ललितपुर– गोरखा भाषा प्रकाशिनी समितिको उत्तराधिकारी संस्थाका रुपमा स्थापित साझा प्रकाशन ५७ औं वर्षमा प्रवेश गरेको छ। नेपाली भाषा र साहित्यको विकास र स्रष्टा सम्मानमा लामो समयदेखि सक्रिय साझा प्रकाशन विगत केही वर्षदेखि अन्योलपूर्ण अवस्थामा गुज्रिरहेको छ।
५७ औं वार्षिकोत्सवका अवसरमा प्रकाशनले आज ‘साझा प्रकाशन : आजको सन्दर्भ’ विषयक विचार गोष्ठी आयोजना गर्यो।
गोष्ठीमा सम्बोधन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले संस्कृतिको साम्राज्य नहारेको बताएकी छन्।
उनले साझा प्रकाशनले अक्षरमार्फत नेपाली भाषा, साहित्य, कला–संस्कृति, शिक्षा र समग्र वाङ्मयको विकासका, विस्तार र उन्नयनमा उच्च भूमिका खेलेको बताइन्।
पछिल्लो समय सरकारले दिएको जिम्मेवारी (देशब्यापी पाठ्यपुस्तक वितरण)बाट बिना विकल्प संस्थालाई कामविहीन बनाएपछि आर्थिक असन्तुलन र व्यवस्थापकीय समस्याका कारण संस्थाको स्थिति गम्भीर अवस्थामा रहेको मन्त्री अर्यालको भनाइ थियो।
‘भाषा, कला र संस्कृतिको संरक्षण र सम्वद्र्धनमा समर्पित रहेको साझा प्रकाशन साहित्यका सबै विद्या सहित–भाषा, व्याकरण, शब्दकोष, इतिहास, विज्ञान र प्रविधि, जीवनी, दर्शन, अध्यात्म लगायतका विषयमा १२ सय भन्दा बढी पुस्तक प्रकाशनको इतिहास बोकेको छ,’, मन्त्री अर्यालले भनिन्, ‘भाषा, कला र संस्कृतिको साम्राज्य ज्यूँदै छ। हारेको छैन।’
संस्थाको प्राण भनेको आर्थिक र प्रशासनिक व्यवस्थापकीय शिल्प भएको भन्दै उनले यसमा देखिएका कमिकमजोरी सच्याएर साझा प्रकाशनलाई अझै पनि आकर्षक संस्था बनाउन सकिने बताइन्।
उनले भनिन्, ‘संस्थाको प्राण मै आर्थिक र प्रशासनिक व्यवस्थापकीय शिल्प हो। यसमा देखिएको लापरबाही र अव्यवस्थापनबाट ध्वस्त संरचनालाई गति प्रदान गरी तालुकदार निकायको निरन्तर निर्देशन, नियन्त्रण, साथ, सहयोग र सहकार्यबाट साझा प्रकाशनलाई आकर्षक संस्था बनाउन सकिन्छ।’
मन्त्री अर्यालले विगतको विरासत र गौरवलाई जोगाउन अहिलेको नेतृत्वलाई महत्त्वपूर्ण भूमिका खेल्न समेत आग्रह गरिन्।