एजेन्सी- भारतको गुजरात उच्च अदालतले त्यहाँ मास्क नलगाउनेलाई कडा सजायको फैसला गरेको छ।
उच्च अदालतले मास्क लगाउनु पर्ने नियम उल्लंघन गर्नेलाई कोरोना संक्रमितहरु राख्ने आइसोलेसन केन्द्रहरुमा सेवा गर्नुपर्ने सजायको व्यवस्था गरेको हो।
मुख्य न्यायाधीश विक्रम नाथ र न्यायाधीश जेबी पर्दीवालाको इजलासले मास्क लगाउनुपर्ने नियम उल्लंघन गर्नेलाई सामुदायिक सेवाको सजाय तोकेको हो।
उनीहरुले गैर चिकित्सकीय सेवा (सरसफाई) लगायत गर्नुपर्नेछ। यस्तो सजाय पाँचदेखि १५ दिनसम्म र दैनिक ४–६ घण्टा गर्नुपर्ने जनाइएको छ।
अदालतले एक जनहित याचिकाको सुनुवाई गर्दै दिएको हो। जसमा मास्क लगाउनुपर्ने नियम उल्लंघन गर्नेलाई कोरोना संक्रमित हेरचाह केन्द्रमा सामुदायिक सेवा अनिवार्य गर्न माग गरिएको थियो।
भारतको गुजरातमा कोरोना संक्रमितको संख्या २ लाख ११ हजार २५७ पुगेको छ। त्यहाँ हालसम्म ४ हजार ४ जनाको मृत्यु भइसकेको छ।