हजार र बारागुङ मुक्तिक्षेत्रबाट दुई हजार, डोल्पाबाट तीन हजार च्यांग्रा पोखरा झर्ने अनुमान गरिएको जोमसोमका किसान भूपिन शेरचन बताउँछन्। 

मासुको व्यापारै छैन  

अवस्था सामान्य हुँदा पोखरामा दैनिक २५० वटासम्म खसी काटिन्थ्यो। 

अहिले निकै चल्ने मासुपसलमा एउटा खसी काटे तीन दिनलाई पुग्ने अवस्था आएको बताउँछन् मासु व्यवसायी संघ कास्कीका अध्यक्ष गोविन्द तिवारी।  उनका अनुसार कुखुराको मासुको बिक्री पनि ह्वात्तै घटेको छ। 

लकडाउनमा गाउँ गएका उतै बसेका र चाडपर्व मान्न अधिकांश पोखरेली गाउँ फर्किने भएकाले मासुको खपत कम हुने आंकलन अध्यक्ष तिवारीको छ। 

उनी भन्छन्, ‘गाउँमा बाख्रा, कुखुरा पाल्ने किसान बढेकाले मासुकै लागि बजार झर्ने अवस्था छैन।’ पोखरामा दैनिक ७० हजार केजी कुखुराको मासु खपत हुन्थ्यो। अहिले दैनिक ३५ हजार किलो बिक्न पनि मुस्किल छ।  

यस वर्ष पोखरामा कति खसीबोका र च्यांग्रा भित्रिन्छ भन्ने निश्चित भइनसकेको खसीबोका व्यवसायी समिति पोखराका अध्यक्ष ज्ञानबहादुर श्रेष्ठले बताए।  

प्रकाशित: Oct 11, 2020| 09:55 आइतबार, असोज २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।