काठमाडौं- नेपाल प्रहरीका नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस भएका छन्।
सोमबार बसेको बढुवा समितिको बैठकले पोखरेललाई एआइजीमा बढुवाको सिफारिस गरेको हो।
डिआइजी पोखरेल महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत छन्। यसअघि सरकारले नेपाल प्रहरीको संगठनात्मक संरचना (ओएण्डएम) स्वीकृत गर्दै नेपाल प्रहरीमा एक एआइजी र पाँच डिआइजी को दरबन्दी थप्ने निर्णय गरेको थियो।
एआइजी बढुवा सिफारिस भएसँगै रिक्त ३ र थप गरिएको ५ डिआइजीमा पनि बढुवाको तयारी अघि बढाइएको छ।
पोखरेल एआइजीमा सिफारिस भएपछि रिक्त हुने अर्को एक डिआइजीसमेत गरेर अब ९ जनालाई डिआइजीमा बढुवा गरिने छ।
एआइजीमा सिफारिस भएका पोखरेल अहिलेका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीपछि प्रहरीको नेतृत्वमा पुग्ने निश्चित भएको छ।