स्वास्थ्य/जीवनशैली विचार

अमेरिका : सफा सहरभित्र फोहोरी बानी 

1606788932.jpg

कोभिड–१९ महामारीबाट संयुक्त राज्य अमेरिकामा दुई लाख ६६ हजार ५३४ जनाको ज्यान गइसकेको छ। संसारको धनी र सामरिक शक्तिसम्पन्न देश अमेरिका कोभिडबाट सबैभन्दा प्रभावित देश हो। 

यति बेला मानिसको ज्यान लिने प्रमुख कारकमध्ये मुटु र क्यान्सरपछि कोभिड–१९ तेस्रो स्थानमा छ।

अमेरिकामा कोरोना भाइरस महामारीबाट यति धेरै मानिस संक्रमित हुनु र मृत्यु हुनुमा व्यक्तिगत सरसफाइ र खानपानको पनि विशेष सम्बन्ध छ।

सरसफाइको परिभाषा व्यक्तिपिच्छे फरक हुनसक्छ। सबै देशको सरसफाइको स्तर पनि एउटै छैन। सानो उमेरदेखि नै मानिसले सरसफाइबारे सिकेका धारणा फरकफरक हुँदा रहेछन्। 

दक्षिण एसियाका गरिब देशमा सफा खाने पानी र शौचालयको  अभावमा भए पनि मानिसहरु सार्वजनिक धारा, पँधेरा र खोलामा गएर दैनिक नुहाई–धुवाई गरेका देखिन्छन्। 

म आफैँ बिहान सबेरै लोटामा पानी लिएर शौचालय जाने, हातमुख राम्ररी नधोएसम्म चिया पनि नखाने संस्कारमा हुर्किएकी हुँ। जीवनका धेरै वर्षसम्म सार्वजनिक धारामै नुहाएँ। 

अमेरिकामा स्वच्छ खाने पानीको पर्याप्त उपलब्धता, फोहोरमैला संकलन र व्यवस्थापनको आधुनिक तरिका छ। बाहिरी वातावरण स्वच्छ, सफा र स्वस्थ देखिन्छ।

चिल्ला सडक र सिनित्त सडकपेटी, जताततै  काँटछाँट गरिएका सुन्दर सार्वजनिक बगैंचा, सुन्दर घरहरु र सफा आँगनले अमेरिकी सहर सफा र व्यवस्थित भएको मूल्यांकन गरिन्छ। 

तर, सरसफाइ भनेको बाहिर सफा देखिनु मात्र पटक्कै होइन। यसले मानव सुस्वास्थ्यका सबै क्रियाकलापलाई समेट्दैन पनि। यहाँका सुन्दर र व्यवस्थित वस्तीका घरभित्र बस्ने मानिसको व्यक्तिगत सरसफाइ कस्तो छ ? कत्तिको नुहाई–धुवाई गर्छन् ? दैनिक दाँत माझ्छन् कि माझ्दैनन् ? भित्री वस्त्र कति सफा लगाउँछन् ? यो बाहिरबाट देखिँदैन।

अमेरिकामा सेवासुविधामा पहुँच भए पनि धेरै मानिस नुहाई–धुवाई जस्ता स्वथ्यकर क्रियाकलाप भने पटक्कै गर्दैनन्। अमेरिका जस्तो समृद्ध समाजमा सरसफाइको कुरा गरेर यहाँका मानिसलाई  होच्याउन खोजेको पटक्कै होइन। म स्वास्थ्य क्षेत्रमा काम गर्ने भएकाले सबैभन्दा बढी बहस भइरहने विषय व्यक्तिगत सरसफाइ हो। त्यसैले सरसफाइ सम्बन्धी आनीबानीको चर्चा गरेकी हुँ। 

स्वास्थ्य क्षेत्रमा काम गर्नु भनेको गनाउने श्वासप्रश्वास, जीवाणुयुक्त हात, परैबाट गन्ध आउने ननुहाएको शरीरसँग दैनिक रुपमा व्यवहार गर्नु पनि हो। 
अस्पतालका आईसीयू वार्डदेखि धेरै कक्षमा बिरामीसँग प्रत्यक्ष भएर काम गर्नेले मलमूत्र, र्‍यालसिँगान र रगतसँगै खेल्नुपर्ने नै हुन्छ। अरुको फोहोर बानीले गर्दा आफ्नै स्वास्थ्यमा पनि खतरा हुन्छ। कोभिड वा कुनै सरुवा रोग लागेका व्यक्तिले हाच्छ्युँ गर्दा रोग पनि सरिहाल्छ। 

उता अस्पतालका डाक्टर तथा नर्सहरूको फोहोर हातबाट सर्ने रोग र संक्रमणकै कारण अमेरिकामा वार्षिक अर्बौं डलर उपचारमा खर्च हुन्छ।

समुदायमा काम गर्दा दैनिक नुहाई–धुवाई नगर्नेका मुद्दालाई लिएर माथिल्लो तहका हाकिमसँग पुग्नुपर्ने हुन्छ। कहिलेकाहीं त मनमा लाग्छ, यो एउटा किन्डरगार्टन स्कुल हो र दैनिक सरसफाइको पाठ पढाउनुपर्छ। हुन पनि मैले दैनिक भेटघाट र बोलचाल गर्ने ३०० जनामध्ये ३० जनाले मात्रै दैनिक नुहाई–धुवाई गरेर सफा कपडा फेर्ने गर्छन्। 

महिलाहरु बाथरुममा नुहाउन पसे पनि शरीर मात्रै नुहाउँछन्। हातगोडा राम्रोसँग धुन महिना वा तीन महिनामा ‘नेल्स सलुन’मा पुग्छन्। निहुरिएर खुट्टा कहिल्यै धुँदैनन्। मुख नधोईकन मेकअप थप्दै जान्छन्। मुड चलेको दिन फेसियल गराउँछन्। 

हुन त यी नितान्त व्यक्तिगत कुरा हुन्। तर दैनिक गर्नैैपर्ने काम नगरिदिएपछि नजिकै गएर सेवा दिनुपर्नेलाई बडो सकस हुँदो रहेछ। सेवा दिनु वा नाक थुनेर बस्नुपर्ने अवस्था त्यति रमाइलो पनि हुन्न। 

अमेरिकीहरु हात धुने कुरामा पनि चुकेकै छन्। तर सबै खाना काँटा र चम्चाले खाने बानीले गर्दा रोगबाट बचाएको छ। धेरै कुराको ज्ञान भएका र साबुनपानीको पर्याप्तताका बावजुद अमेरिकामा धेरैले हात धुँदैनन्। 

हात नधुने बानीकै कारण होला हरेक अफिस, रेस्टुरेन्ट, अस्पताल, स्टोरका ट्वाइलेटको भित्तामा ‘यो  बाथरुम प्रयोग गरिसकेपछि कर्मचारीले हात धुनैपर्छ’ लेखिएको हुन्छ। तर ३४ प्रतिशत कर्मचारी हातै नधोई काममा फर्कन्छन्। 

एक अध्ययनअनुसार कामदार मात्र नभएर अमेरिकामा शौचालय प्रयोगकर्तामध्ये ४० प्रतिशतले हात धुँदैनन्। तीमध्ये ३१ प्रतिशत पुरुषले र ६५ प्रतिशत महिलाले शौचालय गइसकेपछि हात धुन्छन्। 

सपिङ मल वा अन्य सार्वजनिक स्थलमा प्रायः पुरुषहरु शौचालय गइसकेपछि हात नधोएरै बाहिरको ऐना अगाडि उभिएर कपाल मिलाइरहेका, कोही जुँगा मिलाउँदै गरेका वा चिउँडो सुम्सुम्याउँदै गरेका देखिन्छन्। 

महिला पनि ऐना हेर्दै नधोएको हातले नै लिपिस्टिक र पाउडर थप्छन् र ढल्कीढल्की पर्फ्युम छर्केर बाहिर निस्कन्छन्। 

टिस्यु पेपरले दिसा पुछेको फोहोरी हातले रेस्टुरेन्टको टेबुलमा बसेर मेनु समाइरहेका हुन्छन् त कोही स्टोरमा पसेर हरेक सामान ओल्टाई–पल्टाई गर्छन्। कोही अर्को मानिससँग अंकमाल र चुम्बन गरिरहेका हुन्छन्। 

यसरी अमेरिकाको सार्वजनिक शौचालयको भन्दा सयौं गुणा बढी ब्याक्टेरिया सपिङ मलको सपिङ कार्ट, एटीएम मेसिन, रिमोट कन्ट्रोल र होटलका कोठामा हुन्छन्। 

यो  हात नधुनेहरुको कुरा हो। हात धुनेहरु पनि सही तरिकाले धुँदैनन्। मिचिगन स्टेट विश्वविद्यालयको एक प्रतिवेदनअनुसार ९५ प्रतिशत अमेरिकीले सही तरिकाले हात धुन जान्दैनन्। सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी)का अनुसार विश्वका १९ प्रतिशत मानिस मात्र शौचालय  गइसकेपछि हात धुँदा रहेछन्।

अमेरिकाका ५० राज्यमध्ये २२ राज्यको व्यक्तिगत सरसफाइ औसतभन्दा ज्यादै न्यून रहेको नेसनल सेन्टर फर डिजिज कन्ट्रोल प्रिभेन्सनले जनाएको छ। त्यसमध्येको न्युयोर्क पनि एउटा राज्य हो जहाँ मानिसको व्यक्तिगत सरसफाइ औसतभन्दा ज्यादै न्यून छ। 

हालै गरिएको अर्को एउटा सर्वेक्षण अनुसार २२.१ प्रतिशत अमेरिकी दुईदेखि तीन दिनमा एक पटक र पाँच प्रतिशतले पाँच दिनमा एकपटक नुहाउँछन् । नौ प्रतिशतले चार दिनसम्म एउटै अन्डरवेयर र ४.४ प्रतिशतले पाँच दिनभन्दा बढी अन्डरवेयर नफेरिकन काम चलाउँछन्। सात प्रतिशतले दुई–तीन दिनको बीचमा मात्रै दाँत माझ्छन्। आफ्नो ओछ्यानको तन्ना एक हप्तामा फेर्नेको संख्या त एकदमै कम छ। 

अमेरिकी क्लिनिङ इन्स्टिच्युट र भ्याली पेन्गुइनले हालै गरेको एक अनलाइन सर्वेक्षण अनुसार शौचालय प्रयोग गरिसकेपछि हात नधुने र नङ टोक्ने बानीले कोभिड–१९ को प्रसारमा सहयोग पुगेको छ। 

सेन्टर फर डिजिज कन्ट्रोल प्रिभेन्सनले गरेको सर्वेक्षण र नोभेली पब्लिक सर्भिसले २०१९ मा गरेको सर्वेक्षणको तथ्याङ्क विश्लेषणअनुसार कोभिड–१९ पछि घरमा खाना खानुअघि हात धुनेको संख्या ६४.६ प्रतिशतबाट बढेर ७६.१ प्रतिशत पुगेको छ भने रेस्टुरेन्टमा खाना खानुअघि ७२.४ प्रतिशतले हात धुने कुरा सम्झन थालेका छन्। यसरी सम्झनेमा पुरुषभन्दा महिला बढी छन्। तर घरमा खाना पकाउनुअघि हात धुनेको संख्यामा भने २०१९ भन्दा ७ प्रतिशतले गिरावट आएको छ।

घरमा टेबुल, कुर्सी, भान्सा र शौचालयको सतह, धारा, बत्तीका स्विच, मोबाइल फोन, कम्प्युटर, ट्याब्लेट, किबोर्ड, रिमोट कन्ट्रोलको सफाइको त कुरा गरिसाध्यै छैन। 

सेन्टर फर डिजिज कन्ट्रोल प्रिभेन्सनले सर्वसाधारणका लागि कसरी र कति बेला हात धुने भनेर निर्देशन जारी गरेको छ। सार्वजनिक ठाउँ, अफिस, मल, पसल सफा गर्न विशेष निर्देशिका नै जारी गरेको छ। 

अर्को एउटा अनुसन्धानअनुसार एक घण्टामा एउटा मानिसले औसतमा २३ पटक आफ्नो अनुहार छुन्छ। यसरी नधोएको फोहोर हातले अनुहार छुँदा हातमा रहेको जिवाणु–विषाणु नाक, मुख र आँखाबाट शरीरमा जान्छ। अनुहार छुने बानी हटाउनु पनि कोभिड लाग्नबाट बच्ने एउटा महत्त्वपूर्ण उपाय रहेको अनुसन्धानले देखाइसकेको छ। 

अमेरिका र बेलायतमा गरिएका अन्य थुप्रै अनुसन्धानबाट हातको सरसफाइ (ह्यान्ड हाइजिन) निकै महत्त्वपूर्ण देखिएको छ। हात धुने बानीको विकास गर्न सके मात्रै पनि थुप्रै रोगबाट बच्न सकिन्छ भन्ने ती अनुसन्धानले पुष्टि गरेका छन्।

प्रतिक्रिया दिनुहोस्